कहाँको काठको गुर्ता र कहाँको रकेट लञ्चर ? अहिलेको रकेट लञ्चरको पूर्खा काठको गुर्ता नै थियो भन्ने सुन्दा हामीलाई आश्चर्य लाग्न सक्छ । तर यो कुरा सत्य हो । विज्ञान र प्रविधिको उच्चतम् विकास भएको आजको जमानामा जेजति कुराहरु मानव समाजको सपत्तिको रुपमा आर्जित छन्, ती सबै प्राकृतिक प्रदत्त साधनस्रोतबाट निर्माण भएका हुन् । पहिले पहिले निर्माण भएका सबै कुराहरु प्रायः वातावरण मैत्री थिए ।
यो रोचक प्रसङ्गको व्याख्या गर्दा आजको विनाशकारी हतियार रकेट लञ्चर कसरी बन्न पुग्यो ? साँच्चै अहिलेका हतियार कति विध्वंशक र वातावरण विनाशक छन् ? यसको सेरोफेरोमा काठको गुर्ताबाट भएको रकेट लञ्चरसम्मको विकासले वातावरणमा पारेको असरलाई संक्षिप्त व्याख्या गरिने छ ।
काठको गुर्ता केटाकेटीहरुले चरा मार्न वा भित्तामा निशाना साँध्न प्रयोग गर्छन् । यो तन्कने रबरबाट बनाइएको हुन्छ । ससाना पसलहरुमा यो जहाँतहिं पाइन्छ । तर सुरुको अवस्थामा यो गुर्ता न त रबरबाट बनेको हुन्थ्यो, न जहाँतहिं पाइन्थ्यो । यो आजभोलि सरल र सहज किसिमले पाइने बच्चाबच्चीको हतियार बनेको छ । आधुनिक अस्त्रको विकास धनुकाँड र त्यसपछि गुर्ताबाट भएको हो ।
शिकारी युगमा बनेका ढुङ्गाका हतियार क्रमशः धातुका हतियारमा परिणत हुन थाले । मान्छेले नयाँ नयाँ खोज विधि अपनाउन थाल्यो । हल्का र सजिला खालका काठका हतियार पनि व्यापक बन्न थाले । पछिल्लो चरणमा आएर आदिवासीहरुले धनुकाँडलाई प्रयोगमा ल्याए । आज पनि पहिचान दिनुपर्दा आदिवासीले धनुषकाँडको सङ्केत प्रयोग गर्छन् ।
यो धनुषकाँडलाई परिमार्जन गरेर काठको गुर्ताको आश्चर्यजनक हतियार बनाउने पहिलो मानिस तात्कालिन सिराकस र हाल इटलीका गणितशास्त्री आर्किमिडिज थिए । आर्किमिडिजले उनको अनुसन्धान कालमा यसको सफलतापूर्वक परीक्षण र प्रयोग गरे । आजभन्दा २ हजार २ सय बर्ष पहिले काठको गुर्ताको विकास भयो । त्यतिबेला यसलाई एउटा घातक अस्त्रको रुपमा प्रयोगमा ल्याइएको थियो ।
आजको इटली झण्डै दुई हजार वर्ष पहिले रोम र सिराकसमा विभाजित थियो । रोम निकै बलशाली र विकसित थियो । रोमन साम्राज्यको आज पनि इतिहासमा उत्तिकै चर्चा छ । युरोपमा चकचकी मच्चाएको रोमन साम्राज्यले सिसिलीको के हालत बनाएको थियो होला ? यसबारे सामान्य आँकलन गर्न सकिन्छ । हालको संयुक्त राज्य अमेरिका र क्युवाको बीचमा रहेको सम्बन्धलाई हेरेर भन्न सकिन्छ– शायद त्यस्तै रहेको थियो कि रोमन साम्राज्य र सिसिलीबीचको सम्बन्ध ? किनकि, सिसिलीको राजधानी शहर सिराकस र रोमन साम्राज्यबीच लामो समयसम्म दुश्मनी रहिरह्यो । रोमन साम्राज्यले स्वतन्त्र सिराकसलाई फुटेको आँखाले पनि देख्न सक्तैनथ्यो । सिराकसको स्वतन्त्र अस्मिता लुट्न रोमन साम्राज्यले वारम्वार हमला गर्दथ्यो । युद्व र लडाईंको क्रममा सिराकसले प्रतिरोध र बचाउका लागि युद्ध यन्त्रहरुको विकास ग¥यो । ती मध्ये गणितिज्ञ तथा वैज्ञानिक आर्किमिडिजले बनाएको काठको गुर्ता एक अकल्पनीय अस्त्र थियो ।
काठको गुर्ताले सिसिलीमाथि आक्रमण गर्न आउने रोमन फौजहरुलाई टाढाको दूरीबाटै तितरबितर पार्दथ्यो । रोमनहरु चढेको डुङ्गा र त्यसमा सवार सिपाहीहरुलाई ढुङ्गाले हिर्काएर या त डुङ्गा नै पल्टादिन्थ्यो या त त्यहीबाट भाग्ने गराउँथ्यो । काठको गुर्तामा लादिएका ढुङ्गाले आजका बमगोला जस्ता डरलाग्दा विष्फोटकको काम गर्दथे । रोमनफौजहरुले काठको गुर्ताबाट गरिने यो आक्रमणलाई दैवी आक्रमण पनि भन्ने गरेको भनाइबाट यसको प्रभावकारिता र विनाशक क्षमतालाई कम आँक्न सकिँदैन । यसरी सोँच्दै नसोँचेको आश्चर्यजनक हमलाको रोमनहरुले सुरुमा अत्तोपत्तो पाएनन् । लामो समयसम्म उनीहरु यो प्रविधिवारे बुझ्न नसकेर आश्चर्य चकित भइराखे । यसको बारेमा भेउ नपाउँदासम्म त रोमनहरु सिराकसमाथि हमला गर्न नै आएनन् ।
सिराकसमाथि आक्रमण गर्न उनीहरुले प्रायः समुद्रको बाटो तय गर्दथे । उनीहरु समुद्रबाट आउँदा सिराकसका फौज काठको गुर्ता लिएर तम्तयार रहन्थे । यो काठको गुर्ता चलाउन र प्रहार गर्न सिङ्गो एक पल्टन नै खट्नु पर्दथ्यो । ठूल्ठूला काठका खम्बामा बलिया डोरीहरुले बाँधेर ढुङ्गाका गह्रौ भारहरुले अड्याई राखिएको त्यो काठको गुर्ता प्रहार गर्नु चानचुने कुरा थिएन । भनेको ठाउँमा निशाना लगाउन त्यत्ति सजिलो पनि थिएन । तर, निशाना लागेपछि जल होस् वा थलमा आक्रमण गर्न आएका रोमन फौजको ठूलै मात्रामा हताहती हुन्थ्यो । उनीहरु छिन्नभिन्न र तितरबितर भई भाग्दथे ।
काठको गुर्ताको लम्बाइ, त्यसमा प्रयोग गरिने गोला ढुङ्गा, काठ उछिट्याउने गरी दुवैतिर राखिएको ढुङ्गाको भार आदि सबैको योगफलको हिसाब गरी त्यो गुर्ताले मार पार्न सक्ने दुरी र क्षमता निर्धारण गारिएको हन्थ्यो । यसमा प्रयोग गरिएका काठ, ढुङ्गा, डोरी मानिस मार्नकै प्रयोजनका लागि निर्माण गरिएका भए पनि यी प्राकृतिक वातावरण मैत्री थिए । सैन्य विज्ञान, युद्धकला र सामाजिक मनोविज्ञान तथा प्रविधि विकासका हिसाबले निकै महत्व भए पनि वातावरणीय प्रदुषण र वातावरण विनासका हिसाबले यी वातावरण मैत्री रहेका छन् ।
आज आएर त्यही काठको गुर्ताबाट अत्याधुनिक रकेट लञ्चरको आविस्कार भएको छ । सिङ्गो पल्टनले चलाउने आर्किमिडिजको काठको गुर्ता अहिले रकेट लञ्चरको स्वरुपमा आइपुग्दा काँधमा बोकेर दुईजनाले सजिलै प्रहार गर्न सकिने विध्वंशक अस्त्र बनेको छ । यो अस्त्र आज आएर धेरै मानिसको ज्यान लिने र अत्यधिक वातावरणीय प्रदुषण फैलाउने घातक अस्त्र बनेको छ । यो प्रकतिका हिसाबले आणविक अस्त्र बनेपछि जल, थल र वायु मण्डलमा नराम्रो असर पारेको छ । वातावणविदहरुका अनुसार यो अनिवार्य कटौती गर्नुपर्ने अस्त्रको सूचीमा परेको छ ।
रकेट लञ्चर लामो दुरीमा जमिनबाट जमिनमाथि प्रहारगर्ने हतियार हो । नेपालमा यो हतियार नेपाली सेनालाई मात्र दिइएको छ । नेपालको जनयुद्धकालमा जनमुक्ति सेना नेपालले पनि रकेट लञ्चर प्रयोग गरेको पुष्टि भएको छ । स्थल यद्धमा प्रयोग गरिने यो अस्त्र हाल आएर हेलिकप्टरमा राखी आकाशबाट जमिनका निशानाहरुमाथि मार पार्ने गरी प्रयोग गर्न थालिएको छ । यसको ध्वंश गर्ने क्षमता धेरै हुन्छ । यसले लिने ध्वंशको क्षेत्र पनि ठूलै हुन्छ । यो वातावरण अमैत्री र वायुप्रदुषक हुन्छ ।