माओवादी केन्द्र गठबन्धनबाट एक्लै अलग्गियो

माओवादी केन्द्र गठबन्धनबाट एक्लै अलग्गियो

काठमाडौं । माओवादी केन्द्रले एमालेसंगको सत्ता गठबन्धनबाट आफू एक्लै अलग भएको घोषणा गरेको छ । अलग हुने निर्णय गरे लगत्तै प्रवक्ता पम्फा भुसालले पत्रकारहरुसँग आफ्नो पार्टीले केपी ओलीको सरकार छाडेको र सकेसम्म सहमतीय र नभएमा बहुमतीय सरकार निर्माण गरेर अघि बढ्ने कुरा जानकारी गराउनु भयो ।
माओवादी केन्द्रले सरकार छाडेको घोषणा गरे लगत्तै सरकारको नेतृत्व गरिरहेको ठूलो दल एमालेले सांझ ६.० बजे स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ । उता सरकारमा सहभागी साना दलहरुले भने आफ्ना आधिकारिक धारणाहरु सार्वजनिक गरिसकेका छैनन् । वर्तमान सत्ता गठबन्धनमा माओवादी केन्द्र दोस्रो ठूलो दलको हैसियतले सहभागी भएको थियो ।

Maoist-Center
माओवादी केन्द्र गठबन्धनबाट अलग भएपछि नेपाली राजनीतिक बजारमा मिश्रित प्रतिक्रियाहरु आएका छन् । एमालेले पहिले सार्वजनिक गरे झैं माओवादी केन्द्रलाई नेतृत्व दिएर पुरानै सत्ता गठबन्धन पनि कायम राख्न सक्छ । किनभने यस अघि प्रचण्डले तीनबुंदे भद्र सहमतिको कुरा उठाउंदा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बजेट पास हुन दिनोस्, सरकार तपाईको’ भनेका थिए । चक्रिय प्रणालीको आधारमा सरकार चलाउने हल्ला पनि नआएको होइनन् । अर्कोतिर प्रतिपक्ष नेपाली काङ्ग्रेसले माओवादी केन्द्रलाई नयाँ सरकारको नेतृत्व गरेरै अघि बढ्न वचन दिइसकेको पनि हो । तर ऊ अहिले पर्ख र हेरको नीतिमा देखिन्छ । एकअर्कामा विश्वास र अविश्वासका कुरा पनि छन् ।

पछिल्लो चरणमा सरकारले अविश्वासको प्रस्ताव फेस गरेर अघि बढ्दा राम्रो भनेर  कुराहरु पनि नआएका होइनन् । यदि प्रधानमन्त्री ओली अविश्वासको प्रस्ताव फेस गर्ने निर्णयमा पुगे भने त्यसले समस्या माओवादी केन्द्रभित्रै पैदा गराउने देखिन्छ । सत्ता  गठबन्धनमा आवद्ध पार्टीहरुले एकले अर्कालाई कसरी बुझेका छन् र एकअर्काका अन्तरविरोधमा कसरी खेल्दै छन्, उनीहरुको मिटिङ र निर्णय निर्णायक हुने पनि देखिन्छ । तर पनि पहिले नै ‘म्याच फिक्सिङ’ भैसकेको भन्ने कतिपय कुराहरुलाई नजर अन्दाज गर्न मिल्दैन । किनकि, नेपालमा सरकार बनाउने र ढाल्ने खेल अदृश्य शक्तिबाट हुने गरेको छ ।  

तर पनि सहमतीय होस् वा बहुमतीय होस्, सरकार माओवादी केन्द्रकै नेतृत्वमा हुन्छ भन्न सकिने आधारहरु भने छैनन् । सत्ता गठबन्धनबाट एक्लै अलग्गिएपछि सहमतीय सरकार उसकै नेतृत्वमा कसरी बन्ला भनेर आशंका उब्जिएको छ ।
विश्लेषकहरु भन्छन्, अबको सरकार काङ्ग्रेस र एमाले भित्रैका मिलेर पनि बनाउन सक्छन् र एमाले र माओवादी केन्द्र भित्रका मिलेर पनि बनाउन सक्छन् । यदि यसो भयो भने त विश्लेषकहरुले भने झैं माओवादी केन्द्र जति बल गरेपनि काङ्ग्रेस वा एमालेकै गठबन्धनमा सहभागी हुनु बाहेक अरु विकल्प नहुन पनि सक्छ । किनकि, माओवादी केन्द्र सडक सङघर्षका लागि क्रान्तिकारी शक्तिहरुसंग मिलेर अघि बढ्न आएको पनि देखिदैन ।