हिरासतमा बितेका दुई हप्ता मेरो जीवनको सबैभन्दा कठिन र सम्झना लायक अनुभव मध्ये एक थियो । अचानक समय र परिस्थितिले त्यस्तो दलाल संसदीय व्यवस्था र प्रतिक्रियावादी राज्यसत्ताको अखडा, जुन जनताका विचारहरू दमन गर्ने कैदखानामा पु¥यायो । हुन त जीवनमा मैले यो भन्दा पहिले १० वर्षे जनयुद्धको बेला २०५४ सालतिर पनि एक रात प्रहरी हिरासतको चरम यातना भोगेको थिएँ । सिम्रुतु स्थित रुकुम त्रिवेणी मा.वि.स्कुलबाट घर जाँदै गर्दा जिवाङ्डाँडाबाट सिम्रुतु इलाका प्रहरी कार्यालयबाट गस्तिमा खटिएका प्रहरीले गिरफ्तार गरेर ल्याएका थिए । तर यति लामो समय राजनीतिक मुद्दामा हिरासत बसेको अनुभव थिएन, यो पहिलो बन्न गयो ।
२०८२ फागुन १२ गते म आफ्नै सानो घुम्ती पसलमा बसिरहेको थिएँ । जो तुलसीपुर इलाका प्रहरी कार्यालय भवनको पछिल्लो साइडमा करिब दुईसय मिटरको दुरीभित्र सल्यान रोडमा रहेको छ । मेरो पसल र घरका गतिविधि इप्रका तुलसीपुरले अफिसबाटै सिधा निगरानी गर्न सक्छ । त्यतिबेला सिभिल ड्रेसमा आएका प्रहरीले एक्कासी आएर तपाईलाई डिएसपी साबले सामान्य सोधपुछको लागि बोलाउनु भएको छ भनेर लिएर गए । जब मलाई प्रहरी कार्यालयमा पु¥याइयो तव निर्वाचन विरोधी गतिविधि गरेको मिथ्या आरोप लगाइयो र हिरासतमा राखियो । यसरी दुई हप्तासम्म साँघुरो कोठामा अपरिचित साथीहरुसँग विताउनु परेको तितो अनुभव छ । त्यस प्रहरी कार्यालयका हरेक प्रहरीहरु मेरो दैनन्दिनका गतिविधिबाट परिचित नै थिए, छन् । तर पनि राज्यसत्ता म र मजस्ता साथीहरुबाट आतङ्कित किन भयो ? हाम्रो पार्टीले साम्राज्यवादद्वारा थोपरिएको कथित संसदीय चुनावको बहिष्कार गर्ने निर्णय बमोजिम जनतालाई यो चुनाव जनहितमा नभएको बारेमा सुसुचित मात्रै त गराएका थियौँ । चुनावमा भोट खसाल्ने अधिकार जस्तै नखसाल्ने अधिकार पनि त मानवअधिकारकै कुरा हो । यो वर्तमान संविधानले दिएको मौलिक हक भित्रै पर्ने कुरा हो । तर पनि राज्यसत्ताको चरित्र भनेको निरङ्कुश र फासिवादी हुने भएकाले उसको आदेश बेगरका काम गर्नु उसको नजरमा गैरकानुनी मानिदो रहेछ ।
गिरफ्तार गरेर प्रहरी हिरासतमा पुगेपछि सुरुसुरुमा मलाई त्यति डर लागेन । किनभने मैले कुनै ठुलो अपराध गरेको थिएन । तर समय निकै ढिलो चलिरहेको थियो, दिनहरू बिस्तारै बित्दै गए त्यहाँ बस्दा मैले विभिन्न पृष्ठभूमिका मान्छेहरुसँग भेटेँ, जसका आफ्नै कथा र पिडा थिए । यता देशमा चुनावको प्रचार–प्रसार भइरहेको थियो, हामीले पनि २०७२ सालको संविधानले दिएको नागरिक अधिकारलाई प्रयोग गर्दै राजनीतिक प्रचार–प्रसार गर्न पाउने र जनतालाई देश, काल, परिस्थितिको बारेमा अवगत गराउँदै ‘नो भोट’ र चुनाव बहिष्कार गर्ने पार्टीको केन्द्रीय नीतिअनुसार आफ्ना गतिविधिमा संलग्न रहेका थियौँ ।
भदौ २३ र २४मा जेन जी युवाहरुका नाममा गराइएको प्रायोजित आन्दोलनपछि सुशिला कार्कीको नेतृत्वमा असंवैधानिक चुनावी सरकार बन्यो । जसले चुनाव गराउने जिम्मा लिएको थियो । नेपाली जनतालाई सधैं राज्यसत्ताका पेवा सम्झिने निर्वाचन मात्रै निकासको प्रश्न हो भने त्यसको विकल्पमा अरु कुनै निकास नदिने जुन प्रवृत्ति छ त्यसका विरुद्धमा हाम्रो पार्टीले सर्वपक्षीय सम्मेलनबाट राष्ट्रिय स्वाधीनताको संयुक्त सरकारको गठन हुनुपर्छ भन्ने माग राखेको थियो । त्यही माग बमोजिम हामीले पनि दाङ क्षेत्र नं.३ अन्तर्गतका उमेदवारहरुलाई पार्टीका सम्पर्क कार्यालयमा गएर सौहाद्र्ध वातावरणमा भेटघाट, छलफल, सुझाव गरेकै कारण मेरो गिरफ्तारी भयो । खैर केही छैन, विचार र सिद्धान्तलाई प्रहरी प्रशासनको लाठी र यातनाले कैद हुँदैनन् बरु नयाँ दृढ विचार सङ्कल्पका साथ अगाडि बढ्ने साहस पैदा हुन्छ । दैनिक जीवन एकदमै नियमित थियो, उस्तै बस्ने खाने फेरि सुत्ने बाहिरी संसारको दृष्यले मलाई आफ्नै जीवनबारे गहिरोगरी सोच्न बाध्य बनायो । मैले कुनै ठुलो अपराध नगरेता पनि भविष्यबारे धेरै चिन्ता गरेर कहिलेकाहीँ निरास लाग्थ्यो । फेरि जिन्दगीको उतार चढाब नै हो । मानव भएर जन्मेपछि यस्ता घटनाहरु सामान्य नै हुन् भन्नेर लिँदा आशा पनि पलाउँथ्यो कि यो अवस्था पनि एक दिन समाप्त हुनेछ । त्यो दुई हप्ताको बसाईंले मलाई धेरै जीवनको मूल्य सिकायो । स्वतन्त्रताको महत्व महसुस गरायो ।
अहिले फर्केर हेर्दा त्यो अनुभव पिडादायक भएपनि सिकाई र धैर्यताले भरिएको जीवनको एक अध्याय बनेको छ । त्यो दुई हप्ताको अवधि कुनै साधारण समय र केवल समयको मापन मात्रै थिएन, त्यो मेरो सहनशिलता, धैर्यता र प्रतिवद्धताको कठोर परीक्षा पनि थियो । प्रत्येक दिन र प्रत्येक क्षणले जीवनका नयाँ आयामहरु उद्घाटित गरिरहेको थियो । मैले स्वतन्त्रताको मूल्यलाई गहिरो अनुभूति गरेर जनताप्रतिको आफ्नो उत्तरदायित्वलाई अझ स्पष्ट रुपमा आत्मसात गरेको छु । अनि त्यो दुई हप्ताको स्मरण गर्दा त्यसलाई पिडाको कथा होइन, आत्मवल, सहनशिलता र रूपान्तरणको उज्यालो यात्राको रुपमा लिएको छु । त्यो अनुभवले मलाई थप अझ कठिन यात्रामा केवल अघि बढ्न मात्रै नभएर सही दिशामा अघि बढ्न सिकायो । त्यो दुई हप्ता हिरासतको बसाईबाट बाहिर निस्कँदाको क्षण मेरो लागि अत्यन्तै खुसीको थियो । त्यसले स्वतन्त्रताको सास फेर्ने नयाँ दृष्टिकोण प्राप्त भएको छ । त्यो अनुभव मैले सम्पत्तिको रुपमा ग्रहण गरेको छु । यसै त म राज्यसत्ताबाट द्वन्द्वपीडित हुँ र सहिद चैतन्य (चन्द्रबहादुर ओली) को दाजु भएकाले सहिद परिवारको मान्छे पनि हुँ । म चाहन्छु एक दिन यो दमनकारी शासन व्यवस्थाको पनि अन्त्य हुनेछ र सुनौलो शासन व्यवस्थामा मानवजाति रमाउन छन् ।
अन्त्यमा मेरो रिहाइको पर्खाइमा बस्नुभएका आफन्त, घरपरिवार र सिडिओ प्राङ्गणबाहिर फुलमाला, अबिर उपहार बोक्नु भएका पार्टी पङ्क्तिका साथीहरुलाई हृदयदेखि नै धन्यवाद पनि दिन चाहन्छु । सँगसँगै बाँकी मेरो दुई हप्ता हिरासत बसाईको स्मरण अनुभुती यतीमै टुङ्ग्याउँछु । धन्यवाद !
२०८२÷१२÷८
९८५७८५५९०९






























