स्मृतिका कुइनेटामा हिरामणि दुःखी

स्मृतिका कुइनेटामा हिरामणि दुःखी

समीक्षा

‘स्मृतिका कुइनेटा’ हिरामणि दुःखीको संस्मरण र रिपोर्ताजहरुको सङ्ग्रह हो । २०५२ सालमा नेकपा माओवादीले सुरु गरेको जनयुद्धका बेला युद्धमा प्रत्यक्ष रहेर लेखकले भोगेका युद्धकालीन घटनाहरु र त्यसका अनुभवहरुलाई संस्मरण र रिपोर्ताजका रुपमा यस सङ्ग्रहमा समावेश गरिएको छ ।

हिरामणि दुःखी नेपाली प्रगतिवादी साहित्यका फाँटमा एक सुपरिचित नाम हो । उनको लेखनको मूल स्वर समाजवादी यथार्थवाद हो । र, उनले आफ्नो लेखनमा माक्र्सवादी विचार र दर्शनलाई आत्मसात् गरेको पाइन्छ । २०६१ सालमा ‘परिभाषा’ कवितासङ्ग्रह लिएर कृतिकारका रुपमा देखिएका उनका हालसम्म ‘जुन पस्किने यात्रामा’ (कवितासङ्ग्रह–२०६५), ‘युद्धका कथाहरु’ (कथासङ्ग्रह–२०६९), ‘स्मृतिका कुइनेटा’ (संस्मरणसङ्ग्रह–२०७०) र ‘हेडक्वाटर’ (कथासङ्ग्रह– २०८२) प्रकाशित रहेका छन् । यहाँ समीक्ष्य कृति ‘स्मृतिको कुइनेटा’ उनको चौथो प्रकाशित र पहिलो संस्मरणसङ्ग्रह हो । यस कृतिलाई २०७० सालमा शमी सम प्रकाशन गृहले प्रकाशनमा ल्याएको छ ।

‘स्मृतिका कुइनेटा’ संस्मरण सङ्ग्रहभित्र विभिन्न समयमा लेखिएका २७ ओटा संस्मरणहरु सङ्गृहीत छन् । यी संस्मरणहरु जनयुद्धका भीषण आँधीमय दिनहरुमा लेखिएका संस्मरणहरु हुन् र लेखकसँग अविस्मरणीय रुपमा रहेका जनयुद्धका घटनाहरुलाई अनुभव गरेका इतिहासको दस्तावेज पनि हुन् ।

‘राजनीतिको यात्रामा जे–जे देखियो, त्यो सबै भोगियो । जे–जे भोगियो त्यसलाई लिपिमा उतार्ने प्रयास गरियो । फलस्वरुप यो कृति तयार भयो । तसर्थ यो कृतिमा सङ्गृहीत सबै रचनाहरु जीवन भोगाइका शब्दचित्रहरु नै हुन् । यस कृतिमा स्मृतिका कुराहरु मात्र छैनन् । यहाँ एउटा पत्रकारको कलम पनि छ । अर्थात घटनाका रिपोर्टहरु पनि छन् ।’ यी शब्दहरु कृतिबारे लेखकको आत्मस्वीकृति हो । त्यसैले पनि यो कृतिलाई लेखक आफैले संस्मरण र रिपोर्ताजहरुको सङ्ग्रह भनेका छन् ।
‘त्यहाँ यथार्थ छ । तथ्यहरु छन् । पात्रहरु छन् । प्रवृतिहरु पनि छन् । समाज छ, राष्ट्र छ र राष्ट्रियता छ । त्यसका साथमा नेकपा माओवादीद्वारा सञ्चालित महान् जनयुुद्ध छ । जनयुद्धले निर्माण गरेका विशाल मञ्जिलहरु छन्, भव्यतम गाथाहरु छन् । सुन्दर सपना र आदर्शहरु छन् । जनयुद्धले सिर्जना गरेका नयाँ संस्कार, संस्कृति, आदर्श, उदात्तता, बलिदानी, त्याग र वीरताका कीर्तिमान्हरु छन् । तिनै विषयहरुलाई एउटा कलमजीवीले कसरी अनुभूत ग¥यो, त्यही कुराको लेखोट हो – स्मृतिका कुइनेटा ।’ यी लेखकले पाठकसँग संवाद गरेका शब्दहरु हुन् ।

‘जुँगाथापाचौरमा उभिएर’ यस सङ्ग्रहमा रहेको पहिलो संस्मरण हो । यस संस्मरणमा लेखकले जाजरकोट जिल्लाको जुँगाथापाचौरमा २०६० साल माघ ५ गते जनयुद्ध लडिरहेका विद्रोही माओवादीको भेरी–कर्णाली स्वायत्त प्रादेशिक जनसरकारको घोषणासभा कार्यक्रमको विषयलाई रिपोर्ताज शैलीमा प्रस्तुत गरिएको छ । घोषणासभामा आएका जनतामाथि नाहाला डाँडामा शाही सेनाबाट हवाईफायर हुँदा जयबहादुर चलाउनेको सहादत भएको घटनालाई लेखकले यहाँ स्मरण गरेका छन् ।

‘ध्वंस र निर्माणमा संस्कृति’ दोस्रो संस्मरण हो । यो संस्मरण पहिलो संस्मरणको निरन्तरताको रुपमा रहेको देखिन्छ । जुँगाथापाचौरको कार्यक्रम सकेर लेखक जाजरकोटकै दल्लीमा आइपुग्छन् । जनयुद्धको नवौं वर्ष प्रवेशको दिन अर्थात फागुन १ गतेलाई उत्सवको रुपमा मनाउन जाजरकोटी जनताहरुले दल्लीमा सुरुवात गरेको जनवादी मेलामा सहभागी हुन लेखक पुग्छन् । ग्रामीण वर्गसङ्घर्षले ध्वस्त गरेको पुरानो सत्ता र नयाँ जनवादी सत्ता र संस्कृतिमा जुटिरहेका जनताहरुको सहभागिताले लेखकलाई निकै उत्साहित बनाउँछ र लेखकले यस्ता जनवादी मेलाहरुले हाम्रो लोकसंस्कृति, कला आदिको जनवादीकरण भइरहेको र नयाँनयाँ सिर्जनाहरु उजागर भएको अनुभूत गर्छन् ।

‘जहाँ बालकहरु अन्तर्राष्ट्रिय गीत गाउँछन्’ जाजरकोटको भूगोलसँग जोडिएको अर्को संस्मरण हो । माओवादी जनयुद्धको आधार इलाकाको रुपमा रहेको जाजरकोटको लालकुञ्ज बजारमा सञ्चालित ‘जुनी कम्युन स्कुल’ र ‘बाल संरक्षण केन्द्र’ जनवादी अभ्यासको सुरुवात हो जहाँ माओवादी पार्टी कार्यकर्ताका साना बालबच्चाहरुलाई पढाइन्छ । यी भवनहरु रहेको जमिन माओवादी पार्टीको एकजना स्थानीय कार्यकर्ताले दिएको हो । यो संस्मरण २०६० चैत्र ३ गते जनादेश साप्ताहिक पत्रिकामा प्रकाशित रहेको छ । संस्मरण पढ्दै जाँदा लेखक दुःखीले उतिबेला पार्टी नेतृत्वप्रति गरेको आकलनले नेताहरुको कार्यशैली, चरित्र र व्यवहार कस्तो थियो भन्ने अहिलेको समयमा देखिएको उनीहरुको जीवनशैली र व्यवहारबाट देख्न र बुझ्न सकिन्छ । लेखक दुःखीले लेखेका छन् –‘भोलिका दिनमा पार्टीले क्रान्तिलाई कुन बाटोमा लैजान्छ, थाहा छैन । विदेशी भूमिमा सान र सौकातमा जीवन बिताएर युद्धका रणनीति र कार्यनीति कोरिरहेका मुख्य तहका नेताहरुको भूमिका कस्तो हुन्छ, त्यो पनि यसै भन्न सकिँदैन ।’

साँच्चिकै हिजो जनयुद्धलाई नेतृत्व गरेर हिँड्नेहरुको आजको व्यवहारले धेरैलाई यो तिक्तता र विषादले छोएको छ ।
देशमा जनयुद्ध घनिभूत चलिरहेको बेला लेखक र उहाँकी जीवन सङ्गिनी देवा शर्मा भारतको कानपुरबाट नेपाल आएका छन् । र, वर्गसङ्घर्ष तीब्र बनिरहेको ग्रामीण क्षेत्रहरुमा पत्रकारिताको सिलसिलामा जनयुद्धमा प्रत्यक्ष सहभागी बनेका छन् । त्यसैले पनि यी संस्मरणहरुमा युद्धको प्रत्यक्षता र घटनाहरुको अनुभवको तीब्रता देखिन्छ । संस्मरण पढिरहँदा पाठकले घटनालाई प्रत्यक्षदर्शीका रुपमा नजिकबाट अनुभूति गर्छन् । संस्मरणहरु पढ्दै जाँदा कतिपय घटनाहरुले पाठकहरुलाई आङ जिरिङ्ग हुने अवस्थाहरु पनि सिर्जना गर्छन् ।

समयावधिका हिसाबले यी संस्मरणहरु २०६३ अघि र पछि लेखिएका देखिन्छन् । २०६० सालमा जनादेश लगायतका पत्रिकाहरुमा प्रकाशित संस्मरणहरुले लेखक स्वयम् जनयुद्धमा सहभागी योद्धा हुन् भन्ने बुझ्न सकिन्छ । ‘जुँगाथापाचौरमा उभिएर’, ‘ध्वंश र निर्माणमा संस्कृति’, ‘जहाँ बालकहरु अन्तर्राष्ट्रिय गीत गाउँछन्’, ‘सहिद परिवारको परिचय दिन गर्व गर्ने गाउँ’, ‘बुबाको हत्याको बदला लिन लड्दैछन् आधार र इलाका’, ‘जनताको ढुकढुकी जनगणतन्त्र रेडियो’, ‘बम खसिरहे, कलमहरु अघि बढिरहे’, ‘स्मृतिपटलमा दस वर्षे यात्रा’, ‘रुमाललाई बम बनाउँदा’, ‘आस्थाको धरोहर क. सुनिल’ र ‘बाघको गुफामा एक रात’ संस्मरणहरुले दश वर्षको जनयुद्धको समयलाई प्रतिबिम्बन गर्छन् । यी संस्मरणहरुमा लेखकले जनयुद्धका थुप्रै घटना, परिघटनाहरुलाई उल्लेख गरेका छन् ।

२०६३ सालको जनआन्दोलन, शान्ति प्रक्रिया र १२ बुँदे सम्झौताबाट राजतन्त्रलाई विस्थापन गरेर गणतन्त्रलाई स्थापना गरिसकेपछि मुलुकले एउटा नयाँ राजनीतिक दिशा प्राप्त ग¥यो । संविधानसभाले नयाँ संविधान लेख्यो । दश वर्ष जनयुद्ध लडेर आएको माओवादी पार्टीले चुनावमा बहुमत प्राप्त ग¥यो र सरकार गठन ग¥यो । तर पार्टी सांस्कृतिक रुपमा फेरिन नसकेको र विचारको सङ्घर्ष चलिरहेको, सरकारले अपेक्षाकृत जनताका समस्याहरु हल गर्न नसकिरहेको, पार्टीका नेताहरुको व्यवहारहरु स्खलन हुँदै गएको यथार्थलाई लेखकले ‘सांस्कृतिक सचेतना अभियान’मा लेख्छन् – ‘नेपालमा जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियापछि भएका वार्ता, कुटनीतिक प्रयास र जनदबाबद्वारा देशमा एउटा युगको समाप्ति भएर अर्को युगको सुरुवात त भएको छ तर सामन्तवाद एवम् सांस्कृतिक रुपले पुरानो सत्ता, वर्ग र चिन्तनधारा यथावत् छ ।’

‘मुसिकोटको यात्राः यमपुरीको चिट्ठा’ २०६४ जेठ २० गते नौलो जनउभारमा प्रकाशित यात्रा संस्मरण हो । यस संस्मरणले रुकुम जिल्लाको सदरमुकाम मुसिकोटको ग्रामीण सडकको दुरावस्था र स्थानीयहरुले झेल्दै आइरहेको यातायातको समस्यालाई प्रस्तुत गरेको छ । ‘आस्थाको धरोहर क. सुनिल’ संस्मरणमा लेखकले जनयुद्धका सहकर्मी सुनिललाई युद्धमा गुमाउनु पर्दाको क्षणलाई स्मरण गरेका छन् । ‘जिरीको ऐतिहासिक यात्रा’ र ‘गुल्जार भूमि फेरियो मरुभूमिमा’ लेखकका यात्रा संस्मरणहरु हुन् । यी दुई संस्मरणमा लेखकले सांस्कृतिक मोर्चाका आफ्ना साथीहरुसँगको साहित्यिक यात्रालाई प्रस्तुत गरेका छन् ।

‘सांस्कृतिक सचेतना अभियान’, ‘च्याङ्लीको गाईफर्म र पन्तसँगको चार घण्टा’, ‘जिरीको ऐतिहासिक यात्रा’, ‘गुलजार भूमि फेरियो मरुभूमिमा’, ‘सन्धिखर्क यात्राको दुःखद समाचार’, जनउभारका एघारौं पाइला’, ‘सभासद् दुर्गा विकको घर’, ‘आफ्नै भुमि बिरानो लाग्यो’, ‘इच्छुक दाइसँग एकालाप’, ‘पालुङटारबाट फर्किएपछि’, ‘उद्घाटनको रात’, ‘तिन लालको भूमिबाट फर्केपछि’, ‘बुर्जुवा हेडक्वार्टरमाथि धावा बोल्यौं’’ लेखकले २०६३ सालपछि लेखेका संस्मरणहरु हुन् ।

‘पालुङटारबाट फर्केपछि’, ‘उद्घाटनको रात’ र ‘बुजुवा हेडक्वार्टरमाथि धावा बोल्यौं’ संस्मरणमा लेखकले आफू सम्बद्ध रहेको माओवादी पार्टी संशोधनवादी बन्दै गइरहेको र हिजो दश वर्ष जनयुद्ध लडेर क्रान्तिकारी पार्टीको रुपमा जनतामा स्थापित बनेको पार्टी आज क्रान्ति विमुख भएर जनविरोधी बन्दै गइरहेकोप्रति चर्को असहमति र विद्रोह भाव प्रस्तुत गरेका छन् ।
यहाँ लेखक असहमति मात्र राख्दैनन्, आफ्नो नेताहरुप्रति आक्रोश पनि व्यक्त गर्छन्– ‘जनयुद्धमा हामीले कति उपलब्धि हासिल ग¥यौं, कति क्षति बेहो¥यौं । सफलताहरु के भए, असफलताहरु के रहे त्यो त लेखाजोखा गर्दै जाउँला ।’ (बुर्जुवा हेडक्वार्टरमाथि धावा बोल्यौं)

निस्कर्षमा ‘स्मृतिका कुइनेटा’ मा लेखक हिरामणि दुःखीले आफ्ना संस्मरणहरुमार्फत् दश वर्षको जनयुद्धलाई समग्रमा प्रस्तुत गर्न खोजेका छन् । यस संस्मरणसङ्ग्रहले विभिन्न २७ ओटा शीर्षकमा जनयुद्धको विविध पक्षलाई समेटेको छ । लेखक स्वयम् पनि जनयुद्धको नेतृत्व गरिरहेको माओवादी पार्टीको नेतृत्व तहमा रहेर पार्टीभित्र रहेको संशोधनवादका विरुद्ध दुई लाइन सङ्घर्षमा क्रान्तिकारी धारको पक्षमा देखिन्छन् । यी संस्मरणहरुले संस्मरणकार हिरामणि दुःखीलाई स्पष्ट रुपमा एक वैचारिक र क्रान्तिकारी पक्षधर लेखकका रुपमा बुझ्न सकिन्छ ।
आँबुखैरेनी, तनहुँ