काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा विशेष कार्यक्रमका बीच तीनजना साहित्य र कलाको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको हलमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरव र प्रतिष्ठानका सल्लाहकार तथा प्राध्यापक एवम् इच्छुककी जीवनसंगिनी तक्मा केसीले पुरस्कृत राशीसहित दोसल्लासहित ओढाएर पुरस्कृत गर्नुभयो । पुरस्कृत हुनुहुने स्रष्टाहरुमा बालकृष्ण राई आदर्श, मनु विक र सफल सोडारीलाई रहनु भएको छ ।

प्रतिष्ठानले हरेक बर्ष प्रदान गर्ने गरेको मुल पुरस्कार (इच्छुक स्मृति पुरस्कार) नृत्यनिर्देशक आदर्श राईलाई दिइएको छ भने प्रतिभा पुरस्कार कलातर्फको नृत्यकार तथा वाध्यवादक सफल सोडारीलाई र साहित्यतर्फको पुरस्कार कवि मनु विकलाई प्रदान गरिएको हो।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रगतिवादी साहित्य र कला क्षेत्रका सर्जक तथा प्रतिभाहरूलाई पुरस्कृत गर्दै आइरहेको छ । बालकृष्ण राई नेपाली जनसांस्कृतिक आन्दोलनमा विगत पचासको दशकदेखि निरन्तर क्रियाशील हुँदै जनयुद्धको ऐतिहासिक प्रक्रियादेखि सांस्कृतिक÷साङ्गीतिक क्षेत्रमा क्रियाशील भई नृत्यकलामा मुख्य प्रशिक्षकको भूमिकामा रहेर स्थानीय, क्षेत्रीय र सामाना परिवारमा निरन्तर शास्त्रीय एवम् लोकनृत्य कलामा प्रशिक्षण दिई जनवादी नृत्यको विकास र प्रवद्र्धनका लागि अहोरात्र जुट्दै आउनु भएको छ । ओखलढुङ्गा, मलुङ – ८ राँगादीप निवासी बालकृष्ण राई जनवादी साहित्य, कला र नृत्यको क्षेत्रमा स्थापित नाम हो । उहाँले पुरस्कृत भएपछि वर्गप्रतिको निष्ठामा आफूमा अझ बढी जिम्मेवारी बोध भएको र निरन्तर जनपक्षीय आन्दोलनमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०८२’ सत्तरीको दशकदेखि प्रगतिशील साहित्य लेखनमा क्रियाशील रहेर नेपाली वर्गीय आन्दोलनको संवेदनालाई कवितामार्फत् अभिव्यक्त गर्दै आउनु भएकी पाल्पा, रामपुर न.पा. – १० गेझा निवासी मनु वि.क.लाई प्रदान गरिएको छ । उहाँले पनि कवितामार्फत् निरन्तर सर्वहारावर्गीय आन्दोलनमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०८१’ नेपाली जनयुद्धमा संगीत तथा नृत्यकलाका माध्यमबाट जुझारु सांस्कृतिक योद्धाको भूमिका निर्वाह गर्दै समाज रूपान्तरण अभियानमा स्थानीय, क्षेत्रीय हुँदै सामाना सांस्कृतिक परिवारमा संगठित भई निरन्तर जनपक्षीय कला संस्कृतिको विकास र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका ओखलढुङ्गा, लिपु गा.पा. – ६ निवासी सफल सोडारीलाई प्रदान गरिएको हो ।
इच्छुक स्मृति पुरस्कारको राशी रु.एक लाख नगद र प्रमाणपत्र रहेको छ भने प्रतिभा पुरस्कार जनही पच्चिस हजार र प्रमाणपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य सचिव मोदनाथ मरहट्टा तथा कवि अनिल श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन, प्राध्यापक तथा इच्छुककी जीवन संगिनी तक्मा केसी, समालोचक प्रा.डा. होमनाथा पौडेल, भुँडी पुराण प्रकाशनका प्रकाशक केशव पराजुली लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कविद्वय बलराम तिमल्सिना विप्लव र संगीतस्रोताले क्रान्तिकारी कविता प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमलाई स्वागत कवि गौरी देवकोटाले गर्नुभएको थियो । कार्यक्रममा सामना सांस्कृतिक परिवारका कलाकारहरुले इच्छुकको चर्चित कविता ‘प्रतिबन्ध’ गीति भाकामा स्वागत गीतको रुपमा प्रस्तुत गर्नुभएको थियो ।






























