काठमाडौँ । सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि १९ वर्ष पुरानो रौतहटको गौर हत्याकाण्डमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिटमा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले रातोपाटीलाई बताए ।
१९ वर्षअघि भएको गौर हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित पीडितहरुले रिट दायर गरेका थिए । गौर हत्याकाण्डमा मारिएकाहरूका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभएको भन्दै अनुसन्धान अघि बढाउन आदेश माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

२०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । हत्यामा तत्कालीन जनअधिकारका अध्यक्ष समेत रहेका उपेन्द्र यादवलगात फोरमसम्बद्ध नेता, कार्यकर्ताको हात रहेको दाबी गरिँदै आएको छ ।
हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले छानबिन गरी दोषीमाथि मुद्दा दायर नगरेको भन्दै पीडितका परिवार तथा आफन्तले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।
पीडित परिवारका तर्फबाट त्रिभुवन साहले रिट दर्ता गराएका छन् भने उक्त घटनाको पुनः अनुसन्धान र प्राप्त प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न माग गरिएको थियो । मुद्दामा रौतहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ ।

गौर हत्याकाण्डलगत्तै पीडित परिवारको तर्फबाट उपेन्द्र यादवसहित ६६ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । सरकारले गठन गरेको न्यायिक जाँचबुझ आयोगले थप ६४ जनालाई दोषी किटान गरेपछि गौर हत्याकाण्डका अभियुक्तको संख्या १३० पुगेको थियो ।
किटानी जाहेरी परेका र जाँचबुझ आयोगले दोषी भनी नाम उल्लेख गरेका १३० जनामाथि अहिलेसम्म अनुसन्धान भने भएन । बबन सिंहले भूमिगत रुपमै चुनाव जितेका थिए, त्यो पनि स्वतन्त्र उम्मेदवार बनेर ।
किटानी जाहेरीको पहिलो नम्बरमा नाम रहेका अजय गुप्ता तत्कालीन राजपाबाट २०७४ मा गौरको मेयर निर्वाचित भएका थिए । २०७९ मा आइपुग्दा उनी नेकपा एमालेमा प्रवेश गरेर मेयरमा पुनः निर्वाचन लडे । तर, नेकपा एसका शम्भु साहसँग पराजित भए ।
उनी फेरि प्रतिनिधिसभामा माधव नेपालको प्रतिद्वन्द्वी भएका थिए । गुप्तामात्र होइन किटानी जाहेरीमा नाम रहेका बबन सिंह पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । उनकी पत्नी अंशु सिंह राजदेवी नगरपालिकाको मेयरको प्रत्याशी थिइन् । बबन अहिले नेकपा एमालेको मधेश प्रदेश कमिटी सदस्य छन् ।
अजय गुप्तालाई पराजित गरेर गौरको मेयर बनेका शम्भु साह कानू पनि गौर नरसंहारका दोषी हुन् । उनलाई त झनै न्यायिक जाँझबुझ आयोगले दोषी भनी १११ नम्बरमा सूचीकृत गरेको थियो । साह फोरम, जसपा र राजपा हुँदै अहिले नेकपा एसमा छन् ।
त्यस्तै जाहेरीको ३२ नम्बरमा नाम उल्लेख रहेका प्रेमचन्द्र झा अहिले नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष छन् । उनी नेकपा एस निकट समाजवादी प्रेस संगठनमा पनि आबद्ध छन् ।
२७ जना माओवादी कार्यकर्ताको हत्यामा किटानी जाहेरी परेका शम्भु सिंह अहिले माओवादी पार्टीकै नेता छन् । उनी रौतहटको दुर्गाभगवानी गाउँपालिका अध्यक्षमा माओवादीबाटै निर्वाचित भएका हुन् ।
त्यस्तै जाँचबुझ आयोगले दोषी भनी नाम उल्लेख गरेका महोत्तरीका रामकुमार शर्मा माओवादी केन्द्र हुँदै अहिले उपेन्द्र यादव नेतृत्वको पार्टीकै महासचिव छन्। उनी २०६४ सालमा तमलोपाबाट सभासद भएका थिए भने सांसद कार्यकाल नसकिँदै माओवादीमा प्रवेश गरेका थिए ।
































