युवा शक्ति र स्वदेशी श्रम

युवा शक्ति र स्वदेशी श्रम

हाम्रो मुलुकभित्रको उत्पादन सम्बन्ध, श्रमको विनिमय र रोजगारीका अवसरको खोजिका कारण अहिले हाम्रो समाजमा बैदेशिक मोह यति धेरै बढेर गएको छ कि हरेक किशोर किशोरीहरू बाह्र कक्षाको परीक्षा उत्तीर्ण गरेपछि सबैको सपना बैदेशिक मुलुक हुन थालेको छ । यसको पछाडिका धेरै कारणहरू छन् । उच्च शिक्षा आर्जनको मुख्य ध्येय, प्रतिष्ठित रोजगारीको आशा र सभ्य समाजको चिन्ताले गर्दा हो । यस्तो आशाको पूर्णता स्वदेशभित्र नदेख्नु र आफ्ना छिमेकी वा आफन्तहरूको बिदेश मोहको लतमा पर्नुले यो मान्यता फष्टाउँदै गएको छ । बितेको केही दशकदेखि अध्ययन र रोजगारीका नाउँमा शहर, बजारदेखि दूर्गम गाउँसम्मका युवा युवतीहरूले देश छोडेर बिदेशी भूमिमा आफुलाई हुर्याइ रहेछन् । हरेक दिन गौचर हवाइ अड्डामा देखिने युवाहरूको लर्को र अघोषित रूपमा दक्षिणी सीमा हुँदै अबैध बाटोबाट बाहिरिने जमात हामी नेपालीको आम संस्कृति बनिसकेको छ र दिनहुँ जस्तो कफिनमा कोचिएर आएका आफन्तको शव हेर्दै आँसु झार्नुपर्ने बाध्यता पनि उत्तिकै सत्य छ । रोजगारीको सन्दर्भमा बिदेशिनेहरूले आफ्नो कमाइले घर परिवारको लालन पोसण गरेका हुन्छन्, यो राम्रो पक्ष हो तर उच्च अध्ययनको सिलसिलामा बिदेशी भूमिमा पुगेकाहरू आफ्नो करियर बनाउने निहुँमा उतै गुमनाम भएका पनि हुन्छन् । अहिले देशका अधिकाँस गाउँ शहर युवा बिहीन बन्दै गैरहेको छ भने उर्बर जमिन बाँझिएर उजाड बन्दै गएको छ । आफ्नो जन्मघरमा रहेका जेष्ठ नागरिकहरूले उमेरको उत्तराद्र्धमा आफ्ना छोराछोरीहरूबाट पाउनुपर्ने सेवा सुश्रुसाको सट्टा कालगतिले निधन भएका बाआमाको शवले छोराछोरी कुर्नुपर्ने मुलुकको यस्तो अवस्थाप्रति अहिले नै सचेत हुन सकिएन भने भोलीको अवस्था एकदम डरलाग्दो हुनसक्छ । तसर्थ हाम्रा हरेक किशोर किशोरीहरूमा राष्ट्र र राष्ट्रियताको भाव विकास गराउनु अनिवार्य भैसकेको छ ।

नेपाली शब्दकोषले राष्ट्रियता भनेको राष्ट्रप्रतिको आस्था वा राष्ट्रहितको भावना, राष्ट्रप्रेम, राष्ट्रको स्थिति वा आफ्नोपन हो भनेको छ । यसरी राष्ट्रियताभित्र राष्ट्र, जातजाती, सांस्कृतिक एकता, राष्ट्रप्रेम, राष्ट्रप्रतिको आस्था समेत पर्ने रहेछन् । हाम्रा राजनीतिक दलका हरेक नेताले राष्ट्रियताका विषयमा बेग्लाबेग्लै अर्थ लगाउने गरेको पाईन्छ । नेपालमा राष्ट्रियतालाई राजनीतिक हिसाबले मात्र हैन भौगोलिक हिसाबले पनि अर्थ लगाईने गरिन्छ । वास्तबमा यसरी अर्थ लगाएर राष्ट्रिय एकतालाई मजबूत बनाए त ठीकै हो तर राष्ट्रिय एकतामा आँच आउने किसिमबाट राष्ट्रियतालाई अर्थ्याइने गरेको पनि पाइएको छ, जसले गर्दा हाम्रो राष्ट्रियता कमजोर हुँदै गएको छ ।
हामीहरूले हाम्रो राष्ट्रियतालाई एकताको रूपमा कायम गर्न नसक्दा हामीलाई विदेशीले रङ्गीविरङ्गी देख्छन् र उनीहरूको हितका लागि हाम्रो राष्ट्रियता दुरूपयोग गर्छन् । हाम्रो राष्ट्रियता कमजोर हुँदा हाम्रा उच्च तहका नेता र नीति निर्माताहरूलाई विदेशीले प्रभावमा लिएर आफ्नो ईशारामा हाम्रो देश चलाउन सफल भएका छन् । जनता मिलेर केही परिवर्तन गरौं भने पनि विदेशीको ईशारा पर्खनुपर्ने स्थिति भएको छ । हामीले हाम्रो राष्ट्रियता सक्षम र सुदृढ बनाउन नसक्दा हाम्रा हरेक राजनीतिक परिवर्तनमा विदेशीले जस लिन सफल भएका छन् । विदेशीको कठपुतली हुन नसक्ने नेताहरू सत्ताबाट बाहिरिने वा सत्तामा ढिम्किन नपाउने अवस्थामा रहेका छन् । फेरि हाम्रा नेता पनि के कम ? सत्तामा पुग्नु अगाडि र पुगेपछिको व्यवहार नै आनको तान फरक गर्छन् जसका कारण पनि युवाहरूमा मुलुकप्रति निराशाभाव बढ्दै गएको हुन्छ ।

राष्ट्रियता भनेको एक विश्वास वा भावना हो, जसको माध्यमबाट व्यक्तिले आफ्नो राष्ट्रसँग आफूलाई गाँसेर हेर्छ, आफ्नो परिचय प्रस्तुत गर्छ र एक प्रकारको लगाव प्रकट गर्छ । राष्ट्रियता स्वभावैले आत्मिक र आन्तरिक हुन्छ । राष्ट्रवाद त्यस्तो आस्था वा प्रेमपूर्ण बन्धनको नाम हो, जस अन्तर्गत आफ्नो साझा इतिहास, परम्परा, भाषा, जातीयता र संस्कृतिका आधारमा मानिसहरू एकजुट हुन पुग्छन् । वस्तुतः राष्ट्रप्रतिको अपनत्व र प्रेमको शाब्दिक रूप नै राष्ट्रवाद हो । परस्परमा अनेकौँ समानताहरू भए पनि राष्ट्रियता र देशभक्तिबीच केही भिन्नताहरू छन् । राष्ट्रियता राष्ट्रबासी बीचको कुनै कार्यक्रम वा योजनासँग गाँसिएको हुन्छ भने देशभक्ति वैयक्तिक अनुभूतिमा सीमित रहन्छ । देशभक्तिले राष्ट्रियतालाई बढाउँछ ।

हरेक बालबालिका जन्मदैमा सचेत भएर जन्मिदैनन् । उनीहरूलाई प्रशिक्षित गर्ने काम परिवार र समाजको हो । पारिवारिक वातावरण, विद्यालयीय शिक्षा र सामाजिक संस्कृतीबाट सिक्दै र प्रयोग गर्दै जाने कुरा हो, तर बालबालिकाको दिमागमै मुलुकमा केही हुँदैन भन्ने धारणाको विकास भएपछि उनीहरूमा राष्ट्रप्रतिको चेतना नै विपरीत बन्दछ । अहिले हाम्रो समाजका किशोर किशोरीले ग्रहण गरेको शिक्षा नै बिदेशी मोहको जालोमा जेलिएको छ ।

मुलुकभित्र नै स्वरोजगारको विषय भनेको जनजीविकाको सवाल हो । हाम्रो मुलुकमा जनजीविकाको लागि थुप्रै व्यवधानहरू छन् । यसका लागि आत्मनिर्भरता पहिलो शर्त हो, तर कुनै व्यक्ति वा समूह आत्मनिर्भर उत्पादनमा लाग्यो भने पनि राज्यले प्रोत्साहन गर्दै गर्दैन । स्थानीय निकायले तयार गरेको कर प्रणाली, उत्पादित वस्तुको बजारको अभाव राज्यले गरेको उपेक्षाले पनि स्वदेशमै केही गरौँ भन्नेहरूमा कुण्ठा र निराशा जन्माएको छ । आफ्नो समुदायमा एकता र जोश जाँगर हुँदाहुँदै पनि बाह्य उत्पादनले बजार कब्जा गरेको टुलुटुलु हेर्न बाध्य र विवश छन् ।

मुलुक सङ्घीयतामा प्रवेश गरेपछि कतिपय स्थानीय निकायले आफ्नो भूगोलको अध्ययन गरेर कृषि, पशु र फलफूलको आधार (पकेट) क्षेत्रको घोषणा पनि गरेका छन् तर त्यस्तो उत्पादनको निम्ति राज्यले दिने अनुदानमा राजनीतिक पहुँचको चलखेल हुन्छ र वास्तविक श्रमिककहाँ पुग्नै सक्दैन ।

विकासका लागि युवा अनिवार्य आवश्यकता हो । विकासको सुचकाङ्कमा विश्वमा जति पनि विकसित देशहरू सुचित छन्, त्यहाँ युवाहरूको अग्रसरता बिना विकास असम्भव छ । विश्वमा विभिन्न राज्यक्रान्तिहरू भए । प्रायः राजनीतिक रूपमा केन्द्रित भई विकासको अग्रगामी छलाङको रूपमा त्यसले सहायता प्रदान गरेको ऐतिहासिक क्रान्तिहरूले देखाउँछ । जसमा युवाहरू प्रयोग भएका छन् । भू–राजनीतिक वितरण र त्यसमा सर्वशक्तिमान राज्यको जमिन तथा प्राकृतिक स्रोतहरूमाथिको बर्चश्वले राजनीतिक अस्थिरता निम्त्याएका प्रमाणहरू प्रशस्त देखिन्छन् । यस सन्दर्भमा जोडिएर आउने एउटा सवाल आत्मनिर्भरताको सवाल हो । आत्मनिर्भरता विकासमा रुचाइएको एउटा महत्वपूर्ण पदावली हो । विश्वव्यापी रूपमा व्यक्ति होस् या राज्य जो सर्वशक्तिमान हुने प्रयत्न गर्दछ उसलाई कुनै न कुनै रूपमा पछाडी पार्ने चलन आदिम असभ्य युगदेखि उत्तरआधुनिक अवस्था छिचोल्ने बेलासम्म चल्दै आएको छ । आफ्नो मुलुकका युवाहरूलाई निरुत्साही गर्न हाम्रो राज्य नै जिम्मेवार छ । यसकारण युवाहरू स्वदेशमा टिकिरहन सकेनन् । उनीहरूलाई भविष्य सुरक्षित र निश्चिन्त छ भन्ने बुझाउन सकिएन ।

हाम्रो मुलुकले नयाँ सम्बिधानमा समाजवाद उन्मुख अर्थतन्त्र भनेर लेखेको र लागू गरेको पनि एक दशक पूरा भैसकेको छ । यतिका वर्षसम्म आउँदा हरेक आर्थिक वर्षमा हुने वार्षिक कार्यक्रम र बजेटमा यो वर्ष यति सङ्ख्यामा निश्चित युवाहरूलाई रोजगारीको लागि यी यी परियोजना लागू गरिनेछ भनेको पाइँदैन । साथै कतिपय राष्ट्रिय गौरवका परियोजना पनि ढिलासुस्ती र आलटालले मुलुकका जनतालाई जनजीविकाको लागि विदेशिन बाध्य पारिएको छ । समाजवादको सार्थकताको सन्दर्भमा चिनियाँ क्रन्तिलाई बुझ्नुपर्ने हुन्छ । चीनमा माओले पिछडिएको अर्थतन्त्र भएको देशमा समाजवाद निर्माणको सन्दर्भमा मार्क्सवाद–लेनिनवादको खास प्रयोग गरे । उनले पिछडिएको देशमा पूँजीवादी–जनवादी क्रान्तिलाई विश्व समाजवादी क्रान्तिको अभिन्न शर्तको रूपमा स्वीकार गरे । यता हाम्रो मुलुकमा भने उचाइमा पुगेको क्रान्तिले प्रतिक्रान्ती व्यहोर्नु पर्‍यो । युवाहरू विदेशिन बाध्य पार्ने अर्को कारण वैज्ञानिक शिक्षाको खोजी हो । यसबाट प्रश्न उठ्छ, के हाम्रो शिक्षा पद्दती अवैज्ञानिक नै हो त ? यो विषय केही हदसम्म सत्य हो । शिक्षा व्यवहारिक र रोजगार मुलक हुनुपर्दछ, तर हाम्रो देशको उच्च शिक्षा युवाहरूले चाहेजस्तो बनाइएको छैन । यसको कारण पाठ्यक्रम निर्मणमा र विश्वविद्यालय सञ्चालनमा सत्ताशीनहरूको अवैज्ञानिक हस्तक्षेप हो साथै विदेशमा जस्तो पढ्दै कमाउदैको परिपाटी नमिलेर पनि युवा पलायनको संस्कृति फष्टाएको हो । र अर्को कुरा माथि भनिएजस्तै राष्ट्र, राष्ट्रियता बारे प्रशिक्षित गर्न नसकिएको पनि हो ।
किशोर किशोरीलाई राष्ट्र, राष्ट्रियता र आत्मनिर्भर बनाउने पहिलो जिम्मेवारी राज्यको हो । उनीहरूलाई विद्यालय तहमा नै देशभक्तिपूर्ण शिक्षाको खाँचो छ । खाली राष्ट्रिय फूल लालीगुराँस वा हिमाल र डाँफे सिकाएर मात्र पुग्दैन । हिमाल, पहाड र तराइका प्राकृतिक सांस्कृतिक सम्पदाहरू समान हुन् भन्ने धारणा दिइनु पर्दछ । वैज्ञानिक र व्यवहारिक शिक्षाका साथै मुलुकभित्र सुशासन, रुचि र क्षमता अनुसारको सीपमुलक शिक्षा हरेक युवाको चेतना र श्रमको कदर गर्न सके मुलुक आत्मनिर्भर र उन्नत बन्न सक्छ । तर यो बिषय यति सजिलै हल हुँदैन यसका लागि विदेशिएका युवा, कृषि क्षेत्रका मजदुरहरूको संयुक्त बलले नयाँ जनवादी क्रान्तिको चरण पूरा गरि समाजवादी युगमा प्रवेश गरेर मात्र हल हुनेछ । तसर्थ नयाँ जनवादी क्रान्तिको तयारीमा जुटौँ ।
२०८२/०३/१०