काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बीगेसो)ले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने उद्देश्यले माघ २४ गते राजधानीको माइतीघर मण्डलामा कार्यक्रम गर्ने भएको छ । सो कार्यक्रमबारे जानकारी दिन बीगेसोले बिहीबार (माघ २२ गते) संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ ।
बीगेसोका अध्यक्ष पदमसुन्दर लिम्बूको तर्फबाट नेपाल, भारत र बेलायतबिच भएको सन् १९४७ को असमान त्रिपक्षीय गोरखा भर्ती सम्झौता खारेजीका लागि सार्वेच्च अदालतमा दायर मुद्दामा अदालतबाट २०७९ माघ २४ गते प्रत्यर्थी नेपाल सरकारका नाममा जारी गरेको थियो । उक्त निर्देशनात्मक आदेश अहिलेसम्म कार्यान्वयन भएको छैन । सो आदेश जारी भएको दिनलाई बीगेसोले विशेष दिनका रुपमा मनाउँदै आएको छ र सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई खबरदारी गर्दै आएको छ ।






























