वैद्य भन्छन्– अन्ततः बन्दुक उठाउनै पर्छ

वैद्य भन्छन्– अन्ततः बन्दुक उठाउनै पर्छ

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले फेरि पनि बन्दुक उठाउनै पर्ने बताएका छन् ।

रामबहादुर थापा बादलसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा गएपछि सोमबारदेखि राजधानीमा शुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै वैद्यले नेपालमा क्रान्ति सम्पन्न नभएकाले फेरि पनि अर्को क्रान्ति आवश्यक भएको उल्लेख गरे । जनवादी क्रान्ति सम्पन्न गर्न अन्ततः बन्दुक उठाउनै पर्ने उनको भनाइ छ ।

बिना तयारी भने बन्दुक उठाएर नहुने भन्दै उनले त्यसका लागि तयारी गर्नुपर्ने बताए । उनले क्रान्ति आवश्यक भएको र सम्भव रहेको रहेको उल्लेख गरे । वैद्यले निरन्तर क्रान्तिलाई अगाडि लैजाने र जनतालाई धोका नदिने पनि प्रतिवद्धता जनाएका छन् ।

कांग्रेस, एमाले र एमाओवादी एउटै

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रमा कुनै फरक नभएको बताए ।
एकता प्रक्रियामा नगएर विचारधारात्मक रुपमा आफूहरुले विजय प्राप्त गरेको उनले दाबी गरे । दक्षिणपन्थी अवसरबादका विरुद्ध क्रान्तिकारी धारा रहिरहने पनि उनले स्पष्ट गरे ।

अध्यक्ष वैद्यले एकताबारे पार्टीमा छलफल चलाएर आफूहरुले गल्ती गरेको बताए । अब माओवादी केन्द्रसँगको एकता हुनै नसक्ने पनि वैद्यले स्पष्ट गरे । ‘हामी रुपान्तरण गरेर एकता गर्ने पक्षमा थियौं’, राष्ट्रिय सभागृहमा आयोजित भेलाको उद्घाटन गर्दै वैद्यले भने, ‘तर क्रान्तिकारी धारालाई नै ध्वस्त पार्न एकताको षड्यन्त्र भयो ।’

क्रान्तिकारी माओवादीको विउ पनि नरहोस् भनेर गरिएको षड्यन्त्र आफूहरुले सफल हुन नदिएको बताउँदा हलभरी रहेका कार्यकर्ताले ताली ठोकेका थिए । एकताबारे छलफल गरेर गल्ती गरिएको भन्दै वैद्यले अब एकताको होहल्लाको नदौडिने बताए ।

वैद्यले अरु नाम मात्रको कम्युनिष्ट भएको आरोप लगाउँदै आफूहरु मात्रै सच्चा माओवादी भएको दाबी गरे ।
क्रान्तिकारी माओवादी अध्यक्ष वैद्यले नेपालमा क्रान्ति पूरा नभएको बताए । वैद्यले क्रान्ति पूरा भयो भने हिजोका बदमासहरु जेलमा हुने र क्रान्तिकारीहरु मुक्त हुने बताए ।