माओवादी केन्द्र ‘दक्षिणपन्थी नवसंशोधनवादीको केन्द्र’

धनेश्वर पोख्रेल
‘जब हामी अवसरवादसँग लड्ने कुरा गर्दछौं, त्यो बेला हामीले आजभोलिका अवसरवादको खास विशेषतालाई कहिल्यै भुल्न हुँदैन । जुन प्रत्येक क्षेत्रमा पाइन्छ अर्थात त्यसको अस्पष्टता, विखराब र कहिल्यै पकडमा नआउने गुण । अवसरवादीका स्वभाव यस्तो हुन्छ कि उ हमशा कुनैपनि सवाललाई स्पष्ट र निर्णायक रुपमा पेश गर्ने कामबाट पन्छने गर्छ । उ हमेशा कुनै बिचको बाटो खोजी गर्ने धुनमा लाग्दछ । उ एकदमै विरोधी दृष्टिकोणहरुकाबीच सदा सापजस्तै यता र उता लडखडाउने प्रयत्न गर्दछ र दुवै कुरासित सहमत हुने कोशिस गर्छ ।’ लेनिन (एक कदम अगाडि दुई कदम पछाडि)

‘गुटवादले प्रतिक्रान्तिकारीको ढाकछोप गर्ने काम गर्दछ र प्रतिक्रान्तिकारीहरुले गुटवादलाई भरपुर उपयोग गर्दछ ।’ माओ

‘माओवादीबीचको एकता हावा भरेको बेलुन हो, यो जतिबेला पनि फुट्न सक्छ ।’ पार्टी एकता भएको अर्थात जेठ ६ गते २०७३ मा माओवादी नेता राम कार्कीले पत्रकारसँगको कुराकानीमा आफ्नो भित्री बुझाईलाई खुलासा गरेका थिए ।

१.पार्टी एकताको पृष्ठभूमिबारे छोटो चर्चा
विचार, राजनीति, आधारभूत सिद्धान्तमा आधारभूत अन्तर आइसकेपछि ७ वर्षसम्मको लामो दुई लाईन संघर्षले २०६९ असार २ सम्म आइपुग्दा एमाओवादी पार्टी अन्ततः दुई टुक्रामा विभाजित भएको हो । त्यतिबेला नेताहरुबीच केवल कार्यनीतिको प्राविधिक रुपमा पद प्रतिष्ठा र उनीहरुको जीवनशैलीसँग मात्र अन्तरविरोध थिएन । शान्ति प्रक्रियामा आइसकेपछि कतिपय नेताहरुको जीवनशैली सर्वहारा जीवनशैलीबाट १८० डिग्री फन्को मारी एकाएक बुर्जुवा जीवनशैलीमा फड्को मारेको थियो ।

त्यो जीवनशैली विचार, सिद्धान्तसँग सम्बन्धित हुने भएकोले अन्ततः त्यसले विचार र कार्यदिशामा अभिव्यक्त भएरै छाड्यो । त्यतिबेला पार्टीभित्र रणनीतिमा तिव्र अन्तरविरोध हुनुका कारण एमाओवादीसँग सम्बन्ध विच्छेद हुन पुगेको थियो । त्यतिबेला प्रचण्ड बाबुरामले ल्याएको लोकतान्त्रिक गणतन्त्रको धार र क.किरणले ल्याउनुभएको जनवादी गणतन्त्रको धाराकाबीचको लडाई थियो । त्यो भनेको नयाँ जनवाद कि संसदवाद भन्ने हो ।

२०६९ असारमा एमाओवादीबाट अलग भएको माओवादीको सातौ महाधिवेशनले के कुरा पास गरेको थियो भने विचार र सिद्धान्तका आधारभूत प्रस्तावमा मिल्ने विभिन्न कम्युनिष्ट घटकहरुसँग पार्टी ध्रुविकरण प्रक्रियालाई अगाडि बढाउन सकिन्छ । त्यसका निम्ति सबै क्रान्तिकारीहरुका लागि धु्रविकरणको ढोका खुला राखेको थियो । दक्षिणपन्थी संविधान संसोधन। नवसंशोधनवादीहरु मजबुत भैरहेको संन्दर्भमा क्रान्तिकारीहरुले आफ्नो शक्ति संचय सदृढ गर्न ध्रुविकरण करा उठेको थियो । 

सबैलाई मान्य हुने गरी मालेमावादी सिद्धान्तको आधारमा क्रान्तिकारीहरुबीचको एकताका लागि ६ बुँदे एजेण्डा अगाडि सारियो । ६ बुँदामा सहमत हुनेसँग पार्टी एकता प्रक्रिया अगाडि बढाउने निर्णय बमोजिम मालेमावादलाई मान्ने जनवादी क्रान्ति स्वीकार्ने, संसदवादको विरोध गर्ने र बल प्रयोगलाई स्वीकार्नेसँग पार्टी एकता गर्ने भन्ने थियो । सोहीअनुरुप एमाओवादी, नेकपा एकीकृतलगायतसँग प्रस्ताव अघि सारियो । नेकपा एकीकृतसँग लामो बहस, अन्तक्र्रियाद र गृहकार्यका बिचबाट एजेण्डामा दुवै पक्ष सहमत भइसकेपछि गत कात्र्तिकमा पार्टी एकता सम्पन्न भएको थियो ।

मुख्य एजेण्डामा सहमत भइ एमाओवादीसँग पनि छलफल अगाडि बढाउने कतिपय प्राविधिक कुरा नमिले लिने दिनेगरी पार्टी एकता गर्ने कुरासमेत भएको थियो । त्यसैअनुरुप शीर्ष नेताहरुबीच बहसपति अघि बढेको हो । प्रचण्डको धोकेबाज कार्यशैलीका कारण विश्वासका पर्खालहरु भत्किराखेका थिए । प्रचण्डको ताकपरे तिवारी नत्र गोतामे चरित्रले नेपाली क्रान्तिलाई त समाप्त पार्यो पार्यो सबै आफ्नै इज्जत प्रतिष्ठा र विश्वसनीयतालाई समेत ध्वस्त बनाइदियो ।

सत्ता पक्षले तर्साउन खोज्दा क्रान्तिकारी पक्षको आड लिएर सत्तापक्षलाई घुक्र्याउने, धम्क्याउने, क्रान्तिकारी पक्षसँग रिसाउँदा सत्तापक्षको आड लिएर क्रान्तिकारी पक्षलाई घेराबन्दी गर्ने, एक्ल्याउने र हमला गर्ने यस्तो द्वैध चरित्रले गर्दा उनी आफै राजनैतिक जीवनबाट नित्तान्त व्यक्तिगत जीवनतीर ओराले लाग्दैछन् ।

बाबुराम भट्टराई प्रचण्डको पार्टीबाट अलग भएतापनि प्रचण्डले लाईन, सिद्धान्तका दृष्टिले अझै बाबुरामलाई छोड्न सकेका छैनन । त्यतिमात्र होइन बाबुरामले प्रचण्डलाई लोकतन्त्रको संसदीय खाडलमामा लगेर टुप्पीसमेत डुबाइदिइसकेपछि उनी त्योबाट उम्किएर बाहिर सडकमा आउने कुरा यो युगमा समाप्त भएको छ । तैपनि ज्ञानेन्द्र शाहको संसदीय कु ले सात दललाई सडकमा बाध्य बनाएजस्तै प्रतिक्रियावादीहरुको गठबन्धन र नेपालका माओवादीलगायतका क्रान्तिकारी शक्तिहरुलाई सिध्याउने देशी विदेशी ग्राइण्ड डिजाईनले उनलाई विगत तिर फर्किन र विचार राजनीतिमा पुर्नविचार गर्न गराउन मद्दत पुर्याउछ कि भन्ने उद्देश्यले रुपान्तरणको अपेक्षासहित निश्चित मापदण्ड कायम गरी दुवै पक्षको सहमतिबाट पार्टी एकताको छलफल अगाडि बढेको हो ।

तर त्यो छलफलको स्प्रिटलाई देश र जनताको हितमा पार्टी र क्रान्तिको हितमा अगाडि बढाउनुको साटो नित्तान्त आफ्नै पद प्रतिष्ठा र सत्तालिप्सासँग तुलना गरी एक इन्च पनि अगाडि बढ्न चाहेनन् । त्यसको अलवा सत्तासीन काँग्रेस एमालेहरुसँगको गठबन्धन झन सुदृढ गर्न पुगे । समय समयमा भएका विभिन्न घटनाक्रमले के कुरा सावित गर्दै आएको छ भने प्रचण्डले कुनै हालतमा पनि वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाका विरुद्ध जान चाहनन् र क्रान्तिकारी विचार, सिद्धान्तसँग निकट रहेर क्रान्तिकारी पार्टीसँग एकता गर्न चाहनन् । बरु के कुरा सिद्ध हुँदै आएको छ भने क्रान्तिकारी पक्षबाट राखेको रुपान्तरणसहितको पार्टी एकताको प्रस्तावलाई कमजोरीको रुपमा बुझेर त्यसैमा टेकर त्यही प्रस्ताव उल्टाएर क्रान्तिकारी पार्टीलाई फुटाउने, कमजोर बनाउँने र त्यहीभित्रको एउटा पक्षलाई एकताको नाममा आफूतिर तान्ने हर्कत गर्न पुगे ।

वास्तममा क्रान्तिकारी माओवादीले क्रान्तिकारी कम्युनिष्ट केन्द्र निर्माण गर्नका लागि विभिन्न खेमामा रहेकाम क्रान्तिकारी शक्तिहरुकाबीच मालेमावादी विचार सिद्धान्तको आधारमा निश्चित मापदण्ड तयार गरी धु्रविकरणको प्रस्ताव अघि सारेका हौं । यद्यपि यो प्रस्ताव अझै कायम छ ।

२.क्रान्तिकारी माओवादीभित्र एकता सम्बन्धि विवाद के हो ?
वास्तममा क्रान्तिकारी माओवादीभित्र माओवादीलगायत शक्तिसँग पार्टी एकता वा ध्रुविकरण गर्ने कि नगर्ने भन्ने विषयमा कुनै विमान छैन । प्रतिक्रियावादीहरु धु्रविकृत भई क्रान्तिकारी शक्तिमाथि धावा बोलिरहेको आजको अवस्थामा क्रान्तिकारी शक्तिहरुबीच ध्रुविकरण र एकताको विरोध गर्नु त्यो न त माक्र्सवाद सम्मत ठहर्छ न त वस्तुगत यथार्थ सम्मत हुन्छ । क्रान्तिकारी शक्तिहरुबीचको एकता आजको अपरिहार्य आवश्यकता हो । यो विषयमा कोही कसैले नकारात्मक ढंगले सोच्नै हुँदैन ।

तर पार्टी भित्र विवाद कहाँनेर हो भने एकता कुन आधारमा को सँग गर्ने ? कुन मापदण्डका आधारमा गर्ने, त्यसको विधि प्रक्रियालाई कसरी निश्चित गर्ने, एकता विचार नीति र सिद्धान्तका आधारमा गर्ने कि भावना, पुरानो सम्बन्धका आधारमा गर्ने, एकता क्रान्तिका लागि गर्ने कि संसदीय चुनाव जित्नका लागि गर्ने, सिद्धान्तनिष्ठ, संस्थागत एकता गर्ने कि निसर्त, सिद्धान्तरहित गुटगत एकता गर्ने ? भन्ने विषयको बहस नै क्रान्तिकारी माओवादी भित्रको बहस हो ।

पार्टी हेडक्वार्टरको तर्फबाट अध्यक्षले लिएको सिद्धान्तनिष्ठ एकताको खिलापमा कार्यलयसचिव क.बादलले ल्याएको सर्तहीन एकताको प्रस्ताव आएपछि विवाद चर्किएको हो । पार्टी एकतासम्बन्धि प्रचण्डसँग धाराणा लिन खोज्दा प्रचण्डले नित्तान्त हचुवाको भरमा संस्थागत निर्णय नगराईकन क्रान्तिकारी माओवादीभित्रका नेता, कार्यकर्ताको नाडी छाम्न पठाएको ३ बुँदे प्रस्ताव वास्तविक एकताका लागि नभएर इतिहासप्रति मजाक गर्न र क्रान्तिकारी माओवादीभित्र भाँडभैलो मच्चाएर पार्टी फुटाउने ग्राइण्ड डिजाइनबाट आएको प्रस्ताव हो ।

३.पार्टी एकतासम्बन्धी दुवै प्रस्तावका सार के हुन ?
एकता सम्बन्धि अध्यक्ष क. किरणले २०७२ चैत्र १२ को केन्द्रीय समितिको बैठकमा पेस गर्नु भएको प्रस्तावको तेस्रो प्याराग्राफमा भनिएको छ, –‘नेपाली सर्वहारावर्ग तथा सम्पूर्ण उत्पीडित जनसमुदायको मुक्तिका लागि साम्राज्यवाद, विस्तारवाद, दलालनोकरशाही पुँजीवाद, सामन्तवाद तथा दक्षिणपन्थी संशोधनवादद्वारा अपूर्व चुनौति तेस्र्याइएको र नेपाली नयाँ जनवादी क्रान्तिले गम्भीर धक्का खाएको विशिष्ट ऐतिहासिक अवस्थामा सम्पन्न हुन गइरहेको छ । वस्तुगत तथा आत्मगत रुपमा नेपाली क्रान्तिको झण्डालाई कसरी उचो बनाईराख्ने र पार्टीलाई एकतावद्ध तुल्याउँदै क्रान्तिको काममा कसरी अगाडि बढ्ने भन्ने नै अहिलेको मुख्य चुनौती हो ।’

प्रस्तावको आगामी कार्यभार शीर्षकको छैठौं तथा अन्तिम बुँदामा भनिएको छ, –‘अन्य शक्तिसित पार्टी एकता गर्नुभन्दा पहिले आफ्नै पार्टीलाई एकढिक्का बनाउँन आवश्यक हुन्छ । तसर्थ आजको आवश्यकता भनेको सबैखाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध क्रान्तिकारी विचारको रक्षा गर्नु, पार्टीलाई एकतावद्ध तुल्याउनु र एकता संघर्ष तथा मुख्यतः रुपान्तरण हुँदै केन्द्रिकृत,अनुशासित, तथा नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्नु हो ।’ 

यसरी अध्यक्ष क. किरणको प्रस्तावको मुख्यत रुपान्तरणसहितको नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणका लागि र नयाँ जनवादी क्रान्ति पूरा गरी समाजवाद र साम्यवादी दिशामा अगाडी बढ्नका लागि क्रान्तिकारी शक्तिहरुबीच एकता र ध्रुविकरणको प्रस्ताव अघि ल्याइएको हो । त्यसैगरी फरक मत आएको क.बादलको प्रस्तावको पृष्ठभूमीको दोस्रो र तेस्रो प्याराग्राफमा भनिएको छ, –‘उपरोक्त प्रतिक्रान्ति, घिटन र रक्षात्मक अवस्थाबाट क्रान्तिलाई फेरि माथि उठाउन सम्पूर्ण क्रान्तिकारीहरु गम्भीर आत्मसमीक्षा र रुपान्तरणासहित एकजुट हुनका लागि आमजनता, कार्यकर्ता तथा मित्रहरुका आवाज सर्वत्र गुन्जिइरहेको छ । सँगसँगै क्रान्तिकारी धारलाई विसर्जनको पराकाष्टसम्म पुर्याइ पूर्ण रुपमा सखाप पार्न देशी विदेशी प्रतिक्रियावादी तथा अवसरवादी शक्तिहरुपनि भयानक षढ्यन्त्रमा लागिपरेका छन् । त्यसैले क्रान्तिकारी एकता आजको अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न गएको छ ।’ 

परन्तु विचारलाई पन्छाएर फगत संगठनात्मक र भावनात्मक एकताको कुरा गर्नु सिद्धान्तको नाममा आ आफ्ना आग्रहपूर्वाग्रह नछोड्नु र आशंका अर्कमन्यता अनिर्णयको बन्दी बन्नु एकताबारे यी सबै अधिभूतवादी धाराणा हुन् । त्यसैले आज सबै क्रान्तिकारीहरु पूर्ण इमान्दारिता तथा जिम्मेवारीबोधका साथ नयाँ सैद्धान्तिक, राजनैतिक तथा संगठनात्मक आधारहरु संयुक्त रुपमा निर्माण गरी यथाशिघ्र एकताबद्ध हुनु नै युक्तिसंगत ठहर्छ । 

यसरी एकतातिर गम्भीर आत्मासीक्षा र रुपान्तरणसहित, एकजुट हुन आमजनता, कार्यकर्ता र मित्रहरुको आवाजको कुरा गर्ने अर्कोतिर पार्टी, क्रान्ति, देश, जनताप्रति त्यतिठूलो आत्मघात, अन्तर्घात, जनघात, राष्ट्रघात गरेर विजयको सन्निकट पुगेको नेपाली क्रान्तिलाई ध्वस्तपारी प्रतिक्रियावादी संसदवादमा चुर्लुम्म डुबेको पूर्व एमाओवादी नेतृत्व अहिलेसम्म ‘क’ देखि ‘ज्ञ’ सम्म कुन कुन शब्द र अक्षरमा रुपान्तरण भएनर आए ? हिजो सार्वजनिक मञ्चबाट प्रचण्डलाई यो लालगद्दार हो यसलाई जनताको बिचमा झुण्ड्याएर मार्नुपर्छ भन्ने आज त्यही नेतृत्व जसले आफू सत्तामा जानका लागि नांगो ढंगले देशी, विदेशी शक्तिकेन्द्रको दलाली र चाकडी गरेर सर्वहारा वर्गको कित्ताबाट हजारौं कोस टाढा पुगेको छ र सर्वहारा आन्दोलनलाई ध्वस्त पार्न सकुनीको भूमिका खेलेको छ त्यसैलाई तुमेव माता, च पिता तुमेव, तुमेव बन्धुस्च सखा तुमेव, तुमेव विद्या द्रविणम तुमेव, तुमेव सर्वम मम देव देव भन्दै आफ्नो वर्ग र विचारप्रति घात गरेर लम्पसार पर्न जानु कस्तो माक्र्सवाद हो ।

माक्र्सवादले क्रान्तिकारीहरुबीच सिद्धान्तनिष्ठ एकताको माग गर्दछ । आमजनता, कार्यकर्ताहरुले सिद्धान्तनिष्ठ एकता चाहेका हुन् । एकातिर देशी विदेशी प्रतिक्रियावादी तथा अवसरवादीको भयानक षढ्यन्त्रका कुरा गर्ने अर्कोतिर आफै त्यो चक्रब्युहमा फस्दै जाने, एकातिर सैद्धान्तिक, राजनैतिक एकताको कुरा गर्ने, अर्कोतिर सिद्धान्तनिष्ठ एकताको विरोध गर्ने र विचार सिद्धान्तका कुरालाई अधिभूतवादी भन्ने यो कस्तो द्वन्द्ववाद हो ?

यो द्वन्द्ववाद हो कि पुच्छरवाद हो ? नेपालको राजनीतिमा पुच्छरवाद एउटा भयानक रोग हो । अर्को शब्दमा भन्दा यो आत्मासमर्पणवाद वा विलयवाद हो । नेपाली काँग्रेस दलाल तथा नोकरशाही पूजिपति वर्गको पार्टी हो । नेकपा एमाले त्यसको पुच्छर हो । एमालेको पुच्छर एमाओवादी र एमाओवादीको पुच्छर बादल गुट बन्न पुग्यो । जुन एमाओवादीमा विलय भएर अहिले माओवादी केन्द्र बन्न पुगेको छ ।

४. के हो माओवादी केन्द्र ?
माओवादी केन्द्र नेपालको कम्युनिष्ट आन्दोदनको दक्षिणपन्थी नवसंशोधनवादी धार हो । प्रतिक्रियावादी संसदीय व्यवस्थालाई स्वीकार गरेर राष्ट्रिय तथा वर्गीय मुक्तिप्रति कुठराघात गरी यो धारले क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत पार्न निकै लागिपरेको छ । यो ख्रुश्चेभी संशोधनवादको नेपाली आयामका रुपमा यसले आफूलाई पुन?स्थापित गर्ने जमर्को गरेको छ । नेपाली जनताको मनोविज्ञान क्रान्ति र आमूल परिवर्तनको मनोविज्ञान हो । सारमा यो मनोविज्ञान संसदीय प्रतिक्रियावादी व्यवस्थाको विरुद्धमा छ । यो मनोविज्ञानलाई मन्द बिष खुवाएर क्रमशः संसदीय व्यवस्थाको मतियार बनाउने र त्यसका केही खलनायकहरुले सत्तामा गएर मोज गर्ने यसको मुख्य उद्देश्य हो ।

हिजो मञ्चायत र राजतन्त्रका विरुद्ध लडेको नेकपा माले, झापा आन्दोलनले सेडब्याक खाएपछि क्रमशः एमालेमा पतन भयो । तत्पश्चात अहिले यहाँ सम्म आइपुग्दा एमालेले सर्वहारा वर्गको सिद्धान्तलाई तिलान्जली दिई बुर्जुवा दलाल तथा नोकरशाही पुँजीवादलाई अंगालेर उसले आफूलाई भाई काँग्रेसको रुपमा बदनाम गराइराखेको छ । त्यस्तै हिजो प्रतिक्रियावादी संसदीय व्यवस्थालाई ध्वस्त पारी मालेमावादी सिद्धान्तको आधारमा नेपालमा सर्वहारा वर्गीय मुक्तिको लागि आर्थात राष्ट्र र जनताको मुक्तिको लागि दशवर्षसम्म युद्ध लडेर आएको प्रचण्ड बादल मण्डलीहरुको माओवादी केन्द्र हिजोका सबै मूल्य मान्यता, त्याग, बलिदान र त्यसबाट प्राप्त भएका सम्पूर्ण ऐतिहासिक उपलब्धिहरुलाई सम्झौता र सहमतिको नाममा ध्वस्त पारी पुरानै प्रतिक्रियावादी दलाल तथा नोकरशाही बुर्जुवा संसदीय व्यवस्थालाई स्वीकार्न पुगेको छ ।

त्यसको साथै यस्ले राष्ट्रघात र जनघातका जघन्य अपराध गरेर प्रतिक्रियावादी राज्यसत्ताकै अंसियार बन्न पुगेको छ । यो इतिहासमा सबभन्दा बदनाम कम्युनिष्ट भनेर चिनिन्छ । जसको कारण नेपालको कम्युनिष्ट आन्दोलन कैयौं वर्ष पछाडि धकेलिन पुग्यो नै, त्यसका साथै राष्ट्रियताको सवालमा सिंगो मुलुक शक्तिराष्ट्र विशेषगरी भारतीय विस्तारवादद्वारा दैनिकजसो अतिक्रमित भएर राष्ट्रिय सार्वभौमसत्ता नै गुम्ने खतरामा छ । यसमा आएको सैद्धान्तिक विचलनका कारण अहिले माओवादी केन्द्रका नाममा कुँडा कर्कटहरुको ‘डम्पिङ साइड’ बन्न पुगेको छ ।

वास्तममा यो माओवादी केन्द्र नभएर माओवादी विचलित केन्द्रको रुपमा आफूलाई स्थापित गर्न खोजेको छ । यो इतिहासको बिडम्बना हो । संसदीय व्यवस्थाको विकल्पको रुपमा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्य लिएर अगाडि बढेको क्रान्तिकारी माओवादीलाई विभिन्न हतकण्डा अपनाएर क्षति विक्षत पार्ने धनवादको केन्द्र पनि हो । यसले जनयुद्धको ब्याज खाएर जनयुद्धका लक्ष र उद्देश्य र उपलब्धीहरु माथि घात गरिरकेको छ । हजारौं सहिद, वेपत्ता, घाइते, अपांगहरुको त्याग, बलिदान र अमूल्य जीवनप्रति खेलवाड गर्दै उनका महान सपनाहरु संसदीय आहालमा लगेर ध्वस्त पारिदिएको छ । त्यसका साथै सहिद, वेपत्ताहरुको लासमाथि टेकेर प्रतिक्रियावादी सत्तारोहण गर्न पुगेको छ । यो यसले इतिहासप्रति गरेको घोर अपराध हो । सर्वहारावर्गप्रतिका मजाक पनि हो ।
५. निश्कर्ष
उपरोक्त विश्लेषणबाट के कुरा पुष्टि हुन्छ भने माओवादी केन्द्र भनेको दक्षिणपन्थी नवसंशोधनवाद जसले नेपालको धर्तीमा नयाँ जनवादी क्रान्तिको सम्भावना देखेन , जसले साम्राज्यवादलाई साँच्चैको बाघका रुपमा देख्यो र त्योबाट आतंकित भएर क्रान्तिकारी नीति सिद्धान्तबाट भाग्न खोज्यो । जसले क्रान्तिमा जीवन देख्नुको सट्टा मृत्युमात्र देख्न पुग्यो । जसले जनयुद्धको धाक, धम्की र ब्याजका आधारमा प्रतिक्रियावादी संसदीय व्यवस्थाको अंसियार बन्न खोज्यो । त्यतिमात्रै नभएर साम्राज्यवाद र विस्तारवादसँग वर्गीय र राष्ट्रिय रुपमा आत्मासमर्पण गरी उनीहरुसामू नेपालको क्रान्तिकारी शक्तिलाई सिध्याउने प्रतिबद्धता समेत जाहेर गर्यो । यो स्थितिमा निश्चयपनि क्रान्तिकारी शक्तिहरुका निम्ति ठूलो चुनौती हो ।

यो चुनौतीको सामना गर्न यतिबेला क्रान्तिकारी शक्तिहरुका अगाडि केही महत्वपूर्ण अभिभारा आएको छ । क्रान्तिकारी माओवादी पार्टी र नेतृत्वका विरुद्ध गोयबल्स शैलीमा उनीहरुले जुन अफवाह फैलाएर क्रान्त्किारी शक्तिलाई दिग्भ्रमित पार्ने, साम, दाम, दण्ड, भेदको नीति अपनाएर आतंकित पार्ने र विभिन्न प्रलोभन देखाएर क्रान्तिकारी विचारबाट विचलित गराउने र क्रान्तिकारी पार्टी र नेतृत्वलाई घेराबन्दी गरेर कमजोर बनाउने अनी हमला गर्ने जुन नीति लिएर क्रान्तिकारी आन्दोलनका विरुद्ध नांगो र निकृष्ठ भद्दा ढंगले जाइलागेको । त्यसका विरुद्ध सशक्त प्रतिकार, भण्डाफोर र चिरफार गर्दै सर्वहारा वर्गको एकमात्र अग्रदस्ता नेकपा क्रान्तिकारी माओवादी को रक्षा, विकास र सशक्तिकरण गर्नु क्रान्तिकारीहरुको पहिलो अभिभारा हो ।

तत्पश्चात राष्ट्रियता, जनतन्त्र, जनजीविकाका महत्वपूर्ण सवालहरु उठाएर सशक्त आन्दोलनको उठान गर्नु दोस्रो अभिभारा हो भने पार्टीका ठोस नीति, योजना र कार्यदिशा तय गरेर क्रान्ति सम्पन्न गर्नु तेस्रो महत्वपूर्ण अभिभारा हो । यो सम्भव पनि छ । नेपालको वस्तुगत अवस्थाले यसको थालनी आजैबाट गर्नुपर्ने माग गरेको छ । तर क्रान्तिकारी शक्तिको आत्मगत अवस्था कमजोर भएकाले तत्काल त्यो सम्भावना देखिन्न र आन्दोलनको उठान र नेतृत्व गर्न आत्मगत तयारीमा जोड दिनु नित्तान्त जरुरी छ ।

तशर्थ संशोधनवाद र नवसंशोधनवाद कम्युनिष्ट आन्दोलनको ठूलो दुश्मन भएकाले यसले फैलाएका कुनैपनि भ्रममा नपर्ने र त्यसको चिरफार र भण्डाफोर गर्दै निराशा, कण्ठा, अकर्मन्यतामा रहेको क्रान्तिकारी शक्तिलाई गोलबन्द गर्नु, संगठित गर्नु अहिलेको आवश्यकता हो । क्रान्तिकारी विचार बिना क्रान्तिको अफवाह फैलाउनु अवसरवाद हो । दक्षिणपन्थी हावाहुरी विरुद्ध सशक्त ढंगले लड्दै क्रान्तिकारी विचार, सिद्धान्त र सर्वहारा हेडक्वाटरको रक्षा गरौं, नयाँ जनवादी क्रान्तिको तयारी गरौं । जित सर्वहाराकै हातमा छ, क्रान्तिकारीहरुकै हातमा छ ।