पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्र पछिल्ला केही दिनदेखि अशान्त बनेको छ । खासगरी दुई देशबीचको सीमामा पाकिस्तानले निर्माण गर्न लागेको गेटको विषयलाई लिएर दुई देशबीच तनाव सिर्जना हुँदा एक पाकिस्तानी सेनाका मेजरसहित थुपै्र सैनिकहरु मारिएका छन् । पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्र तोर्खममा गेट निर्माण गर्दै दुई देशबीच आवतजावतका लागि गेट निर्माण सुरु गरेपछि अफगानिस्तान पाकिस्तानसँग रुष्ट बनेको हो ।
यसले यसअघि दुई देशबीचको सीमा क्षेत्र खुल्ला थियो र अब बन्द हुँदैछ भन्ने मात्रै सन्देश दिनुभन्दा पनि यो एक रणनीतिक महत्वको क्षेत्रका रुपमा बुझ्न सकिन्छ । पाकिस्तान समूद्रसँग जोडिएको भएपनि अफगानिस्तान एउटा भूपरिवेष्ठित देश हो । पाकिस्तान र अफगानिस्तानको सीमावर्ती क्षेत्र पछिल्लो एक दशकमै आतंकवाद र खासगरी तालिवानी विद्रोहीहरुको आश्रयस्थलको रुपमा परिणत भयो ।
अस्पष्ट सीमा
भारत र पाकिस्तान बेलायतबाट स्वतन्त्र हुँदा सम्म पनि अफगानिस्तानको सीमा क्षेत्र अस्पष्ट थियो । बेलायतले पाकिस्तानसम्म आफ्नो साम्राज्य विस्तार गरेपनि अफगानिस्तानसम्म पुग्न सकेन । त्यसको एउटा कारण अफगानिस्तानको सीमा रसियासँग जोडिनु पनि हो । पछि सोभियत संघको विघटनसँगै अफगानिस्तान तुर्कमेनिस्तान र उज्वेकिस्तानको छिमेकी हुन पुग्यो । तर त्योभन्दा अघि अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्र जहिले पनि अपरिभाषित, अस्पष्ट, अधिकांश दुर्गम इलाकाका रुपमा नै रह्यो । पछि भारत पाकिस्तानको स्वतन्त्रताको पेरिफेरिमा आएर दुई देशबीच सीमा निर्धारण त भयो तर त्यो स्थायी समाधान अझै नभएको प्रमाण हो पछिल्लो दुई देशबीचको सीमाको तनाब ।
पाकिस्तान र अफगानिस्तानको सीमामा हालै भएको तनावपछि पाकिस्तानले भारी हतियारसहितको सुरक्षाकर्मीको तैनाथी बढाएको छ । पाकिस्तानले आफगानिस्तानको सीमामा रहेको तोर्खम चौकीमा गेट बनाउने विषयमा अफगानिस्तानी सुरक्षाकर्मीले विरोध गरेपछि विवाद बढेको हो । भिसा नियम लागू गर्नका लागि गेट बनाउने पाकिस्तानले योजनाको विरोध भएपपछि दुबै पक्षबीच भएको झडपमा पाकिस्तानी सैन्य अधिकारीको मृत्यु भएको थियो । सुरक्षाकर्मीको तैनाथी बढाएकोमा भने अफगानी सुरक्षाकर्मी झनै रुष्ट छन् ।
आफ्ना–आफ्नै स्वार्थको टकराव
पाकिस्तान र अफगानिस्तान दुवै इस्लामिक राष्ट्रहरु हुन् । तर दुईमा राजनीतिक रुपमा धेरै भिन्नताहरु रहेका छन् । अफगानिस्तान अहिले पनि प्रत्यक्ष रुपमा अमेरिका निर्देशित छ भने पाकिस्तानलाई चीनको दरिलो साथ छ । चीन अहिलेको विश्वराजनीतिको उदाउदो शक्तिमात्रै होइन, उसले गर्ने हरेक निर्णय विश्व राजनीतिमा चासोका विषय बन्छन् । किनकी चीन वर्तमान विश्वको दोस्रो शक्तिशाली राष्ट्रको रुपमा उभिएको छ । जसको साथ पाकिस्तानले पाउनु संयोगमात्रै होइन । अमेरिकाले बेलाबेलामा आफ्ना सहयोगी राष्ट्रहरुको सूची परिवर्तन गर्ने गरेको छ । कुनै समयको अमेरिकाको दाइने हात इराक अमेरिकाले नै ध्वस्त बनायो ।
अफगानिस्तान आजपनि अशान्त रहनुमा अमेरिकी हस्तक्षेपपनि एक महत्वपूर्ण कारण हो । पछिल्लो समयमा साउदी अरबसँग अमेरिकी सम्बन्ध चिसिएको छ भने भारत, इरान, अफगानिस्तानजस्ता देशहरुलाई आफ्नो साथ लिन चाहेको देखिन्छ । कुनैसमय इरानको कट्टर विरोधी रहेको अमेरिका इरानसँग नरम नीति अबलम्बन गर्दै आउनुले यसको स्पष्ट संकेत गर्छ ।
पाकिस्तान आरोपित हुदैँ जानु
पाकिस्तानलाई अमेरिकाले केही समयअघि अत्याधुनिक एफ–१६ लडाकु विमान बेच्ने बताएको थियो । अमेरिकी संसदको माथिल्लो सदन सिनेटले १ सय ७१ का विरुद्ध २४ मतसहित पाकिस्तानलाई एफ–१६ लडाकु विमान बेच्न स्वीकृति पनि प्रदान गरेको थियो । तर समय क्रममा अमेरिकासँग उक्त लडाकु विमान किन्ने पाकिस्तानी सपना पूरा हुन सकिरहेको छैन । यसको पछि सबैभन्दा ठूलो कारक भनेकै अमेरिकीलाई पाकिस्तानसँग कुनै विश्वास नहुनु नै हो ।
पाकिस्तानले अमेरिकासँग विश्वास गुमाउँदै गएको छ भने चीनसँग नजिकिदै छ । पाकिस्तान र अमेरिका लडाकु विमान किनबेचको नजिकपुगेसँगै दुई देशबीच सम्बनध प्रगाढ हुँदै जाने आँकलन सहि साबित हुन सकेन र समयले कोल्टे फेर्नं पुग्यो । पाकिस्तानले बेलाबेलामा आतंकवादविरुद्धको लडाईमा अमेरिकालाई साथ दिने बताएपनि व्यवहारत पाकिस्तानको आतंकवाविरोधी प्रतिबद्धताले अमेरिकासहित पश्चिमा शक्तिको मन पगाल्न सकेको छैन । बरु उल्टै पाकिस्तानमाथि आतंकवादलाई प्रश्रय दिँदै आएको आरोप लाग्ने गरेको छ । सोही कारण पनि अहिले अफगानिस्तानी सीमा क्षेत्रमा रहेको तोर्खममा गेट निर्माण गरी आतंकवादलाई रोक्ने रणनीतिक बनाएको सन्देश पाकिस्तानले दिन खोजेको छ ।
सीमा क्षेत्र आतंकवादीको आश्रयस्थल
अफगानिस्तानमा तालिवानी विद्रोहीहरुको ठूलो प्रभाव रहेको छ । अहिलेपनि अफगानिस्तानमा तालिवानी विद्रोहीको सशक्त उपस्थिति रहेको छ । खासगरी पाकिस्तान र अफगानिस्तानी सीमा क्षेत्रलाई आतंकवादीहरुले आफ्नो आश्रय स्थलको रुपमा प्रयोग गर्दै आइरहेका छन् । आइतबार र सोमबार अफगान सुरक्षाफौजको कारबाहीका क्रममा १६ जना इस्लामिक स्टेट (आइएस) का कार्यकर्ता समेत मारिए । यसको अर्थ अफगानिस्तानमा पछिल्लो समयमा आईएसको प्रभाव पनि विस्तारै बढ्दै गइरहेको अनुमान लगाउन सकिन्छ ।
लादेनदेखि मन्सुरसम्मको बास पाकिस्तान
अलकायदाका मुख्य नेता ओसामा बिन लादेन कुनै समय अमेरिकाको सर्वाधिक खोजी सूचीका व्यक्ति दिए । तीन हजारभन्दा बढी मारिने गरी भएको अमेरिकाको ट्विन टावर आक्रमणका मुख्य योजनाकार लादेन पाकिस्तानमै मारिएका थिए । सन् २००१ मा मा अमेरिकामा भएको आक्रमणको एक दशकपछि अमेरिकी कारबाहीमा पाकिस्तानको एबोटावादमा २ मे, २०११ मा लादेनको मृत्यु भयो । लादेनको मृत्युसँगै अमेरिका र पश्चिमा राष्ट्रहरुले ठूलो खुसीयाली मनाए ।
ट्विन टावर आक्रमणमा २ हजार ९ सय ९६ जनाले ज्यान गुमाएका थिए । ज्यान जानेमा २ हजार ९ सय ७७ जना सर्वसाधारण र १९ जना आक्रमणकारी थिए । आक्रमणकारीमा पनि १६ जना साउदी अरबका नागरिक थिए । सन १० मार्च १९५७ मा साउदी अरबमा जन्मिएका लादेन यही विमान आक्रमणपछि विश्वमा शक्तिशाली व्यक्तिका रुपमा देखा परेका थिए ।
सेप्टेम्बर ११ को विमान हमलापछि अमेरिकी सरकारले लादेनको सुचना दिने लाई २ करोड ५० लाख डलर दिने घोषणा गरेको थियो । पाकिस्तानमा लादेनको मृत्युसँगै आतंकवादको एउटा ठूला रहस्यको पनि अवसान हुन पुग्यो । लादेन मारिएपछि पाकिस्तानमाथि आतंकवादीलाई आश्रय दिएको गम्भीर आरोप लाग्यो र पाकिस्तानले आश्रय दिएको कुरा अस्वीकार ग¥यो ।
मुन्सुरको पनि पाकिस्तानमै मृत्यु
एक महिनाअघिमात्रै अफगानिस्तान तालिवानका मुख्य नेता मुल्लाह अख्तर मन्सुर अमेरिकी सेनाको हवाई हमलामा पाकिस्तानमा मारिए । यसले आतंकवादविरोधी पाकिस्तानको प्रतिबद्धतालाई थप सशंकित बनाएको छ । गत वर्षमात्रै तालिवान प्रमुखमा चुनिएका मन्सुर पनि पाकिस्तान अफगानिस्तानको सीमा क्षेत्रमा मारिनुले यो क्षेत्र आतंकवादीको आश्रय स्थलको रुपमा अद्यापी कायमै रहेको प्रश्ट्यायो । उनको मृत्युपछि तालिवानले हैबतुल्लाह अखुन्दजादालाई मुख्य नेता चयन गरेको छ । उनी पनि पाकिस्तानमा नै लुकेर बसेका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यी दुवै घटनाले पाकिस्तानलाई पुरै संसारका सामु बेनकाब बनाएको उनीहरुको टिप्पणी छ । पाकिस्तान तालिवानी आतंकवादीहरुलाई आफ्नो भूमीमा अमेरिकी आक्रमणबाट बच्नका लागि आश्रय दिइरहेको पाकिस्तानविरोधीहरुको टिप्पणी छ । पाकिस्तानमा मुल्ला मन्सुर मारिएपछि अहिले दुई देशबीचको सम्बन्धमा दरार झनै बढेको छ । बलुचिस्तानमा अमेरिकी ड्रोन हमलामा मारिएका मुल्ला मन्सुरसँग पाकिस्तानी परिचयपत्र र पासपोर्ट समेत पाइएको थियो । पाकिस्तानमै बनेको उनको पासपोर्टमा नाम वनी मुहम्मद लेखिएको थियो । उक्त पासपोर्ट ११ अक्टुबर २०११ मा जारी भएको थियो । आगामी अक्टुबर १० मा उनको पासपोर्टको म्याद सकिदै थियो तर त्यो भन्दा अघि नै उनको अन्त्य भएको छ ।
मुल्ला मन्सुरको साथमा भेटिएको उक्त पासपोर्टलाई गलत भएको बताउँन पनि सकिन्छ तर उनको फोटो र औलाको छाप समेत रहेको छ । अमेरिकी अनुसन्धान संस्थाका अनुसार उनलाई पाकिस्तानी गुप्तचर विभागकै केही अधिकारीहरुले सहयोग गर्दथे र उसले सोही माध्यमबाट यो पासपोर्ट प्राप्त गरेका थिए । यसको कुनै स्वतन्त्र पुष्टि भने अहिलेसम्म भइसकेको छैन । तर पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकार सरताज अजिजले मुल्ला मन्सुर नक्कली पासपोर्ट र परिचयपत्रका आधारमा यात्रा गरिरहेको बताएका थिए ।
अमेरिकाले ठूलो सहयोग रोक्नु
पाकिस्तानले पछिल्लो कदम चाल्नुका पछि उसलाई अमेरिकाले दिने ठूलो सहयोग रोक्नु पनि एक हो । अमेरिकाले एफ–१६ लडाकु विमान मात्रै रोकेन पाकिस्तानलाई दिने ३ सय मिलियन डलरको सहयोग समेत रोक्का गरेको छ । अमेरिकाले पाकिस्तानी सीमा क्षेत्रमा आतंकवादीहरुलाई आश्रय नदिन पनि अमेरिकाले आग्रह गर्दै आएको छ । यसले पनि पाकिस्तानमाथि कुनै कदम चाल्न बाध्य बनाएको छ ।
भारत, इरान र अफगानिस्तानको सहकार्य
पछिल्लो समयमा भारत पाकिस्तान र इरानको सम्बन्ध निकै नजिकको रहेको छ ।
केहीसाताअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानको भ्रमण गरे । सो भ्रमणका क्रममा दुई देशबीच इन्धनसहित केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत भयो । यस्तो अफगानिस्तान र भारतको पनि यतिबेला सम्बन्ध राम्रो रहेको छ । सोही कारण बेलाबेलामा पाकिस्तानमा भारतसँग मिलेर अफगानिस्तानले आक्रमणको योजना बुनेको चर्चा चल्ने गरेको छ । तीन दिनअघि मात्रै पाकिस्तानी मेजर अफगानिस्तानी सीमा क्षेत्रमा भएको गोली हानाहानमा मारिएपछि पाकिस्तानमा यो सबै घटनाका पछि भारतको समेत सहभागिता रहेको र अफगानिस्तान आफ्नै खुट्टामा नउभिएको चर्चा चलेको थियो ।
पाकिस्तानसँग सहकार्य गर्न तयार छौं : कारजाई
अफगानिस्तानी पूर्व राष्ट्रपति हमिद कारजाईले भारतले अफगानिस्तानसँग भित्रैदेखि मित्रता गरिरहेको भन्दै पाकिस्तानसँग पनि आफूहरु सम्बन्ध सुधार गर्न आतुर रहेको बताएका छन् । उनले भनेका छन्, ‘यदी पाकिस्तानले हृदयदेखि नै सहकार्य गरे हामी हजार पटक सहयात्राका लागि तयार छौं ।’ उनको आरोप छ कि पाकिस्तानले अफगानिस्तानको सम्प्रभुताको सम्मान गरेन । जसरी चीन, अमेरिका, भारतलगायतसँग कुराकानी गर्छ सोही अनुसार व्यवहार गर्नु आवश्यक रहेको उनको भनाई छ । उनले यहाँसम्म भनेका छन् कि भारतले अफगानिस्तानलाई ठूलो सहयोग गरिरहेको छ र केही क्षेत्रमा विकास निर्माणका लागि सहयोग गरिरहेको छ ।
सुरक्षित अवतरणको खोजी
यी समग्र घटनाक्रमले दक्षिण एसियाको समग्र राजनीतिक अवस्थालाई चित्रण गर्छ । त्यो भन्दा पनि धेरै दक्षिण एसियाली क्षेत्रमा पछिल्लो समयमा भइरहेका घटनाहरु नित्तान्त भौगोलिक र राजनीतिक मात्रै होइनन् बरु धार्मिक अतिवाद पनि संगै जोडिएको छ भन्ने कुरा यसले प्रष्ट पार्छ । पाकिस्तान र अफगानिस्तान दुवै मुस्लिम राष्ट्रहरु भएपनि उनीहरुका स्वार्थ टकराब, स्वार्थकेन्द्र र स्वार्थशक्तिहरु एउटै होइनन भन्ने प्रष्ट्याउँछ । आखिर जो जसको शरणमा रहेपनि दुवै राष्ट्र आफ्नो खुट्टामा दरिलोसँग उभिन नसक्नु र एकअर्काप्रतिको विश्वास र भरोसामा कमी हुनु दुई देशबीचको सीमा विवादको एउटा कारण हो ।
दोस्रो कारण भनेको पाकिस्तानले आतंकवादलाई संरक्षण दिएको आरोपबाट मुक्ति र अमेरिकासँग पनि सम्बन्ध सुधार गर्ने नाममा गर्दै गएको एकपछि अर्को कमजोरीको परिणाम हो । कुनै पनि वस्तुको परिवर्तनमा बाह्य नभएर आन्तरिक कारकतत्व नै प्रधान हुने गर्छ । पाकिस्तान र अफगानिस्तानबीचको पछिल्लो द्वन्द्वको सबैभन्दा ठूलो कारक उनीहरु नै हुन । बरु यसलाई अन्त्य गर्नका लागि दुई देशबीचको रणनीतिक साझेदारी र सीमा क्षेत्रमा सुरक्षाफौजबीचको भिडन्त भन्दा पनि सहकार्य आवश्यक छ । आतंकवादको अन्त्यका लागि आत्मादेखिको नै प्रतिबद्धता र दुई देशबीचको दरिलो, रणनीतिक र दीर्घकालीन साझेदारी सीमा क्षेत्रमा आतंकवादी गतिविधिको अन्त्य र दुई देशबीचको सम्बन्ध सुदृढिकरणको सेतु बन्न सक्छ ।