काठमाडौं । यसअघि चैत्र ४ देखि बैशाख १८ सम्म चारवटा केन्द्रीय अभियान टोली बनाएर देशका करिब ६० वटा जिल्लामा ‘जनसम्बन्ध विस्तार अभियान’ सञ्चालन गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले असार ५ गतेदेखि देशैभरका ब्यूरो र अधिकांश जिल्लाहरुमा एकसाथ अभियान उद्घाटन गरेको छ । पार्टीका स्थायी समिति सदस्यहरु, पोलिटब्यूरोका सदस्यहरु, केन्द्रीय सदस्यहरु र जबस मोर्चाका नेताहरु ब्यूरो र जिल्लाका अभियान उद्घाटन कार्यक्रमहरुमा सहभागि भएका छन् । देशव्यापी रुपमा उत्साहपूर्वक अभियानको उद्घाटन गरिएको छ ।

भ्रष्टाचार विरोधी अभियान किन ? भन्ने विषयमा हालै जारी गरेको अपिलमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भनेको छ, “हाम्रो देश भ्रष्टाचारबाट आक्रान्त भएको छ । देशमा भ्रष्टाचार नभएको र नहुने कुनै निकाय छैन । मन्त्रालय, प्रशासनिक तथा स्थानीय निकायहरू, अड्डा अदालत, प्रहरी प्रशासन, विकास निर्माणका काम जहाँ जाउँ त्यहाँ भ्रष्टाचार छ, घुसखोरी ब्याप्त छ । घुस नदिँदासम्म जनताले सामान्य एउटा सिफारिस पनि पाउँदैनन् । यसलाई नियन्त्रण गर्ने निकाय देशको सरकार हो । तर स्वयम् सरकार नै भ्रष्टाचारमा संलग्न रहँदै आएको छ । सरकारमा सामेल भएका मात्र होइन, केही अपवाद बाहेक प्रतिपक्षमा रहेका राजनीतिक पार्टीका नेताहरु समेत भ्रष्टाचारबाट मुक्त छैनन् । भुटानीकरण काण्ड, ललिता निवास काण्ड, सहकारी ठगी काण्ड, गिरीबन्धु टिस्टेट काण्ड, भिजिट भिसा काण्ड लगायत दर्जनौं काण्डहरूले यही कुराको पुष्टि गर्दछन् । यतिसम्म कि भ्रष्टाचार गर्न र त्यसबाट प्राप्त रकम बाँडफाँड गर्न सफ्टवेयर समेत विकास गरिएको कुरा चर्चामा आइरहेको छ ।”

सो अपिलमा अगाडि भनिएको छ, “यी घटनाक्रमहरुले के कुरा प्रष्ट गर्दछन् भने नेपालमा भ्रष्टाचार संस्थागत रूपबाट विकास भएको छ र त्यसको नेतृत्व सरकारले गरिरहेको छ । सरकारमा सामेल राजनीतिक पार्टी तथा प्रतिपक्षमा रहेका राजनीतिक पार्टीका नेताहरू पनि संस्थागत भ्रष्टाचारको पक्षमा रहेका हुनाले नेपालमा भ्रष्टाचारको विषय अत्यन्तै गम्भीर बन्न गएको हो । भ्रष्टाचारले गर्दा नै देशका सम्पूर्ण विकास निर्माणका कामहरू जति हुनसक्थे त्यति पनि हुन सकिरहेका छैनन् र विदेशी ऋणको भार वर्षेनी बढ्दै गएको छ । देशमा विकासको काममा गति दिनका लागि भ्रष्टाचारलाई रोक्नु पहिलो सर्त हो । तर स्वयम् सरकार, त्यसमा संलग्न पार्टी तथा हिजो सरकारमा र अहिले प्रतिपक्षमा रहेका पार्टीका नेताहरु समेत संस्थागत भ्रष्टाचारको पक्षमा भएको हुनाले आम जनता नै भ्रष्टाचारीका विरुद्ध संघर्षमा नउत्रिएसम्म देशमा भ्रष्टाचार कम हुनेवाला छैन । त्यसकारण हाम्रो पार्टीले भ्रष्टाचारका विरुद्ध अभियान सञ्चालन गर्न आवश्यक ठानेको हो । यस भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन र विभिन्न ढंगबाट यस अभियानलाई सहयोग गर्न हामी सम्पूर्ण जनसमुदायसँग हार्दिक अपील गर्दछौँ ।”

पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको अपिलमा थप अगाडि भनिएको छ, “हामी तपाइँहरूलाई यो कुरा पनि स्पष्ट गर्न चाहन्छौं कि यो प्रतिक्रियावादी संसदीय व्यवस्था र बुर्जुवा गणतन्त्र भनेकै भ्रष्टाचारी, घुस्याहा र शोषक वर्गको हितगर्ने व्यवस्था हो । त्यसकारण यो व्यवस्था अन्तर्गत हुने भ्रष्टाचार विरोधी आन्दोलनले भ्रष्टाचारको न्यूनीकरण गर्न त संभव छ तर निर्मूल गर्न सक्दैन । देशमा संस्थागत ढंगले फैलिंदै गएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न र त्यसका विरुद्ध जनतालाई सुसुचित गर्न हामीले भ्रष्टाचार विरोधी अभियान संचालन गर्न आवश्यक ठानेका हौं । देशलाई सधैका लागि भ्रष्टाचारबाट मुक्त गर्न हामीले संघीय जनगणतन्त्रको खुड्किलो पार गरी वैज्ञानिक समाजवादको स्थापना गर्नु अनिवार्य छ । वैज्ञानिक समाजवादले मात्र भ्रष्टाचारको पूर्ण उन्मुलन गर्नेछ ।”

































