काठमाडौं । अमेरिकी सेनाका उप–कमाण्डिङ जनरल जोएल ‘जेबी’ भोवेल तीन दिने भ्रमणका लागि आइतबार काठमाण्डु आउँदैछन् । उनी फोर्ट शाफ्टर, हवाईमा अवस्थित अमेरिकी सेना प्रशान्तका लागि उप कमान्डिङ जनरल हुन् । फागुन २१ गते भएको संसदीय निर्वाचनपछि नेपाल भ्रमणमा आउने उनी सबैभन्दा उच्च पदस्थ अमेरिकी सेनाका अधिकारी हुन् ।
जनरल भोवेल आइतबार भुटान हुँदै काठमाण्डु आउनेछ छन् । भ्रमणका क्रममा उनले काभ्रेपलाञ्चोकको पनौती नजिक रहेको वीरेन्द्र शन्ति तालिम सञ्चालन केन्द्रको अवलोकन गर्नेछन् । त्यसक्रममा उनले नेपाल सेनाले सञ्चालन गरिरहेको विभिन्न गतिविधि अवलोकन गर्ने कार्यक्रम छ । अमेरिकी जनरल भोवेलले प्रधानसेनापति अशोकराज सिग्देलसहित नेपाल सेनाका वरिष्ठ अधिकारीहरूसँग पनि भेट गर्ने सम्भावना छ ।
नेपाल आउनु अघि जनरल भोवेलले बिहीबार भारतका प्रधानसेनापति उपेन्द्र द्विवेदीसँग दिल्लीमा भेटवार्ता गरेका थिए । उक्त भेटमा भारत–अमेरिका रक्षा साझेदारीलाई थप सुदृढ गर्ने उपायहरूबारे छलफल भएको भारतीय सेनाले जनाएको छ ।
त्यसैगरी उनले भारतीय सेनाका रथी पुष्पेन्द्र सिंहसँग पनि भेट गरी इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षा अवस्था र संयुक्त सैन्य तालिमबारे छलफल गरेका थिए ।
भारतपछि उनले भुटानको भ्रमण गरेका छन् । भुटानको भ्रमण सकेर उनी आइतबार काठमाण्डु आउन लागेका हुन् ।
फागुन २१ कोे निर्वाचनअघि पनि संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो फेब्रुअरी १३–१४ मा काठमाण्डुको भ्रमण गरेका थिए ।
अमेरिकी सेनाका अनुसार अमेरिका र नेपालबीच संयुक्त अभ्यासमार्फत विपद् व्यवस्थापन क्षमता सुदृढ गर्ने, प्राविधिक सहयोग प्रदान गर्ने, हेलिकप्टर, सवारीसाधन र सञ्चार प्रणाली जस्ता उपकरण उपलब्ध गराउने जस्ता विषयमा उच्चस्तरको सैन्य सहयोगका विषयमा नेपालसँग सहकार्य भइरहेको छ ।
सन् २०१९ मा नेपाली सेना स्टेट पार्टनरसिप प्रोग्राममा आबद्ध भएपछि नेपाली सेना र अमेरिकी सेनाबिचमा बर्षमा ३ देखि ४ वटासम्म संयुक्त तालिम सञ्चालन हुँदै आएको छ । चुनावअघि र चुनावपछिका अमेरिकी सैन्य कमाण्डरहरुको भ्रमणले नेपाल अमेरिकाको हिन्द प्रशासन्त सैन्य रणनीतिको साझेदार राष्ट्रको रुपमा सम्झौता गर्ने भित्री डिजाइन भइरहेको छ कि भन्ने गम्भीर आशंकाहरु जन्मिरहेका छन् ।
कतिपय भूराजनीतिक विश्लेषकहरुले भारत र बेलायतमा जस्तै अमेरिकी सेनामा पनि भर्ती खोल्ने तयारी भइरहेको र तालिमका लागि झापाको औद्योगिक पार्कलाई छनौट गरिएको सूचना सम्प्रेषण गरिरहेका छन् ।
एक सूचना स्रोतका अनुसार नेपालमा प्रधानमन्त्रीको शपथ खाए लगत्तै अमेरिका भ्रमणका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई निम्त्याइने र त्यसैक्रममा कुनै सैन्य सम्झौतामा हस्ताक्षर गराउने तयारी भइरहेको छ । उता भारतले सपथ खाएलगत्तै पहिलो भ्रमण भारतमा गराउन पहल गरिरहेको स्रोतले दावी गरेको छ ।































