काठमाडौं । प्रगतिवादी फाँटका चर्चित कवि बलराम तिमिल्सिनाको एकल कवितावाचन तथा चर्चा कार्यक्रम सम्पन्न भएको छ । इच्छुक साँस्कृतिक प्रष्ठिानमा सम्पन्न कार्यक्रममा कवि वलराम तिमिल्सिनाले आफ्ना चर्चित तीनवटा कविता प्रस्तुत गर्नुभएको थियो– ‘भावुक मान्छे’, ‘बिग्रिएको बाहुन’ र ‘फेरि पनि कमरेडका कुरा’ । प्रस्तुत कविताका विषयवस्तु, काब्यिक शैली, संरचनाका विषयमा कार्यक्रममा सहभागीसहित विशेष रुपमा भावुक मान्छेमाथि कवि मित्रलाल पंज्ञानी, बिग्रिएको बाहुनमाथि प्रा.डा. नन्दिश अधिकारी र फेरि पनि कमरेडका कुरामाथि प्रा.डा. जगदीशचन्द्र भण्डारीले चर्चा गर्नुभएको थियो ।

सबै चर्चाकारहरुले कार्यक्रममा प्रस्तुत गरिएका तीनवटा कविता मात्र नभएर कवि बलराम तिमिल्सिनाका तीनवटै कविता संग्रहमा शब्द र कर्मको एकत्व, वर्गसंघर्षको तीव्रता, क्रान्तिप्रतिको निष्ठा र सर्वहारावर्गीय सौन्दर्यमूल्य अभिव्यक्त भएको पाइएको बताउनु भएको थियो ।

कार्यक्रमको अन्तमा आफ्नो भनाइ राख्दै कवि तिमिल्सिनाले आफूले २०४२ सालदेखि कविता लेख्न थालेपनि जनयुद्धको प्रारम्भदेखि क्रान्तिकारी कविता लेखन सुरु गरेको र ०५२ सालमा जनादेश साप्ताहिकमा ‘क्रान्तिदीप’ शीर्षकको पहिलो कविता प्रकाशित गरिएको पनि जानकारी दिनुभयो । उहाँले आफूले एसएलसीमा नेपाली विषयको परीक्षा दिँदा कतिपय प्रश्नको कवितामै उत्तर लेखेको पनि रोचक प्रसंग सुनाउनु भयो । उहाँका तीनवटा कविता संग्रह प्रकाशित रहेका छन् ।





























