सत्ता र जुत्ता

सत्ता र जुत्ता

कविता

के फरक पर्छ ?
खुट्टा र जुत्ताको छनौट एउटै
संसद र जुत्ताको छनौट एउटै
जति फेरे पनि भो साटे पनि भो
के फरक पर्छ ?
खुट्टा भए जुत्ता कति कति

अधिकार मौलाएको छ
हक पनि त छ
लोकतन्त्रमा स्वतन्त्रता मिलेको छ
जो नेता बने पनि,
जे बोले पनि भो
के फरक पर्छ ?
जति कुरा बोले पनि,
जस्तो उखान जोडे पनि ।

लोकतन्त्र त हो
जो आए पनि जो गए पनि भो
जस्को जति मूल्य बढाएपनि,
या जति घटाए पनि
के फरक पर्छ ?
संसदको बजारमा खरिद बिक्री कति कति ।

सत्ता र नेताको बुट एउटै
ब्रस र पालिसको कमाल
जति दल्यो त्यति चम्कने त हो नी !
के फरक पर्छ ?
थोत्रा बुट भए पनि नयाँ पालिस कति कति
सत्ता र भक्तिको सम्बन्ध
सत्ता र शक्तिको सम्बन्ध
जति ढोगे पनि जति बिन्ती गरे पनि भो
के फरक पर्छ ?
मन्दिर भए भक्त कति कति ।