साँच्चै नयाँ बिश्वले आकार लिन थालेको हो बर्तमान संसारमा ?

साँच्चै नयाँ बिश्वले आकार लिन थालेको हो बर्तमान संसारमा ?

लोकनारायण सुबेदी

राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकामा दोश्रो कार्यकाल आरम्भका दिनमा गरिएका बिभिन्न घोषणा र फैसलाबाट राजनीतिक बिश्लेषकहरु कुन निष्कर्शमा पुग्न थालेका छन् र सम्भावना ब्यक्त गर्न थालेका छन् भने एउटा नयाँ बिश्वले आकार लिन थालेको छ । यस क्रममा दोश्रो बिश्व युद्धपछिको बिश्व ब्यवस्थामा अब आमूल परिबर्तनको संकेत देखा पर्न थालेको उनीहरु उल्लेख गर्दैछन् । हिजो त्यस बिश्व ब्यवस्थामा अमेरिका र उसका सहयोगी देशहरुको बर्चश्व थियो । यद्यपि त्यस ब्यवस्थालाई त्यति बेला समाजबादी ब्यस्थामा आधारित सोभियत संघले त्यसलाई अबश्य चूनौति दिएको थियो । अनि बिश्व दुइ ध्रुबमा बिभक्त भएको कुरा स्वीकारिएको थियो ।बिश्व पटलमा नयाँ शक्तिहहरुको प्रादुर्भाव हुने गर्दै रहन्छ । अनि अतितको बिरासत र बिभिन्न सँस्कृतिहरुका जीवन मूल्यहरुको नया किसिमले प्रादुर्भावा पनि हुने गर्दै रहन्छ ।
बर्तमान कालखण्डमा यस प्रकृयालाई बहु–ध्रुबीय बिश्वका रुपमा बुझ्न सकिन्छ । यस परिबर्तनलाई अमेरिका र पश्चिमा देशहरुले रोक्ने कोशिश गरे जसले गर्दा बिश्वमा नयाँ संघर्ष उत्पन्न हुन पुग्यो । रुसको अभ्युदयलाई रोक्ने तथा चीनको बढ्दो प्रभावलाई अंकूश लगाउने उदेश्यले पश्चिामा देशहरुले नयाँ राजनीतिक र सैनिक पंक्तिबद्धता कायम गरेका थिए । तर अहिलेका अमेरिकी राष्ट्रले त्यस पहिलाको पंक्तिबद्धताबाट पछि«हटेर त्यस संघर्षलाई रोक्ने तथा घरेलु बिग्रदो अबस्थालाई ठीक गर्ने कुरालाई प्राथमिकता दिन खोजोको हो भन्ने अर्थ लगाइदैछ ।यस क्रममा ट्रम्पले यूक्रेन युद्धको समाप्त पार्नका लागि साहसिक कदम पहल गरेको अथ्र्याइदै छ । उनका अगाडि सबैभन्दा ठूलो समस्या के रहेको बताइदैछ भने यूरोपेली देशहरुले यस काममा उनको साथ र सहयोग दिन खोजेका या दिन चाहेका छैनन् । त्यति मात्रै होइन,ति यूरोपेली देशहरु त बैचारिक तथा ब्यवहारिक स्तरमा ट्रम्पका ती गतिबिधिका बिरद्ध मोर्चाबन्दी गर्न आँखा चिम्लेर लाग्न थयालेको देखिन्छ् ।
यस सम्बन्धमा यूरोपेली संघका बिदेश नीति प्रबक्ता काजा केलासले के टिप्पणी गरेका छन् भने ‘मुक्त बिश्व’लाई एक नयाँ नेताको आवश्यकता छ ।उको यो भनाईको तात्पर्य के हो भने अमेरिकाका राष्ट्रपति ट्रम्पले लोकतन्त्र, स्वतन्त्र बजार र उदारबादी बिचारधारामा आधारिकत बिश्वको नेतृत्व गर्न सक्तैनन् । काजा केलाशको यस कथनका सबै यथास्थितिबादी शक्तिहरुको समर्थन रहेको प्रतीत हुन्छ । स्वतन्त्र बिश्वको नयाँ नेताको दाबेदारीमा बिभिन्न उम्मेद्वारहरु सामुमा देखा परेका छन् । तिनीहरुमध्येमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याँक्रो र बृटेनका राष्ट्रपति कीर स्टार्मर प्रमुख देखिन्छन् । सबैभन्दा मुखर इम्यानुएल म्याँक्रो लाग्दछन् जसले यूरोपको सुरक्षाको जिम्मेवारी सम्हाल्ने दाबी पनि पेश गरिरहेका छन् । हालै उनले भनेका पनि थिए कि फ्रान्स यूरोपेली देशहरुलाई परमाणु सुरक्षा कबच दिन तयार छ । उनले यसका अतिरिक्त के पनि भनेका थिए भने यूक्रेनको सहायताका लागि उनी फ्रान्सका सेना पठाउने कुरामा पनि तयार छन् । उनको यो घोषणाले फ्रान्स र रुसका बीचमा तानातानी शुरु पनि भइसकेको छ । यद्यपि बृटेका प्रधानमन्त्री कीर स्टार्मरले अपेक्षाकृत संयमको परिचय दिएको देखिदैछ । ह्वाइट हाउसको ओभल अफिसमा यूक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई डोनाल्ड ट्रम्पले नराम्रोसँग फट्कारे पछि बृटेनले यूरोपेली देशहरुको बैठक आयोजना गरेर यूक्रेनलाई खुलेर समर्थन गरेको छ । जेलेन्स्कीलाई त त्यस क्रममा बृटेनका राजा चाल्र्ससँग भेटघाट गर्ने सम्मान पनि दिएको देखियो । यी सबै कसरतहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन्देश दिनका लागि गरिएका गतिबिधि हुन् कि अमेरिका बिना पनि यूरोपेली देशहरुले यूक्रेनको सैनिक अभियानलाई जारी राख्न सक्तछन्।
यसै सन्दर्भमा फ्रान्सका राष्ट्रपति म्याँक्रोले टकरावकारी प्रबृत्तिलाई बढावा दिदै यूरोपेली देशहरुका सेना प्रमुखहरुको बैठक पनि डाके । यी सबै कुरा यस्तो बेलामा भइरहेका छन् कि जति बेला अमेरिकाले यूक्रेनलाई हतियारको आपूर्ति र गुप्तचर सूचनाहरु उपलब्ध गराउने कुरामा रोक लगाएको छ । अमेरिकाको तर्फबाट उपग्रहरुको माध्यमबाट हासिल गर्ने गरिएका युद्ध क्षेत्र सम्वन्धि सूचनाहरु प्राप्त हुन छोडेपछि यूक्रेनले रुसको लड्न कठिन हुन पुगेको या पुग्ने निश्चत छ । यूरोपेली देशहरु यूक्रेनलाई यस प्रकारका गुप्तचरी र सैन्य सूचनाहरु उपलब्ध गराउन सक्षम रहेका छैनन् । अमेरिकी राष्ट्रपति ट्रम्पले यी प्रतिबन्धका सारा कदमहरु यूक्रेनलाई कुराकानीको टेवलमा लिएर आउन उठाएको बिश्लेषकहरुले बताइरहेका छन् ।हालै उनले भने पनि कि रुस शान्ति बार्ताका लागि तयार छ जबकि यूक्रेनको प्रबृत्ति भने अनुकूल छैन । राष्ट्रपति ट्रम्प मध्यस्थकारुपमा तटस्थ रहने प्रयास गरिरहेका देखिन्छन् । उनले रुसलाई पनि के चेतावनी दिएका छन््् भने यदि रुसले बर्तमान परिस्थितिको फाइद उठाउँदै यूक्रेनमाथि बमबारी जारी राख्छ भने रुसका बिरुद्ध कडा र ब्यापक प्रतिबन्ध लगाइने छ ।
पछिल्लो साता अरबमा अमेरिका र यूक्रेनका बीच अर्को बार्ता आयोजित गरिएको कुरा प्रकाशमा आएको छ । ट्रम्प प्रशासन यस सम्बन्धमा रुससँग पहिलेदेखि नै सम्पर्कमा रहेको बताइन्छ ।अमेरिकी राजनीतिमा पहिलेदेखि नै रिपब्लिकन पार्टीलाई युद्ध समर्थक पार्टी मान्ने गरिन्थ्यो । तर अहिले भने डोनाल्ड ट्रम्प ‘शान्तिका राष्ट्रपति’को रुपमा प्रस्तुत हुन थालेको बताइदैछ ।यी सबै उतार चढाव र प्रकरणहरुले बितेको शीत युद्धमा अमेरिकाको बिजय मानेर चले पछि स्वतन्त्र ब्यापारमा आधारित उदारबादी बिचारधाराको एकाधिकारको घोषणा पनि गरिएको थियो । त्यस क्रममा बिश्वका चर्चित पूँजीवादी राजनीतिक बिश्लेषक ‘फुकुयामा’ले त केसम्म उद्घोष गरेका थिए भने ‘इतिहासको अन्त्य’ भइसकेको छ । अब स्वतन्त्र बजार र उदारबादी बिचारधारा मात्र हरहमेशा शाश्वतरुपमा कायम रहनेछ । तर आजको स्थितिले फुकुयामा असफल भएर पल्टा खाँन थालेको देखिदैछ । यद्यपि यसले कस्तो आकार र रुप लेला अहिले नै भन्न नसकिए पनि अब यथास्थितिमा आजको बिश्व चल्न सक्ने छैन भन्ने कुराको भने राम्रैसँग उजागर भइरहेको छ । यो पुनः पूँजीवादी सीमामै अल्मलिएला कि समाजबादी बाटोमा अग्रसर होला त्यो निर्णायक चरणको अबस्थाका लागि अझे प्रतिक्षा गर्नु पर्ने बिश्लेषहरु औंल्याउदैछन् ।