जनसम्बन्ध विस्तार अभियानको दौरानमा पुराना कमरेडहरु जो अहिले कतिपय हाम्रै पार्टीमा, कतिपय अलग पार्टीमा र कतिपय स्वतन्त्ररुपमा रहनु भएका, सँग भेटघाट हुने अवसर प्राप्त भयो । यस अनुभूति – ३ मा उहाँहरुसँग भेट हुँदाको अनुभूति लेख्न गइरहेको छु ।
१) रवि भण्डारी
तेह्रथुम जिल्लाका क. रवी भण्डारीसँग पार्टी कामको सिलसिलामा धरान, धनकुटा, इलाममा भेट भइरहन्थ्यो । उहाँ बृद्ध अवस्थामा गएपछि लामो समयदेखि भेटघाट हुन त सकेको थिएन । यसपालि जनसम्बन्ध विस्तार अभियानको दौरानमा तेह्रथुम जिल्लाको आठराई गाउँपालिका सक्रान्ति बजार पुगियो । क. रवी भण्डारीको घर पनि सक्रान्ति बजारको नजिकै मूलपानीमा रहेछ । उहाँ सक्रान्ति बजार आउन नसक्ने जानकारी पाएपछि ०८१ साल चैत्र ६ गतेका दिन विहान उहाँको घरमा पुग्यौं । उहाँको जन्म वि.सं. १९९३ साल जेष्ठ १९ गते रहेछ । अहिले उहाँ ९० वर्षमा हिंडिरहनु भएको छ । उहाँ घरभन्दा टाढा जान नसक्ने तर घरमा यताउती हिंडडुल गर्न सक्ने अवस्थामा हुनु हुँदोरहेछ । हामीलाई देखेपछि उहाँ धेरै नै खुशी हुनु भयो । हामी पनि खुशी भयौं । वि.सं. २०२३ सालमा नरेश शाक्य त्यहाँ आएर पूर्व प्रान्तीय कमिटीको इलाका कमिटी बनाएको र उहाँ त्यसको सचिव भएको भन्ने कुरा उहाँले बताउनुभयो । वि.सं. २०२८ सालमा मोहन चन्द्र अधिकारी र भरतमोहन अधिकारी त्यहाँ पुगेको कुरा पनि उहाँले बताउनुभयो । वि.सं. २०३६ सालको जनमत संग्रहभन्दा पहिले उहाँको भाइ लिलाले तत्कालीन नेकपा (चौम) को मुखपत्र “मसाल” भन्ने पत्रिका उहाँलाई पठाइदिनु भएको रहेछ । त्यो अध्ययन गरेपछि उहाँ नेकपा (मसाल)तिर आकर्षित हुनु भएछ । उहाँ वि.सं. २०४९ सालमा नेकपा (मसाल) सम्बन्ध किसान संघको तर्फबाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको रहेछ । हाल उहाँ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा नै सम्बद्ध हुनुहुन्छ ।

हामी उहाँसँग गफिरहेका थियौं । हाम्रो लागि खाना पकाउने काम भइरहेको थियो । त्यतिकैमा एक जना युवा आएर उहाँसँग एउटा रुख काट्नुप¥यो भनेर अनुमति माग्नु भयो । उहाँले हुन्छ भनेर भन्नु भयो । मैले उहाँसँग तपाईको वारीको रुख मागेको हो भनेर सोधें । उहाँले होइन म सामुदायिक बनको उपभोक्ता समितिको अध्यक्ष छु । छाड्छु भन्छु मान्दैनन् । तपाई अध्यक्षमा बसिदिनु मात्र काम हामी गर्छौैं भन्छन् । त्यही वनको रुख मागेको हो भन्नुभयो । यसले अहिले पनि उहाँ पनि स्थानीय जनताको विश्वासरहेछ भन्ने बुझिन्छ । खाना खायौं, फोटो खिच्यौं र हामी उहाँ र उहाँ अन्य परिवार शुशिल भण्डारी, तारा भण्डारी (खनाल) सँग विदा भएर आफ्नो गन्तव्यतर्फ लाग्यौं ।

२) क. भक्त थापा

तेह्रथुम म्याग्लुङ बजार आइपुगेपछि ०८१ चैत्र ७ गतेका दिन अर्का पुराना कमरेड भक्त थापासँग उहाँकै निवासमा भेट भयो । मलाई अहिले ठ्याक्कै मिति त थाहा छैन ०४६÷४७ सालतिर म पार्टी संगठनको काममा म्याग्लुङबजार पुगेको थिएँ । त्यतिबेला भक्त थापा, केवी फुदुङ सहितको नेकपा (मसाल) को जिल्ला संगठन समिति गठन गरियो । क. भक्त थापा सचिवमा चयन हुनुभयो । त्यसपछि उहाँ नेकपा (मसाल) मा निरन्तर सक्रिय रहनुभयो । उहाँ नेकपा (मसाल) सँग सम्बद्ध अखिल नेपाल युवा संघको केन्द्रीय उपाध्यक्ष समेत हुनुभयो। उहाँ मसालसँग नजिक हुनुहुँदोरहेछ ।उहाँले मेरो आस्था त पुरानै पार्टी मसालतिर छ तर संगठित र सक्रिय छैन भन्नु भयो । उहाँको घरमा चिया नास्ता गरियो । उहाँले हाम्रो अभियानलाई सफलताको शुभकामना दिनुभयो । हाटबजार लाग्ने ठाउँसम्म मलाई छोड्न पनि आउनुभयो । लामो समय पछिको रमाइला कुराकानी सकेर हामी विदा भयौं ।
३) के . पी . फुयाँल

हाम्रो अभियान टीम चैत्र १८ गते खोटाङ जिल्ला पुग्यो । खोटाङको हलेसीमा कोणसभा, पर्चा वितरण र जन भेटघाट कार्यक्रम सकेर हामी खोटाङको सदरमुकाम दिक्तेल बजार गयौं । दिक्तेल बजारमा क. केबी फुयाँलसँग उहाँकै निवासमा भेट भयो । वि.सं. २०६३ सालमा मैले नेतृत्व गरेको नेकपा (एकताकेन्द्र–मसाल) महाधिवेशन आयोजक समिति, क. ऋषि कट्टेलले नेतृत्व गरेको नेकपा (माले) र क. सीताराम तामाङले नेतृत्व गरेको नेकपा (मालेमा) को बीचमा एकता भई नेकपा (एकीकृत) बनाउँदा उहाँ केन्द्रीय सदस्य हुनुहुन्थ्यो । म अध्यक्ष मण्डलको संयोजक थिएँ । उहाँ ०४८ सालमा नेकपा (माले) को प्रतिनिधिसभा सदस्य पनि हुनुभएको थियो । यसरी हामी एउटै पार्टीको एउटै समिति केन्द्रीय समितिमा रहेर लामो समयसम्म काम गरियो । उहाँले खोटाङ जिल्ला हेर्नु हुन्थ्यो । बैठकमा उहाँ तर्क सहित आफ्ना कुराहरु राख्नुहुन्थ्यो । विभिन्न कारणवश तत्कालीन नेकपा (एकीकृत) मा फुट भयो र हामी अलग अलग पार्टीमा सक्रिय भइयो । अहिले उहाँ माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत (समाजवादी) पार्टीमा कार्यरत हुनुहुँदो रहेछ । अहिले उहाँले वकिल पेशा अपनाउनु भएको रहेछ । लामो समय पछि भेट भएको हुँदा व्यक्तिगत सन्चो विसन्चो र समसामयिक राजनीतिको विषयमा कुराकानी गरियो । मैले हाम्रो राष्ट्रिय एकता महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदन र विधान दिएँ । उहाँले हाम्रो अभियानलाई सफलताको शुभकामाना दिनुभयो । चिया नास्ता गरेर हामी विदा भयौं ।
४) रोशन जनकपुरी

हाम्रो अभियान टीम वि.सं. २०८१ साल चैत्र २२ गते धनुषा जिल्ला प्रवेश ग¥यो । २३ गते विहान जनकपुर बजारमा क. रोशन जनकपुरीसँग उहाँकै निवासमा भेट हुने अवसर मिल्यो । क. रोशन जनकपुरीसँग मेरो पहिलो भेटघाट नेकपा (एकीकृत) र नेकपा माओवादी बीच एकता भएर नेकपा (क्रान्तिकारी माओवादी) बनेपछि केन्द्रीय समितिको बैठकमा भएको थियो ।
एउटा केन्द्रीय समितिको बैठकमा प्रचण्डको पार्टीसँग पार्टी एकता गर्ने कि नगर्ने भन्ने विषयमा व्यापक बहस चल्यो । त्यो बहसमा उहाँको प्रस्तुति र तर्कहरु सुनेर म उहाँसँग निकै प्रभावित भएको थिएँ । उहाँले प्रचण्डको पार्टीसँग अहिलेको स्थितिमा पार्टी एकता गर्नु हुन्न भनेर बहस गर्नु भएको थियो । तर रामबहादुर थापा (बादल) को नेतृत्वमा पार्टीको ठूलो हिस्सा प्रचण्डको पार्टीमा
गयो । हामीले पार्टीको राष्ट्रिय भेला गरेर पार्टीको पुनर्गठन ग¥यौं । हामीले नेकपा (क्रान्तिकारी माओवादी) लाई नै अगाडि बढायौं । उहाँ केन्द्रीय सदस्य नै हुनुहुन्थ्यो । तर पछि के भयो उहाँले हाम्रो पार्टीबाट राजीनामा दिनुभयो । अहिलेसम्म उहाँ कुनै पार्टीमा नलागेर स्वतन्त्र नै रहनु भएको रहेछ । कम्युनिस्ट आन्दोलन र क्रान्तिप्रति उहाँको आस्था र विश्वास अझै पनि यथावत रहेछ । उहाँले भेटघाटमा कैयौं महत्वपूर्ण सुझावहरु पनि दिनुभयो । देशको राजनीतिक परिस्थिति र कम्युनिस्ट आन्दोलनको विषयमा लामो कुराकानीहरु भए । चिया पिएर हामी विदा भयौं ।
५) क. दीपक चौधरी
२०८२ वैशाख ७ गतेका दिन हाम्रो अभियान टीम बारा जिल्लाबाट पर्सा जिल्ला तर्फ जाने क्रममा बारा जिल्लाको बदाफर गाउँमा क. दीपक चौधरीसँग उहाँकै निवासमा भेट भयो । धेरै पहिले नेकपा (मसाल) मा हुँदा संगठनको कामको सिलसिलामा उहाँसँग भेटघाट भई रहन्थ्यो । हामीले नेकपा (एकताकेन्द्र–मसाल) बाट विद्रोह गरेर नेकपा (एकीकृत) बनाएपछि उहाँसँग भेटघाट भएको थिएन । अहिले एकीकरणको प्रक्रियामा हामी एउटै पार्टीमा रहेछौं । उहाँ विरामी हुनुहुँदोरहेछ। उहाँ तल्लो हर दुवै खुट्टाले राम्रोसँग काम नगर्ने रहेछ । तर उहाँमा उत्साह उच्चस्तरको पाइयो विस्तारै सन्चो हुँदै गएको छ ठीक भएपछि पार्टीमा सक्रिय भएर काम गर्ने हो भन्नुभयो । संयोगले भनौं हामी जाने बाटो उहाँकै घरको बाटो परेछ । सम्झाई दिएर भेट गराई दिनु भएकोमा क. ईश्वर ढुंगेललाई धन्यवाद ।
