बाटो बिराए पछि

बाटो बिराए पछि

कविता

फाटेका कपडा यहाँ जति सुकै धोई सुकाए पनि
आँखा छल्न भनेर अङ्ग करले छोपे लुकाए पनि
यादै कत्ति नराखँदा गहकको खुस्की सकेको दसी
नाङ्गो बस्नु सिवाय के छ यसरी बाटो बिराएपछि ।

जालो पो छ कि झारपातहरूको माटो पुरेको छ कि ?
कस्ता दुश्मन छन् यतातिर कुनै बाटो कुरेको छ कि ?
कस्तो मौसम चल्छ याद नगरी खुट्टा छिराएपछि
हात्ती खाडलभित्र खस्छ विचरो बाटो बिराएपछि ।

खुल्ला झ्याल थियो पस्यो रुमलिंदै त्यो झ्याल बन्दै भयो
देख्यो माउसुली भयो थरहरी इन्तु न चिन्तु भयो
बत्ती बल्छ जता उतै छ थुतुनो हेर्दै छ आँखा धसी
प्राणोत्सर्ग गरेर मर्छ पुतली बाटो बिराएपछि ।

भोको पेट छ खान भक्ष गँगटा हेरेर बस्छन् यता
कुल्ची गज–गज त्यो हिलो वरिपरि घुम्छन् बकुल्ला उता
निक्ली हाल्न तुरुन्त आँट नहुँदा दोधार भित्रै फँसी
अन्धो साँप घुमिरहन्छ जलमा बाटो बिराएपछि ।

पानीको दहमा डुबाई थुतुनो गोही घुमेको छ कि ?
निल्नै खाँतिर ऊ अजिङ्गर बनी आइपुगेको छ कि ?
तैरेको तटमा सिनो नजरले देखी झकाएपछि
छट्टु स्याल भुतुक्क हुन्छ विचरो बाटो बिराएपछि ।

हाली सन्दुसभित्र बन्द गठरी गोली र गट्ठा सबै
फाली बन्दुकलाई मात्र मुखले गर्दा हुुँदी ताण्डवै
छोडी जङ्गललाई त्योे महलको दैलो उघारेपछि
के मथ्र्यो नरघाति बाघ यसरी बाटो बिराएपछि ।

त्यागी उत्तरतर्फ दक्षिण दिशा पक्रेर जाने भए
गोही साथ लिई उतै बहकँदै पानी बहे झैं बहे
रातो रक्तिम जोसिलो चहकिलो झण्डा गिराएपछि
मुक्तिक्षेत्र कहाँ पुगिन्छ यसरी बाटो बिराएपछि ।

(इच्छुक अङ्क ४ बाट ।)