उठिसक्यो समय
म सुतिराछु
हिँडिसक्यो समय
म आँखा मिच्दैछु
दौडिसक्यो समय
म यसो मेसो मिलाउँदैछु
वेगवान गतिमा छ समय
म आत्तिएर दौडिन खोज्दैछु
चिन्ता छ समयलाई जित्ने
संसारको ध्यान आफूतिर खिच्ने
तर कसरी ?
सोच्दा सोच्दै…
मिनेट, घण्टा, दिन, हप्ता, महिना, बर्ष हँुदै
खोइ कहाँ कता पुग्यो समय ?
पत्तै पाउन गाह्रो भो
म केवल सोचिरहेछु,
अनि खोजीरहेछु
खोइ कहाँ पुग्यो समय ?
समय खोज्न निस्केको म
जब पुगेँ ठूलो ऐना अगाडि
छक्क परेँ देखेर आफ्नै शरीर
कपाल फुलिसकेछ, गाला चाउरी सकेछ
समयले कहाँ हो कहाँ उहिल्यै छाडिसकेछ
अनि म साँच्चै घोत्लिएँ
समयलाई भेट्टाउने
समयलाई जित्ने
उपायको खोजीमा बेगिएँ
मैले बर्षहरुलाई महिनाहरुमा कसरी ल्याउने
महिनाहरुलाई हप्ताहरुमा कसरी ल्याउने
अनि हप्ताहरुलाई दिनमा र दिनहरुलाई घण्टामा
घण्टाहरुलाई मिनेटमा, मिनेटहरुलाई सेकेन्डमा
साँच्चै खोजेपछि के भेटिन्न
उहिल्यैका माक्र्स, लेनिन, माओ अहिले भेटेँ
चे ग्वेभरा, होचिमिन्ह, फिडेलहरुलाई पनि
रुस, चीन, भियतनामदेखि इरानसम्म
अनि भेटेँ गोर्की, लुसुनदेखि इच्छुकसम्म
प्रकृति, मानवसमाज र मानव चिन्तनको वर्तमानसम्म
थाहा पाएँ
बौद्धिक सारमै त लुकेको रहेछ समय
एआई, अल्गोरिदमदेखि क्वान्टम फिजिक्ससम्म
विज्ञानका नयाँ अविष्कारहरुमा
मेटा, गुगल, अमेजनदेखि चिप्स वारहरुमा
समयको आविष्कार मान्छेले मान्छेकै लागि गर्यो
सारा आविष्कार मान्छेकै लागि हो भनेर मर्यो
तर, अफसोच, आजपर्यन्त
सारा ती आविष्कारहरु मान्छेका हुन सकेनन्
केवल छट्टु स्यालका स्वार्थका साधन बने
ल्याउनु छ त्यसलाई मान्छेको हातमा
बस, यत्ति गर्न पाएँ भने मैले
जित्ने थिएँ समयलाई
अनि फुलेका कपाल र चाउरीएका गालाले पनि
पाउने थिए एउटा सार्थकता
(२०८२ मंसिर १)






























