काठमाडौं । अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिकाकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान भएको खेलमा आयोजक अमेरिकालाई ४–० ले पराजित गर्दै अर्जेन्टिना लगातार दोस्रो पटक कोपा अमेरिकाकप फुटबलको फाइनलमा पुगेको हो ।
अर्जेन्टिनाको जितमा गोञ्जालो हिगुएनले दुई तथा लियोनल मेस्सी र लाभेज्जीले एक एक गोल गरे । यो गोलसँगै मेस्सी अर्जेन्टिनाका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।
उनले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट गरेको यो ५५ औं गोल हो । मेस्सीको कप्तानीमा अर्जेन्टिना तेस्रो पटक मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो ।
सन् २०१४ मा भएको विश्वकपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो भने गत वर्ष भएको कोपा अमेरिका कपको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा स्तब्ध बनेको थियो ।
अर्जेन्टिनाले अब उपाधीका लागि चिली र कोलम्बियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।