काठमाडौं । सोमबार बिहान अफगानिस्तानको राजधानी काबुलमा तालिवानी आतंकवादीले गराएको आत्मघाती आक्रमणमा मारिनेमा दुई जना भारतीय नागरिक पनि रहेको खुलेको छ ।
आक्रमणमा परी १२ नेपाली र दुई भारतीय नागरिकको मृत्यु भएको हो । सोमबारराति अपगानिस्तानस्थित क्यानेडियन राजदूत डेबोरा ए लियोन्सले एक विज्ञप्ती जारी गर्दै आक्रमणमा १२ नेपाली र दुई भारतीय नागरिक मारिएको प्रष्ट पारेका हुन् ।
यसअघि अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले आक्रमणमा मारिने सबै १४ जना नेपाली नागरिक रहेको बताएका थिए । सोही अनुसार नेपाली सञ्चारमाध्यमहरुले पनि १४ नेपाली नागरिक मारिएको समाचार संप्रेषण गरेका थिए ।
सोमबार दिउँसो परराष्ट्र मन्त्रालयले आयोजना गरेको औपचारिक पत्रकार सम्मेलनमा १२ नेपाली मारिएको बताएको थियो ।
परराष्ट्रको आधिकारिक पत्रकार सम्मेलनमा १२ नेपाली मारिएको बताइएपछि मारिएका थप दुई जना को थिए भन्ने बारेमा अन्यौलता छाएको थियो ।
भारतीय विदेश मन्त्रालयले समेत काबुलमा मारिएका दूई जना भारतीय नागरिक रहेको पुष्टि गरेको छ । मृत्यु हुने भारतीय नागरिकमध्ये एकजना नेपाली मूलका छन् । उनी देहरादूनका गणेश थापा हुन् भने अर्का मृतक देहरादूनकै गोविन्द सिंह रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षामा सर्वे इन्टरनेसनल मार्फत सुरक्षा गार्डका रुपमा खटिएका नेपालीहरु चडेको मिनीबसमा तालिवानी आतंकवादीले आत्मघाती आक्रमण गरेका थिए ।