हामी बिहान साढे सात बजे सल्यानबाट प्रवेस गरेर रुकुम, बाग्लुङ, पर्बत, हुँदै पोखरासम्मका लागि भ्रमण योजना बनाएर दाङ तुलसीपुरबाट हिड्यौँ । हाम्रो यात्रा वैयक्तिक थियो र त्यो पर्यटकीय अवलोकनका रूपमा रहेको थियो । भ्रमणको योजना हिरामणि दुःखीले नै केही समय पहिला बनाउनुभएको थियो । उक्त योजना बन्नुमा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक थियो । पार्टीको पाँचौँ पूर्ण बैठकको व्यवस्थापन दाङको पार्टीले बनाएको थियो । बैठकका सिलसिलामा केन्द्रीय नेताहरू दाङ आएको बखत अलिकता पकेट खर्च जोडजाड पारेर यो यात्रा गरौँ भन्ने प्रस्ताव दुःखीले अगाडि सार्नुभयो हामीले त्यसलाई सहर्ष स्वीकार ग¥यौँ । १९ चैतमा बैठक सकिएपछि २० गतेदेखि हाम्रो यात्रा अगाडि बढ्यो ।
तुलसीपुरबाट हिंड्दा हाम्रो टिममा नेतृत्व गर्ने इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा प्रा.डा.जगदीश चन्द्र भण्डारी, मित्रलाल पंज्ञानी, प्रा.डा.नन्दीश अधिकारी (कुमार दिङ्लाली) धनेश्वर पोखरेल, देवकी पौडेल (देवा शर्मा), म र स्कारपियो चालक हँसिलो रसिलो भाइ कवि सेन ठकुरी सहित आठ जानाको टिम थियो । हामी कर्णाली प्रदेशको सल्यान जिल्ला कपुरकोट गाउँपालिका कपुरकोट बजारमा पुग्यो । त्यहाँ हाम्रो भेटघाट सँगै पढेका बिद्यार्थी जीवनमा रमाइलो गर्दै हिंडेका साथीहरूसँग भयो । केही क्षेणको गफगाफ गर्दै चिया खाजा खाएर हामी झण्डै एक घण्टापछि कपुरकोटबाट अगाडि बढ्यौँ । मुलपानी, अरिङ्गालेफेदी, खारखोला, टुनिबोट, सल्लेखोला, लुहाम, शङ्खमुल, लान्ति, शान्तिबजार पुग्यौँ । शान्तिबजारको काखमा राप्ती राजमार्गमा ओर्लिएर गारिजिउलाको फाँटलाई पृष्ठभागमा राखेर सामूहिक फोटो लियौँ । त्यसपछि श्रीनगर बजार पुगेर एक फन्का घुमेरपछि हामी खैरावाङका लागि गाडिलाई उकालोतर्फ हुइकायौँ । श्रीनगरबाट ठाडो उक्लिएर खैराबाङ हिउल्चाहुदै मार्के दुलधारापोखरा सिमखर्क हुदै हामी जयतपानी पुगेर बिहानको खाना खायौं ।
दिउँसोमा अत्यधिक चापयुक्त हावा चल्ने जयतपानिको विशेषता रहेछ । त्यस्तो हावाका बिच पनि (झिंगा) माखा भन्किने त्यहाँको अर्को विशेषता रहेछ । त्यहाँका झिँगाहरू निकै सङ्घर्ष गर्दै हावाहुरी पचाएर आफ्ना सन्तान वृद्धि गर्न खप्पिस रहेछन् ।
खानपिनपछि हाम्रो गाडी कुपिण्डेदह ताल अबलोकन गर्ने बाटोतर्फ हिँड्यो । हिँड्दै जाँदा मैले पढाएको बिद्यालय सेरा डाँडाबाट देखियो । मैले साथीहरूलाई त्यसतर्फ सङ्केत गरेँ । पुराना कुराहरू सुनाउँदै ज्यामिरेबाट ओरालो झर्दै कुपिण्डेतर्फ आर्लियौँ । सल्यानमा सल्लो बनस्पति मात्रै भएकोले पानी अभाव रहेको कुरा गर्दै टिम कमान्डर हिरामणि दुःखीले भौगोलिक, सांस्कृतिक रहनसहन र भेषभुसाका बारेमा जानकारी दिँदै ओरालो झर्दै जाँदा बाबियाचौर पुग्यौं । बाबियाचौरबाट बायाँ मोडिएर हामी कुपिण्डेतालतर्फ अगाडि बढ्यौँ । कुपिण्डेताल सफा, स्वच्छ र सुन्दर रहेछ । तीनतिरबाट अग्लो पहाडी भागले घेरिएको र उत्तरतर्फको भूभाग अलि होचो रहेछ । कुपिण्डेदहको अनौठो विशेषता रहेको छ । त्यस तालमा न त मूल नै देखिन्छन् न त तालको दक्षिण, पूर्व र पश्चिमबाट झर्ने खहरे खोलामा पानी नै बगेको छ, र पनि ताल निकै भरिभराउ देखिन्छ । स्थानीय वासिन्दाहरूको भनाइ अनुसार त्यस तालमा वर्षा याममा बग्ने खहरे खोलाको पानीले नै ताल भरिन्छ जो खुला रूपमा बगेर बाहिर जाँदैन र वर्षामा समेत पानी धमिलो हुँदैन ।
कुपिण्डेदहमा डुङ्गा चढेर जलयात्रा गर्दै घुमेर त्यहाँको भौगोलिक अवस्थाको अवलोकन ग¥यौँ । विकास निर्माणकार्य हेर्दा सुनको कटौरामा भिख मागेर पालिएका हामी नेपाली भएको अनुभुती भयो । मन खल्लो भयो । बस्नका लागि व्यवस्थित होटल, हिँड्नका लागि पक्की सडक दुई दशकसम्म पनि उस्तै देख्दा दिक्क लाग्यो ।
ढोरपिपल बालुवासँगै सल्लीबजार, नेटा, रारेचौर, नाखिरा, चौरजहारी हँुदै भेरी नदी पारिपट्टी देखिने जाजरकोटको बजार वरपरका अग्लाअग्ला टाकुरा हेर्दाहेर्दै सिम्ली जहाँ हिरामणि दुःखीले २०५०÷०५१ सालतिर ज्ञानोदय मा.वि.मा पढाउनु भएको थियो, त्यहाँ पुगियो । त्यहाँ चक्र भण्डारी नामका अहिलेका सहायक क्याम्पस प्रमुख त्यसबेलाका दुःखीले पढाउनुभएका बिद्यार्थी भेटिनुभयो । उहाँसँग भलाकुसारी गर्दै सिम्ली बजारले गरेको भौतिक विकासले हामीलाई चकित पारेको थियो । त्यसपछि हामी सुलिहाले भन्ने ठाउँमा सहिद कमला भण्डारीका भाइ नरेन्द्र भण्डारीसँग भेटघाट भयो । त्यसबेला उनी दुई कक्षामा पढ्थे । हिरामणि दुःखी उनकै घरमा बस्नुहुन्थो । त्यसपछि हामी माछ्मीज्युला हुँदै राती साढे आठ बजेतिर सिम्रुतु बजारको माया होटलमा बास बस्न पुग्यौँ ।
२१ गते बिहानै हामी ऐतिहासिक स्थान खारा अवलोकन गर्न निस्कियौँ । खारा गाउँ हेर्न हामी खारनेटा सैनिक ब्यारेक निर्माणाधीन युद्ध स्मारक क्षेत्र हुँदै झुलनेटा बजारबाट अग्लो डाडामा पुग्यौं । जहाँ रेडियो स्टेसन पनि थियो । यो डाडाबाट बाह्र जिल्ला देखिने कुरा हामीलाई घुमाउन लैजानु भएका स्थानीय कुबेर ओलीले जानकारी दिनुभयो । त्यहाँबाट हामी पुनः सिम्रुतु होटेलमा झ¥यौँ ।
एघार बजेको थियो, हामी खानपिन गरेर हाम्रो विशेष कार्यक्रममा जुट्यौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठान मुख्य आयोजक र त्रिवेणी प्रज्ञा प्रतिष्ठान सहआयोजक रहेको ‘कविता वाचन तथा साहित्य विमर्श’ कार्यक्रमा सहभागी भयौँ । गोष्ठीमा स्थानीय तथा केन्द्रीय स्तरका १४ बढी कविहरूले कविता वाचन गरेका थिए । कविताले वर्तमान देशको अवस्थाका बारेमा भाव व्यक्त गरेका थिए । कविता वाचन गर्नेहरूमा ईश्वरीप्रसाद गैरे, धनेश्वर पोखरेल, कुबेर ओली, गोपाल ओली, कुबेर मल्ल, कृपाराम ओली, छविलाल, कुमार दिङलाली, दिलिप देवकोटा, ओमबहादुर खत्री, वालाराम मल्ल, देवा शर्मा, किस्मत विक लगायत थिए । कविता वाचनपछि साहित्य लेखन, प्रगतिवादी साहित्य र सौन्दर्य चिन्तन सम्बन्धमा विषयवस्तु प्रस्तुत गरिएको थियो । यसरी साहित्य विमर्शका विषयमा तीनजना वक्ताहरूले धारणा व्यक्त गर्नुभएको थियो । ‘साहित्य लेखनमा विषय उठान र त्यसको वैचारिक निरूपण’मा मित्रलाल पंज्ञानीले विषय प्रस्तुत गर्नुभएको थियोे भने ‘साहित्यमा वर्गीयता र समाजवादी यथार्थवाद’ विषयमा प्रा.डा. नन्दीश अधिकारी र ‘माक्र्सवादी सौन्दर्यशास्त्रमा साहित्यको रूप र अन्तर्ववस्तुको संयोजन’ विषयमा प्रा.डा.जगदीश चन्द्र भण्डारीले विषय प्रस्तुत गर्नुभएको थियोे । उक्त कार्यक्रममा त्रिवेणी गाउँपालिका प्रमुख गणेशकुमार केसीले कार्यक्रमको महत्व र आवस्यकताका बारेमा विचार व्यक्त गर्नुभएको थियोे । इच्छुक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन त्रिवेणी प्रतिष्ठानका सदस्य सचिव नवराज खड्काले गर्नुभएको थियोे र स्वागत सो प्रतिष्ठानका उपकुलपति मनलाल ओलीले गर्नुभएको थियोे ।
कार्यक्रम सकियो दिउँसो तिनबजे । त्यसपछि हामी गाडीमा चढेर सिम्रुतु बजारमा रहेको मेरो चिनजान भएका धेरै साथीहरू बिद्यार्थी भाइबहिनीहरूसँग केही समय बिताएपछि हामी हिड्यौं । बैरागीठाँटी, सोलाबाङ, गाराघाट भेरी नदी पुल तरेर साह्रै कठिन र बिकट सडकपार गर्दै छिनखेत बजारबाट उकालो चढ्दै स्यार्पुदहका लागि हिड्यौँ । बेलुकी झन्डै सात बजेतिर स्यार्पु अर्गानिक होटल तथा लजमा बास बस्न पुग्यौं । स्थानीय हिरालाल केसीको अर्गानिक होटेलमा कोदोबाट बनाइएको ढिँडो र लोकल भालेको झोल खाँदै रमाउँदै त्यस रात त्यहीँ सुत्यौँ । बिहान उठेपछि स्यार्पुदह घुम्ने फोटो भिडियो बनाउने काम सकेर हामी भेरी नदी किनारैकिनार हिँडेर पोखरा, पिपल (जहाँ जनयुद्धका क्रममा प्रहरीद्वारा सामूहिक हत्या गरिएका ६ जना खत्रीबन्धूहरूको गाउँ) जस्ता ऐतिहासिक गाउँको भूमि हुँदै धाउन्नेपुल तरेर रुकुमकोट उक्लियौँ । हामीले देखेको रुकुमकोट र अहिले देखेको रुकुमकोट धेरै फरक रहेछ । त्यसबेला एउटा मात्र रुकुम जिल्ला थियो । अहिले त रुकुम दुईवटा भएको पनि बर्षौं भएको छ । पश्चिम रुकुम र पुर्वी रुकुम ।
पूर्वी रुकुमको जिल्ला सदरमुकाम हो रुकुमकोट । सिस्ने गाउँपालिका रहेको उक्त जिल्ला प्राकृतिक रूपमा अति सुन्दर विकासका हिसावले अलि विकट तर मध्य पहाडी लोकमार्ग पूर्वी रुकुमदेखि पश्चिम रुकुमसम्म बिचैबिचबाट काटेर गएको कारणले रुकुम बलियो सडक सञ्जालसँग जोडिएको रहेछ । हामीले स्थानीय होटलमा बिहानको खानपिन गरेर कमलदह एक फन्को लगायौँ । हामीले अवलोकन गरेका कुपिण्डेदह, स्यार्पुदह, कमलदह र छिप्रीदहमा पानीको मात्रा घटेको थियोे । यी सबै दहको पानीको स्रोत वर्षे भेल भएकाले पनि हिउँदमा पानीको मात्रा कम भएको थियो ।
हामी रुकुमकोट स्थानीय बजार घुमेर मध्यपहाडी लोकमार्ग हुँदै काँक्री पुगेर महत गाउँतर्फ लाग्यौं । त्यो गाउँ ऐतिहासिक ठाउँ थियो । जहाँ जनयुद्धका क्रममा तत्कालीन माओवादी छापामारहरूले महत ई.प्र.का. कब्जा गरेर ठुले राईलाई कब्जामा लिएका थिए । चौकी कब्जा भएको त्यहीँ घटनाको स्मृतिमा सहिदको सम्झनामा स्मारक बनाइएको ठाउँमा पुगेर त्यो पुरानो घटना ताजा भएको महसुस गरियो । महतमा पुग्दा आकाशमा कालो बादल मडारियो । पानी पर्न थाल्यो । हामी हतार हतारमा गाडीमा बस्यौं र पूर्वतर्फ हानियौँ । सिमा, काँक्री हुँदै लुकुम बजार पुगेर खाजा खायौं । पानी परेको कारणले हामीले तकसेरा पुग्ने योजना खारेजी गरेर सरासर पूर्वतर्फ हुइकिँदै रुकुम र बागलुङ सिमाना पातिहाल्ने पुग्यौँ । त्यहाँ पुग्दा ठुलो वर्षा र असिना, हिउँ परेको कारणले हामीलाई त्यहाँ बसेर रमाइलो गर्ने फोटो भिडियो बनाउने अबसर मिलेन । त्यसपछि निसिखोलाको किनारै किनार ओरालो झरेर हामी राति सात बजे बुर्तिबाङ बजार पुगेर होटल चालिसेमा बास बस्यौं ।
२३ गते बिहान हामी ढोरपाटन क्षेत्रमा घुम्नजाने योजना अनुसार जम्मा ३२ किलोमिटर सडक पार गर्न हामीलाई झण्डै चार घण्टा लाग्यो । रातभर परेको पानीको कारणले निर्माणाधीन सडक हिलाम्मे भएकोले हामीलाई ढोरपाटन पुग्न कठिनाइ भयो । छ बजे हिँडेर हामी पौने दशबजे ढोरपाटन पुग्यौँ । चारैतिर अग्ला हिमाली चुचुरो रहेको त्यो क्षेत्रमा बदलिँदो मौसमका कारणले हामीलाई धेरै समय बिताउने अबसर मिलेन । स्थानीय तिब्बती मुलका नेपाली नागरिक छिरिङ दाजुको होटलमा खाना अडर गरेर हामी स्थानीय गाउँमा घुम्न गयौं । सरकारी कार्यालय तथा सङ्ग्रालय हे¥र्यौ । ठिक बाह्र बजे त्यहाँबाट फर्किएर पुनः बुर्तिबाङ हुँदै मध्य पहाडी मार्ग भएर गलकोट हटिया बजार पुगेर वि?ाम लियौँ । त्यहाँ दिउँसोको खाजा खाएर बेलुकी हामी बागलुङ बजारमा बास बस्यौं ।
२४ गते हामी बागलुङ बजारबाट पर्बतको कुस्मा, कास्कीको लुम्ले, नाउँडाँडा पोखरा झ¥यौँ । पोखरा पुगेपछि हाम्रो टिम चारजना काठमाडौं र चारजना दाङ जाने गरी छुट्टियौँ । काठमाडौ जाने साथीहरू जगदीश चन्द्र, नन्दीस, मित्रलाल र धनेश्वरलाई पोखरामा नयाँ इभि माइक्रोबसमा बसालेर हामी छुट्टियौँ ।
पोखराबाट पाल्पा आएपछि देवा शर्माकी साइँली बहिनीको देवी रेग्मीको घरमा खाना खायौँ । बाटोबाटै दुःखीजीले उनलाई फोन गरेर हामीहरू खाना खान त्यहाँ आउने जानकारी दिनुभएको थियो । खाना खाएर तिनबजे पाल्पाबाट देवी र उनका श्रीमान् उत्तमसहित हामी दाङतर्फ हानियौँ । बेलुका दश बजे हामी तुलसीपुर उत्रियौँ । २० गते तुलसीपुरबाट हिँडेर २४ गते पाँचदिने भ्रमण सकेर पुनः तुलसीपुर आयौँ । यसरी हामीले हाम्रो योजना अनुसार सकुशल देशदर्शन अभियान सफलतापूर्वक सम्पन्न ग¥र्यौं ।
२०८२ चैत २७






























