Hasta-Kcवास्तविक जगत्मा जेजति कुरा अस्तित्वमा छन्, ती एकआपसमा अन्तरसम्बन्धित रहेका हुन्छन् । संसारमा अस्तित्वमा रहेका सारा वस्तुहरू र तिनीहरूको मानसिक छाया–विचारहरू गतिशील हुन्छन् र गतिका कारण वस्तुमा रहेका अन्तरविरोधी पक्षहरू नै प्रवल हुन्छन् भन्ने मान्यताका विपरीत अस्तित्वमा रहेका सारा वस्तुहरू र तिनीहरूको मानसिक छायाँ –विचारहरू स्थिर छन् र गतिका कारण बाहिरी बल हो भन्ने धारणा पनि रहेको छ । संसारका दार्शनिक पद्धतिहरू मुलतः दुई खेमामा बाँडिएका छन् ।

दार्शनिक जगत्को क्षेत्रमा ती सबै दार्शनिक अधिभूतवादी हुन् जो संसारलाई संसारमा अस्तित्वमा रहेका सारा वस्तुहरू र तिनीहरूको मानसिक प्रतिबिम्ब विचारलाई अलग अलग ढङ्गले र स्थिर रूपमा हेर्छन् र विश्लेषण गर्छन् । एकजना अधिभूतवादीको लागि संसारमा जेजति रूपमा वस्तुहरू, जीवजन्तुहरूका प्रकारहरू अस्तित्वमा छन् ती सबै अनादिकालदेखि छुट्टाछुट्टै छन् र सबै अपरिवर्तनशील वा स्थिर छन् । केही परिवर्तन भएको छ भने तिनीहरूको सङ्ख्यामा घटबढ भएको छ । यो कुनै अर्को नयाँ रूपमा बदलिने र विकसित हुने गरेको छैन । तसर्थ, यो संसार भनेको त्यस्तै अलग–अलग स्थिर र सधैँंका लागि निश्चित रूपमा अन्तिम वस्तुको सँगालोले ठाउँ सर्ने गरिरहेका छन्, त्यो गतिको कारण बाहिरी बल हो ।

अधिभूतवादीको निम्ति कुनै वस्तु वा जीवजन्तु अस्तित्वमा छ भने सधैँंभरि छ छैन भने कहिल्यै पनि अस्तित्वमा छैन । उसको निम्ति कुनै पनि वस्तु वा जीवजन्तु उही नै समयमा अस्तित्वमा छ पनि, साथसाथै त्यो अस्तित्वबाट जाँदै छ पनि भन्ने धारणा/पद्धति रहेको छ ।

यसप्रकार अधिभूतवाद भनेको एकलकाँटे र एकपाखे दार्शनिक पद्धति हो । यो दर्शनको सीमा नै यही हो कि यो दर्शनले कुनै पनि वस्तुलाई अन्तरसम्बन्धमा र निरन्तर गतिमा हेर्न र बुझ्न सक्दैन । यो दर्शनले कुनै पनि वस्तुको विपरीत पाटो र समग्र बाटोलाई हेर्न सक्दैन । यो दर्शनले कुनै पनि वस्तु विपरीत पाटोको आपसी द्वन्द्व र अन्तरसम्बन्धबाट पहिले मात्रामा बदलिँदै गएर अन्ततः गुणकै हिसाबले विल्कुलै नयाँ वस्तुमा किन र कसरी बदलिन्छ भन्ने विषयमा व्याख्या र विश्लेषण गर्न सक्दैन । अधिभूतवादी विकास, रूपान्तर फड्को जस्ता पद्धतिहरूलाई बुझेकै हुँदैनन् ।

अधिभूतवादको ठिक विपरीत दर्शन हो– द्वन्द्ववादी दार्शनिकहरूको के मत छ भने संसारका कुनै पनि वस्तुलाई र तिनीहरूको मानसिक छाया, विचारहरूलाई एक्लो र अलगअलग रूपमा होइन, निरन्तर गतिमा हेर्नुपर्छ भन्ने धारणा राख्छन् । द्वन्द्ववादीको लागि संसारको कुनै पनि वस्तु एक्लो र अलग अलग हुने गर्दैन । संसारको प्रत्येक वस्तु आफु वरिपरिका अरू अनगिन्ती वस्तुहरूसितको सम्बन्ध रहेको हुन्छ । त्यो अरू थुप्रै वस्तुसितको अन्तरनिर्भरता रहेको हुन्छ । ती सम्बन्धका कारणले एकले अर्कोमाथि प्रभाव पारेको हुन्छ ।

क्रिया प्रतिक्रिया सिर्जना गरिरहेको हुन्छ । वास्तवमा वस्तुहरू बिचका अन्तरसम्बन्धबाट पैदा हुने आपसी क्रिया–प्रतिक्रिया नै हामीले देख्ने गरेको गति हो । त्यसैले संसारमा त्यस्तो वस्तु नै हुँदैन, जो अलग–अलग हुन्छ र अरू वस्तुसितको अन्तरसम्बन्धमा हुँदैन । द्वन्द्ववादी दार्शनिकहरूको विश्लेषण अनुसार यस्तो हुँदो हो त संसारमा परिवर्तन र गति भन्ने कुरा नै हुँदैनथ्यो । युगौँसम्म हामी उही मान्छे, उही वस्तु, उही समाज, उस्तै प्रकृति जस्ताका तस्तै देखिइरहेका हुने थिए । त्यसमा कुनै हेरफेर नै देखापर्दैनथ्यो भन्ने धारणा रहेको छ ।

वस्तुभित्रको गति र परिवर्तनको कारक तत्व अन्तरसम्बन्ध हो र अन्तरसम्बन्धमा रहेका तमाम वस्तुहरूको आपसी अन्तक्र्रिया हो । यो विषयमा फ्रेडरिक एङ्गेल्सको सटिक भनाइ छ– “यी चिजहरू अन्तरसम्बन्धित छन् भन्ने तथ्यभित्र के कुरा पहिले नै समाहित हुन्छ भने तिनीहरूले एक अर्कोमाथि प्रतिक्रिया जनाउँछन् र ठिक यही आपसी प्रतिक्रियाले नै गति पैदा गर्छ ।”

अधिभूतवादीहरूको भन्दा ठिक उल्टो द्वन्द्ववादीहरू के धारणा राख्छन् भने संसारमा जे जतिथरिका वस्तु र जीवजन्तुहरू छन्, अस्तित्वमा छन– ती सबै अनादिकालदेखि अलग–अलग र उही रूपमा रहिरहेका छैनन् । ती लगातार बदलिरहेका छन् । आमरूपमा बदलिनु भनेको गति हो । खाली वस्तुहरूको सङ्ख्यामा मात्र घटबढ भएको होइन ठाउँ मात्र सरेको पनि होइन, एउटा वस्तु सम्बन्धमा रहेका थुप्रै वस्तुहरूसितको अन्तर्क्रिया विल्कुल नयाँ अर्को वस्तुमा विकसित भइरहेको छ । वस्तुको गुणमै हेरफेर भइरहेछ । यो द्वन्द्ववादको आधारभूत नियमभित्र पर्दछ ।

त्यस्तै, प्रकृति विज्ञानले पनि थुप्रै अकाट्य प्रमाणहरूद्वारा के सावित गरिसकेको छ भने मान्छे र जीवजन्तुहरू प्रकृतिकै विकासका नयाँ उपज हुन् । पृथ्वीमा अनादिकालदेखि नै मान्छे अस्तित्वमा थिएन, न त जीवजन्तु नै अस्तित्वमा थिए । यस्तो पनि पृथ्वीमा समय र परिस्थिति थियो, जतिखेर यहाँ कुनै जीवजन्तु नै अस्तित्वमा थिएन । खाली निर्जीव प्रकृति मात्रै अस्तित्वमा थियो ।

निर्जीव वस्तुहरूबाट सजीव वस्तु पैदा कुनै ब्रह्माले सृष्टि गरेको कुरा नभएर अनगिन्ती निर्जीव वस्तुहरूको आपसी सम्बन्ध र आपसी क्रिया–प्रतिक्रिया नै त्यस्तो आधार हो, जसले पृथ्वीमा रहेका सारा वस्तुहरूलाई बदल्दै लग्यो । लामो समयसम्मको निर्जीव वस्तुहरूको अन्तक्र्रिया र अन्तरसम्बन्धबाट नै अनुकूल हावा, पानी र परिस्थितिमा बिल्कुलै नयाँ अर्को चिज सजीव वस्तु पैदा भयो ।

वैज्ञानिक चाल्र्स डार्बिनले थुप्रै अकाट्य प्रमाणहरूद्वारा के प्रमाणित गरिसकेका छन् भने– मान्छे आफ्नै कुनै ईश्वरको सृष्टि होइन, यो प्रकृति र जीवजन्तुकै क्रमिक विकासको उपज हो । यो क्रमिक विकास एक्लाएक्लै र अलग–अलग रूपमा कदापि आएको होइन । वरपरका अनगिन्ती वस्तु र घटनाहरूसितको अन्तरसम्बन्ध र त्यसबाट पैदा भएको क्रिया–प्रतिक्रियाबाट आएको हो ।

तसर्थ, अधिभूतवादको ठिक विपरीत द्वन्द्ववादले के धारणा राख्छ भने संसारको कुनै पनि वस्तु, जीवजन्तु वा कुनै पनि अस्तित्व दुरुस्त रूपमै दोहोरिने गर्दैन । आफु वरपरका अनगिन्ती वस्तुहरूसितको आपसी सम्बन्ध, अन्तक्र्रिया र अन्तर्निर्भरताबाट यो लगातार र क्रमिक रूपमा बदलिरहेको हुन्छ ।

यो हिसाबले अधिभूतवाद प्रकृति विज्ञान आजको उचाइमा विकास नहुँदाताकाको दर्शन हो । यो यन्त्र विज्ञानले मात्र विकास गर्दा तत्कालको सत्रौँ/अठारौँ शताब्दीको दर्शन हो । यन्त्र विज्ञानमा वस्तुहरूको सङ्ख्यामा घटबढ हुन्ु वस्तुहरूले ठाउँ सर्नुलाई यान्त्रिक रूपमा लिने गर्छ । यन्त्र विज्ञानमा गतिको कारण बाहिरी बल हुने गर्छ । त्यस्तै, अधिभूतवादीहरूको धारणा के रहेको छ भने संसारमा गतिको कारण बाहिरी बल हो ।

द्वन्द्ववाद आधुनिक विज्ञानमा आधारित छ । तसर्थ अधिभूतवादको ठिक विपरीत द्वन्द्ववादको के धारणा राखेको छ भने संसारका तमाम वस्तुहरूको गतिको स्रोत बाहिरी बल होइन । वस्तुहरूमा निहित अन्तर्विरोधी पक्ष नै गतिको आधारभूत कारण हो । द्वन्द्ववादका अनुसार कुनै पनि वस्तु र घटनामा एउटा पक्ष वा पाटो मात्र हुँदैन, त्यसको ठिक विपरीत पक्ष वा पाटो पनि साथसाथै अस्तित्वमा रहेको हुन्छ ।

विपरीत पक्षहरू वा पाटाहरू आपसमा विरोधी मात्र हुन्नन्, तिनीहरूले अर्कोलाई प्रभावित पारिरहेका पनि हुन्छन् । एकले अर्कोभित्र प्रवेश गरिरहेका पनि हुन्छन् । एक अर्कोमाथि अन्तनिर्भर पनि हुन्छ । विपरीत पक्षहरू आपसमा सङ्घर्षरत पनि हुन्छ । उनीहरूका बिच सङ्घर्ष र एकता साथसाथै चलिरहेको हुन्छ ।

अधिभूतवादको एउटा मुख्य दोष नै यही हो कि त्यसले हरेक वस्तुमा हुने अन्तर्विरोधी पक्ष देख्दैन र देख्न पनि सक्दैन । अतः यो एकपाखे दर्शन हो । कुनै पनि वस्तुको विपरीत पाटो देख्न नसक्नु नै अधिभूतवादको एउटा मुख्य सीमा हो । अधिभूतवादीहरू कुनै वस्तु वा व्यक्तिमा सकारात्मक पक्ष देख्छन्, त्यही नै बेला त्यसमा नकारात्मक पक्ष हेर्न बिर्सन्छन् ।

द्वन्द्ववादका अनुसार प्रकृति, समाज र विचारको हरेक क्षेत्रमा विपरीत वा अन्तर्विरोधी पक्षहरू हुन्छन् । अन्तर्विरोधी पक्षहरू बिचको आपसी द्वन्द्व र अन्तरसम्बन्ध न वस्तुको गति परिवर्तन वा विकासको मुख्य कारण हो तर अधिभूतवादीहरूले गति, परिवर्तन वा विकासको मुख्य कारण नै ठम्याउन सक्दैनन् । यही हुनाले अधिभूतवादीहरूको धारणामा एउटा वस्तु अन्तर्विरोधी पक्षहरू बिचको द्वन्द्व वा अन्तरसम्बन्धले गर्दा पहिले मात्रामा बदलिँदै गएर, एउटा निर्णायक विन्दुमा गुणात्मक रूपले नै नयाँ र उन्नत वस्तुमा रूपान्तरित हुने भन्ने कुरा हुँदैन ।

अधिभूतवादीहरूको धारणा अनुसार वस्तुमा मात्रात्मक परिवर्तन भन्ने कुरा मात्र हुन्छ, गुणात्मक परिवर्तन भन्ने कुरा हुँदैन । बुद्धि भन्ने कुरा मात्र हुन्छ, विकास भन्ने कुरा हुँदैन । उस्तै उस्तै घटना दोहोरिने पुनरावृत्ति भइरहने भन्ने कुरा मात्र हुन्छ, एउटै वस्तु विल्कुलै नयाँ अर्को वस्तुमा बदलिने भन्ने कुरा हुँदैन । अधिभूतवादले कुनै पनि वस्तुको परिवर्तन र विकासको मुल कारण नै बुझ्न र ठम्याउन सक्दैन ।

यही हुनाले नै अधिभूतवादलाई एकपाखे र स्थिरताको दर्शन भनिएको छ तर द्वन्द्ववाद भने अन्तद्र्वन्द्व र अन्तरसम्बन्धको दर्शन हो । यो निरन्तर गति र विकासको दर्शन हो । अधिभूतवादको ठिक विपरीत द्वन्द्ववादले हरेक वस्तुमा अन्तर्विरोधी पक्षहरू रहेको देख्छ,, ती पक्षहरू बिच लगातार द्वन्द्व र अन्तरसम्बन्ध देख्छ र यही कारणले हरेक वस्तु लगातार गतिशील भइरहेको देख्छ ।

यसरी हेर्दा संसारमा त्यस्तो कुनै वस्तु र घटना नै हुँदैन, जसमा अन्तर्विरोधी पक्षहरू हुन्नन् । त्यस्तो अन्तर्विरोधी पक्ष नै हुँदैन, जो द्वन्द्वमा र अन्तर्निर्भरतामा हुन्न् । जहाँ पुँजीपति हुन्छ त्यहाँ अवश्य पनि मजदुरहरू हुन्छन् । जहाँ शोषक हुन्छ, त्यहाँ अवश्य शोषितहरू पनि हुन्छन् । जहाँ क्रिया हुन्छ, त्यहाँ निश्चित पनि प्रतिक्रिया हुन्छ । क्रिया जति चर्को हुन्छ, प्रतिक्रिया पनि त्यत्तिकै चर्को र विपरीत हुन्छ ।

जुन वस्तुको सुरुआत हुन्छ, त्यसको अन्त्य पनि हुन्छ । जुन वस्तुमा जीवन हुन्छ, त्यसमा मृत्युको प्रक्रिया पनि सँगसँगै हुन्छ । द्वन्द्ववादले यसरी हेर्छ संसारलाई । प्रकृति, समाज र विचारलाई भने अधिभूतवादको दृष्टिकोणमा कुनै वस्तुको विपरीत पाटो हुँदैन । कुनै पनि वस्तुको अन्तर्विरोधी पक्ष हुँदैन र यसको अनुसार हरेक वस्तु एकपाटे र एकपाखे हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर