निर्वाचन बहिष्कारको कार्यक्रमलाई जनताका मुद्दासँग जोडेका छौं

निर्वाचन बहिष्कारको कार्यक्रमलाई जनताका मुद्दासँग जोडेका छौं

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला सेक्रेटरी रवि पाण्डेयको यही पौष १७ गते हाँकमा प्रकाशित अन्तरवार्ता समय सान्दर्भिक रहेकोले यहाँ साभार गरिएको छ —सम्पादक)
१) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत पौष ११ गते काठमाडौंमा १३३ औं माओ दिवसको सन्दर्भ पारेर जनसभाको आयोजना ग¥यो । उक्त जनसभाबाट तपाईहरुले के सन्देश दिन खोज्नु भएको हो ?
–जेनजी नवयुवाहरुले कुशासन र सामाजिक संजाल बन्दका विरुद्ध भाद्र २३ गते विद्रोह गरेका थिए । जसलाई हाम्रो पार्टीले जनविद्रोहको रुपमा ग्रहण पनि गरेको छ । जेनजी नवयुवाहरुको त्यो विद्रोहलाई आम जेनजीहरुको भावना विपरीत मुठ्ठीभर कथित जेनजीहरुले साम्राज्यवादी विस्तारवादी योजनामा न्यायपूर्ण विद्रोहको दुरुत्साहन गरे । साम्राज्यवाद, विस्तारवाद र घरेलु प्रतिक्रियावादको गठजोडबाट वर्तमान सुशिला कार्की नेतृत्वको सरकार बन्यो जसलाई हामीले कठपुतली सरकार भनेका छौं । त्यसपछि देशमा राजनीतिक संकट गहिरिंदै गयो । यति बेला देश गम्भीर संकटपूर्ण घडीमा छ । राष्ट्रियता ,जनतन्त्र र जनजीविकाको समस्या ज्युँ का त्युँ छन् । हरेक क्षेत्रमा दलाल पुँजीवाद हावी हँुदै गएको छ । मजदुर, किसान, युवा, विद्यार्थी, महिला, सबै उत्पीडित जाति एवं वर्ग र क्षेत्र, अत्याचार तथा चरम शोषणबाट गुज्रिरहेका छन् । यस्तो राजनीतिक परिस्थितिबाट हाम्रो पार्टीले पौष ११ गते माओ दिवसको अवसरमा संघीय राजधानी काठमाण्डौको खुल्लामंचमा भव्य जुलुस प्रदर्शन सहित निर्वाचन वहिष्कार सभा ग¥यो । फागुन २१ गते हुने भनिएको निर्वाचन साम्राज्यवादको प्रायोजनका लागि रचिएको नौटंकी मात्र हो । यस नौटंकीबाट सर्वहारा वर्गको मुक्ति सम्भव छैन । नेपाली सर्वहारा वर्गको अग्रदस्ता क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल मात्र हो भन्ने सन्देश दिन सफल भएका छौं । जसले दलाल पुँजीवादका विरुद्ध नयाँ जनवादी क्रान्तिको खुडकिलो पूरा गरेर देशलाई वैज्ञानिक समाजवादमा संक्रमण गर्नुको विकल्प छैन भन्ने सन्देश जनतामा प्रवाह गरेको छ ।
२. सबै दलहरु निर्वाचनमा जुटिरहेका बेला तपाईहरु किन आगामी फागुन २१ को निर्वाचन बहिस्कार तिर लाग्नु भयो ?
–निकै महत्वपुर्ण प्रश्न गर्नुभयो । राजनीतिक पार्टीहरु वर्ग सापेक्ष हुन्छन् । हरेक विषयमा नकार र सकार दुवै पक्ष हुने गर्छ । आधारभूतरुपले पार्टीहरु दुई प्रकारका हुन्छन् गरिखाने वर्गको पार्टी र श्रमचोर वर्गको पार्टी । आधारभूत एवं गरिखाने वर्गको एक मात्र पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल हो । त्यसैले यहाँले सबै दलहरु निर्वाचनमा जुटिरहेका बेला, जुन भन्न खोज्नुभएको छ ती सबै दलहरु दलाल संसदीय व्यवस्थाका रक्षक र मतियार कोटीमा पर्छन् । ती सबै पार्टीहरु वैदेशिक शक्तिकेन्द्रको योजनामा कसैले पनि माग नगरेको कथित संसदीय निर्वाचनमा जुटेका छन् । उनीहरु साम्राज्यवाद र विस्तारवादको दानापानीमा घरेलु प्रतिक्रियावादको किल्लालाई मजबुत गराउन उद्यत छन् । हाम्रो पार्टीले दलाल सत्ता र व्यवस्थाको विकल्प नयाँ जनवाद वैज्ञानिक समाजवादलाई अगाडि सारेर कथित निर्वाचनलाई सशक्त वहिष्कार गर्न लागेको छ । जुन निर्णय ठोस परिस्थितिको ठोस विश्लेषण हो ।
३. नवलपरासी जिल्लामा निर्वाचन वहिस्कारको के कस्तो कार्यक्रम बनाउनु भएको छ ?
–नवलपरासी जिल्लामा हामीले निर्वाचन वहिस्कारको कार्यक्रमलाई जनताका मुद्दासँग जोडेका छौ । यहाँ लघुवित्त र मिटरव्याजबाट पीडित भएका मेहनतकश जनता, उखु तथा केरा उत्पादनको उचित मोल नपाएका कृषक, उद्योग कलकारखानामा श्रम गरेर उचित ज्याला नपाएका मजदुर, उत्पीडित वर्ग जाति, जनजाति, राष्ट्रिय उद्योगी व्यवसायीका साथै बेरोजगार भएर रोजीरोटी बिहीन भएका युवा, द्वैध शिक्षाबाट पीडित विद्यार्थी र हिंसाबाट पीडित आधा आकाशका प्रतिनिधि महिलाका मुद्दासँग सहकार्य र मुख्यतः भ्रष्टाचार विरोधी कार्यक्रममा सबैलाई गोलबद्ध गर्ने प्रयत्न गरेका छांै । साथै नो भोट अभियानका अभियन्ता र निर्वाचनबाट परिर्वतन सम्भव छैन भन्ने जेनजीका विभिन्न समुहसँग हाम्रो सहकार्य पनि हुनेछ ।
चुनाव वहिष्कारको पहिलो चरण अन्तरगत पुष ७ गते बर्दघाटमा पत्रकार सम्मेलन गरेर संर्घषका कार्यक्रम सार्वजनिक ग¥यौ । पुष ८ गतेदेखि जिल्लाव्यापी रुपमा वहिस्कारका तुल, व्यानर र भित्तेलेखनका कामहरु हामीले गर्दै आएका छांै । पुष ११ गते माओ दिवसका दिन काठमाण्डौं केन्द्रित जनसभामा जिल्लाबाट प्रभावकारी उपस्थिति जनायौ । पुष १६ गतेदेखि सातै वटा स्थानीय तहमा पर्चा वितरण, पुष १९ गते जनयुद्धका सहिद सुर्य विक्रम थापा (क.सलीम) को स्मृति कार्यक्रम, पुष २० गते स्थानीयस्तरमा अन्तक्र्रिया पुष २५–२६ गते जिल्लाव्यापी कोणसभाहरु गर्ने लगायतका योजना छ ।
दोस्रो चरण अन्तर्गत माघ २ गतेबाट पर्चा सहित जनभेटघाट तथा घरदैलो कार्यक्रम गर्ने, उम्मेदवारी दर्ताको दिन माघ ६ गते वहिस्कार ¥याली गर्ने, माघ ७ गतेदेखि १२ गतेसम्म नगर वा गाउँपालिकामा कोण सभाहरु आयोजना गर्ने, माघ १५ गते मशाल जुलुस निकाल्ने र माघ २३ गते संसदीय निर्वाचन बहिस्कारको आह्वान सहित मोटरसाइकल ¥यालीमा सहभागी हुने कार्यक्रम बनाइएको छ ।
४.क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन वहिस्कार गरेर प्रगतिशील तथा वामपन्थी मतदाताको मतलाई निर्वाचनमा आउन नदिएर प्रतिक्रियावादीहरुलाई मद्दत पु¥याउने भयो भनेर तपाईहरुमाथि दोषारोपण गरेको सुनियो । यसबारे के भन्नु हुन्छ ?
–यस्तो दोषारोपणको कुनै तुक छैन । नेपालको सापेक्षतामा प्रगतिशीलता र वामपन्थ एक प्रकार मुखौटो मात्र भएको देखिन्छ । यो संशोधनवादीहरुले हामीमाथि लगाउने आरोप मात्र हो । त्यसैले सच्चा प्रगतिशील र वामपन्थी मतदाताले साम्राज्यवादद्वारा अर्गनाइज कठपुतली सरकारका व्यवस्थापनमा हुने इलेक्सनमा मत दिएर होइन, यसलाई सशक्त रुपमा बहिष्कार गरेर नेपाली संस्करणको जेलेन्स्की आउनबाट रोक्ने साहस गर्नै पर्दछ । नेपाललाई युक्रेन हुनबाट बचाउन हामी सबैको ऐतिहासिक दायित्व बन्न गएको छ ।
५) अब फरक प्रसंगमा कुरा गरौं, तपाईको राजनीतिक र साँगठनिक जीवनको प्रारम्भ कसरी भएको थियो ?
–हाम्रो बुवा पुस्ता वि.स.२०३० को दशक अघि गुल्मी जिल्लाको हर्मिचौरको दिहिङबाट तराई झरेको हो । वि.स.२०३४ सालमा नवलपरासीको सुनवलमा भएको सुकुम्बासी आन्दोलनमा सहभागी भएर तात्कालीन माले समुह प्रति आस्थावान हाम्रो परिवारमा बिशेष गरेर आमा पार्वती पाण्डे(क.बर्षा) क्रान्तिकारी धारामा आवद्ध भएको इतिहास छ । व्यक्तिगत रुपमा म भने वि.स.२०५४ ताका नेपाल प्रगतिशील विद्यार्थी युनियनमा आवद्ध सांगठनिक जीवनमा जोडिएको हो । त्यसबेला म आठ कक्षामा अध्ययनरत थिएँ । छोटो समयमा नेप्रवियुको ईकाई सदस्य, इकाई अध्यक्ष हँुदै जिल्ला र राष्ट्रिय सम्मेलनको प्रतिनिधि भएपनि म राष्ट्रिय सम्मेलनमा भने विविध कारणले सहभागी हुन सकिन । लगत्तै हामी करिब एक दर्जन बढी युवा विद्यार्थी वि.स.२०५७ को अन्त्यबाट माओवादी पार्टीको सम्पर्कमा रहेर काम गर्न थाल्यौ ।
६.जनयुद्धकालमा यहाँको सांगठनिक जिम्मेवारी र भूमिका के थियो ?
–जनयुद्धकालमा पार्टीमा मेरो जिम्मेवारी इलाका कमिटी सदस्य (एसीएम)थियो । हामीले पूर्णकालीन नहँुदासम्म स्कूल क्याम्पसमा संगठन विस्तार गर्नुका साथै भूमिगत रुपमा जनमुक्ति सेनालाई राशनपानी आपूर्ति, घाइतेहरुको उपचार र रेखदेखका काम गर्ने मौका पायौं । सुनवलको रमवापुरमा जनमुक्ति सेनाले गरेको आक्रमणको क्रममा हामीले प्रत्यक्ष रुपमा जनसेनालाई स्वयंसेवकको रुपमा सहयोग पु¥याऔं । म विद्यार्थी संगठनमा जिल्ला सदस्य हुँदै १३ औं जिल्ला सम्मेलनबाट जिल्ला सचिव र अखिल (क्रान्तिकारी) को १७ औं राष्ट्रिय सम्मेलनमा प्रतिनिधि समेत भए । नवलपुरमा कार्यक्षेत्र हुँदा विद्यार्थी विशेष इलाका पार्टी कमिटीको सेक्रेटरीको जिम्मेवारीसमेत निभाएँ । त्यसबेला एसीएस भन्ने पद निकै पावरफूल समेत मानिन्थ्यो । जनयुद्धका समयमा तात्कालीन गण्डक क्षेत्र अन्तर्गत साविक नवलपरासीको नवलपुरको भित्री मधेश, पहाडी क्षेत्र, परासी खण्ड, तनहुँको भिमाद, पूर्वी पाल्पा, रुपन्देही र आंशिक रुपमा कपिलवस्तु जिल्लासम्म खटेर जिम्मेवारी बहन गरियो । धेरै थोर साहित्यमा रुचि भएको कारण जनसांस्कृतिक महासंघमा समेत मैले काम गर्ने अवसर पाएँ । त्यसैको प्रभावले पछि पत्रकारिता र लेखनमा रुचि बृद्धि भयो । विद्यार्थी जीवनमा हामीले दिव्यपल्लवी साहित्य मासिक पत्रिका समेत जिल्लामा संचालन गरेका थियौ ।
७ तपाईले पत्रकारिताको अनुभव पनि जम्मा गर्नु भएको छ । नेपाली पत्रकारिताको स्थिति के छ भन्ने ठान्नु हुन्छ ?
–शान्तिप्रक्रियाको शुरुवाती चरणमा केही समय जनआह्वान साप्ताहिक बुटवलबाट प्रकाशन गर्ने जमर्काे भयो । त्यस पत्रिकाकै आयोजनामा भएको पत्रकारिता तालिममा म सहभागी भएँ । लगत्तै सोही पत्रिकामा लेखन शुरु गरेर नयाँ सत्ता दैनिक, लुम्बिनी दैनिक, बुटवल टुडे, जनादेश साप्ताहिक, जनदिशा दैनिकलगायत दर्जनांै पत्रपत्रिकामा काम गर्ने अवसर मिल्यो । जिल्लामा क्रान्तिकारी पत्रकार संघ हँुदै नेपाल पत्रकार महासंघ नवलपरासीको कोषाध्यक्षसम्म विजयी भएर कार्यकाल पूरा गरियो । क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय कोषाध्यक्ष र महासचिवसम्म भएर सांगठनिक जिम्मेवारी गम्भरीतापूर्वक बहन गरे । वर्तमान समयमा नेपाली पत्रकारिता पेड जर्नालिज्मबाट पीडित भएको छ । साथै मिडिया क्षेत्र वैदेशिक अवाञ्छित लगानीको चपेटाबाट गुज्रँदै दार्शनिक रुपमा उत्तरआधुनिकतावादी साम्राज्यवादी भम्रमा अल्मलिएको मैले पाएको छु । जसलाई चिर्न जनपक्षीय पत्रकारहरुको साझा मोर्चा आवश्यक छ ।
८.तपाई नवलपरासीबासी र त्यही जिल्लामा एउटा जिम्मेवार पार्टीको प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । नवलपरासी भने पछि आम सचेत नेपालीको दिमागमा सुस्ता समस्या आउँछ । सुस्ता समस्या के हो र समाधानको उपाय के हुन सक्छ ?
–सुस्ता समस्या विस्तारवादी भारतीय शासकवर्ग र दलाल व्यवस्थामा लिप्त नेपाली शासकवर्गको उदाशिनताको उपज हो । सुस्तामा भूमि अतिक्रमण पहिलो, नागरिकता दोस्रो, खानेपानी तेस्रो र शिक्षा, स्वास्थ्य, सुरक्षालगायत प्रमुख समस्या छन् । भारतीय पक्षसँग साहस गरेर विषय उठान गर्न सक्ने राजनैतिक नेतृत्वले सीमा समस्या हल गर्न सक्दछ । लम्पसारवादी नेतृत्वले यसको उचित हल गर्न सक्दैन । कुटनैतिक पहलद्वारा सुस्ता समस्या हल गर्न राज्य संचालक लाग्नुपर्छ ।
९. नवलपरासीको कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहासबारे बोल्नु पर्दा के भन्नु हुन्छ ?
–नवलपरासीको कम्युनिस्ट आन्दोलनबारे भन्नुपर्दा यहाँको कम्युनिष्ट आन्दोलन स्थापनाकालदेखि नै गर्व गर्न लायक छ । चाहे त्यो पंचायतकालीन समयको सुकुम्बासी आन्दोलन होस् वा वर्तमान अवस्थाको विभेद विरुद्धको क्रान्तिकारी आन्दोलन किन नहोस् यसले सामाजिक रुपान्तरणमा निकै ओजपूर्ण स्थान ओगटेको छ । विविधतापूर्ण सामाजिक अवस्थामा पनि यहाँको कम्युनिस्ट आन्दोलनले न्यायको पक्षमा संघर्ष उठान गर्दै आएको छ । इतिहासको निर्मम समीक्षा गर्दै यसलाई अगाडि बढाउनु क्रान्तिकारीहरुको साझा दायित्व बन्न गएको छ ।
१०.नवलपरासीको वर्गीय तथा सामाजिक अन्तरविरोधको बिश्लेषण गर्नु पर्दा यहाँको भनाई के रहन्छ ?
–नवलपरासीमा वर्गीय तथा सामाजिक अन्तर्विरोध छरिएर मात्र होइन यो जेलिएर रहेको पाइन्छ । अन्तविरोधहरुका पहलुहरु निकै पेचिलो अवस्थामा छन् । यहाँ मुख्य राजमार्ग उत्तरका गाउँवस्ती, हुलाकी मार्ग आसपासका गाउँवस्ती र सीमावर्ती क्षेत्रका अन्तरविरोधहरुका आफ्नै प्रकारका विशेषता छन् । दलाल नोकरशाही वर्ग र श्रमजीवि जनतावीचको अन्तरविरोध नै यहाँको प्रमुख अन्तरविरोध हो । साथै उच्च अहंकारवादी ब्राहमणवाद र उत्पीडित वर्ग जाति बीचको अन्तरविरोध, मालिक र मजदुरवर्ग वीचको अन्तरविरोध पनि यहाँका अन्तरविरोध हुन् । यी सबै अन्तरविरोधहरुको हल क्रान्तिद्वारा मात्र गर्न सकिन्छ ।
११) तपाई राजनीतिको अलावा साहित्यिक लेखनमा पनि हुनुहुन्छ । साहित्यका लागि कसरी समय छुट्टाउनु हुन्छ ?
–साहित्यका लागि खास समय मैले विनियोजन गर्न सकेको छैन । विद्यार्थीकालमा रक्तक्रान्ति प्रगतिशील गजल संग्रह (२०६४) र संर्घषको मैदानबाट मुक्तक संग्रह (२०८१) मेरा प्रकाशित कृति हुन् । अब जनयुद्धका संस्मरण सहितको लेखन कार्यमा मेरो कार्यसुचीमा छन् ।
१२. हाँक साप्ताहिक मार्फत अन्त्यमा थप भन्नु केही छ कि ?
–समग्रमा मेरो विचार र अनुुभुति यहाँको जनप्रिय पत्रिकामा प्रवाह गर्न अवसर प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु ।