टोपी समाजवादी

टोपी समाजवादी

कविता

समाजवादको टोपी
जसरी मन लाग्छ त्यसरी लगाऊ
टोपी त हो
सुल्टो लगाउन मन लागे सुल्टो लगाऊ
उल्टो लगाउन मन लागे उल्टो लगाऊ
टोपी लगाएको देखेर
मान्छेहरूले भन्ने नै छन् –
टोपी लगाएको छ,
तपाईंले खोजेको पनि त्यही हो ।

जस्तो कि सुती होस् या नहोस्,
तर सुती लेखेको कमीज लगाएपछि
मानिसहरू भन्छन् –
हेर त सुतीको कमीज लगाएको छ,
त्यसैगरी
समाजवादी टोपी लगाउनेले
समाजवादी नै हुन जरुरी छैन
समाजवादी टोपी भए पुग्छ ।

समाजवादी हुनलाई
त्यत्रो झन्झट कसले गर्छ !
गरीब, मजदुरहरूसँग मित्रता
उनीहरूको लागि सङ्घर्ष
के के के के !
ओहो, त्यत्रो झन्झट कसले गर्छ
खुम्चिएको कुर्था लगाइरहन जरुरी छैन
बस, समाजवादी लेखेको टोपी भिर्नुस्
पाँच वर्षमा एक पटक
या बिचमा कहिले कहिले
गरीबहरू र मजदूरसँग भेटघाट गर्नु
अनि कुरै सक्कियो ।

त्यसो त
समाजवादी टोपी हुन्छ अन्तर्राष्ट्रिय
तर मान्छेहरूले आफ्नै तरिकाले सिलाउँछन्
देश, क्षेत्र, वंश, गोत्र,
जसरी सजिलो लाग्छ त्यसैगरी
जस्तै ः
नेपाली टोपी,
भारतीय टोपी,
गान्धी टोपी,
अमेरिकी टोपी (ह्याट)
चिनियाँ टोपी
उस्तै प¥यो भने गम्छाको टोपी ।
(यो कुरा भने बेग्लै हो,
कहिलेकाहीं जनताले
कागजको टोपी पनि लगाइदिन्छन् ।)

टोपी लगाउनुका कति फाइदा छन्,
यसले तपाईं टाउको छोप्न सक्नुहुन्छ
आफ्नो मुख लुकाउन पनि मिल्छ ।
समाजवादी होस् नहोस्
टाउको र मुख समाजवादी होस् नहोस्
समाजवादी टोपी लगाउनु भएको छ भने
मान्छेहरूले भन्ने छन् –
हेर त समाजवादी टोपी लगाएको छ ।

समाजवादी टोपी लगाउनुका अरु पनि फाइदा छन्
तपाई समाजवादी टोपीले मुख छोपेर
जतिखेर मन प¥यो त्यतिखेर
फरक फरक तरिकाले हाँस्न सक्नु हुन्छ ।

आजकल मानिसहरू यसै गर्छन्
समाजवादी हुनुपर्ने झन्झट गर्दैनन्
बस टोपी लगाउछन्
मन लागेको बेला टोपीमुनि मुख लुकाउँछन् ।

तपाईं पनि किन दुःख गर्नुहुन्छ
जसो मन लाग्छ त्यसो
उल्टो सुल्टो
भिर्नुस् समाजवादी टोपी ।
भएपनि नभएपनि
मानिसहरुले समाजवादी टोपी लगाएको मान्छे
भन्ने नै छन्,
र भनेन् भने कसैलाई भन्न लगाउनु होला,
अनेकौं मान्छे डुली रहेका हुन्छन्
वा मौका खोजी रहेका हुन्छन् ।

(मैथिलीबाट नेपालीमा अनुवाद बलराम तिमिल्सिना)