‘ऊ’

‘ऊ’

सबेरै उसले
चालेको पाइला
एक कदम अघि
दुई कदम पछिको सिद्धान्तमा
हजारौं माइल पार गर्न
एक पाइलाबाट सुरु गरेको यात्रा
सिधाबाट बक्ररेखा हुँदै
अघि बढ्दा र बढाउँदै जाँदा
बनिबनाउ चक्रव्यूहमा फस्न पुग्यो ।
त्यसपछि,
पार पाउने हज्जारौं प्रयत्न बाँकी छन्
साहसका जोशिला मुठ्ठिहरु उठ्न बाँकी छन्
भ्रम र अविश्वासहरु तोड्न बाँकी छन्

एउटा साँच्चै नयाँ बाटो हिड्ने संकल्प
त्याग, तपस्या र समर्पणको भाव
बोकेर उठेको, जागेको र लागेको पुस्ता
तयार पार्नै बाँकी छ

त्यो युगान्तकारी अभिभारा पूरा गर्न
यो अँधेरी रातमा
एउटा मशाल जुलुस
एउटा मार्चपास, को तयारी गर्दैछ ऊ
गन्तव्य चुम्ने अठोट बोकेर
हजारौं पाइलाको बाटो
एक पाइलाबाट सुरु गर्दैछ ऊ ।