अनलाईन निर्देशिकाप्रति क्रान्तिकारी पत्रकार महासंघको आपत्ति

अनलाईन निर्देशिकाप्रति क्रान्तिकारी पत्रकार महासंघको आपत्ति

Federation of Revolutionary Journalistकाठमाडौं । क्रान्तिकारी पत्रकारहरुको छाता संगठन क्रान्तिकारी पत्रकार महासंघले सरकारले हालै ल्याएको अनलाईन सञ्चालन निर्देशिकाप्रति आपत्ति जनाएको छ ।

महासंघका संयोजक कुमार शाहले बिहीबार एक विज्ञप्ती जारी गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मौलिक अधिकारको धज्जी उडाउने गरी ल्याइएको अनलाईन सञ्चालन निर्देशिका तत्काल फिर्ता लिन माग गरेका हुन् ।

अनलाईन अहिले छापा, रेडियो र टेलिभिजनलगायत सबै सञ्चारमाध्यमहरुको मूलबाटो जस्तै बन्न गएको बन्दै विश्वव्यापी सञ्चार प्रविधिको विकासको यो समयमा अनलाईनमाथि गर्न खोजिएको नियन्त्रण स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

‘खुलेका अनलाइन मिडियालाई सूचीकृत गर्ने, स्वनियमनको दायरामा ल्याउन प्रयास गर्ने र कमीकमजोरी प्रेस काउन्सिलको आचार संहितामार्फत् सच्याउन लगाउने, चेतावनी दिने वा दण्डको दायरामा ल्याउने कुरामा सरकारको सोच पुग्नु जरुरी छ । सुशासनको हवाला दिएर अघोषित संकटकालीन अधिकार प्रशासनलाई दिनु भनेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मौलिक अधिकारमाथि योजनाबद्ध र जानाजान हमला हो,’ विज्ञप्तीमा भनिएको छ । 

महासंघले सरकारले कार्यान्वयनका लागि ल्याउन लागेको यो निर्देशिका तत्काल फिर्ता गरी सरल अनुगमन र सामान्य सूचीकरणको व्यवस्था गर्न पत्रकारहरुसहित सम्बन्धित सबै पक्षहरुलाई सामूहिक टिम निर्माणका लागि बेलैमा पहल गर्न आग्रह समेत गरेको छ ।