बैद्यले उद्घाटन गरे क्रान्तिकारी माओवादीको राष्ट्रिय भेला

काठमाडौ । नेकपा (क्रान्तिकारी माओवादी)को दोस्रो राष्ट्रिय भेलाको पार्टीका अध्यक्ष मोहन वैद्य किरणले भृकुटीमण्डप स्थित राष्ट्रियसभागृहको हलमा गरेका छन । सो पार्टीका नेता सिपी गजुरेलले संचलान गरेको उद्घाटन भेलाको उद्घाटन क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले गरेका छन् । भेलामा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ ।

नेपाली माओवादी आन्दोलनको वैचारिक संस्थापन नेकपा (क्रान्तिकारी माओवादी) आषाढ ६ गतेदेखि आफ्नो ऐतिहासिक राष्ट्रिय भेलामा जुटेको छ । उतारमा रहेको नेपाली माओवादी आन्दोलनको हालको स्थितिमा माओवादी आन्दोलनका विचारक तथा अग्रज मोहन वैद्य ‘किरण’ नै अध्यक्ष रहेको यो पार्टीको राष्ट्रिय भेला मजदुर, किसान, शोषित, उत्पीडित तथा सर्वहारा वर्गको विशेष चासोको विषय त बनेको छ नै, बरु त्यो भन्दा बढी जनविरोधी तथा भ्रमको खेतीगर्नेहरुका लागि टाउको दुखाइको विषय पनि बन्न पुगेको छ । जनताका लागि आशा र जनविरोधीहरुका लागि विपत्ति बन्न पुगेको यो भेलाले लिने निर्णयहरु ऐतिहासिक तथा दूरगामी महत्वका हुने क्रान्तिकारी माओवादी निकट स्रोतले दाबी गरेको छ ।

शान्ति प्रक्रियामा आउँदै गर्दाको बखतदेखि संविधानसभाको विघटनसम्म आइपुग्दा एमाओवादीका तात्कालीन पार्टी अध्यक्ष प्रचण्डले पार्टी, जनता र क्रान्तिप्रति गद्दारी गरेको निष्कर्षसहित उक्त पार्टीबाट विद्रोह गरी नेकपा –माओवादीको गठन गरी विचार, नेतृत्व र पार्टीको रक्षा गरेको मूल नेतृत्व यही पार्टीमा रहेकाले पनि सबैको ध्यान आकृष्ट हुनु स्वभाविकै हो । त्यसमा पनि अनेक जालझेल र संसदीय माखेसाङ्लाहरु तोड्दै विचार र क्रान्तिको एक मात्र सपना बोकेर हिँडेको तात्कालीन नेकपा (एकीकृत) सँग वैचारिक सुझबुझसहित भएको एकताले त पार्टीभित्र घुसपैठ गरेको नवसंशोधनवाद हात धोएर नेतृत्वको विरुद्धमा लागि नै प¥यो । आखिर केही सिप नलागेपछि आफ्नो पुरानै घरमा नवसंशोधनवादको फिर्तिपछि क्रान्तिकारी माओवादी राष्टिय भेलामा जुटेको एक नेताले बताएका छन् ।

भेलाले फौजी कार्यदिशा समृद्ध गर्ने
शान्ति प्रक्रियामा आएपछि माओवादीको फौजी कार्यदिशा लगभग नभएको अवस्थामा नै रह्यो । जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुको पनि यसले रक्षा गर्न सकेन र जनताले त्यसबारे बारम्बार प्रश्न गरिरहे । तर नेताले त्यसको जवाफ जनतालाई सन्तुष्ट पार्ने गरी अझसम्म दिन सकेका छैनन् । यहाँसम्म कि विचारको रक्षाको प्रश्न पनि बारम्बार उठ्यो । तात्कालीन एमाओवादीबाट अलग भएर क. किरणको नेतृत्वमा नेकपा–माओवादी बनेपछि विचार रक्षाको कुरामा प्रश्न उठ्न छाड्यो । तर पनि विचारलाई समृद्ध गर्दै त्यसको प्रयोगमा जानुपर्ने अनिवार्यतालाई जनस्तरबाटै औंल्याउन थालियो । नेताहरुलाई जनताले सार्वजनिक रुपमा अघि बढ्न आग्रह गरे । तर केही कुरा कार्यान्वयन गर्नलाई विचार, योजना र कार्यक्रम पनि त आवश्यक थियो । यहाँसम्म आउँदा जनताकोे चाहना र विचार निर्माणको कुराबीचमा बेमेल देखा परिरहेको थियो ।

तर यो राष्ट्रिय भेलाबाट त्यो अन्तरविरोधको हल गरिने बताइएको छ । माओवादी केन्द्रमा मिसिन गएका केहीले क्रान्तिकारी माओवादीले जनयुद्ध नै छाड्यो भनी अफवाह फैलाइरहेको बेला क्रान्तिकारी माओवादीले भने नेपाली विशिष्टतामा पार्टीको समृद्ध गरिन लागेको विचारअनुसार यसको फौजी कार्यदिशालाई भेलाबाटै समृद्ध गरेर अघि बढ्ने स्रोतले बताएको छ ।

पहिले जनयुद्धको जगमा जनविद्रोह र त्यसपछि मूलतः जनविद्रोह भनेर आफ्नो फौजी कार्यदिशा तय गर्दै आएको क्रान्तिकारी माओवादीले अहिले यसलाई सामान्य कार्यदिशा भन्दा अलि केही विकास गरेर अघि बढाउने सोचमा रहेको बताइएको छ । नेपाली विशिष्टतामा यसको समृद्धीकरण गरिने र यसको विशिष्ट र मूर्त रुप भेलाले तय गर्ने गरी क्रान्तिकारी माओवादीका अध्यक्ष क. किरणले यसलाई छलफल, बहस तथा त्यसपछि सापेक्ष मूर्तीकरण गरी निर्णय लिने सोच बनाएको बुझिएको छ ।

अहिलेसम्म प्रचलनमा रहेका फौजी मोडलहरुमा रुसको सशस्त्र विद्रोहको मोडल र चिनियाँ दीर्घकालीन जनयुद्धको मोडल नै विश्वका वर्गसङ्घर्षका मोडलहरु रहेको बेला नेपालमा ती दुवै हुबहु लागू हुन नसक्ने तर तिनीहरुका आधारभूत मान्यताभन्दा पर जान पनि नसकिने पनि एक नेताले बताए । फौजी कार्यदिशा निर्माणको यो कौतुहलता राष्ट्रिय भेलाले मेट्ने पनि ती नेताले बताए । उनका अनुसार अब क्रान्तिकारी माओवादी जनवादी क्रान्तिको तयारीमा अघि बढ्ने छ ।

भेला ओमसाई पार्टी प्यालेसमा

उद्घाटनपछि राष्ट्रिय भेला पुरानो बानेश्वरस्थित ओमसाई पार्टी प्यालेसमा हुने बताइएको छ । बताइएअनुसार यो भेला करिब ४ दिनसम्म चल्ने छ र पार्टी अध्यक्षबाट राजनीतिक तथा साङगठनिक प्रतिवेदन प्रस्तुत भएपछि देशभरबाट उपस्थित प्रतिनिधिहरुको समूह विभाजन गरी जनवादी केन्द्रीयताको उच्च अभ्याससहित छलफल र बहस चल्ने छ । समूहबाट रिपोर्टिङ भएपछि त्यसलाई पारित गरिने छ ।