फिलिपिन्स सरकार र बिद्रोहीबीच वार्ता हुने

फिलिपिन्स सरकार र बिद्रोहीबीच वार्ता हुने

Philipines communistमनिला / एजेन्सी । फिलिपिन्समा लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएका कम्युनिष्ट विद्रोही र सरकारबीच शान्तिवार्ता हुने भएको छ ।

सरकार र विद्रोहीबीच हुन लागको शान्तिवार्ताका एक मध्यस्थकर्ताले वर्तमान सरकार र विद्रोहीबीच आगामी जुलाई महिनामा शान्ति वार्ता हुने जनाएका छन् ।

फिलिपिन्समा शान्तिवार्ता विगतदेखि नै अवरुद्ध हुँदै आएको छ । फिलिपिन्सका नवनियुक्त राष्ट्रपति रोड्रिगो डुटेर्तेले वार्तालाई पुनः सुचारी गर्ने तयारी गरेका हुन् ।

सन् २०१३ मा सरकार र विद्रोहीबीच भएको शान्तिवार्ता विना निष्कर्ष सकिएको थियो । त्यसपछि अहिलेसम्म फिलिपिन्स सरकार र विद्रोहीबीच वार्ता हुन सकेको छैन ।

राष्ट्रपति डुटेर्ते सत्तामा आएपछि शान्तिवार्ताका लागि पहल सुरु गरेका हुन् । शान्तिवार्ताका लागि दुवै समूहले वार्ता टोली समेत गठन गरिसकेका छन् ।

उक्त वार्ता टोली र वार्ताका मध्यस्थताको बैठक दुई दिनदेखि मनिलामा बसेको थियो । सो बैठकपछि दुवै वार्ता टोलीद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा आगामी वार्ता जुलाईको तेस्रो साता वार्ता हुने जनाइएको छ ।

एसियाकै सबैभन्दा पुरानो मानिने फिलिपिन्सको विद्रोह अन्त्यका लागि पुनः वार्ता प्रक्रिया सुरु गर्न लागिएको हो । दशकौंदेखि जारी सो विद्रोहमा परी दशौँ हजारको ज्यान गइसकेको छ ।