कमरेडहरु,
देशको अहिलेको विशिष्ट परिस्थितिमा पार्टीको पोलिटब्यूरोको दोस्रो पूर्ण बैठक हुन गइरहेको छ । हामी गत २०८१ साल चैत्र ४ देखि वैशाख १८ सम्म चलेको पार्टीको के. स. को निर्णय अनुसार डेढ महिने अभियान सञ्चालन गरेर त्यसको अनुभव सहित यस बैठकमा उपस्थित भएका छौं । यो बैठकका सामु गहन जिम्मेवारी रहेको छ । परिस्थितिले सुम्पेको चुनौतीलाई एकताबद्ध रुपमा सामना गर्नका लागि उपस्थित सबै कमरेडहरुलाई जिम्मेवारी पूर्वक प्रस्तुत हुन विशेष अनुरोध गर्दछुु ।
अन्तर्राष्ट्रिय परिस्थिति
१. इजरायल र हमासका बीचको युद्ध धेरै घातक रहेको छ । हमासको अचानक आक्रमणमा परेर करिब १५ सय इजरायलीहरु मारिएपछिको कथित प्रत्याक्रमणबाट आजसम्म करिब ५५ हजार प्यालेस्तिनी जनता मारिएका छन् । अहिले पनि प्यालेस्तिनीहरुको हत्याको शृंखला जारी छ । हाल गाजा क्षेत्रमा अमेरिकी साम्राज्यवादको कठपुतली इजरायली सरकारले लगाएको खाद्यान्नको नाकाबन्दीका कारण प्यालेस्तिनी जनतामात्र होइन अबोध वालवालिका समेत कुपोषणका कारण मृत्युको मुखमा धकेलिइरहेका छन् । हाम्रो पार्टी प्यालेस्तिनी जनताले चलाएको न्यायपूर्ण संघर्षमा ऐक्यबद्धता प्रस्तुत गर्दै इजरायली सरकारले गरेको प्यालेस्तिनी जनताको नरसंहार र गाजा क्षेत्रमा गरिएको नाकाबन्दीको विरोध गर्दछ ।
२. राष्ट्रपतिको पहिलो कार्यकालमा अमेरिकामा शरण लिई बसेका शरणार्थीहरूको आम निष्कासन गर्ने धम्कीबाट लाखौं मानिसहरूलाई तर्साइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक राष्ट्रपति बनेपछि चीनलाई मात्र होइन आफ्नै मित्र राष्ट्रहरुलाई पनि ट्यारिफ (भन्सारकर) मा अत्यधिक वृद्धि गरेर आतङ्कित पारेका छन् । ट्रम्पले चीनलाई १४५ प्रतिशत ट्यारिफ बढाउने निर्णय गरेकोमा चीनले पनि त्यसको प्रतिक्रिया स्वरुप अमेरिकी सामानमाथि ११५ प्रतिशत ट्यारिफ लगाएर त्यसको जवाफ दिएको छ । अहिलेसम्म अमेरिकी खेमामा उभिँदै आएको क्यानडालाई उनले अमेरिकाको ५१ औं राज्य बनाउने, ग्रीनल्याण्ड कब्जा गर्ने र पनामा नहरमा अमेरिकी वर्चश्व कायम गर्ने कसरत गरिरहेका छन् । यसबाट विश्वका थुप्रै देशहरु अमेरिकी दादागिरीका विरुद्ध ध्रुवीकृत हुन थालेका छन् ।
अमेरिका र चीनका बीचमा व्यापार युद्ध उत्कर्षतिर गइरहेको छ । यो व्यापार युद्धलाई कम गर्न जेनेभामा सम्पन्न दुई देशका प्रतिनिधिहरूका बीचको वार्तापछि जारी विज्ञप्तिमा जनाइए अनुसार दुई देशबीच सहमति हुने संभावना बढेको छ । तर, विद्यमान वैश्विक संकट र शक्ति सन्तुलनका कारण पैदा भएको यो सहमतिको क्षणिक संभावना टरेर अन्ततः दुई देशबीच युद्ध विष्फोट हुने र त्यसले विश्वयुद्धको रुपलिने खतरा अहिले पनि समाप्त भएको छैन, बरु बढेर गएको छ । क्रान्तिले युद्ध रोक्छ वा युद्धले क्रान्ति जन्माउँछ, त्यसैले क्रान्ति नै अहिलेको मूल प्रवृत्ति हो भन्ने माओको भनाइको मर्मलाई पक्डेर हामी क्रान्तिकारीहरूले आफ्नै शक्तिको निर्माण गरी क्रान्तिको तयारी गर्नु अहिलेको अनिवार्य आवश्यकता हो ।
३. यसभन्दा पहिले दुईपटक ठुलो युद्ध लडेका भारत र पाकिस्तान यसपटक पनि आमने–सामने भएका छन् । गत वैशाख १० गते भारत शासित जम्मु–काश्मिर प्रान्तको पहलगाममा अपरिचित बन्दुकधारीहरूले अन्धाधुन्द गोली चलाउँदा एकजना नेपाली सहित २६ जनाको ज्यान गयो । त्यसपछि भारतले “आतंककारी”हरूको अखडालाई ध्वस्त पार्ने भन्ने नाममा “अपरेसन सिन्दुर” सञ्चालन गरेर पाकिस्तानका ९ ठाउँमा मिसाइल र ड्रोन हमला गर्दा करिब ३ दर्जन निर्दोष व्यक्तिहरू मारिएका छन् । पहलगाम घटना निन्दनीय छ, त्यसमा कुनै शंका छैन । त्यसको अन्तर्राष्ट्रिय स्तरमा छानबीन गरी दोषीमाथि कार्वाही गर्नु पर्दछ । तर, बिना प्रमाण त्यो घटना पाकिस्तानीहरुले गराएको हो भन्ने निहुँ बनाएर भारत सरकारले पाकिस्तान माथि गरेको सैन्य आक्रमण भारतीय विस्तारवादको दादागिरि हो । अर्कोतिर, पाकिस्तानी आक्रमणबाट भारत तर्फ पनि ठुलो क्षति भएको छ । भारत–पाकिस्तान युद्धका सन्दर्भमा ओली नेतृत्वको सरकारले “आतंकवाद”को विरोधको नाममा पाकिस्तान माथि गरेको आक्रमणको ठाडो समर्थन गर्नु कूटनीतिक अदुरदर्शिता मात्र होइन, भारत सरकारको चाकडी हो । हामीले मोदी सरकारको दादागिरि र ओली सरकारको चाकडी, यी दुुवै गलत प्रवृत्तिको विरोध गर्नु पर्दछ ।
४. यतिबेला विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्था भएर गुज्रिरहेको छ । क्रियाशील माओवादी पार्टीहरु पनि एकताबद्ध छैनन् । फिलिपिन्स र भारतमा जनयुद्ध चलिरहेको छ, तर तिनले पनि अपेक्षित सफलता प्राप्त गर्न सकिरहेका छैनन् । हाम्रो पार्टीको पीबी बैठक चलिरहेको बेला भाकपा (माओवादी) का महासचिव क. बसवराज लगायत २८ जना क्रान्तिकारीहरुको हत्याले भारतको कम्युनिस्ट आन्दोलनमा यतिबेला गम्भीर धक्का लागेको छ । यस पटकको मई दिवसमा मुख्यतः ल्याटिन अमेरिका केन्द्रित कम्युनिस्ट पार्टीहरुले अन्तराष्ट्रिय कम्युनिस्ट लिगको नामबाट एउटा र हाम्रो पार्टी तथा भाकपा (माओवादी) लगायतका १४ पार्टीहरुबाट अर्को गरी दुईओटा वक्तव्य जारी भएका छन् । हाम्रो पार्टीले मैत्रीपूर्ण विचारधारात्मक तथा राजनीतिक संघर्ष चलाएर माओवादीहरुको एउटै अन्तर्र्रािष्ट्रय केन्द्र निर्माणका लागि पहल बढाउनु पर्दछ ।
हाम्रो पार्टीको रणनीतिक संयुक्त मोर्चा, क्रान्तिकारी संयुक्त मोर्चा नेपाल, सहभागी भएको अन्तर्राष्ट्रिय क्रान्तिकारी पार्टी तथा संगठनहरुको समन्वय अर्थात् आइकोर साम्राज्यवाद विरोधी अन्तर्राष्ट्रिय मोर्चाका हिसावले क्रियाशील रहिआएको छ । यस मोर्चा मार्फत् हाम्रो पार्टीले मित्र पार्टीहसँँग सम्बन्ध विस्तारगरी न्यायपूर्ण संघर्षका पक्षमा आवाज उठाउन र नेपाली क्रान्तिका निमित्त जनमत निर्माण गर्न विशेष पहल गर्न जरुरी छ ।
राष्ट्रिय परिस्थिति
१. नेपालमा २४० वर्षदेखि शासन सम्हाल्दै आएको निरंकुश राजतन्त्रलाई दश वर्षको महान् जनयुद्धको जगमा खडा भएको ०६२÷६३को जनआन्दोलन पछि निर्वाचित संविधानसभाको प्रथम बैठकको झन्डै शतप्रतिशत मतद्वारा खारेज गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको थियो । लोकतान्त्रिक गणतन्त्र राजतन्त्रात्मक शासन प्रणाली भन्दा एक कदम प्रगतिशील भए पनि यो अन्ततः बुर्जुवा अधिनायकत्वमा आधारित प्रतिक्रियावादी व्यवस्था नै हो । यो व्यवस्था अन्तर्गत एउटा सीमासम्म जनवादी अधिकार प्रयोग गर्न पाइने भए पनि यसबाट देशको राष्ट्रिय स्वाधीनताको रक्षा र जनतन्त्र तथा जनजीविकाका समस्याको समाधान हुन सक्दैन ।
नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि संसदवादी पार्टीका नेताहरुले गरेका राष्ट्रघात सहित भ्रष्टाचार, तस्करी, मानव बेचबिखन, मिटरब्याज, सहकारी ठगी, सुदखोरी, महंगी, घडेरी जग्गा अवैध बिक्री जस्ता अनेकौं जनविरोधी कर्तुतबाट पीडित जनतामा उत्पन्न भएको व्यवस्था विरोधी आक्रोश, निराशा र राजनीतिक नेतृत्वप्रतिको घृणालाई भजाएर प्रतिगामी शक्तिहरुले यो लोकतान्त्रिक गणतन्त्रलाई पल्टाउने र राजतन्त्रलाई फर्काउने दाउ हेरिरहेका छन् । लोकतान्त्रिक गणतन्त्रका ठाउँमा राजतन्त्र ल्याउनु भनेको इतिहासलाई पछाडि धकेल्ने कुरा हो । यसमा घोषित राजावादीहरु मात्र होइन एमाले, नेका, लगायतका संसदवादी पार्टीका कतिपय नेताहरु पनि राजतन्त्रको पक्षमा देखिन्छन् । यसका पछाडि भारतीय हिन्दु अतिवादीहरुको सहयोग रहेको छ । राजावादीहरुको ¥यालीमा प्रदर्शित योगी आदित्यनाथको फोटोले यही पुष्टि गर्दछ ।
प्रतिगमन विद्यमान समस्याको समाधान हुन सक्दैन । लोकतान्त्रिक गणतन्त्रको विकल्प पश्चगमन होइन, अग्रगमन हो । यथास्थितिवादी धारको विरोध र पश्चगामी धारका विरुद्धको आन्दोलनलाई संगठित गर्दै हामीले संघीय जनगणतन्त्रको स्थापनामा जोड दिनुपर्दछ । बुर्जुवा अधिनायकत्व होइन जनताको जनवादी अधिनायकत्वमा आधारित संघीय जनगणतन्त्र अन्तर्गत मात्र दलाल, नोकरशाही पुँजीपति र बचेखुचेको सामन्तवर्गका विरुद्ध जनताको हक अधिकार सुनिश्चित हुन सक्दछ ।
यतिबेला देशमा तीन थरी राजनीतिक धार क्रियाशील रहेका छन् । ती हुन् ः अग्रगामी धार, यथास्थितिवादी धार र पश्चगामी धार । पहिलोमा हाम्रो पार्टी लगायत केही क्रान्तिकारी संगठन तथा व्यक्तित्वहरु, दोस्रोमा नेका, एमाले, माके लगायत संसदवादी पार्टीहरु र तेस्रोमा राप्रपा लगायत केही व्यक्तिहरु पर्दछन् । हामीले नेपालको राजनीतिक बहसमा अग्रगामी धारलाई स्थापित गरी क्रान्तिकारी आन्दोलनको विकासमा जोड लगाउनु पर्दछ ।
२. ओली नेतृत्वको एमाले–नेका गठबन्धन सरकारले यस बीचमा थुप्रै राष्ट्रघाती र जनघाती कामहरु गरेको छ । भूमि बैंकको स्थापना र नौ ओटा राष्ट्रिय उद्योगहरुको निजीकरण गर्ने निर्णय ती राष्ट्रिय सम्पदालाई विदेशीको हातमा सुम्पने प्रपञ्च हो । विद्युत प्राधिकरणबाट कुलमानलाई हटाएर साम्राज्यवादको दलाल हितेन्द्रदेव शाक्यलाई ल्याउनुु प्रधिकरणलाई घाटामा गएको देखाएर निजीकरणका लागि आधार तयार पार्ने बाहेक अरु केही होइन । हाम्रो पार्टी सरकारका यी राष्ट्रघाती र जनघाती कामका विरुद्ध अग्रपंक्तिमा उभिनु पर्दछ ।
३. संसदमा पहिलो र दोस्रो सिट ल्याएका नेपाली कांग्रेस र नेकपा एमाले हिजो संविधान संशोधनको नारा लिएर गठबन्धन सरकार गठन गर्न सहमत भएका हुन् । यहाँनेर बुझ्नु पर्ने कुरा के हो भने उनीहरुले देश र जनताका समस्या समाधान गर्नका लागि संविधान संशोधनको एजेण्डा उठाएका होइनन् । संविधान संशोधनको उनीहरुको नाराभित्र लोकतान्त्रिक गणतन्त्र अन्तर्गत प्राप्त नागरिकका सिमित मौलिक अधिकार पनि खोस्ने उनीहरुको उद्देश्य रहेको छ । उनीहरु लोकतान्त्रिक गणतन्त्रलाई आलोचना भन्दा माथि राख्ने र त्यसको विरोधगर्न नपाइने गरी संविधान संशोधन गर्न चाहन्छन् । यो फासीवादीे सोंचको परिणाम हो । सरकारले संविधान संशोधनको एजेण्डालाई अगाडि सारेको स्थितिमा हाम्रो पार्टीले यस प्रकारको फासीवादी रवैयाको विरोध गर्दै वर्तमान संविधानको संशोधन होइन, त्यसको पूर्ण खारेजी र संघीय जनगणतन्त्रात्मक संविधानको पक्षमा आवाज बुलन्द गर्नु पर्दछ । यसका लागि हामी परिस्थिति अनुसार कहिले एकल त कहिले सापेक्ष रुपमा समान विचार राख्ने क्रान्तिकारी, वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनवादी शक्तिहरुसँग कार्यगत एकता अथवा संयुक्त मोर्चा निर्माण गरेर आन्दोलनको विकासका लागि खुला रहनु पर्दछ ।
जनसम्बन्ध विस्तार अभियान
हाम्रो पार्टीले गत केन्द्रीय समितिको बैठकमा डेढ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । पार्टी र जनताका बीचको माछा र पानीको जस्तो सम्बन्धलाई पुनस्थापित गर्नु, महाधिवेशनको कार्यदिशालाई जनतासम्म पु¥याउनु, केन्द्र, ब्यूरो र जिल्ला स्तरीय टोलीहरु निर्माण गरी आम पार्टी पंक्तिलाई परिचालित गर्नु, संगठन निर्माण गर्नु, आगामी संघर्षका योजनाहरुलाई मूर्त गर्न ग्रामीण जनताका समस्याहरुको पहिचान गर्नु, संशोधनवादको भण्डाफोर गरी माक्र्सवादलाई स्थापित गर्नु आदि यसका घोषित उद्देश्य रहेका थिए ।
केन्द्रीय टोलीमा तोकिएको संख्यामा टोली सदस्यहरुको सहभागिता हुन सकेन । संख्या कम भए पनि चारओटै टोलीले योजना अनुसार नै निश्चित गरिएका इलाकाहरुमा आफ्ना कार्यक्रमहरु सम्पन्न गरे । चारओटै टिमबाट यो अभियान भरि ४ लाख भन्दा बढी पर्चा वितरण, ५ हजार भन्दा बढी भित्तेलेखन, १ हजार भन्दा बढी कोणसभा, करिब ५० ओटा पत्रकार भेटघाट, करिब २५ ओटा अन्तरक्रिया, ३०० को हाराहारीमा सहिद तथा बेपत्ता परिवार भेटघाट, ४० ठाउँमा जनश्रम लगायतका काम सम्पन्न भए । यो अभियान कहीँ र कहीँ थोरै दिन गरी ६० ओटा जिल्लामा सन्चालन भएको छ ।
यो अभियानको सबैभन्दा कमजोर पक्ष भनेको पुुरा पार्टी पंक्ति योजनाबद्ध ढंगले परिचालित नहुनु हो । जिल्ला सदस्य र ब्यूरो सदस्यहरु मात्र होइन उल्लेख्य संख्यामा पार्टीका केन्द्रीय समितिका सदस्यहरु पनि अभियानमा सहभागी भएनन् । केही ब्युरोहरुले मात्र कार्यक्रम बनाएर अभियान चलाए । जिल्ला स्तरीय अभियान प्रायः चलेनन् । अभियानमा जति सहभागी भए ती मध्ये अधिकांश स्वतस्फूर्त रुपमा भए, कमिटीबद्ध रुपमा भएनन् ।
उपरोक्त सीमा कमजोरीका बावजुद यो अभियानले पार्टीलाई जनताका बीचमा स्थापित गरेको छ, यसबाट जनताको एउटा हिस्सामा पार्टीको कार्यदिशाको प्रचार भएको छ, पार्टीको नेतृत्व पंक्तिलाई पार्टी संगठनको यथार्थ स्थितिको जानकारी भएको छ, संगठन निर्माण र संघर्षको उठानका लागि आधार तयार भएको छ र सारमा यो अभियान आफ्नो उद्देश्यमा मूलतः सफल भएको छ । पार्टीको नेतृत्व पंक्तिमा यो उपलब्धिमा टेकेर अगाडि बढ्न सकिन्छ भन्ने विश्वास पैदा भएको छ । अभियानबाट प्राप्त यो ठुलो उपलब्धि हो ।