फोटो : जय दाहाल
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशैभर आज जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गरेको छ । डेढ महिनासम्म सञ्चालन गरिने अभियानको उद्घाटन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेलले आफूलाई जनयुद्धको तयारी गर्दाको जस्तै अनुभूति भइरहेको बताउनु भएको छ ।
उहाँले पार्टीको ९ नं. ब्यूरोको ललितपुरको लगनखेलमा अभियान उद्घाटन गर्दै जनयुद्धको तयारी गर्दा पनि यसरी नै साना साना कार्यक्रम देशैभर गर्ने गरेको र अहिलेको पार्टीको अवस्था जनयुद्धको तयारी गर्दाताकाको भन्दा धेरै नै ठूलो रहेको बताउनु भयो । आज देशमा जनताले वैकल्पिक राज्यसत्ता र व्यवस्था खोजेको र विद्यमान व्यवस्था यथास्थितिमा अगाडि जान नसक्ने अवस्था सिर्जना भएको भन्दै जनगणतन्त्रले मात्रै देशका सबै समस्याको समाधान गर्न सक्ने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, “देश बर्बाद भइरहेको छ । क्रान्ति गरिएन भने देशै गुम्ने स्थितिमा छ । यो देश बचाउन र देशका सबै समस्याको समाधान जनगणतन्त्रले मात्रै गर्न सक्छ ।” उहाँले देशमा क्रान्तिकारी, यथास्थितिवादी र पश्चगामी राजावादी शक्तिको अस्तित्व रहेको चर्चा गर्दै वर्तमान लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र मात्रै हुनसक्छ, राजतन्त्र कदापि हुन नसक्ने ठोकुवा गर्नुभयो ।
१८ वर्षसम्ममा पनि संसदवादी पार्टीहरुले देश र जनताको पक्षमा एउटा पनि राम्रो काम गर्न नसकेकोले जनतामा यो व्यवस्थाप्रति तीव्र असन्तुष्टी बढेको भन्दै अब अग्रगामी र क्रान्तिकारी शक्ति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशलाई अगाडि बढाउन जनगणतन्त्रको नारा अगाडि सारको बताउनु भयो । छरिएर रहेका क्रान्तिकारीहरुलाई गोलबन्द गर्दै अगाडि बढेका र देशको एकमात्र अग्रगामी र क्रान्तिकारी शक्ति आफूहरु रहेको दावी गर्दै उहाँले आम जनसमुदायलाई जनगणतन्त्रका लागि गरिने संघर्षमा साथ दिन अपील समेत गर्नुभयो
कार्यक्रममा नेताहरु दिनेश शर्मा सागर, सीताराम तामाङ, पवनमान श्रेष्ठ, चिन्तामणि पौडेल, प्रा.डा. जगदीशचन्द्र भण्डारी, अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ, महिला नेतृ सपना राजथला लगायतका नेताहरुले पनि अभियानको आवश्यकता र महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका का.वा. महासचिव गजुरेलले पार्टीको झण्डा ९ नं. व्यूरोका इन्चार्ज र सेक्रेटरीलाई हस्तान्तरण गर्दै अभियानको उद्घाटन गर्नुभएको थियो । ९ नम्बर ब्युरोमा ब्युरो ईन्चार्ज दिनेश शर्मा र ब्यूरो सेक्रेटरी चिन्तामणी पौडेलको नेतृत्वमा दुई वटा अभियान टोली बनेको छ ।
कार्यक्रमको अध्यक्षता पार्टीको पिबिएम तथा ब्युरो सेक्रेटरी चिन्तामणी पौडेल, स्वागत बैकल्पिक केस सुरेश अधिकारी र सञ्चालन केस श्याम केसीले गर्नु भएको थियो ।