माक्र्सको “एक बोरा आलु”को सिद्धान्त र माओवादी केन्द्र

माक्र्सको “एक बोरा आलु”को सिद्धान्त र माओवादी केन्द्र

हुकुमबहादुर सिंह

माक्र्सले करीब दुई सय वर्ष पहिले आफ्नो प्रशिद्ध रचना “लूई बोनापार्टको अठारौ ब्रुमेर”मा फ्रान्सको सानो जोतवाला किसानहरुको विशाल समूदायलाई आलुको बोराहरुसित तुलना गरेका छन् । त्यसमा उनले लेखेका छन्ः “ फ्रान्समा सानो जोतवाला किसानहरुको एउटा विशाल समुदाय छ । उनीहरु एकै प्रकारको अवस्थामा रहन्छन्, तर एक अर्काका साथ उनीहरुको किसिम किसिमको सम्वन्ध बन्दैन् । उनीहरुको उत्पादन प्रणालीले उनीहरुलाई परस्पर सम्पर्कमा ल्याउनुको बदला उनीहरुलाई एक अर्काबाट अलग राख्दछ । ……………. त्यो हदसम्म उनीहरु वर्ग होइनन् ।” यसरी उनीहरुको अवस्था र चरित्रवारे माक्र्सले गरेको त्यो विश्लेषणबाट हामीलाई अहिलेको भरखरै गठित माओवादी केन्द्रको अवस्था र चरित्र बुझ्न मद्त गर्दछ । 

अहिले माओवादी केन्द्रमा जो जसलाई जे आधारमा र जे जति संख्यामा एउटै केन्द्र अन्तरगत केन्द्रीकृत गरिएको भनिएको छ, ती बोराभित्रका आलुहरुजस्तै देखिन पुगेका छन् । बाहिरबाट हेर्दाखेरी घेरै माओवादी समर्थक जनता तथा कार्यकर्ता र नेताहरुलाई साच्चै यी एउटै भएजस्तो लाग्छ, तर त्यो बोराभित्रका आलुहरु जस्तै वेग्लावेग्लै अस्तित्वमा रहेका छन् । कसका कति जना स्थाई समितिमा, कति जना पोलिटव्युरोमा र कतिजना केन्द्रीय समितिमा भन्ने आधारमा ती बोराभित्रका आलुहरुजस्तै संगठितजस्ता त देखिन्छन् तर सारमा बोराको मुख बलियोगरी बाँधुन्जेल मात्रै । यद्धपि प्रचण्ड जसलाई एकल नेतृवको जिम्मेवारी दिइएको छ, उनले त्यो जिम्मेवारी बोराको मुख बलियोगरी कसेर राख्ने प्रयत्नमा छन् ।

यदि बोराको मुख खोली दियो भने त्यसभित्रका आलुहरुले आ—आफ्नो दिशा समातेर हिंडने छन् भन्ने डर उनमा छ । यसका लागि उनले केन्द्रमा जतिसक्दो मानिसहरुलाई भर्ति गर्ने रणनीति अपनाएका छन् । अहिलेसमम एक हजार उनान्सय जनाको केन्द्र त बनाए, जसलाई प्रचण्डका हजारीलाल नाम दिइएको छ, अझै आवश्यक परे त्यो संख्या जति पनि बढन सक्ने छ । तर जे गरे पनि तिनीहरुको आपसको सम्वन्ध ‘गुटीय’मात्र रहन जाने निश्चित छ । सिद्धान्त विचार र राजनीतिका दृष्टिले ती सर्वहारा वर्गको नेतृत् वगर्ने हैसियतका रुपमा हुने छैनन् । ती सबैको परिणाम के हुने छ ? यसवारे माक्र्सले भनेका छन्ः यो चरित्रको मुख्य विशेषता हो—स्वयम् आफूमाथि आत्मनिर्भरताको भावनाको कमि र आफूमाथिको सत्ताको पूजा तथा त्यसका अगाडि आत्मसमर्पणको भावना ।

हुनत माक्र्सको “एक बोरा आलु”को सिद्धान्त उनको फ्रान्सका किसानका लागि एउटा प्रतिकात्मक अभिव्यक्ति थियो तर यहॉका माओवादीहरु जो अहिले माओवादी केन्द्रमा उच्च पद, प्रतिष्ठा र पैसाको भविश्यका लागि लालायित भएर बत्तिमा पुतलीजस्तै होमिदै छन्, ती पनि प्रचण्डको बोराभित्रका आलुजस्तै हुन् । प्रचण्डलाई वर्तमान यो लथालिंगको संगठनात्मक अवस्थामा धकेलेर लैजानका लागि महत्वपूर्ण भूमिका नेकपा(क्रान्तिकारी माओवादी)बाट अलग्गिएर गएका ‘क्रान्तिकारी कमरेडहरु’को नै छ ।

‘क्रान्तिकारी कमरेडहरु’ जसको नेकपा(क्रान्तिकारी माओवादी)मा रहदा रित्तो थैली कहिल्यै भरिएन, अब केन्द्रले त्यो समस्या समाधान गरिदिने आशामा केही कमरेडहरु तानिएको महशुस भएको छ र यो रोग अब क्रमसः विप्लवलगायत अन्य कम्युनिष्ट समूहहरु र व्यक्तिहरुमा पनि सर्ने निश्चित छ । प्रचण्डका लागि वर्तमान केन्द्रीय समितिको संख्या पन्ध्रसयसम्म पनि पुग्ला भन्ने आधार बलियो छ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा लामोसमयदेखि चल्दै आएको यो प्रचण्ड लिलाले नेपाली कम्युनिष्ट आन्दोलन स्वयम्लाई कहाँ पु¥याउने हो उनले स्वयम् अनुमान गर्न सक्ने अवस्था छैन् । किनभने उनले नेतृत्व गरेको माओवादी केन्द्रमा भविश्यमा के कस्तो चाहना, इच्छा र महत्वकांक्षा राखेर मानिसहरु भित्रीएका हुने छन्, ती सबैलाई सम्वोधन गर्दै जादा माओवादी केन्द्र रुपमा माओवादीहरुको केन्द्र देखिएता पनि सारमा सिद्धान्त, विचार र संगठनात्मक चरित्र भने बाबुरामको नयाँ शक्तिप्रतिको मोहलाई निस्तेज बनाउने नै हुने छ । अथवा सारमा बाबुरामको नयाँ शक्तिको विकल्प हुने छ । बाबुरामको राजनीतिक इमान्दारिता चुनवांगदेखि अहिलेसम्म स्पष्टताकासाथ अगाडि आएको छ तर प्रचण्डको भने यस्तै प्रचण्ड लिलाका रुपमा अगाडि बढिरहेका छन् ।

भन्नत उनीहरुले अहिले भनिरहेका छन् कि माओवादी केन्द किरणको ‘वाम’ र बाबुरामको दक्षिणपन्थी विसर्जनवाद विरुद्ध संघर्ष गर्दै नयाँ ढंगले पहल लिने हो । तर अहिलेको यसले अगाडि सारेको यसको संगठनात्मक संरचना र संख्या हेर्दा यसको सार उनीहरुले भन्ने गरेको किरणको ‘वाम’ लाई रोक्न त होनै तर बाबुरामको दक्षिणपन्थी विसर्जनवाद विरुद्ध संघर्ष नभई उनकै मार्गको अनुशरणगर्दै नेपालको राजनीतिबाट उनलाई विस्थापित गर्ने प्रचण्डको नयाँ प्रचण्ड—बादल लिला हो । यो भनेको प्रचण्ड—बादलको बाबुरामरुपी नयाँ शक्ति हो । 
सातदशक लामो कम्युनिष्ट आन्दोलनको इतिहासमा घेरै पटक यस्ता फुटहरु भएका छन् र कैयो पटक एकता भएर देश, जनता र क्रान्तिको हितमा आफूलाई उभ्याएका पनि छन् । माओवादी आन्दोलनमा पनि छोटो समयमा नै घेरै फुटहरु भएका थिए र अहिले पहिलो पटक त्यसका विभिन्न शक्तिहरुबीचमा एकता भएको छ, जो खुशीको कुरा हो तर ती सबै जो विगतमा फुटे त्यसवेलामा पनि फुटको औचित्यता जनता तथा कार्यकर्तालाई पुष्टी गर्न नसक्दै फेरी माओवादी केन्द्रका नाममा एकतामा आएका छन्, र उनीहरुसित अहिले एकताका रुमानी सपनाहरु छन् र तिनै रुमानी सपनाहरुभित्र विगतका फुटको औचित्य जनतालाई बताउन पर्ने वाध्यात्मक परिस्थिति नआवोस भन्ने वातावरण बनाउने प्रयासमा छन् ।

एमाओवादीबाट हिज बादलहरु, मणिहरु र मात्रीकाहरु किन फुटेका थिए र आज तिनीहरु किन मिल्दैछन् ? यसको खोजीनीतिको आवश्यकता उनीहरुका लागि छैन् । निश्चय नै माओवादीहरुबीचको एकताले प्रचण्डलाई फेरी एक पटक भौतिक र मनोवैज्ञानिक रुपले बलियो बनाएको छ । यसबाट यदि कसैलाई व्यक्तिगत रुपले फाइदा भएको छ भने उनलाई नै तत्कालका लागि सबैभन्दा बढता फाइदा भएको छ । किनभने बादल, मात्रिका, मणिआदिले उनीमाथि जे जस्ता आरोपहरु लगाएर उनको नेतृत्वको पार्टीबाट ‘विद्रोह’ गरेर गएका थिए र उनले तीमाथि भनेजस्तो मन्त्रालय अथवा कुनै त्यस्तो लाभको पद नपाएर गएका भनेर भनेका थिए ।

अहिलेका घटनाक्रमहरुले प्रचण्डका ती भनाइहरु सही धरातलमा उभिएका रहेछन् तर ती कमरेडहरु जो जसले उनीमाथि गैह् सैद्धान्तिक, वैचारिक आरोपभन्दा व्यक्तिगत लाञ्छना लगाएका थिए, ती गलत रहेछन् । प्रचण्डलाई थाहा छ, ती व्यक्तिहरुका व्यक्तिगत इच्छा, मनोकमना तथा महत्वकांक्षहरु पुरा गरिदिन सम्भव छैन्, त्यस अवस्थामा तीनीहरुबाट पुनः क्रान्तिका नाममा तिनै आरोपहरु उनीमाथि लाग्ने सम्भावनालाई पनि अहिलनै नकार्न सकीदैन् ।

हतारमा यो एकता गर्न कस्सिनेहरुको नेतृत्व वर्तमानमा बादलले गरेका छन् जसले हिज प्रचण्डलाई लाल गद्दारसमेत भनेका थिए, आज उनैले प्रचण्डको नेतृत्वको अन्तरगत बसेर किरणको जडसुत्रवादका विरुद्ध संघर्ष गर्ने भन्दै छन् । यो कस्तो राजनीतिक इमान्दारिता हो ? उनीमाथि गम्भीर प्रश्न उठेका छन् । हुनत उनलाई लागेको छ, क्रान्ति सम्भव छैन् । त्यसैले त अहिले उनले बाबुरामको राजनिितक भविश्य छ, किरण र विप्लवको छैन् भन्न समेत पछि परेका छैनन् । माओले चनीयाँ कम्युनिष्ट पार्टीमा केही नेतावारे भनेका थिए—“हाम्रो पार्टीभित्र दक्षिणपन्थीको भविश्य देख्नेहरु अझै छन्, क्रान्तिकारीको भविश्य छैन् भन्नेहरुको पनि कमि छैन् ।” नभन्दै नेपाली माओवादी आन्दोलनमा दक्षिणपन्थीको भविश्य देख्ने तर क्रान्तिकारीको भविश्य छैन् भन्नु पनि त्यसकै निरन्तरता हो । 

जे होस नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ प्रयोग गर्ने भनेर बादलहरुले प्रचण्डसित पुनः नयाँ गठजोड गरेका छन्, त्यसको सुरुवात नेपालको सर्वहारा क्रान्तिको लागि एउटा बलियो आधार बनाउने तर्फभन्दा पुँजीपति वर्गका लागि नेपालमा एउटा मोडल स्थापित गर्ने तर्फ अग्रसर देखिन्छ, जो माक्र्सको “एक बोरा आलु”को सिद्धान्तमा आधारित छ । सर्वहारावर्गीय चरित्र नभई एउटा किसान चरित्रको प्रतिनिधित्वको रुपमा अगाडिको मार्ग फराकिलो गर्दै जाने । 

hukumsingh2012@yahoo.com