झक्कुप्रसाद पुन रचित ‘अभ्यस्त सिपाही’ एक सर्वेक्षण

झक्कुप्रसाद पुन रचित ‘अभ्यस्त सिपाही’ एक सर्वेक्षण

कृति समीक्षा

परिचय :

सल्यान, साविक कालागाउँ– ६ तिमिल्काँडामा बुबा भोटु पुन र आमा डम्बरी पुनको कोखबाट २०२७ मा जन्मिएका झक्कुप्रसाद पुन जनमुक्ति सेनाका बटालियन सहायक कमान्डर थिए । पार्टी र साहित्यिक क्षेत्रमा ‘निर्मम’को नामले परिचित पुनले पचासको दशकदेखि साहित्य लेखनमा प्रवेश गरेको देखिन्छ । माध्यमिक तहको विद्यार्थी जीवनदेखि नै फुटकर कविता लेखनमा प्रवेश गरेका पुनले मूलतः जनयुद्धका क्रममा पूर्णकालीन भएर जनमुक्ति सेनामा प्रवेश गरेदेखि साहित्य साधनामा लागेको देखिन्छ । जनयुद्धको पेचिलो समयमा एक हातमा बन्दुक समाएर अर्को हातले कलम समाएर युद्ध सिर्जित सम्बेदनालाई पकड्दै नयाँ यथार्थलाई शब्दबिम्बमा उतार्नु चानचुने कुरा थिएन । यति गम्भीर कार्य झक्कु पुनले सहजै लिएर अगाडि बढ्नु उनमा भएको साहित्यिक चेतको परिणाम हो ।

२०५३ मा माओवादी पार्टीमा प्रवेश गरेका पुन २०५४ मा स्वायड सदस्यबाट जनमुक्ति सेनाको यात्रारम्भ गरेका थिए । बटालियन सहायक कमान्डर भई सफलतापूर्वक सैन्यजीवनमा नेतृत्वदायी लडाकु भूमिका निभाएका झक्कुप्रसाद तात्कालीन पाँचौँ डिभिजनको फमेशनमा आवद्ध थिए । डिभिजन फर्मेशन निर्माण भएको पहिलो रोलकलको क्रममा सल्यान–रोल्पा सीमाक्षेत्रमा पर्ने रोल्पाको मनिमारेमा भएको तात्कालीन शाहीसेनाको हवाइहमलाको क्रममा परी २०६२ मङ्सिर १४ गते डिभिजन कमान्डर किमबहादुर थापा ‘सुनिल’सँगै सहादत प्राप्त गरे । त्यसपछि उनको प्राणसँगै उनीसँग भएको कलम र बन्दुकलाई एकैसाथ संयोजन गरेर अगाडि बढ्ने कौशलताले पनि सदाका लागि विश्राम लियो ।

सैन्य जीवनको अत्यन्तै व्यस्त र जोखिमपूर्ण समयमा पनि साहित्य लेखनमा तल्लीन भइरहने निर्ममले सहादत हुनुपूर्व एउटा कथासङ्ग्रह ‘अभ्यस्त सिपाही’ (२०६२) प्रकाशित गरेका थिए । उनको कथाकृति वास्तवमा एउटा भीषण मोर्चामा अभ्यस्त रहेको छापामार सिपाहीकै जीवन्त भोगाइ र अनुभूतिको नवीन यथार्थ हो । कथाकार निर्ममले सैन्यमोर्चामा जेजति कुराहरू देखे, भोगे र अनुभूत गरे तिनै कुराहरूलाई शब्दबिम्बमा उतार्ने काम गरे । उनले आफ्ना सिर्जनाहरूमा युद्धकालीन जीवन परिवेश र सैन्य जीवनका भोगाइहरू, तज्जन्य घटना परिघटनाहरू, वर्गसङ्घर्षका रापिला भट्टीबाट खारिएका फलामका धाउहरूलाई आफ्नो कथाको विषय बनाएका छन् । विभिन्न शीर्षकका बाह«वटा युद्धजन्य घटनाहरूलाई समेटेर लेखिएका कथाहरूको सङ्गालो हो, ‘अभ्यस्त सिपाही’ ।

विषय प्रवेश :

‘अभ्यस्त सिपाही’ वर्गसङ्घर्षमा प्रत्यक्ष रूपमा त्यो पनि सैन्य मोर्चामा कार्यरत एक जनमुक्ति सेनामा कार्यरत योद्धाको साहित्यिक सिर्जना हो । नेपाली समाजका उत्पीडित वर्गका जनताले भोगेको यथार्थ र युद्धले पारेको सकारात्मक प्रभावको समष्टीका रूपमा आएको आख्यान साहित्य हो प्रस्तुत कृति । यस सङ्ग्रहमा दस वटा कथाहरू सङ्गृहित छन् । ती हुन् ‘हत्याराको खोजी’, ‘आजकल बालचासो’, ‘ऊ त वीर थियो’, ‘चियामा षड्यन्त्र’, ‘ठूलो चौखे ढुङ्गामा छ हो त्यही’, ‘रेसुङ्गाका अर्याल बा’, ‘लाल गौँडा’, ‘रातो चिठी’, ‘दुई थाली आटो’, ‘अभ्यस्त सिपाही’ कथाहरू ।

प्रस्तुत सङ्ग्रहको पहिलो कथा हो ‘हत्याराको खोजी’ । जसमा एकजना ग्रामिण युवकको सरकारी सुरक्षाफोर्सबाट हत्या गरिन्छ । आफ्नो घर गृहस्थी गरेर बसिरहेको एक युवकको अनाहकमा सरकारी सुरक्षाफोर्सबाट मारिनुले जनतामा वदलाभाव पैदा हुन्छ । त्यही बदलाभावको कारण हत्या भएको युवककी बिहनीलाई आमाले टीका लगाएर युद्ध मैदानमा पठाएको घटनालाई कथाको मूल विषय बनाइएको छ । दाजुको हत्याको बदला लिन बिहनी जनयुद्धको मोर्चामा सामेल भएको घटना जनयुद्धको एउटा शाश्वत् सत्य हो । यहाँ प्रतिनिधि पात्रका रूपमा दाजु बहिनी र आमाको प्रसङ्ग उल्लेख गरिए पनि जनयुद्धका क्रममा देशैभरी यसप्रकारका घटनाहरू भएका सयौँ उदाहरण छन् । वास्तवमा उत्पीडित वर्ग समुदाय, लिङ्का मानिसहरू माओवादी पार्टीमा आवद्ध हुनु र जनयुद्धले एक पछि अर्को विकासको फड्को मार्नुमा सरकारी संयन्त्रको यस्तै फासिवादी हरकत बढ्नुको एउटा कारण पनि हो । जनयुद्धमा कार्यकर्ताहरूको भर्ती यस्ता घटनाहरूकै कारणबाट बढेर त्यो एउटा संस्कृतिकै रूपमा विकसित भएको थियो । कथाको प्रारूपीकरणका हिसाबले यो राम्रो कथा हो । यसैगरी सङ्ग्रहको दोस्रो कथा हो ‘आजकल बालचासो’ शीर्षकको कथा । यस कथामा ग्रामिण बस्तीका बालबालिकाहरूमा जनयुद्धले पारेको प्रभावलाई कथाको विषयवस्तु बनाएर पस्किएको छ । जहाँ गाउँका बालबालिकाहरूमा समेत माओवादी योद्धाहरू, नेता कार्यकर्ताहरू जनताका रक्षक हुन् भने सरकारी सेना प्रहरीहरू तथा सत्तासीन पार्टीका मानिसहरू जनताका दुश्मन हुन् भन्ने मनोविज्ञान पैदा भएको भाव सम्प्रेशण गरिएको छ । र ती बालबालिकाहरू समेत आपसमा खेल्दा कोही जनमुक्ति सेना बनेको, कोही माओवादी नेता बनेको जस्ता कृयाकलाप देखाइएको छ । यसलाई बाल चासोका रूपमा कथामा अभिव्यक्त गरिएको छ ।

प्रस्तुत सङ्ग्रहको तेस्रो कथा ‘ऊ त वीर थियो’ हो । यस कथामा एउटा क्रान्तिकारी योद्धाको बलिदानीभावलाई व्यक्त गरिएको छ । जबसम्म क्रान्तिमा कथाको पात्र वीरबहादुर जीवित थियो, त्यतिबेला उक्त पात्रमा विकास भएको क्रान्तिचेतना, वीरता, सौर्य, उदात्तता जस्ता कुराहरूलाई निकै मार्मिक ढङ्गबाट प्रस्तुत गरिएको छ । यस प्रकारको योद्धा लडाइँको मोर्चामा वीरतापूर्वक लडेर हाँसी हाँसी मृत्युवरण गर्न पुग्छ ।

‘रातो चिठी’ कथामा कथाकारले युद्धमोर्चामा सामेल एक योद्धाको सहादत पछि उसको घरमा सहादतको खबर लेखिएको चिठी पु¥याइएको घटनालाई समावेश गरेका छन् । संयोगले कथाकार आफैँ पनि युद्धमा शाहीसेनाको हवाइ हमलामा परेर सहिद हुन पुगे र उनको घरमा पनि यस्तै प्रकारको रातो चिठी लिएर उनका सहकर्मी जानु परेको थियो । यो अचम्मको आकस्मिकता बन्न पुगेको थियो । जनयुद्धका क्रममा यस्ता दर्जनौ घटनाहरू भएका थिए । प्रस्तुत रातो चिठी कथा युद्धरत समयको साक्षका रूपमा उभिएको एउटा सवल र ज्युँदो प्रमाण हो ।

प्रस्तुत सङ्ग्रहमा सङ्गृहित कथाहरू ‘रेसुङ्गाका अर्याल बा’ र ‘दुई थाली आटो’ जस्ता कथाहरूले जनमुक्ति सेनाको दैनन्दिनी तथा जनतामा सेल्टर लिँदा जनताले गरेको स्वागत सत्कार आदि विषयलाई आख्यानीकरण गरिएको छ । वास्तवमै जनमुक्ति सेना जनताकै सेना थिए । उनीहरू गाउँमा हुँदा जनताले सुरक्षाको महसुस गर्दथे । गाउँमा चोरी, डकैती, झैझगडा तथा सामाजिक अपराधजन्य कृयाक्लाप पूर्ण रूपमा बन्द जस्तै थिए । त्यसैले पनि माओवादी जनतामा लोकप्रिय बन्दै गएका थिए । यी र यस्तै विषयहरू प्रस्तुत ‘अभ्यस्त सिपाही’ कथा सङ्ग्रहमा समेटिएका छन् ।

सङ्ग्रहको प्रतिनिधि कथा ‘अभ्यस्त सिपाही’ हो । यसमा क्रान्तिकारी सिपाहीले आफ्नो सैन्य जीवनमा वहन गरेका जिम्मेवारीबोध, कर्तव्यपरायणता, इमानदारिता, त्याग र समर्पणभावलाई उच्चता र उदात्ततामा प्रस्तुत गरिएको छ । जहाँ कुशल लडाकु र सक्षम नेतृत्वबिचका तादात्म्यतालाई गहनतम् र सूक्ष्मतम् ढङ्गबाट कथामा प्रस्तुत गरिएको छ । यसरी अभ्यस्त सिपाही कथासङ्ग्रह स्वयम् लेखकको जीवन व्यवहारका भोगाइका साक्ष्य बनेर उभिएको छ । यो कृति जनयुद्धको जीवन्त इतिहास, उदात्तभाव र क्रान्तिचेतनाको प्रमाण पनि हो ।

कथाको वैचारिकी :

‘अभ्यस्त सिपाही’ कथासङ्ग्रह माक्र्सवादी विचारको पक्षधरतामा लेखिएको कथा सङ्ग्रह हो । यसले जनयुद्ध सिर्जित नवीन यथार्थलाई पकडेको छ । नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक अवस्था र त्यसले पारेको वर्गीय अन्तरविरोध नै अभ्यस्त सिपाही कथासङ्ग्रहका मुख्य वैचारिक खजाना हुन् । प्रस्तुत कथाहरूले समाजवादी यथार्थवादी विचारधारालाई पकडेका छन् । माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्ध र वर्गसङ्घर्षलाई उदात्तीकरण गर्नु यी कथाहरूका विशेषता हुन् । युद्धले पैदा गरेको एउटा वर्गको आनन्द र अर्को वर्गको त्रासदी कथाको सौन्दर्य हुन् । एउटै घटना पनि एउटा वर्गका निम्ति आनन्द र अर्को वर्गका निम्ति आतङ्क बन्नु यौद्धिक सौन्दर्य हो । उत्पीडित वर्गीय समाजका निम्ति प्रस्तुत कथाहरू वैचारिक प्रेरणाका श्रोत हुन् ।

झक्कुप्रसाद पुन वर्गबोधी कथाकार हुन् । उनले एकातिर साहित्यका माध्यमबाट उत्पीडित वर्गीय समाजलाई वर्गसङ्घर्षको चेतना जागृत गर्दछन् भने अर्कातर्फ स्वयम् बन्दुक बोकेर जनसेना बनेर प्रतिकृयावादी तथा फासिवादी सत्ता ढाल्न थुप्रै मोर्चाहरूमा सामेल भएर दुश्मन सेनालाई धुलो चटाउन पुग्छन् । माओले भन्नुभए जस्तै सर्वहारा वर्गका निम्ति राज्यसत्ता बाहेक अरू सबै भ्रम हो भन्ने मान्यतालाई आत्मसात गरेर नै कथाकार पुनले देशमा जनवादी व्यवस्था स्थापना गर्ने अभियानमा सामेल हुन्छन् । लडाइँका मोर्चाभित्रैबाट समाजको यथार्थ चित्र कला मार्फत् कथाका रूपमा पश्किएर जनतालाई वर्गसङ्घर्षमा सामेल हुन प्रेरित गर्छन् ।

‘अभ्यस्त सिपाही’ कथाकृति मार्फत कथाकार निर्ममले नेपाली समाजको शुक्ष्म ढङ्बाट अन्वेषण गर्न पुगेका छन् । युद्धले नेपाली समाजको बाल मनोविज्ञानमा पारेको प्रभाव, भविश्यका लौरी आफ्ना सन्तान सरकारी फौजका शिकार बनाइँदा पनि अरू सन्तानलाई बदला लिन युद्धमोर्चामा पठाउने साहसी, कठोर तर वर्गप्रतिको प्रेम भाव व्यक्त गर्ने ग्रामिण महिलाहरूको उदात्त चेतनालाई कथामा प्रस्तुत गरेर युद्धको महत्वलाई निकै राम्रोसँग उठाउन सफल भएका छन् । त्यति मात्र होइन स्वयम् जनमुक्ति सेनाको त्याग, वलिदान, सौर्यता वीरताका गाथाहरूलाई पनि आफ्ना कथाका विषयवस्तु बनाएर भविश्यका पुस्ताका लागि पनि प्रेरणा दिन सफल भएका छन् । कथाको महत्वपूर्ण पक्ष यो नै हो ।

जनयुद्ध कस्का निम्ति थियो, यसको उद्देश्य, लक्ष्य के थियो र यसले कुन वर्गको हितमा कस्तो व्यवस्था ल्याउनका लागि लडिएको थियो भनेर नेपाली समाजलाई शिक्षा दिनु, भविश्यका सन्तानलाई सत्य इतिहास पढाउनु र आफ्नो वर्गप्रति न्याय गर्नु प्रस्तुत कथासङ्ग्रहको विशेषता हो । युद्धको पेचिलो समयमा पनि यसरी कथा मार्फत् नेपाली समाजको यथार्थता पश्कनु र जनताको इतिहास अभिलेखिकरण गर्नु सह्रानीय, प्रशंशनीय कार्य हो । प्रस्तुत कृति युद्धको निकै पेचिलो समयमा प्रकाशित भएकाले पनि यो आम पाठकसम्म पुग्न सकेको छैन । यसलाई कुनै माध्यमबाट पुनः प्रकाशित गर्नसके कथाकार महान् सहिद झक्कुप्रसाद पुन प्रति न्याय हुनेछ ।