जबरजस्ती युद्ध थोपर्ने ब्लेयर–बुसमाथि युद्ध अपराधको मुद्दा किन नचलाउने ?

जबरजस्ती युद्ध थोपर्ने ब्लेयर–बुसमाथि युद्ध अपराधको मुद्दा किन नचलाउने ?

tony_blair_george_bushकाठमाडाैं । इराक युद्धमा बेलायतको भूमिकालाई लिएर बुधबार आएको चिलकट आयोगको प्रतिवेदनले ब्लेयर प्रशासनलाई लिएर केही गम्भीर प्रश्न खडा गरेको छ ।

इराकमाथि आमविनाशकारी हतियार रहेको आरोपमा भएको आक्रमणको त्यसबेला नै चर्को विरोध भएको थियो ।

तर अमेरिका नेतृत्वको पश्चिमा आतंकवादी जत्थाले इराकी जनतामाथि क्रुर युद्धमात्रै थोपरेन युद्धको एउटा भयानक शृङ्लामा फसायो ।

यसैको प्रतिक्रियास्वरुप अहिले पनि इराक युद्धको चपेटामा परेको छ । यसको ज्वलन्त उदाहरण गत आइतबारमात्रै राजधानी बगदादको कर्रादामा भीषण आक्रमण हो ।

जसमा परी २ सय ५० भन्दा बढी निहत्था जनताले ज्यान गुमाउन पुगे । इराकमाथि गरिएको आक्रमणमा अपरिपक्व निर्णयका आधारमा आक्रमण गरेको बेलायतमा बुधबार सार्वजनिक सर जर्ज चिलकटको १२ भाग लामो प्रतिवेदनले स्पष्ट रुपमा औल्याएको छ ।

यो सँगै इराक युद्धका पीडितहरुले अब तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस र तत्कालीन बेलायती प्रधानमन्त्री टोली ब्लेयरलाई किन अन्तर्राष्ट्रिय युद्ध अपराध अदालतमा नउभ्याउने ?

यो प्रतिवेदनसँगै अब उनीहरुलाई अदालतमा उभ्याउने आधार खडा भएको छ । इराकमाथि गरिएको आक्रमण ‘अन्तिम विकल्प’ नभएकोमा प्रतिवेदनमा औल्याइएको छ । यसको अर्थ शान्तिपूर्ण वार्ता र संवादको माध्यबाट समस्याको हल गर्ने वाटो हुँदा हुँदै पनि इराकमाथि पश्चिमा देशहरुले युद्ध थोपरेको कुरा पुष्टि भएको छ ।

अमेरिकाकै डेलावेयर युनिभर्सिटीका प्राध्यापक मुक्तर खानले युद्धका बेला आलोचकहरुले उठाएका प्रश्नहरुलाई तर्कसंगत रुपमा दास्तावेजीकरण गरेको र सबै आरोपको आधिकारिक दस्तावेज बनेको बताए । अमेरिका र बेलायतले कथित आमविनाशकारी हतियार रहेको आरोपमा इराकमाथि बढाइचढाई गरेर जुन आरोप तयार पारी आक्रमण गरियो, त्यो हावाको बेलुन चिलकट प्रतिबेदनले फुटाइदिएको छ ।

यसले तत्कालीन बेलायती प्रधानमन्त्री टोली ब्लेयर, ज्याक स्ट्रा, जर्ज डब्लु बुस आदिले गैरकानुनी युद्ध गरेको आरोपमा मुद्धा चलाउने बाटो खुल्ला गरेको छ ।

कसैले आफ्नो आत्मरक्षाका लागि सबै गोप्यताहरु भंग गरेन भनेर उसमाथि आक्रमण गर्न मिल्छ ? किनकी इराकमाथि पनि आम विनाशकारी हतियार रहेकोबारे जुन तथ्य माग गरिएको थियो, त्यो दिने वा नदिने उसको आन्तरिक मामला थियो ।

त्यसमाथि पनि इराकमाथि आक्रमण जुन आरोप लगाएर गरिएको थियो, त्यो आधारहीन भएको त्यसबेला नै पुष्टि भइसकेको छ किनकी इराकसँग कुनै आम विनाशकारी हतियार भेटिएन ।

चिलकट प्रतिवेदनलाई मुख्य आधार बनाएर मुद्धा दायर गर्ने हो भने ब्लेयर कानुनी कारबाहीबाट बच्न नसक्ने प्राध्यापक खानको भनाई छ ।

त्यतिमात्रै होइन बेलायतमा इराक युद्धका बारेमा जसरी छानविन भयो, यस्तो छानविन अमेरिकामा पनि हुन जरुरी छ । अन्यथा भोलि थुप्रै कमजोर देशहरु पश्चिमा साम्राज्यको दादागिरीको शिकार बन्दै जानेछन् ।