काठमाडौं । उरुग्वेका पूर्वराष्ट्रपति जोसे ‘पेपे’ मुहिकाको ८९ वर्षको उमेरमा २०२५ मे १३ मा निधन भयो । उनी लामो समयदेखि इसोफेगस (घाँटी) को क्यान्सरबाट पीडित थिए, जुन पछि कलेजोमा समेत फैलिएको थियो। स्वास्थ्य अवस्था बिग्रँदै जाँदा उनले उपचार नलिने निर्णय गरेका थिए र अन्तिम समय आफ्नै फार्महाउसमा शान्तिपूर्वक बिताउने चाहना व्यक्त गरेका थिए ।
जोसे मुहिका उरुग्वेका ४०औं राष्ट्रपति थिए, जसले २०१० देखि २०१५ सम्म कार्यकाल पूरा गरे। उनको जीवनशैली अत्यन्तै सरल थियो — उनी राष्ट्रपति भवनमा बस्नुभन्दा आफ्नो सानो फार्महाउसमा बस्न रुचाउँथे, जहाँ उनले आफ्नी पत्नी लुसिया टोपालान्स्की र कुकुर मनुएलासँग जीवन बिताए। उनले आफ्नो मासिक तलबको लगभग ९० प्रतिशत दान गर्थे, जसका कारण उनलाई‘विश्वकै सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिन्थ्यो ।
मुहिका युवावस्थामा टुपामारो नामक मार्क्सवादी गुरिल्ला समूहसँग आवद्ध थिए। सैन्य शासनकालमा उनले १४ वर्ष जेलमा बिताए, जसमा लामो समय एक्लै थुनामा राखिएको थियो। जेलमुक्तिपछि उनले ब्रोड फ्रन्ट नामक वामपन्थी गठबन्धनमार्फत राजनीतिमा पुनः प्रवेश गरे। उनको राष्ट्रपति कार्यकालमा उनले समलैंगिक विवाह, गर्भपतन र गाँजाको वैधीकरणजस्ता प्रगतिशील नीतिहरू लागू गरे, जसले उरुग्वेलाई सामाजिक उदारवादको उदाहरण बनायो ।
उनको निधनपछि उरुग्वे सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्यो। उनको अन्त्येष्टि मे १४ मा हुने तय गरिएको छ। विभिन्न देशका नेताहरूले उनको निधनप्रति समवेदना व्यक्त गरेका छन्, जसमा चिलीका राष्ट्रपति गेब्रियल बोरिक, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउम, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज लगायत छन् ।
मुहिका सधैं भन्थे, ‘हामी धनको पछि लाग्नुभन्दा खुसीको खोजीमा लाग्नुपर्छ।’ उनको जीवनशैली, दर्शन र नेतृत्वले विश्वभरिका मानिसहरूलाई प्रेरणा दिएको छ।
सरकारले राष्ट्रपतिका लागि भव्य महलको प्रबन्ध गरे पनि मुहिका त्यहाँ बसेनन् । उनी राष्ट्रपति हुँदा पनि जीवनभर राजधानी मोन्टेभिडियोको पश्चिमी भेगमा एउटा सामान्य घरमा बसे । खेतीपाती गर्नु, थरिथरीका फूल उत्पादन गर्नु उनको सोख थियो । पदमा रहँदा उनले आफ्नो आम्दानीको ९० प्रतिशत रकम दीनदुःखीका लागि छुट्याए । पेपे उपनामले परिचित मुहिका समाज सुधारका लागि लोकप्रिय थिए ।
मुहिकाको जन्म सन् १९३५ मा मोन्टेभिडियोको बास्क र इटालियन मूलका एक किसान परिवारमा भएको थियो । उनीहरूको अवस्था सामान्य थियो । उनी पाँच वर्षको हुँदा बाबुको मृत्यु भयो । उनी र बहिनीले सानै उमेरदेखि बागबानीमा काम गर्थे । यद्यपि, उनी स्कुल गए र कानुन अध्ययन गर्न थाले । विद्यार्थी आन्दोलनमा बढ्दो रूपमा संलग्न हुँदै गएपछि उनले पढाइ छोडे ।
मुहिका सन् १९६० र १९७० को दशकमा उरुग्वेको सशस्त्र गुरिल्ला टुपामारोस नेसनल लिब्रेसन मुभमेन्ट नामक सहरी गुरिल्ला समूहमा आबद्ध भए । क्युबेली क्रान्तिबाट प्रभावित भई वामपन्थीहरूले उक्त समूह गठन गरेका थिए । समूहले लुटपाट, अपहरण र आक्रमणमार्फत तत्कालीन सरकारलाई सत्ताच्यूतको प्रयास गरेको थियो । क्रान्तिको समयमा उनीमाथि ६ पटक गोली प्रहार भयो ।
राजधानी मोन्टेभिडियोको पश्चिमका यी किसानले आफू कुनै दिन लोकप्रिय हुनेछु भनेर सोचेका थिएनन् । यो सायद उनको लक्ष्य पनि थिएन । उनले २०१५ मा राष्ट्रपतिको कार्यकाल समाप्त हुनुभन्दा ठिकअघि डियुट्सी वेलीसँगको एक अन्तर्वार्तामा आफ्नो रगतको हरेक थोपामा राजनीति बगेको बताएका थिए । ‘म १४ वर्षको उमेरदेखि नै राजनीतिमा छु,’ उनले भने, ‘र यदि मैले मेरो विवेक गुमाइनँ भने म निरन्तर राजनीतिमा रहनेछु ।’ हुन पनि उनी मृत्युपर्यन्त राजनीतिमा सक्रिय थिए ।
जीवनको अधिकांश समय सामान्य जीवनयापन गरे । उनी भन्ने गर्थे, ‘मसँग जे छ, त्यसैमा रमाउँछु ।’ राष्ट्रपति हुँदा उनको औसत आम्दानी ७७५ डलर थियो, जुन उरुग्वेका औसत नागरिकको बराबर हो । ‘मलाई विश्वकै गरिब राष्ट्रपति भन्ने गरिन्छ, तर गरिब अनुभूति गर्दिनँ । गरिब त्यस्ता व्यक्ति हुन्, जो जीवनमा धेरै अभाव महसुस गर्छन्,’ उनी भन्ने गर्थे ।
गरिब र धनीकै सबालमा जी २० सम्मेलनमा उनले निकै सारगर्भित भनाइ राखेका थिए । ‘गरिबीमा जकडिएको ठुलो समूहको उद्धारका लागि हामी जतिवेला पनि दिगो विकासको कुरा गर्छौँ । तर, हामीले के योजना बनाइरहेका छौँ ? जर्मनीको जस्तै समान अनुपातमा हरेक भारतीयको घरमा कार भयो भने पृथ्वीको हालत कस्तो होला ? त्यसपछि हामीले सास फेर्ने अक्सिजन कति बाँकी होला ?’ उनले भनेका थिए । उनी युवा पुस्ताले राजनीति गर्नुपर्ने धारणा राख्थे । ‘समस्या यो हो कि संसार वृद्ध मानिसले चलाउँछन्, जसले आफू जवान छँदा कस्तो थिए भनेर बिर्सन्छन्,’ मुहिकाले सन् २०२४ मा समाचार एजेन्सी रोयटर्ससँगको अन्तर्वार्तामा भनेका थिए ।
विनम्र शैलीका कारण मुहिका अन्य धेरै ल्याटिन अमेरिकी राष्ट्र प्रमुखभन्दा फरक थिए । उनी निडर र खरा व्यक्ति थिए । आफ्नो राष्ट्रिय टोली विश्वकपबाट बाहिरिएपछि फिफा अधिकारीलाई ‘पुरानो कुकुरको झुण्ड’ भने । सर्वत्र आलोचनापछि उनले माफी मागे । सन् २०१५ मा राष्ट्रपतित्वको अन्त्यपछि मुहिकाले अर्को वर्ष क्युबामा कोलम्बियाली सरकार र उक्त देशको फार्क छापामारबिचको शान्ति वार्तामा मध्यस्थता गरे । क्यान्सरबाट मृत्यु हुनु केही समयअघिसम्म पनि उनले राजनीतिक बहसमा योगदान दिइरहेका थिए । (एजेन्सीहरुको सहयोगमा)