१५ चैत,काठमाडौं । नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र साहलाई दलाई लामाको सरकार प्रमुखको बधाई आएको छ । निर्वासित तिब्बती धर्मगुरू दलाई लामाको सरकारका प्रमुख सिक्योंग पेन्पा छिरिङले साहलाई बधाई दिएका हुन् । सिक्योंग पेन्पा छिरिङले प्रधानमन्त्रीका रूपमा बालेन्द्रको उदयलाई नेपालका जनताको र विशेषगरी युवा पुस्ताको आकांक्षाको प्रतीक भएको उल्लेख गरेका छन् ।
छिरिङले भनेका छन्,’तपाईंको सक्षम नेतृत्वमा हाम्रो जनताबीचको मैत्री सम्बन्ध अझ सुदृढ हुने विश्वासका साथ, नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढोस् भन्ने हाम्रो अपेक्षा छ ।’ उनले नेपालमा रहेका तिब्बती समूदायले नेपालको सामाजिक र आर्थिक संरचनामा लामो समयदेखि योगदान पुर्याएको र सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गरेका छन् ।यसअघि सुशीला कार्की नेतृत्वको सरकार बनेका बेला तिब्बती धर्मगुरू दलाई लामाले बधाई दिएका थिए । यस भन्दा पहिलेका कुनै पनि सरकारलाई दलाई लामा र उनको निर्वासित सरकारको बधाई वा शुभकामना आएको थिएन । त्यो अवसर सुशीला कार्की र बालेन्द्र साहले प्राप्त गरेका छन् । अमेरिका र भारतको सहयोगमा चलिरहेको भूगोलबिहीन सरकारको पहिलो पटक बधाइ आउनुलाई बालेन्द्र साहको सरकार अमेरिकाको कठपुतली भएकैले उनलाई यो बधाई आएको हो भन्ने एकथरी बिश्लेषकहरुको भनाई छ ।






























