इनिशा  विकका हत्याकारलाई कडा कारबाही गर्न क्रान्तिकारी महिला संगठनको जोडदार माग

इनिशा  विकका हत्याकारलाई कडा कारबाही गर्न क्रान्तिकारी महिला संगठनको जोडदार माग

काठमाडौं । सुर्खेतकी इनिशा विकको बलात्कार र हत्यामा संलग्न सबै अपराधीहरुलाई कडा कारबाही गर्न क्रान्तिकारी महिला संगठनले जोडदार माग गरेका छ। क्रान्तिकारी महिला संगठनकी संयोजक अम्विका मुडवरीले वक्तव्य जारी गरी यस्तो माग गरेकी हुन् ।

उक्त संगठनले जारी गरेको वक्तव्यमा भनिएको छ, “फागुन २३ गते बिहान सुर्खेत गुर्भाकोट ६ बडाखोली स्थायी घर भएकी इनीशा बिकको वीरेन्द्रनगर ४ शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता जघन्य अमानवीय अपराधहरूले हाम्रो समाजलाई भय र असुरक्षाको वातावरणतर्फ धकेलिएको छ । महिलामाथि हुने यस्ता अपराधिक घटनाहरू केवल व्यक्तिगत घटना मात्र नभइ समग्र समाज र पितृसत्तावादी राज्यव्यवस्थाको गम्भीर समस्या हो । अपराधीहरूलाई राजनीतिक संरक्षण दिने प्रवृत्ति, कमजोर कानुनी कार्यान्वयन र न्यायमा ढिलाईका कारण यस्ता घटनाहरू दोहोरिरहेका छन् । यसप्रति हाम्रा संगठनहरूको कडा आपत्ति र विरोध रहेको छ । हामी राज्यका सम्बन्धित निकायसँग बलात्कार तथा हत्याजस्ता जघन्य अपराधमा संलग्न सबै अपराधीहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाहीको जोडदार माग गर्दछौं । साथै, पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्तिको सुनिश्चित गर्न पनि जोडदार माग गर्दछौँ । यस अवस्थामा सुरक्षाको ग्यारेन्टी गर्न समेत हाम्रो संगठन राज्यसँग जोडदार माग गर्दछ । ”