साम्राज्यवाद (Imperialism_) भन्ने शब्द ल्याटिन शब्द इम्पेरियम (Imperium) बाट व्युत्पन्न भएको हो जसको अर्थ ‘नियन्त्रण गर्नु, ‘संप्रभु हुनु’ वा ‘शासन गर्नु’ भन्ने हुन्छ । यो शब्द १९औं शताब्दीमा नेपोलियन तृतीयको आक्रमणद्वारा राजनीतिक समर्थन प्राप्त गर्ने प्रयासलाई वर्णन गर्न बनाइएको थियो । यो शब्द सन् १८७० को दशकमा ब्रिटिश साम्राज्यका लागि गरिएको थियो र यसले सन् १८८० को दशकसम्ममा पश्चिममा सकारात्मक अर्थ ग्रहण गरेको थियो । यो शब्दलाई १९औं शताब्दीको अन्त्यसम्ममा सबै समय र स्थानका साम्राज्यहरूको व्यवहारलाई वर्णन गर्न प्रयोग गरिएको थियो । राजनीतिक अर्थशास्त्री जोसेफ शम्पीटर (सन् १८८३–१९५०) र इतिहासकार एवम् दार्शनिक हन्ना एरेन्ट (सन् १९०६–१९७५) ले भने साम्राज्यवादलाई आफ्नै लागि गरिने विस्तारका रूपमा परिभाषित गरेका छन् ।
साम्राज्यवादका आलोचक तथा ब्रिटिश आर्थिक पत्रकार जोहन हब्सन (सन् १८५८–१९४०) ले ‘साम्राज्यवादः एक अध्ययन’ रचनामा साम्राज्यवादको शास्त्रीय विश्लेषण गरेका छन् र गृह देशका व्यापारिक स्वार्थहरुले उपनिवेशमा लाभ प्राप्त गर्नका लागि राज्यको शक्तिलाई कसरी हेरफेर गर्न सक्दछन् भन्ने कुराको अन्वेषण गरेका छन् । सन् १९१७ मा भ्लादिमिर लेनिन (सन् १८७०–१९२४) ले व्यापारिक संस्थाहरुले भौगोलिक क्षेत्र भन्दा आर्थिकरूपमा प्रभुत्व जमाउन पुँजी निर्यात गरेपछि साम्राज्यवादलाई ‘पुँजीवादको उच्चतम चरण’ को रूपमा पुनर्परिभाषित गरेका थिए । लेनिनको रचना ‘साम्राज्यवादः पुँजीवादको उच्चतम चरण’ मा साम्राज्यवाद पुँजीवादी राष्ट्रहरूले नयाँ बजार र स्रोतहरू खोज्दा उत्पन्न हुन्छ भन्ने तर्क गरिएकोछ । सन् १९६५ मा अफ्रिकी देश घानाका राजनीतिज्ञ क्वामे न्क्रुमाह (सन् १९०९–१९७२) को रचना ‘नव–औपनिवेशवादः साम्राज्यवादको अन्तिम चरण’ मा व्यापार, सैन्य शिविर, सांस्कृतिक प्रभुत्व र अन्तर्राष्ट्रिय मुद्राकोषसँग जोडेर नव–उपनिवेशवादलाई “साम्राज्यवादको अन्तिम चरण” को नाम दिएका थिए ।
सन् १९६७ मा समाजशास्त्री आन्द्रे फ्र्याङ्क (सन् १९२९–२००५) ले असमान विनिमय (साम्राज्यद्वारा नियन्त्रित मूल्य निर्धारण) स्वयंले साम्राज्यलाई पुनः उत्पादन गर्दछ भन्ने दावी गरेका छन् । सन् १९७८ मा प्यालेस्टिन मूलका अमेरिकी प्राज्ञिक एडवार्ड साईद (सन् १९३५–२००३) ले साम्राज्यवाद शब्दलाई प्रभुत्व र अधीनस्थतालाई वर्णन गर्न प्रयोग गरेका छन्, जसले साम्राज्यवादी केन्द्र र परिधीय क्षेत्रलाई प्रतिबिम्बित गर्दछ । सारांशमा भन्नुपर्दा साम्राज्यवाद भनेको विदेशी राष्ट्रहरूमाथि विशेषगरी विस्तारवाद–जसमा कडा शक्ति (सैन्य र आर्थिक शक्ति) र नरम शक्ति (कूटनीतिक शक्ति र सांस्कृतिक साम्राज्यवाद) दुवैको प्रयोग गरिन्छ–आफ्नो मार्फत् शक्ति कायम राख्नु र विस्तार गर्नु हो । साम्राज्यवाद प्रभुत्व स्थापना गर्न वा कायम राख्न र औपचारिक साम्राज्य विस्तार गर्नमा केन्द्रित रहन्छ । साम्राज्यवाद भन्नाले यस्तो नीति वा विचारधारालाई बुझाउँछ जहाँ एउटा राष्ट्रले उपनिवेशवाद, सैन्य शक्ति, वा अन्य भौगोलिक क्षेत्र र जनतामाथि आर्थिक तथा राजनीतिक प्रभुत्वमार्फत् आफ्नो शक्ति र प्रभाव विस्तार गर्दछ । यो आधुनिक संसारलाई आकार दिनमा, विशेष गरी १६औं शताब्दीदेखि २० औं शताब्दीको मध्यसम्म, एक प्रमुख शक्ति रहेकोछ ।
साम्राज्यवादका ऐतिहासिक उदाहरणहरू
१.युरोपेली उपनिवेशवाद (१६औं–२०औं शताब्दी)ः ब्रिटिश साम्राज्य (जसमा सूर्य कहिल्यै अस्ताउँदैनथ्यो), फ्रान्सेली उपनिवेशवादी साम्राज्य, अमेरिका, अफ्रिका र एसियामा स्पेनिश र पोर्चुगिज साम्राज्यहरू । २. अमेरिकी साम्राज्यवाद (१९औं शताब्दीको उत्तरार्ध–२०औं शताब्दी)ः फिलिपिन्स, पुयर्टोरिको, ग्वाममा विस्तार र ल्याटिन अमेरिकामा प्रभाव । ३. जापानी साम्राज्यवाद (१९औं शताब्दीको उत्तरार्ध–२०औं शताब्दीको मध्य)ः कोरिया, ताइवानको उपनिवेशीकरण र पूर्वी एसियाभरि विस्तार । ४. सोभियत साम्राज्यवाद (शीतयुद्धको युग)ः पूर्वी युरोप र अन्य समाजवादी राज्यहरूमाथि राजनीतिक र सैन्य प्रभुत्व ।
साम्राज्यवादका ऐतिहासिक र समकालीन प्रकटीकरण
१.शास्त्रीय युग (सन् १८७०–१९४५)ः अफ्रिकाको दौड (१९ औं शताब्दीको अन्त्यतिर, विशेष गरी सन् १८८० देखि सन् १९०० को दशकको सुरुवातसम्म युरोपेली शक्तिहरूद्वारा अफ्रिकी क्षेत्रमा द्रुत आक्रमण, उपनिवेशीकरण र विभाजनलाई जनाउँछ), दुईवटा विनाशकारी विश्वयुद्धहरू र महामन्दीलाई अन्तर–साम्राज्यवादी प्रतिद्वन्द्वीताका प्रत्यक्ष परिणामहरूद्वारा चिनिन्छ । २. शीतयुद्धको युग (सन् १९४५–१९९१)ः नव–उपनिवेशवादले प्रत्यक्ष औपनिवेशिक शासनलाई प्रतिस्थापन गर्यो । संकटहरू छद्म युद्धहरू, दक्षिण गोलाद्र्धमा ऋण संकट र आणविक विनाशको खतरा मार्फत् प्रकट भए । ३. समकालीन युग (सन् १९९१–अहिले सम्म) ः (क) एकध्रुवीय प्रभुत्व र अनन्त युद्ध–अमेरिकी नेतृत्वको ‘आतंकवाद विरुद्धको युद्ध’ खुला अन्त्य नहुने साम्राज्यवादी हस्तक्षेपको एक रूप । (ख) प्रतिद्वन्द्वी शक्तिहरूको उदयः भू–राजनीतिक तथा आर्थिक प्रभावको एक प्रतिस्पर्धी मोडेलको रूपमा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ । (ग) प्रणालीगत पतनः सन् २००८ को वित्तीय संकट (मुख्य केन्द्रमा उत्पन्न भएको), सामूहिक आप्रवासनका संकटहरु (प्रायः साम्राज्यवादद्वारा अस्थिर पारिएका क्षेत्रहरूबाट) र अमेरिकी प्रभुत्वलाई बहु–मोर्चागत चुनौती ।
साम्राज्यवादका मुख्य विशेषताहरू
१. क्षेत्रीय विस्तारः विदेशी भूमिमा प्रत्यक्ष नियन्त्रण वा वस्ती स्थापना, जसलाई प्रायः जातीय, सांस्कृतिक, वा प्राविधिक श्रेष्ठताको विचारद्वारा सही ठहराइन्छ । २. आर्थिक शोषणः साम्राज्यवादी शक्तिको फाइदाको लागि उपनिवेशित क्षेत्रहरूबाट स्रोत साधन, श्रम, र बजारको दोहन । ३. राजनीतिक प्रभुत्वः उपनिवेशित जनतामाथि प्रायः उनीहरूको सहमति बिना शासन प्रणाली, कानून र प्रशासन लाद्नु । ४. सांस्कृतिक साम्राज्यवादः उपनिवेशित समाजहरूमा भाषा, धर्म, शिक्षा र सांस्कृतिक मान्यताहरू लाद्नु जसले गर्दा स्वदेशी संस्कृतिहरू कमजोर हुन्छन् । ५. सैन्य बलः विजय प्राप्त गर्न, नियन्त्रण गर्न र प्रतिरोधलाई दमन गर्न सशस्त्र बलको प्रयोग।
साम्राज्यवादका प्रभाव र परिणामहरू
१. उपनिवेशित क्षेत्रहरूमा– (क) शोषणः स्रोत साधनको कमी, जबरजस्ती श्रम, आर्थिक परनिर्भरता । (ख) सांस्कृतिक व्यवधानः भाषा, परम्परा र पहिचानको क्षति । (ग) स्वेच्छाचारी सिमानाहरूः साम्राज्यवादी शक्तिहरूद्वारा खिचिएका सीमा, जसले दीर्घकालीन जातीय द्वन्द्व निम्त्यायो (जस्तै, अफ्रिका र मध्य पूर्वमा) । (घ) प्रतिरोध र राष्ट्रवादः उपनिवेशवाद–विरोधी आन्दोलनहरू अन्ततः स्वतन्त्रता संग्राममा परिणत भए । २. साम्राज्यवादी शक्तिहरूका सम्बन्धमा– आर्थिक समृद्धि, विश्वव्यापी प्रभाव तर महंगो युद्ध र लोकतान्त्रिक आदर्शहरूसँगको नैतिक विरोधाभास पनि रहेकोछ । ३. विश्वव्यापी विरासत– (क) असमानताः निरन्तर वैश्विक आर्थिक विभाजन (उत्तरी विश्व विरूद्ध दक्षिणी विश्व)। (ख) सांस्कृतिक आदानप्रदानः प्रायः जबरजस्ती लादिएका भाषाहरू (जस्तै, अंग्रेजी, स्पेनिश र फ्रेन्च), धर्महरु र संस्थाहरूको प्रसार । (ग) राजनीतिक अस्थिरताः उपनिवेशोत्तर द्वन्द्व, अधिनायकवादी शासन र परनिर्भरतामूखी सम्बन्धहरू । ४. भू–राजनीतिक रणनीतिः सैन्य वा राजनीतिक फाइदाको लागि रणनीतिक क्षेत्रहरूमा नियन्त्रण (जस्तै, स्वेज नहरमा बेलायती र पनामा नहरमा अमेरिकाको नियन्त्रण)।
साम्राज्यवादका संकटहरू
साम्राज्यवादका संकटहरु सम्बन्धी अवधारणा एक आलोचनात्मक रुपरेखा हो जुन प्रायः माक्र्सवादी– लेनिनवादी विश्लेषणमा आधारित रहेको हुन्छ, जसले पुँजीवादी विकासको साम्राज्यवादी चरणमा अन्तर्निहित बारम्बार दोहोरिने प्रणालीगत अन्तर्विरोधहरु र असफलताहरूलाई वर्णन गर्ने गर्दछ । यी संकटहरू पृथक घटनाहरू होइनन् बरु दीर्घकालीन र अन्तरसम्बन्धित घटनाहरू हुन्, जसले विश्वव्यापी स्तरमा द्वन्द्व, शोषण, र अस्थिरतालाई बढावा दिन्छन् । यहाँ यी संकटहरूका ऐतिहासिक र सैद्धान्तिक दृष्टिकोणहरूबाट संश्लेषण गरिएका मुख्य आयामहरू प्रस्तुत गरिएकाछन् ः
१. आर्थिक संकटः अतिसंचयको प्रवृत्ति– (क) नाफाको घट्दो दरः आफ्नो देशमा गतिहीनता र नाफाको संकुचन सामना गरिरहेका पुँजीपतिहरुले विदेशमा पुँजी निर्यात, प्रत्यक्ष लगानी र उपनिवेश तथा नव–उपनिवेशहरूबाट स्रोतहरुको दोहन गरेर र अतिरिक्त मूल्य मार्फत् उच्च प्रतिफल खोज्दछन् । (ख) अति–उत्पादन र कम–खपतः साम्राज्यवादले विदेशी बजारहरू (वस्तुहरू बेच्नका लागि) र भौगोलिक क्षेत्रहरू (पुँजी लगानी गर्नका लागि) नियन्त्रण गरेर अतिरिक्त वस्तु र पुँजीको समस्या समाधान गर्न खोज्दछ । यसले आर्थिक प्रभाव क्षेत्रका लागि साम्राज्यवादी शक्तिहरूबीचमा तीव्र प्रतिद्वन्द्वीतालाई अगाडि बढाउँछ । (ग) वित्तीयकरणः उत्पादनशील लगानीमा गत्यावरोध आउने हुनाले साम्राज्यवाद परभक्षी वित्तीय पुँजी—ऋण, सट्टेबाजी र अधीनस्थ राष्ट्रहरूमा मितव्ययिता लागू गर्ने संरचनात्मक समायोजन कार्यक्रमहरू—द्वारा बढी विशेषतायुक्त बन्दै जान्छ ।
२. भूराजनीतिक र सैन्य सङ्कटः अन्तरसाम्राज्यवादी प्रतिद्वन्द्विता र युद्ध– (क) स्रोत र बजारको लागि प्रतिस्पर्धाः पुँजीवादी राज्यहरूको असमान विकासले रणनीतिक स्रोतहरू (तेल, खनिज, व्यापार मार्गहरू) माथि नियन्त्रणको लागि तीव्र प्रतिस्पर्धालाई अगाडि बढाउँछ । यो प्रतिद्वन्द्विता–जुन लेनिनको सिद्धान्तको एक मुख्य आधार हो– लाई द्वन्द्वको एक अपरिहार्य कारणको रूपमा हेरिन्छ । (ख) सैन्यवादः साम्राज्यवादले व्यापार मार्गहरू सुरक्षित गर्न र लगानीको रक्षाका लागि असहयोगी सरकारहरूलाई सत्ताचुत गर्न र प्रतिद्वन्द्वीहरूलाई तर्साउन एक विशाल सैन्य संयन्त्रमा भर पर्दछ । यसको परिणामस्वरूप स्थायी युद्ध–अर्थतन्त्र र क्षेत्रीय द्वन्द्वहरू (जस्तै, मध्य पूर्व÷पश्चिम एशिया, अफ्रिका, ल्याटिन अमेरिका, पूर्वी यूरोप) अगाडि आउँछन् । (ग) प्रमुख शक्तिहरूबीचको द्वन्द्वको खतराः शीतयुद्धपछिको युगमा एउटा मात्र प्रभुत्वशाली शक्ति (अमेरिका) रहेको भएतापनि नयां शक्तिहरू (जस्तै चीन) को उदयले महाशक्तिहरूबीचको प्रतिद्वन्द्विताको एउटा स्वरूपलाई पुनः स्थापित गरिरहेको छ त्यसले गर्दा द्वन्द्वका केन्द्रहरू (जस्तै, दक्षिण चीन सागर, युक्रेन) सिर्जना भइरहेका छन्, जसले गर्दा ठूलो द्वन्द्वको जोखिम बढाएकोछ ।
३. राजनीतिक र वैधताको संकटः प्रतिरोध र प्रभुत्वको पतन– (क) साम्राज्यवाद–विरोधी राष्ट्रिय मुक्ति आन्दोलनहरूः ऐतिहासिकरुपमा (भियतनाम, अल्जेरिया आदि) र अहिले चलिरहेका (प्यालेस्टाइन, अफ्रीकी साहेल (१) क्षेत्र आदि) संघर्षहरूले प्रत्यक्ष रूपमा साम्राज्यवादी प्रभुत्वलाई प्रत्यक्ष्य चुनौती दिन्छन् जसले गर्दा साम्राज्यवादी स्रोतहरु र नैतिक अधिकारलाई कमजोर बनाउँदछ । (ख) ‘उदार अन्तर्राष्ट्रिय व्यवस्था’ को क्षयीरणः साम्राज्यवादी हितहरूको आवरणकोरूपमा मुख्यतया पश्चिमी शक्तिहरूद्वारा निर्माण गरिएको नियममा आधारित प्रणालीलाई बढ्दो रूपमा चुनौती दिइएकोछ । आईएमएफ र विश्व बैंक जस्ता संस्थाहरूमाथि नव–औपनिवेशिक नीतिहरू लागू गरेको आरोप लगाइएको छ। (ग) घरेलु राजनीतिक विभाजनः मुख्य साम्राज्यवादी राष्ट्रहरूभित्रको विश्वव्यापी पुँजीलाई फाइदा पुर्याउने नीतिहरूलेगर्दा प्रायः औद्योगिकीकरणमा कमी, असमानता, र सामाजिक पतनलाई निम्त्याउँछन्, जसले विदेश नीतिमा अभिजात वर्गको सहमतिलाई कमजोर पार्ने लोकप्रियतावादी र हस्तक्षेप–विरोधी प्रतिक्रियाहरूलाई बढावा दिन्छन् ।
४. पारिस्थितिक सङ्कटः साम्राज्यवादी जीवनशैली– (क) वातावरणीय लागतको बाह्यकरणः साम्राज्यवादले दोहनकारी उद्योगहरु, विषाक्त फोहोर थुपार्ने (डम्पिङ) र प्रदूषणकारी उद्योगहरू गरिब राष्ट्रहरूका लागि आरक्षित गर्ने माध्यम मार्फत दक्षिणी विश्वमा पारिस्थितिक विनाशको स्थानान्तरणलाई सहजीकरण गर्दछ । (ख) जलवायु परिवर्तन एक साम्राज्यवादी सङ्कटको रूपमाः औद्योगिकीकृत साम्राज्यवादी केन्द्रहरूको ऐतिहासिक र वर्तमान कार्वन उत्सर्जनले जलवायु परिवर्तन निम्त्याएकोछ जसको अत्यन्तै खराब असर सबैभन्दा बढी शोषित राष्ट्रहरूले भोगिरहेका छन् । यसले ‘जलवायु न्याय’ र ‘जलवायु उपनिवेशवाद’ का नयाँ रूपहरू (जस्तै हरित ऊर्जाको लागि जमिन कब्जा) का मुद्दाहरू सिर्जना गर्दछ । (ग) स्रोतका लागि गरिने युद्धहरूः पारिस्थितिकीय विघटनले गर्दा हुने अभावले पानी, खेतीयोग्य जमिन र ऊर्जाको लागि प्रतिस्पर्धालाई तीव्र बनाउँछ जसले गर्दा यी स्रोतहरू सुरक्षित गर्न नयाँ साम्राज्यवादी रणनीतिहरू तर्फ डो¥याउँछ (उदाहरणका लागि, भेनेजुएला, ग्रिनल्यान्ड आदि) ।
५. वैचारिक संकटः सभ्य बनाउने अभियानको असफलता– साम्राज्यवादका वैधानिक वृतान्तहरुलाई (जस्तै– लोकतन्त्र, सभ्यता वा विकास गरिदिने) तानाशाहहरूको समर्थन, योजनावद्ध सत्ता पलट, विनाशकारी युद्धहरू ( जस्तै इराक, अफगानिस्तान, सिरिया, लिबिया आदि) र तीव्र विश्वव्यापी असमानताको वास्तविकताले बारम्बार कमजोर पारेकोछ । यसले गर्दा नरम शक्ति (सफ्ट पावर) लाई कमजोर पार्दछ र गठबन्धन बनाउन कठिन तुल्याउँछ ।
साम्राज्य पतनका चरणहरू
सात चरणको सिद्धान्तः साम्राज्य पतनका सात चरणहरूको सबैभन्दा प्रसिद्ध खाका ब्रिटिश सैन्य अधिकारी तथा लेखक सर जोन ग्लब (सन् १८९७–१९८६) ले अगाडि ल्याएका हुन् । उनले प्रस्तुत गरेको विश्लेषण अनुसार प्राचीन अस्सिरिया (२) देखि आधुनिक बेलायतसम्मका धेरै साम्राज्यहरू सबैले तल उल्लेखित विभिन्न चरणहरू पार गर्दै लगभग २५० वर्षको जीवनचक्र बिताउँछन् । ग्लबले प्रस्तुत गरेका सात चरणहरूको विवरण यसप्रकार रहेकाछन् ः १. अगुवाहरु (पायोनियर) को युग–विशेषताहरूः प्रारम्भिक विस्तार, अन्वेषण र जोखिम मोल्ने । बलिया नेताहरूद्वारा समाजको अगुवाई, कर्तव्यपालनको भावना र दृढता । २. विजयको युग– विशेषताहरूः सैन्य विस्तार र भू–भागमाथि विजय । साम्राज्यले आफ्नो शक्तिलाई प्रायः बल प्रयोग गरेर सुदृढ पार्दछ । ३. व्यापार वाणिज्यको युग– विशेषताहरूः व्यापार, पूर्वाधार र नवप्रवर्तन मार्फत् सम्पत्ति सिर्जना गर्नमा ध्यान जान्छ । साम्राज्यले बढ्दो समृद्धि प्राप्त गर्दछ । ४. समृद्धिको युगः नौतीहरूको सामना गर्न समस्या समाधानका पुराना विधिहरूमा अडिइरहन सक्छन् जुन असफल हुने गर्दछन् । ५. बौद्धिकताको युग– विशेषताहरूः धनले शैक्षिक र कलात्मक गतिविधिहरूलाई सहयोग गर्दछ । विडम्बनापूर्ण रूपमा यसले बौद्धिक संशयवादलाई निम्त्याउन सक्दछ जसले साम्राज्यको स्थापनाकालीन आदर्श र अधिकारमाथि प्रश्न उठाउँछ र त्यसलाई कमजोर बनाउँदछ । ६. पतनको युग– मुख्य सूचकहरूः यो महत्वपूर्ण चरण रक्षात्मकता, निराशावाद, भौतिकवाद र तुच्छताद्वारा चिह्नित हुन्छ । सार्वजनिक कर्तव्यपालनको भावनामा कमी, पैसाप्रतिको प्रेम र सुखको खोजी बढ्दछ । ग्लब ले उल्लेख गरेअनुसार जब अगुवाहरु र निर्माताहरूभन्दा बढी चर्चित व्यक्ति र खेलाडीहरू मुख्य सांस्कृतिक नायक बन्दछन् तब साम्राज्य संकटमा पर्दछ । ७. पतन र विनाशको युग– विशेषताहरूः अन्तिम चरणमा बढ्दो असमानता, सामाजिक विघटन, साझा उद्देश्यको ह्रास र अन्ततः साम्राज्यको संरचनाको पतन जस्ता कुराहरु समावेश हुन्छन् ।
अन्य दृष्टिकोणहरूः ग्लबका सात चरणहरू प्रमुख भए तापनि अन्य विद्वान तथा टिप्पणीकारहरूले साम्राज्यहरू किन पतन हुन्छन् भन्ने बारेमा विभिन्न मोडेल (नमूना) र दृष्टिकोणहरु प्रस्तुत गरेकाछन्ः १. पांच–चरण मोडेल– ब्रिटिश रणनीतिकार डेभिड मुरिन (सन् १९६३–) ले क्षेत्रीयकरण, साम्राज्यको उदय, परिपक्वता, अतिविस्तार र पतन– विरासतको चक्रको रूपरेखा प्रस्तुत गर्छन् । उनले अन्तिम चरणहरू संरक्षणवाद, सामाजिक विखण्डन र कर्तव्यपालनमा भन्दा नागरिकका अधिकारमा ध्यान केन्द्रित हुन्छ भन्ने कुरामा जोड दिन्छन् । २. मुद्राकेन्द्रित सात चरण मोडेल– वित्तीय टिप्पणीकार माइक मलोनी (१९५५–) ले मुद्राको स्वास्थ्यमा केन्द्रित चरणहरू प्रस्ताव गर्छन् जसमा राम्रो मुद्रा, सार्वजनिक कार्य, सैन्य विस्तार र निरन्तर युद्ध हुंदै मुद्राको अवमूल्यन, विश्वासको ह्रास र अन्ततः मुद्रा संकटसम्म पुग्ने कुरा उल्लेख गरेका छन् । ३. जटिल प्रणालीगत कारणहरूः प्राज्ञिक अनुसन्धानले साम्राज्यको पतन विरलै कुनै एक कारणले मात्र हुदैन बरु एकआपसमा जोडिएका साझा कारकहरू सम्मिलित भएका हुन्छन् भन्ने कुरा सुझाउँछ । जस्तै– (क) जलवायु परिवर्तन र प्राकृतिक विपत्तिहरू (उदाहरणका लागि अक्कादियन साम्राज्य (३) को पतनमा योगदान पु¥याउने खडेरी)। (ख) वातावरणीय क्षय र स्रोतहरूको कमी । (ग) सामाजिक–आर्थिक असमानता र राजनीतिक भ्रष्टाचार । (घ) आन्तरिक सामाजिक द्वन्द्व र एकताको कमी ।
अमेरिकी साम्राज्यवादको पतनोन्मुख अवस्था
आधुनिक युगमा विश्व साम्राज्यवादको एकल नाइकेको रुपमा संयुक्त राज्य अमेरिका रहँदै आएकोछ । दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) मा जर्मनी र जापानका विरुद्ध मिलेर लडेका तत्कालीन सोभियत संघ र संयुक्त राज्य अमेरिका जर्मनी र जापानको पराजय भएपछि विश्व महाशक्तिको रुपमा अगाडि आए र अमेरिका ३२ औं राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्ट सन् (१८४५–१९४५) को पहलमा सन् १९४५ मा संयुक्त राष्ट्र संघको स्थापना भएको थियो र अमेरिका, चीन, फ्रान्स रुस र वेलायत संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का स्थायी सदस्य (निषेध्याज्ञा प्राप्त राष्ट्र) बनेका थिए । तर दोस्रो विश्वयुद्धको समापन पश्चात तत्कालीन सोभियत संघ र संयुक्तराज्य अमेरिकाको बिचमा प्रतिस्पर्धा प्रारम्भ भयो र समग्र विश्व दुई ध्रुवमा बाँडिन पुग्यो त्यसको परिणामस्वरूप सन् १९४७ मा दुई महाशक्तिहरुका बीचमा शितयुद्ध (कोल्ड वार) को शुरुआत भयो । त्यसपछि सन् १९४९ मा अमेरिकाको नेतृत्वमा उत्तर एटलान्टिक सन्धि संगठन (नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेशन–नेटो) र सन् १९५५ मा सोभियत संघको नेतृत्वमा वार्सा सम्झौता (ट्रिटी अफ फ्रेन्डशिप, कोअपरेशन एन्ड म्युचुअल असिस्टेन्स) गठन भयो र दुईवटा प्रतिस्पर्धी सैन्य गठबन्धनहरु अस्तित्वमा आएका थिए । यी दुई महाशक्तिहरुकाबीचमा करिब पांच दशकसम्म निरन्तर चलेको शितयुद्ध सन् १९९१ मा सोभियत संघको विघटन भएपछि टुङ्गियो र अमेरिका विश्वको एक मात्र महाशक्तिको रुपमा कायम रह्यो ।
त्यसपछि विश्व पुनः एक ध्रुवमा परिणत भयो र अमेरिकी साम्राज्यवादले विश्वभर आफ्नो एकलौटी प्रभुत्व र हैकम चलाउँदै आयो । त्यस दौरानमा अमेरिकाले आफुलाई विश्वको प्रहरिकोको रुपमा उभ्यायो र त्यस प्रयोजनका लागि विभिन्न ८० देशहरुमा ७५० हाराहारी सैन्य आधार शिविरहरु कायम राख्दै आएकोछ । तर सन् २००८ मा अमेरिकामा आएको आर्थिक संकट (मन्दी) को कारण अमेरिकाको विश्वव्यापि वर्चस्वमा ह्रास आउन शुरुवात भयो । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनको दौरानमा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्ले राष्ट्रवाद र संरक्षणवादको पक्षपोषण गर्दै अमेरिका पहिलोको नीति अन्तर्गत अमेरिकालाई फेरि महान बनाऔं भन्ने नारा दिएर चुनाव जितेका थिए । त्यसैगरी आप्रवासीहरुलाई देश निकाला गर्ने र दक्षिणी छिमेकी देश मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने कार्य अगाडि बढाए भने अमेरिकाको प्रमुख व्यापार साझेदार चीनबाट आयात हुने सामानहरुमाथि उच्च भन्सार शुल्क लगाएर चीनको विरुद्ध भन्सार युद्ध शुरु गरेका थिए । सन् २०२० मा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति निर्वाचित भएका जोहन बाइडेनले पनि चीनको विरुद्ध भन्सार युद्ध कायमै राखेका थिए । सन् २०२४ मा डोनाल्ड ट्रम्प पुनः दोस्रो पटक राष्ट्रपति निर्वाचित भएपछि आफ्ना आफ्ना मित्र तथा सहयोगी देशहरुलाई समेत व्यापक भन्सार लगाउँदै आएका छन् ।
एक्काइसौं शताब्दीको शुरुवातदेखि नै नयाँ आर्थिक तथा सैन्य शक्तिको रुपमा चीनको उदय हुँदै जानु र चीनको पहलमा आर्थिकरुपमा उदीयमान देशहरु ब्राजिल, रुस, भारत र दक्षिण अफ्रिका समावेश रहेको संगठन ब्रिक्स गठन हुनु र अझ पछिल्लो समय अन्य देशहरु संलग्न हुँदै जानुले अमेरिकाको विश्वव्यापी एकल वर्चस्व कमजोर हुँदै गएकोछ । त्यसको परिणामस्वरूप विश्व आर्थिक, प्राविधिक र सैन्य क्षमताका आधारमा बहुध्रुवीय हुँदै गएकोछ । अहिले अमेरिकाले चीनलाइ आफ्नो प्रमुख प्रतिद्वन्दिको रुपमा मान्दछ र चीनलाई घेराबन्दी गर्नका लागि सन् २००७ मा अमेरिकाको अगुवाइमा अस्ट्रेलिया, भारत र जापान समावेश भएको चौपक्षीय सुरक्षा संवाद (क्वाड्रिलेटलर सेक्युरिटि डायलग–क्वाड) को निर्माण गरेकोछ । त्यसैगरी सन् २०१७ मा एशिया–प्रशान्त रणनीति (इन्डो–प्यासिफिक स्ट्राटेजी) लाई कार्यान्वयनमा ल्याएकोछ भने सन् २०२१ मा अमेरिका, वेलायत र अस्ट्रेलिया सम्मिलित रहेको अउकस गठन गरेकोछ । हालसालै सन् २०२६ जनवरी ७ तारिखमा अमेरिकाले ६६ वटा विश्व मन्च र संस्थाहरु–जसमध्ये ३१ वटा संयुक्त राष्ट्र संघ अन्तर्गतका रहेका छन् र ३५ वटा गैर राष्ट्र संघीय रहेकाछन्–लाई अमेरिकाको राष्ट्रिय हित विपरीत सन्चालन भएको आराप लगाउंदै ती संस्थाहरुबाट अलग्गिने घोषणा गरेकोछ । यी सबै तथ्य र कारणहरुबाट अब अमेरिका एकल महाशक्तिको रुपमा रहन सक्ने अवस्था रहेको छैन र त्यो पतनोन्मुख दिशामा अगाडि बढिरहेकोछ भन्ने देखाउँछन् ।
संक्षिप्त निष्कर्ष
यस प्रकारको विश्लेषणात्मक दृष्टिकोणबाट हेर्दा के निष्कर्ष अगाडि आउँछ भने साम्राज्यवाद कुनै नीतिगत विकल्प होइन बरु यो त पुँजीवादको एक प्रणालीगत चरण मात्र हो । त्यसैले यसका संकटहरू स्थायी र चक्रीय प्रकारका हुन्छन् जसको रूप त बदलिन्छ तर सार भने बदलिंदैन । तिनीहरुले शोषण, युद्ध र पारिस्थिति विनाश जन्माउँछन् र साथसाथै प्रतिरोध (राष्ट्रिय मुक्तिदेखि मजदुरहरूको संघर्ष र जलवायु न्याय आन्दोलनसम्म) लाई पनि जन्माउँछन्, जुन ऐतिहासिकरूपमा प्रणालीगत परिवर्तन गराउन वा साम्राज्यवादीहरुलाई पछि हट्न बाध्य पार्न सक्ने एकमात्र शक्ति बनेको छ । यसप्रकारको अवस्थामा साम्जयवादले जन्माएका संकटहरूको समाधान सुधारिएको साम्राज्यवाद होइन बरु नाफा कमाउने र भू–राजनीतिक प्रभुत्व जमाउनुको सट्टा मानवीय आवश्यकता र पारिस्थितिक दिगोपनको आधारमा संगठित एक उत्तर–पुँजीवादी, अन्तर्राष्ट्रियवादी प्रणालीतर्फको कदम नै हो भन्ने बुझ्नु पर्दछ । साम्राज्य पतनका ‘सात चरणहरू’ एक सरलीकृत ढाँचा हो तर अपरिहार्य नियम भने होइनन् । किनभने ऐतिहासिक विश्लेषणले के देखाउँछ भने साम्राज्यको पतन एक जटिल प्रक्रिया हो र आन्तरिक सामाजिक र आर्थिक कमजोरीहरूले प्रायः कुनै साम्राज्यले बाह्य दबाबहरूको सामना कसरी गर्दछ भन्ने कुरा निर्धारण गर्दछन् । अन्तिम ‘पतनको युग’ लाई विशेषगरी एक चेतावनीमूलक संकेतको रूपमा हेरिन्छ जहाँ मूल्य–मान्यताहरु सामूहिक कर्तव्यपालनबाट व्यक्तिगत ऐश–आरामतर्फ बदलिने हुन्छ ।
आज आधुनिक साम्राज्यवाद अथवा नव–उपनिवेशवादले प्रायः अप्रत्यक्ष स्वरूप धारण गर्दछ र त्यसै अनुरूप निति अवलम्बन गर्दछ जस्तै–(क) आर्थिक प्रभुत्वः अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू, बहुराष्ट्रिय निगमहरू र ऋण मार्फत् । (ख) राजनीतिक प्रभावः प्रतिबन्ध, शासन परिवर्तन, र सशर्त सहायता । (ग) सांस्कृतिक प्रभुत्वः पश्चिमी मूल्यहरू प्रवद्र्धन गर्ने विश्वव्यापी मिडिया, प्रविधि, र शिक्षा । (ग) सैन्य उपस्थितिः सैन्य अड्डाहरू, हस्तक्षेप, र हतियार बिक्री । साम्राज्यवादका पक्ष र विपक्षमा विभिन्न प्रकारका बहस र दृष्टिकोणहरू पनि रहेका छन् । साम्राज्यवादका आलोचकहरूको के तर्क रहेकोछ भने साम्राज्यवाद शोषण, जातीय विभेद, र हिंसामा निहित छ, जसले दीर्घकालीन क्षति पु¥याउँदछ । साम्रज्यवादका पक्षधरहरूले के दावी गर्छन् भने यसले ‘पछाडि परेका’ क्षेत्रहरूमा पूर्वाधार, प्रविधि, र शासकीय व्यवस्था ल्याइदियो— अहिले यसलाई नियन्त्रणकारी दृष्टिकोणको रूपमा व्यापक चुनौती दिइएकोछ । उत्तर–औपनिवेशिक अध्ययनहरूले औपनिवेशिकवादले उपनिवेशवादी र उपनिवेशित दुवै समाजहरूमा ज्ञान, संस्कृति, र पहिचानलाई कसरी आकार दियो भनेर जाँच्ने काम गर्दछ । साम्राज्यवाद विश्व इतिहास, वर्तमान अन्तर्राष्ट्रिय सम्बन्ध र न्याय तथा समानताका लागि भइरहेका संघर्षहरू बुझ्नका लागि एक महत्वपूर्ण ऐनाको रूपमा रहेकोछ । यसको विरासत आजको आर्थिक असमानतादेखि लिएर सांस्कृतिक द्वन्द्व र भू–राजनीतिक तनावसम्मका हरेक कुरामा दृश्यमान रहेकोछ ।
क्रान्तिकारी शक्तिहरुको भूमिका
विसौं शताब्दीका ऐतिहासिक परिघटनाहरुले के कुरा पुष्टि गरेका छन् भने क्रान्तिकारीहरूले भ्लादिमिर लेनिन जस्ता क्रान्तिकारी विचारकहरूद्वारा प्रतिपादित सिद्धान्तलाई अवलम्बन गर्दै साम्राज्यवादी प्रणालीभित्रका आधारभूत र अन्तरसम्बन्धित सङ्कटहरूको पहिचान गरेका थिए । ती संकटहरु केवल आर्थिक मन्दी मात्र थिएनन् बरु साम्राज्यवादलाई त्यसको प्रणालीगत पतनतर्फ अगाडि बढाउने संरचनात्मक अन्तर्विरोधहरु थिए । क्रान्तिकारीहरूले ति सङ्कटहरूबाट फाइदा उठाएर सम्पूर्ण साम्राज्यवादी प्रणालीलाई नै ध्वस्त पारेर बदलामा समाजवादी क्रान्ति, नयाँ जनवादी क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनलाई सफल बनाउन सचेत तथा संगठित अग्रदस्ताको रूपमा भूमिका निभाएका थिए ।
त्यसको ज्वलन्त र प्रत्यक्ष उदाहरणका रुपमा महान रुसी अक्टोबर समाजवादी क्रान्ति (सन् १९१७) जुन साम्राज्यवादी युद्ध (प्रथम विश्वयुद्ध) को प्रत्यक्ष उत्पादन थियो, चिनियाँ नयाँ जनवादी क्रान्ति (सन् १९४९) जुन जापानी साम्राज्यवाद र त्यसका घरेलु दलालहरुका विरुद्धको संघर्षको रुपमा रहेको थियो, जनवादी गणतन्त्र कोरियाको स्थापना (सन् १९४८) जुन जापानी साम्राज्यवादलाई पराजित गरेको थियो, क्युबाली राष्ट्रिय मुक्ति आन्दोलन (सन् १९५९) जुन अमेरिकी साम्राज्यवाद ट अधिनायकवादी शासनको विरुद्धमा भएको थियो र भियतनामी क्रान्ति (सन् १९४५) तथा राष्ट्रिय पुनःएकीकरण (सन् १९७५) जुन फ्रान्सेली र त्यसपछि अमेरिकी साम्राज्यवादविरुद्धको राष्ट्रिय मुक्तिको दशकौं लामो युद्धको रुपमा लडिएको थियो–लाई लिन सकिन्छ । यसरी साम्राज्यवादी संकटले क्रान्तिकारी अवसरहरू सिर्जना गर्दछ क्रान्तिकारीहरूले फाइदा उठाउनु पर्दछ र सक्दछन् भन्ने प्रमाणित भएको छ । अतः क्रान्तिकारीरुले साम्राज्यवादी संकट र क्रान्तिकारी परिवर्तनबीचको द्वन्दात्मक सम्बन्धलाई राम्रोसंग बुझ्न अत्यावश्यक रहेकोछ ।
क्रान्तिकारी शक्ति र पार्टीहरुले ऐतिहासिक रुपमा नै साम्राज्यवादी दमन, शोषण र हस्तक्षेपका विरुद्धमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् र क्रान्तिकारीहरुले त्यसप्रकारको भूमिका निभाउनु पर्दछ र निभाउन सकिन्छ भन्ने कुरामा दृढतापूर्वक उभिनु पर्दछ । क्रान्तिकारीहरुले साम्राज्यवाद विरोधी भूमिका निभाउँदा पनि क्रान्तिकारी सिद्धान्त र संगठनको आधार तथा माध्यमबाट नै निभाउनु पर्दछ । क्रान्तिकारीहरुका अगाडी त्यसप्रकारको साम्राज्यवाद विरोधी भूमिका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको संयुक्त मोर्चा तथा मञ्चहरु निर्माण मार्फत् निभाउँदै आएका ऐतिहासिक अनुभवहरु रहेका छन् र अहिले पनि संयुक्त मोर्चाको नीतिलाई सही र सशक्त ढंगले कार्यान्वयन गर्नु पर्दछ ।
संयुक्त मोर्चाको उत्पत्ति र सिद्धान्त
संयुक्त मोर्चा भनेको संघर्ष अथवा राजनीतिक संगठनको एउटा स्वरूप हो र त्यसलाई क्रान्तिकारीहरू वा कम्युनिस्टहरुले राजनीतिक संघर्षहरूमा परिचालन गर्ने गर्दछन् । संयुक्त मोर्चा सम्बन्धी कार्यनीतिको आधारभूत सिद्धान्त पहिलो पटक कम्युनिस्ट अन्तर्राष्ट्रिय (कोमिनटर्न) ले विकास गरेको थियो जुन १९१७ को बोल्सेभिक क्रान्तिको परिणामस्वरूप कम्युनिस्टहरूले स्थापना गरेको एक अन्तर्राष्ट्रिय कम्युनिस्ट संगठन थियो । सन् १९२२ मा सम्पन्न भएको कोमिन्टर्नको चौथो विश्व महाधिवेशनको थेसिस (शोधपत्र) अनुसार संयुक्त मोर्चाको रणनीति सामान्यतः एउटा पहलकदमी हो जस अन्तर्गत् कम्युनिस्टहरुले अन्य पार्टी र समूहहरूसँग संलग्न रहेका सबै मजदुरहरू तथा सम्पूर्ण असंलग्न मजदुरहरूसँग मिलेर पुँजीपतिवर्ग विरुद्ध श्रमिक वर्गको तात्कालिक आधारभूत हितहरूको रक्षा गर्न साझा संघर्षमा सामेल हुन प्रस्ताव गरेको थियो । संयुक्त मोर्चाको कार्यनीतिले पुँजीवादको क्रान्तिकारी उन्मूलनप्रति प्रतिबद्ध मजदुरहरूलाई गैर–क्रान्तिकारी मजदुरहरूसँग संघर्ष गर्न अनुमति दिएको थियो । यी साझा संघर्षहरू मार्फत् क्रान्तिकारीहरूले अन्य मजदुरहरूलाई क्रान्तिकारी समाजवादतर्फ आकर्षित गर्ने प्रयास गरेका थिए ।
संयुक्त मोर्चाको नीति लेनिनको नेतृत्व र रुसी क्रान्तिको युगबाट प्राप्त मजदुर वर्गको कामका लागि सबैभन्दा प्रभावकारी माध्यमहरूमध्ये एक रहेको थियो । सन् १९२१ को डिसेम्बरमा कम्युनिस्ट इन्टरनेशनल (कोमिनटर्न) को कार्यकारी समितिद्वारा मूलरूपमा तयार पारिएको संयुक्त मोर्चाको नीतिले ‘एकतावद्ध पुँजीपतिहरु विरुद्ध हरेक व्यावहारिक काममा सबै मजदुर संगठनहरूको अधिकतम् सम्भव भएसम्मको एकता’ को आह्वान गरेको थियो साथै क्रान्तिकारी समाजवादीहरू र अन्य सहभागी धाराहरुलाई पूर्ण स्वायत्तता र आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने स्वतन्त्रताको सुनिश्चितता पनि दिएको थियो । संयुक्त मोर्चा नीतिको विकासक्रममा अस्पष्टता एवम् गलत कदमहरु रहेका थिए र सुधारका कामहरु भएका थिए । यसको निर्माणमा प्रमुख प्रेरक शक्तिका रुपमा मजदुरवर्गका आमपंक्तिको सोचाई र पहलकदमी तथा उनीहरूका तात्कालिक आवश्यकताहरू तथा आधारभूत मानव अधिकारका लागि संघर्ष अत्यावश्यक रहेको थियो ।
श्रमिक आन्दोलनका विविध प्रवृत्तिहरूसँग कार्यगत एकता निर्माण गर्ने पहलहरूको इतिहास प्रथम अन्तर्राष्ट्रिय र त्यसले बेलायती ट्रेड युनियनवादीहरू र फ्रान्सका अगस्ट ब्लांकी र पियरे–जोसेफ प्रुधोंका अनुयायीहरूसंग सम्बन्ध निर्माण गर्ने प्रयासका साथै सन् १९१७ भन्दा पहिले रुसमा बोल्सेभिक पार्टीद्वारा गरिएका पहलहरूसम्म पनि पुग्दछ । सन् १९२१ डिसेम्बरको कोमिनटर्न नीति–वक्तव्यले बोल्सेभिक नजीरलाई उद्धृत गरेको थियो तर त्यो क्रान्तिकारी संघर्षमा आएको मन्दीको सन्दर्भमा तत्कालिक आवश्यकताहरूको प्रतिक्रियास्वरूप तयार गरिएको थियो । त्यसपछिका दशकहरूमा क्रान्तिकारी समाजवादीहरूले संयुक्त मोर्चाका रणनीतिहरूलाई धेरै फरक परिस्थितिहरूमा प्रयोग गरेका छन्, जसमा हालका वर्षहरूमा साम्राज्यवादी युद्धहरूको विरोध गर्न, मुक्ति संघर्षहरूलाई समर्थन गर्न र फासीवादी समूहहरूबाट हुने हिंसाको खतराको सामना गर्न पनि यसको प्रयोग भएको छ । संयुक्त मोर्चामार्फत् गरिने संघर्ष क्रान्तिको बाटोमा एउटा कदम हो र साथसाथै तत्काल सुधार हासिल गर्नका लागि एक प्रभावकारी साधन पनि हो ।
संयुक्त मेर्चा निर्माणको पहल र प्रयत्न
माथि नै उल्लेख गरिसकिएको छ कि संयुक्त मोर्चा नीतिको सुरुवात सन् १९२१ डिसेम्बर मा कम्युनिष्ट इन्टरनेशनल (कमिन्टर्न) संगै पुँजीवादका विरुद्ध विभिन्न श्रमिक संगठनहरूलाई एकताबद्ध गर्ने रणनीतिक साधनको रूपमा भएको थियो । लेनिनवादी सिद्धान्त र सन् १९१७ को रूसी क्रान्तिमा आधारित यो मोर्चा क्रान्तिकारी समाजवादीहरूलाई उनीहरुको स्वतन्त्रता कायम राख्दै कार्यगत एकता निर्माणगर्ने अनुमति प्रदान गर्न औपचारिक रूपमा विकसित गरिएको थियो । यो रणनीति पछि सन् १९२० को दशकमा चीनमा साम्राज्यवाद विरोधी गठबन्धनमा विकसित भयो । यसलाई चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओले क्रान्तिका तीन जादुगरि हतियार मध्ये एउटा हो भनेर उल्लेख गरेका थिए । अहिले विश्वभरका क्रान्तिकारी तथा परिवर्तनकारी पार्टी तथा संगठनहरुलाई एकजुट बनाएर फासिवाद तथा साम्राज्यवादका विरुद्धको संघर्घलाई अगाडि बढाउन र क्रान्तिकारी आन्दोलनलाई सुदृढ तुल्याउन विभिन्न स्तरमा पहलकदमीहरु भैरहेका छन् । यहाँ ती प्रयत्न र पहलहरुका बारेमा संक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएकोछ ।
१.क्रान्तिकारी पार्टी तथा संगठनहरुको अन्तर्राष्ट्रिय समन्वय (क्ष्ऋइच्)ः क्रान्तिकारी पार्टी तथा संगठनहरुको अन्तर्राष्ट्रिय समन्वय (इन्टरनेशनल कोअर्डिनेशन अफ रिभोल्यश्नरी पार्टीज एन्ड अर्गनाइजेशन–क्ष्ऋइच्) व्यावहारिक सहयोगको लागि एक संघ र विश्वका क्रान्तिकारीहरूको गतिविधि तथा वर्ग सङ्घर्ष र पार्टी निर्माणमा पारस्परिक सहयोगका लागि अन्तर्राष्ट्रिय सहयोग र समन्वयको एक रूप हो । यसले आकार, व्यावहारिक, संगठनात्मक र राजनीतिक अनुभव, ऐतिहासिक–वैचारिक आधार, रणनीतिक कार्य र सामाजिक–आर्थिक अवस्थाहरूको हिसाबले धेरै फरक–फरक पार्टी र संगठनहरूलाई समान आधारमा एकताबद्ध गर्दछ । स्थापनाकालको संकल्प–प्रस्तावमा क्रान्तिकारी, साम्राज्यवाद–विरोधी, संशोधनवाद–विरोधी र ट्रोट्स्कीवाद–विरोधी एजेन्डा समावेश रहेकोछ जसले सैद्धान्तिक छलफल र व्यावहारिक कामको अन्तरसम्बन्धित प्रक्रियाद्वारा सबै आवश्यक प्रश्नहरूमा एकता हासिल गर्ने आधार तयार गर्दछ । सबै क्ष्ऋइच् सदस्य पार्टी र संगठनहरूका प्रतिनिधिहरूको विश्व सम्मेलन सर्वोच्च निर्णय–गर्ने निकायको रूपमा हरेक तीन वर्षमा आयोजना हुन्छ । अन्तर्राष्ट्रिय सङ्घर्षका दिनहरू (इन्टरनेशनल डेज अफ स्ट्रगल) को संयुक्त कार्यान्वयन व्यावहारिक सहयोगको लागि एक प्रशिक्षण भूमि हो ।
२. अन्तर्राष्ट्रिय जन संघर्ष संघ (क्ष्ीएक्)ः अन्तर्राष्ट्रिय जन संघर्ष संघ (इन्टरनेशनल लिग अफ पिपल्स स्ट्रगल–क्ष्ीएक्) एक साम्राज्यवाद–विरोधी र जनतान्त्रिक संगठन हो। यसले साम्राज्यवाद र सबै प्रतिक्रियावादविरुद्ध विश्वका जनताका साम्राज्यवाद–विरोधी र जनतान्त्रिक संघर्षहरूलाई प्रवद्र्धन, समर्थन र विकास गर्दछ । यसको व्यापक जन–चरित्र छ र यो कुनै पनि राजनीतिक दल, सरकार वा धर्मको अधीनमा छैन र सहभागी सबै संगठनहरूलाई समानता प्रदान गर्दछ । यसले विश्वभरिका साम्राज्यवाद–विरोधी र प्रजातान्त्रिक संघर्षहरूको एकता, सहयोग र समन्वयलाई साकार पार्न प्रयास गर्दछ ।
३. फासीवाद, युद्ध र वातावरणीय विनाशविरुद्धको अन्तर्राष्ट्रिय साम्राज्यवाद–विरोधी संयुक्त मोर्चा (ग्लष्तभम ँचयलत)ः फासीवाद, युद्ध र वातावरणीय विनाश विरुद्धको अन्तर्राष्ट्रिय साम्राज्यवाद–विरोधी संयुक्त मोर्चा (द एन्टि–इन्टरनेशनल युनाइटेड फ्रन्ट अगेन्स्ट फासिजम, वार एन्ड इन्भाइरोमेन्टल डिजास्टर–ग्लष्तभम ँचयलत) भनेको मानव र प्रकृतिको पुँजीवादी तथा साम्राज्यवादी लुटपाट विरुद्ध सिमाना नाघेर एकजुट हुन र शोषण तथा दमनरहित समाजको लागि संगठित संघर्षमा आफ्ना गतिविधिहरूमा सहयोग र समन्वय गर्नका लागि हरेक सामाजिक क्षेत्र वा भौगोलिक क्षेत्रका साम्राज्यवाद–विरोधी संगठनहरू र पार्टीहरू, आन्दोलनहरू र व्यक्तिहरूको एक संघ हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले क्रान्तिकारी संयुक्त मोर्चा नेपालमार्फत् अघिल्ला दुईवटा संस्थाहरुमा आवद्घ रहेकोछ भने तेस्रो संस्थासंग मैत्रीपूर्ण सम्बन्धमा रहेकोछ ।
सन्दर्भ सामाग्रीहरुः
पाद टिप्पणीहरु
(१)साहेल क्षेत्र अफ्रिकाको एक अर्ध–शुष्क क्षेत्र हो, जुन उत्तरमा सहारा मरुभूमि र दक्षिणमा बढी आद्र्र सवानाहरू (घांसे मैदान) बीचको संक्रमण क्षेत्रको रूपमा काम गर्दछ । यो पश्चिममा एट्लान्टिक महासागरदेखि पूर्वमा लाल सागरसम्म करिब ५,००० किलोमिटर फैलिएको छ । साहेलले मौरिटानिया, माली, नाइजर, चाड, सुडान, बुर्किना फासो र सेनेगल जस्ता धेरै देशहरुका केही भागहरू समेट्छ । (२)अस्सिरिया प्राचीन मेसोपोटामियाको एक अधिराज्य थियो जुन मेसोपोटामियाको उत्तरी भागमा अवस्थित थियो, जुन अहिले आधुनिक इराकको हिस्सा हो । यो लगभग ईसा पूर्व ९औं शताब्दीमा एक प्रमुख साम्राज्यको रूपमा उदाएको थियो र यसको विस्तारित विजयहरू, उन्नत संस्कृति, र मानव सभ्यतामा महत्वपूर्ण योगदानकालागि परिचित रहेकोछ । (३) अक्कादिया साम्राज्यलाई लगभग ईसा पूर्व २३३४ देखि २१५४ सम्म फस्टाएको विश्वको पहिलो प्राचीन साम्राज्यहरूमध्ये एक मानिन्छ। यस्को उदय मेसोपोटामियामा भयो जहां अक्कादिया र सुमेरियन संस्कृतिहरू सम्मिलित भएका थिए ।
इ–पुस्तकहरु
(१)साम्राज्यवादः एक अध्ययन –जोन हब्सन (द अनलाइन लाइब्रेरी अफ लिबर्टी), न्यूयोर्क, जेम्स पोट एन्ड कं., १९०२ । (२)साम्राज्यवाद, पूंजीवादको उच्चतम चरणः एक लोकप्रिय रूपरेखा –भ्लादिमिर इल्यिच लेनिन, लेनिन इन्टरनेट आर्काइभ २००५। (३) नव–औपनिवेशवादः साम्राज्यवादको अन्तिम चरण –क्वामे नक्रुमाह, mबचहष्कतक.यचन का लागि सन् २०२३ मा जेनेट ब्ल्याकक्विलद्वारा भउगद मा रूपान्तरण गरिएको।
विधान तथा बडापत्रहरु
(१) क्ष्ऋइच् को विधान (पांचौ विश्व सम्मेलनद्वारा संशोधित, अक्टोबर २०२४) । (२)अन्तर्राष्ट्रिय जन संघर्ष संघको बडापत्र (सातौं अन्तर्राष्ट्रिय सभा पेनाङ, मलेसिया द्वारा संशोधित र अनुमोदित, २१ जुन २०२४) । (३)फासीवाद, युद्ध र वातावरणीय विनाश विरुद्धको अन्तर्राष्ट्रिय साम्राज्यवाद विरोधी संयुक्त मोर्चाको विधान–२०२४ ।
वेवसाइटहरु
१. www.icor.info
२. www.united–front.info
३. www.wikipedia.org
४. www.peoplesstruggle. Org
५. www.marxists.org






























