पोखरा । ‘अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार विरुद्ध ः विकास, समृद्धि र सुशासनका पक्षमा (पोखरा विमानस्थल, फेवाताल लगायतका समसामयिक सन्दर्भमा) विषयमा पोखरामा पाँच वामपन्थी पार्टीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला सचिव उमेश सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का कास्की जिल्ला संयोजक राजु क्षेत्रीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्की संयोजक विक्रम थापाले राखेका थिए भने विषय प्रवेश तथा मन्तव्य राष्ट्रिय जनमोर्चा गण्डकी संयोजक शंकर बरालले गरेका थिए ।
प्राप्त समाचार अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको ठेक्का प्रक्रिया र निर्माणमा अनियमितता, फेवाताल मापदण्ड, संरचना व्यवस्थापन र सर्वोच्च अदालतको आदेशको कार्यान्वयन, स्थानीय तहको पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितामा आधारित विकास, विकास, समृद्धि र सुशासनमा केन्द्र र स्थानीय सरकारको भूमिका – जनअपेक्षा र यथार्थबीचको अन्तर लगायत बहसका मुख्य विषयवस्तु थिए ।
कार्यक्रममा आर्थिक विश्लेषक तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशको आर्थिक अवस्था नाजुक भएको उल्लेख गर्दै राजनीतिक दलभित्र मौलाएको आर्थिक अपारदर्शिता र जवाफदेहिता अभावले जनताको भरोसा कमजोर भएको दाबी गरे ।
नागरिक मञ्च गण्डकी संयोजक विष्णुप्रसाद वराल र नेकपा (माओवादी केन्द्र) कास्की संयोजक विश्वप्रकाश लामिछानेले फेवातालको मापदण्ड, बसपार्क निर्माण र सार्वजनिक सम्पत्तिको संरक्षणप्रति गम्भीर चिन्ता व्यक्त गरे । नेकपा (बहुमत)का स्थायी समिति सदस्य गुणराज लोहनीले राज्य जनताप्रति उत्तरदायी नभएपछि आफनो पार्टी जनकारबाहीमा उत्रन बाध्य भएको स्पष्ट पारे ।
नेकपा (एकीकृत समाजवादी) केन्द्रिय सचिव श्रीनाथ वराल, गण्डकी सचिव ठाकुर शर्मा, नेकपाका पोलिटब्युरो सदस्य आस्था सी, नेपाल समाजवादी पार्टी केन्द्रिय सदस्य टीकाराम पौडेल, क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रिय सल्लाहकार रामजी थापा लगायतका वक्ताहरूले भ्रष्टाचार, ढिलासुस्ती, जनविरोधी योजनाहरू विरुद्ध संघर्ष आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालले सबै सहभागी वक्ता, अतिथि र दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
भ्रष्टाचार र अनियमितता विरुद्ध, साथै पोखराका सामाजिक–सार्वजनिक सरोकार (जस्तै सुकुम्बासी समस्या, सहकारी पीडित, फेवातालको मापदण्ड, बसपार्क) का विषयलाई केन्द्रमा राख्दै राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेपाल कम्युनिष्ट पार्टी , नेकपा बहुमत, नेकपा र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले संयुक्त रूपमा संघर्षका कार्यक्रम चाँडै सार्वजनिक गर्ने जानकारी दिएका छन्।