सुकुम्वासीको होल्डिङ सेन्टरमा वाग्मती नदी पस्यो, ५४ जनाको उद्धार

सुकुम्वासीको होल्डिङ सेन्टरमा वाग्मती नदी पस्यो, ५४ जनाको उद्धार

काठमाडौं । लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ।
डुबानपछि सुरक्षाकर्मीले शुक्रबार राति नै उद्धार गरी ५४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार राति १ः३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरी नायब उपरीक्षक ९डीएसपी०को नेतृत्वमा विपद् व्यवस्थापन ९डीएम० टोलीसहित ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको थियो। उद्धार कार्यमा नेपाल प्रहरीका ३० जना सुरक्षाकर्मी पनि सहभागी भएका थिए।

संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन्। बाँकी ९४ जनाले भने अन्यत्र जान नमानेपछि पानी नपसेको सुरक्षित स्थानमै बसिरहेका छन्। उनीहरू सुरक्षाकर्मी र सम्बन्धित निकायको निगरानीमा रहेको प्राधिकरणले जनाएको छ ।

वाग्मती नदीमा बहाव बढिरहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।