प्रा.डा. ताराकान्त पाण्डेयको दोस्रो बार्षिक स्मृति दिवस सम्पन्न : तारा स्मृति पुरस्कारबाट रोशन जनकपुरी पुरस्कृत

प्रा.डा. ताराकान्त पाण्डेयको दोस्रो बार्षिक स्मृति दिवस सम्पन्न : तारा स्मृति पुरस्कारबाट रोशन जनकपुरी पुरस्कृत

काठमाडौं । प्रा.डा. ताराकान्त पाण्डेयको दोस्रो वार्षिक स्मृति दिवस समपन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न ‘प्रा.डा. ताराकान्त पाण्डेको दोस्रो वार्षिक स्मृति दिवस एवम् पुरस्कार–सम्मान समारोह २०८२’ कार्यक्रममा माक्र्सवादी साहित्यकार तथा चिन्तक रोशन जनकपुरीलाई पुरस्कृत तथा सम्मानित गरिएको छ । प्रमुख अतिथि गौरवले दोसल्ला ओढाएर रोशन जनपुरीलाई सम्मानित गर्नुभयो र १ लाख राशीको तारा स्मृति पुरस्कारबाट पुरस्कृत गर्नुभयो ।

प्रमुख अतिथि गौरवले साहित्य पनि वर्गीय हुने भन्दै सर्वहारावर्गीय साहित्यका लागि इच्छुक सांस्कृतिक प्रतिष्ठानलाई मापक संस्थाको रुपमा स्थापित गर्नुपर्ने बताउनु भयो ।

उहाँले नेपालको राजनीतिमा अहिलेको वास्तविक वैकल्पिक शक्ति आफूहरु भएको भन्दै उहाँले अहिलेको विषम परिस्थितिमा सबै छरिएर रहेका क्रान्तिकारीहरु एकताबद्ध हुनपर्ने बेला आएको बताउनु भयो ।

उहाँले पुरस्कृत स्रष्टा जनकपुरीलाई बधाई दिंदै क्रान्तिकारी आन्दोलनमा संगठित हुन आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, “यो बेला क्रान्तिकारीहरु छरिएर होइन एकताबद्ध भएर क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।”

उहाँले भेनेजुएलाको घटनापछि उत्पीडित राष्ट्रहरुको राष्ट्रिय स्वाधीनतामाथि अझ खतरा बढेको भन्दै विकसित परिस्थितिमा साम्राज्यवाद विरोधी सबै शक्तिहरुबिच वृहत् संयुक्त मोर्चा बनाएर अगाडि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।

त्यसैगरी पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले ताराकान्त पाण्डेको स्कूलिङ भनेको चैतन्य स्कूलिङ भएको चर्चा गर्दै उहाँको समालोचनाले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पनि महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

ताराकान्त पाण्डेयमा वर्गदुश्मनप्रतिको कठोरताको अभाव रहेको भन्दै उहाँको जीवन र कर्मको सकारात्मक र नकारात्मक दुवै पक्षबाट पाठ सिक्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी, पुरस्कृत स्रष्टा जनकपुरीले आफू बाँकी जीवनभर माक्र्सवादी साहित्य र सर्वहारावर्गी पक्षधरताप्रति प्रतिबद्ध रहेको भनाइ राख्दै सर्वहारावर्गीय क्रान्तिकारी रुपान्तरण नै आजको आवश्यकता भएको बताउनु भयो । उहाँले कम्युनिस्ट आन्दोलनले मजदुर र किसान केन्द्रित एजेण्डालाई प्राथमिकता दिनुपर्ने विचार पनि व्यक्त गर्नुभयो ।

इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षता र सदस्य सचिव मोदनाथ मरहठ्ठाको सञ्चालनमा सम्पन्न कार्यक्रममा
प्रा.डा. जगदिशचन्द्र भण्डारीले आख्यानकार, निबन्धकार, सांस्कृतिक आन्दोलनका नेताको माक्र्सवादप्रतिको निष्ठा र सर्वहारावर्गीय पक्षधरताप्रतिको प्रतिबद्धताको मूल्याङ्कन गरेर नै उहाँलाई पुरस्कृत गरिएको जानकारी दिनुभयो ।

साढे चार दशकदेखि अनवरत रुपमा लेखन कर्ममा रहनु भएका रोशन जनकपुरीले नेपाली र मैथली भाषामा प्रगतिवादी साहित्यको क्षेत्रमा प्रखर रुपमा आफूलाई प्रस्तुत गर्दै आउनु भएको बताउनु भयो ।

२०३३ बाट राजनीतिक जीवन सुरु गर्नुभएका जनकपुरी २०५० को दशकदेखि नै माओवादी जनयुद्धमा सरिक हुनुभएको र शान्तिप्रक्रियापछि पनि निरन्तर क्रान्तिकारी आन्दोलनमा सरिक रहँदै आउनु भएको जानकारी दिनुभयो । उहाँले निरन्तर रुपमा संशोधनवाद र दक्षिणपन्थी अवसरवादका विरुद्धको प्रखर रुपमा कमल चलाउँदै आउनु भएकोले पनि छनौट समितिले तारा स्मृति पुरस्कारका लागि उहाँलाई छनौट गरिएको जानकारी दिनुभयो ।

ताराकान्त पाण्डेयकी जीवनसंगिनी तथा साहित्यकार शिला योगीले तारा स्मृति पुरस्कारले वैचारिक निष्ठालाई सम्बोधन गर्ने बताउनु हुँदै रोशन जनकपुरीलाई आफूले मधेसको उत्पीडित समुदाय, सर्वहरावर्गको प्रतिनिधित्वको रुपमा बुझेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो पुरस्कार व्यक्तिकेन्द्रित नभएर विचारकेन्द्रित पुरस्कार हो । मधेसभित्रका उत्पीडनहरुलाई, वर्गीय विभेदलाई रोशन जनकपुरीले सुक्ष्म रुपमा विश्लेषण गर्नुहुनेछ, बाहिर ल्याउनु हुनेछ र सबैमा चेतनाको विकास गराउनु हुनेछ । बधाईका साथै शुभकामना र शुभेच्छा व्यक्त गर्दछु ।’

कार्यक्रममा प्रा.डा. ताराकान्त पाण्डेयसँग ३८ वर्ष लामो सहकार्य गर्नुभएका प्रा.डा. गोपिन्द्र पौडेलले पाण्डेयको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । माक्र्सवादप्रति अटल आस्था र प्रतिबद्धता, वर्गीय एवम् सांगठानिक प्रतिबद्धता, मानव सैद्धान्तिक ढाँचाको निर्माण, जनयुद्धको नयाँ यथार्थको सैद्धान्तिक व्याख्या, जनयुद्धको सौन्दर्यप्रति असीम आस्था र निष्ठा, आतंक र आनन्दको सौन्दर्यशास्त्रको निर्माण, अनुसन्धान कर्म र पद्धतिमा रुचि, उत्तरआधुनिकतावादी विभ्रमको आलोचना लगायतका क्षेत्रमा उहाँको अमूल्य योगदान रहेको चर्चा गर्नुभयो ।

उहाँले कृष्णसेन इच्छुक र ताराकान्त पाण्डेयको व्यक्तित्वमा धेरै समनता रहेको चर्चा गर्दै २२ जनाभन्दा बढीको पिएचडी शोध निर्देशक रहेर काम गरेको पनि बताउनु भयो । प्राज्ञिक क्षेत्रमा पनि उहाँको योगदान अतुलनीय रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले प्रतिष्ठानद्वारा प्रकाशित इच्छुकको १३ औं अंक पनि विमोचन गर्नुभएको थियो ।

विमोचित कृति तथा पठन संस्कृतिको बारेमा आफ्नो धारणा प्रस्तुत गर्दै कवि तथा साहित्यकार मित्रलाल पंज्ञानीले प्रकृति, जीवन र संस्कृतिको समग्र अध्ययन नै पठन भएको भन्दै दुःखको कारण र निराकरणको खोजीको क्रममा नै माक्र्सवाद र बुद्धवाद जन्मिएको बताउनु भयो । प्रश्न चेतनाबाट मात्रै पठन संस्कृतिको विकास गर्न सकिने भन्दै समृद्ध पठन संस्कृतिको विकास नगरी दुनियाँ हाँक्न नसकिने बताउनु भयो । मानव जातिले हजारौ बर्षदेखि आर्जन गरेको ज्ञानको सार बुझ्नु, बुझ्न जिज्ञासा राख्नु नै पठन संस्कृति हो भन्दै पढेर प्रश्न गरिएन र बहसमा लगिएन भने त्यस्तो पठनको कुनै अर्थ नहुनेमा पनि जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पठन संस्कृतिको विकास गर्न सकिएन भने लेखन र आन्दोलनले गति लिन सक्दैन । साँस्कृतिक मूल्यको विकास गर्न पनि सकिन्न ।’
कार्यक्रममा स्वागत मन्तव्य सँगै ताराकान्त पाण्डेयकी छोरीले लेख्नुभएको कविता गौरी देवकोटाले प्रस्तुत गर्नुभएको थियो भने कवि कविता राय, रुपेश कर्ण, युवराज नास्तिक, र केशव सिलवालले कविता प्रस्तुत गर्नुभएको थियो ।