काठमाडौं । सर्लाही जिल्लाको ढुंग्रेखोलामा सरकारले सुकुम्बासी किसानहरुमाथि गरेको दमनका विरुद्धमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका नेताहरुले सरकारले सुकुम्बासीहरुको गाँस, बास खोस्ने अमानवीय दमन जारी राखे कडा प्रतिरोधमा उत्रने चेतावानी दिएका छन् । संघका महासचिव सन्ध्या प्रधानले बिहीबार रिपोटर्स क्लवमा गरिएको पत्रकार सम्मेलनमा भने, “सुकुम्बासीले ०३० सालदेखि ऋणपान गरेर खनजोत गरी अन्नबाली लगाएर खाँदै आएको ऐलानी जग्गामा यसपाली लगाइएको मकै पाक्नै लागेको अवस्थामा स्थानीय प्रशासनले सुकुम्बासीहरुलाई गोली हानेर क्रूर दमनगरी पूरै नष्ट पारेको छ ।” राज्यको आततायी दमनका विरुद्ध आक्रोश पोख्दै भने, “राज्यशक्तिको दुरुपयोग गर्दै यसरी राज्यले सुकुम्बासीहरुको गाँस, बास खोस्ने अमानवीय दमन जारी राखे देशैभरिका सुकुम्बासीहरु एक भएर प्रतिरोधमा उत्रन बाध्य हुनेछौं ।”
सोही कार्यक्रममा बोल्दै संयुक्त सुकुम्बासी संघर्ष समितिका अध्यक्ष लड्डु खड्काले देशैभरि रहेका ८ लाख ७३ हजार ९ सय १७ जना सुकुम्बासीहरुको बैकल्पिक व्यवस्था विना उनीहरुको गाँखबास खोस्ने कार्य बन्द गर्दैन र सुकुम्बासीहरुमाथि यसरी नै नृशंस दमन जारी राखे आफूहरु देशव्यापी रुपमा एकढिक्का भइ कडा संघर्षमा उत्रन बाध्य हुने बताए । देशका ४० वटा जिल्लामा रहेका सुकुम्बासीहरुमाथि राज्यले बस्तीमा जोडर लगाउनेदेखि बस्तीमा आगो लगाएर सखाप पार्नेसम्मको अमानवीय हर्कत गर्दै आएको भन्दै खड्काले आक्रोस पोखे ।
सुकुम्बासीहरुको नष्ट गरिएको बालीको क्षतिपूर्ति, प्रहरी दमनको क्रममा घाइते भएका सुकुम्बासीहरुको निशुल्क उपचार र भरण पोषणको व्यवस्था तुत्काल व्यवस्था गर्नुपर्ने माग गर्दै सुकुम्बासी नेताहरुले सुकुम्बासीहरुलाई वैकल्पिक व्यवस्था नगरी बलप्रयोग गरी हटाउन खोजे जस्तोसुकै परिस्थिति पनि सिर्जना हुन सक्ने भन्दै त्यसको जिम्मेवारी राज्यले लिनु पर्ने बताए ।
असार २१ गतेदेखि सर्लाही जिल्लाको ढुङग्रेखोला गा.वि.स.मा सरकारले स्थानीय प्रशासन लगाएर सुकुम्बासी किसानहरुको बर्षे बाली नष्ट गर्ने कार्य गरेको थियो । स्थानीय पीडितहरुले जनाए अनुसार प्रहरी प्रशासनले १२५ राउण्ड गोली र अश्रु ग्याँस पड्काएर सुकुम्बासी बस्तीलाई आतंकित पारी कर्फु लगाएर बाली नष्ट गरेको थियो । १५ दिनपछि थन्क्याउन हुने अवस्थामा रहेको मकै बाली नष्ट गरी अहिले ५०÷६० वटा ट्याक्टर प्रयोग गरी सो जग्गा जोतिरहेको पत्रकार सम्मेलनमा आएका पीडितहरुले गुनासो गरे ।