काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार भूमिनारायण मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
बाटो निर्माणको क्रममा वन फडानी गरेको अभियोगमा प्रहरीले पक्राउ गरी जिल्ला वन कार्यालय गोरखामा बुझाएको छ ।
वन फडानी गरी बाटो निर्माण गरेको अभियोगमा मल्लसहित बाटो समितिका पाँच जनालाई पक्राउ गरी झुठा मुद्दा चलाइएको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा गोर्खा संयोजक नारायण अधिकारीले बताए । उनीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धानका लागि भन्दै बन कार्यालयलाई बुझाएको छ ।
मल्ल स्थानीय सर्बदलीय सहमतिमा नै बाटो निर्माण समितिका अध्यक्ष बनेका थिए । समितिले सामुदायिक बन समितिको स्वीकृति लिएर नै बाटो निर्माण कार्य थालेको थियो । उनीहरुलाई पाँच दिनअघि नै पक्राउ गरी झुठा मुद्दा चलाउन खोजिएको अधिकारीले बताए ।
मल्लसहित समितिले ९० लाख बराबरको काठ तस्कर गरेका आरोप लगाउँदै सर्बदलीय सहमतिमा रुष्ट बनेका नयाँ शक्ति नेपालका बुद्धिमान तामाङले वन कार्यालयमा उजुरी दिएपछि उनीहरु पक्राउ परेको बताइएको छ ।