नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनको इतिहासमा कमरेड ताराकान्त पाण्डेय एक क्रान्तिकारी प्राज्ञिक व्यक्तित्वका रूपमा स्थापित नाम हो । माक्र्सवादी समालोचना र सौन्दर्य चिन्तनको फाँटमा उहाँको विशिष्ट योगदान रहिआएको छ । गत वर्ष एउटा बस दुर्घटनामाका परी उहाँको आप्रत्याशित रूपमा निधन हुन पुग्यो । उहाँको निधनले नेपाली सांस्कृतिक तथा बौद्धिक आन्दोलनको इतिहासमा अपुरणीय क्षति हुन गएको छ ।
प्रा.डा. ताराकान्त पाण्डेयसित साहित्यकला, संस्कृति, समालोचना र सौन्दर्य चिन्तन लगायतका विषयमा सांस्कृतिक फाँटका कामलाई अगाडि बढाउने र विचारधारात्मक सङ्घर्षलाई धारिलो बनाउने उद्देश्य प्राप्ति लगायतका विषयमा लामो सहकार्य हुँदै आएको छ । यहाँ म यस सहकार्यसित सम्बन्धित कतिपय संस्मरणात्मक अनुभूतिबारे सङ्क्षिप्तमा केही चर्चा गर्न गइरहेको छु ।
कमरेड ताराजी सित मेरो पहिलो भेट २०४० सालको आसपासमा बुटवलको एउटा छापाखानामा भएको थियो । त्यो बेला उहाँले आफ्नो जीविकोपार्जनको लागि छापाखानामा काम गर्नुहुन्थ्यो । उहाँसित प्रगतिशील साहित्यका बारेमा थोरै मात्र कुराकानी भयो । उहाँमा उत्साह र जाँगर दुवै रहेका थिए । उहाँ मृदु तथा अल्पभाषी हुनुहुन्थ्यो । त्यो बेला उहाँ हाम्रो सांस्कृतिक मोर्चासित जोडिइसक्नुभएको जस्तो लाग्दछ । त्यसै समयको आसपासमा पाल्पाको तानसेनमा सम्पन्न क्षेत्रीय स्तरको सांस्कृतिक समितिको गठन गर्दा सम्भवतः ताराजी पनि उपस्थित हुनुहुन्थ्यो । त्यो बेला त्यहाँबाट “आवाज” पत्रिका प्रकाशित हुन्थ्यो र त्यसमा ताराजी पनि संलग्न हुनुहुन्थ्यो ।
केही समय पश्चात् अध्ययनको प्रक्रियामा ताराजी काठमाण्डौ तर्फ लाग्नुभयो र साहित्यिक तथा सांस्कृतिक गतिविधिहरूमा संलग्न बन्दै जानुभयो । शुरूमा कविता लेख्नुुहुन्थ्यो र त्यसै क्रममा उहाँले समालोचनामा हात हाल्नु भयो । नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशनको धारामा आबद्ध सांस्कृतिक फाँटको इन्चार्ज हुनुको हैसियतले ताराजीसित मेरो निरन्तर भेटघाट हुँदै गयो ।
त्यसै क्रममा ‘उत्साह’ साहित्यिक पत्रिकाको सम्पादन लगायतका कार्यमा संलग्न आनन्ददेव भट्ट, रमेश विकल खगेन्द्र संग्रौला लगायत कतिपय वरिष्ठ साहित्यकारहरूसित साहित्यमा प्रतिबद्धता र स्वतन्त्रताका विषयमा हाम्रो लामो, सशक्त र गरम ढङ्गको बहस चल्यो । उहाँहरू प्रायशः सबैले प्रतिबद्धताको विरोध र निरपेक्ष स्वतन्त्रताको पक्ष पोषण गर्नुहुन्थ्यो । हाम्रो त्यस विवाद र बहसमा लेखनका क्षेत्रमा ताराजी पनि सहभागी बन्नुभएको थियो ।
वि.सं.२०४७ यता विशेषतः पचासको दशकमा साहित्यिक तथा सांस्कृतिक आन्दोलनको फाँटमा माओ त्सेतुङद्वारा ‘येनान वार्ता’मा प्रस्तुत साहित्य र राजनीति बिचको सम्बन्ध, कला साहित्यको राजनीतिक तथा कलात्मक मापदण्ड लगायतका विषयमा निकै लामो विवाद तथा बहसको प्रक्रिया अगाडि बढ्यो । प्रगतिवादी फाँटकै कतिपय स्थापित मित्रहरूले येनान वार्ता र त्यसको प्रस्तुत–राजनीतिक तथा कलात्मक मापदण्डलाई चीनकै विशिष्ट स्थितिमा उपयुक्त बताउनु हुन्थ्यो । तर, ताराजी सहित हामी त्यसलाई माओको सार्वभौम मान्यताका रूपमा ग्रहण गर्दथ्यौं । यो विवाद/बहस विशेष महत्वको थियो र त्यो लामो समयसम्म जारी नै रह्यो ।
त्यसै क्रममा २०४७ यता एउटा महत्वपूर्ण परिघटना के घट्यो भने नेकपा (माले) एमाले बन्यो र त्यसले माओविचारधारा तथा नयाँ जनवादतर्फ परित्याग गरी जनताको बहुदलीय जनवादका मान्यता अवलम्बन ग¥यो । जब कि हामीले माओका योगदानहरूलाई सार्वभौम रूपमा ग्रहण गर्दै माओवादका रूपमा अंगीकार गरिसकेका थियौँ त्यसै प्रक्रियामा जनताको बहुदलीय जनवादको धारा संशोधनवादी धाराको रूपमा अगाडि बढ्यो । त्यत्ति मात्र होइन, नेपाली प्रगतिवादी साहित्यिक फाँटमा गोविन्द भट्ट, मोदनाथ प्रश्रित जस्ता दिग्गज व्यक्तित्वहरू पनि त्यसै धारामा आबद्ध रहे । यहाँसम्म कि साहित्यकलाको समालोचना मापदण्डका रूपमा उनीहरूले” जनताको बहुदलीय जनवाद” लाई अङ्गीकार गरे । हामी सांस्कृतिक फाँटका थुप्रै साथीहरूले, ताराजी समेतले एमालेको सांस्कृतिक फाँटमा विद्यमान संशोधनवादी विचलनको विरोध र माओवादकोे पक्षमा दृढतापूर्वक विचारधारात्मक सङ्घर्ष चलायौं ।
२०५२ यताको जनयुद्धकाल सांस्कृतिक तथा साहित्यिक आन्दोलनको इतिहासमा निकै ऊर्जाशील रहेको छ । त्योबेला जनयुद्धद्वारा उद्घाटित नयाँ यथार्थमा आधारित वर्गसङ्घर्षमय जीवनमूल्य, सौन्दर्यमूल्य, उत्पीडनबाट मुक्ति तथा स्वतन्त्रताको उदात्त आदर्श, त्याग, वीरता तथा सहादतका मूल्य कीर्तिमानहरूलाई साहित्य कलाका सजीव ढङ्गले प्रतिबिम्बित गर्ने, आतङ्क र आनन्दको द्वन्द्ववादमा आधारित जनयुद्धको सौन्दर्यशास्त्रलाई विकसित तुल्याउने कार्यमा साहित्यिक तथा सांस्कृतिक योद्धाहरूको विशाल पङ्क्ति खडाभएको छ र यस प्रक्रियामा ताराजी लगायतका कमरेडहरूको उल्लेखनीय भूमिका रहेको छ । ताराजीले आफ्नो साहित्यिक लेखनमा जनयुद्धद्वारा उद्घाटित नयाँ यथार्थ र वीरताका महान् गाथाहरूलाई प्रतिबिम्बित, संश्लेषित तथा स्थापित तुल्याउने कार्यमा आफूलाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्नुभएको छ ।
शान्ति प्रक्रियामा आफू एता पार्टीद्वारा ताराजी सहितका कमरेडहरूको साथमा मलाई पनि इच्छुक सांस्कृतिक प्रतिष्ठानको जिम्मेवारी दिइयो । सो जिम्मेवारी संवहन गर्नका लागि ताराजीको महत्वपूर्ण योगदान रहृयो । इच्छुक सांस्कृतिक प्रतिष्ठानमा ताराजी सदस्य सचिव र अध्यक्ष बन्नुभयो । यस प्रतिष्ठानमा रहँदा ताराजी र हामीबिच धेरै सहकार्य भएका छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनमा विद्यमान दक्षिणपन्थी संशोधनवादका विरुद्धको भीषण विचारधारात्मक सङ्घर्षमा पाण्डेयले हमेसा क्रान्तिकारी माक्र्सवादी धारालाई साथ दिदै आउनु भएको छ । उहाँले जनताको बहुदलीय धारा जनवादी मात्र होइन माओवादी आन्दोलन भित्रै नवमाक्र्सवाद उत्तरमाक्र्सवादद्वारा प्रभावित भई जनयुद्धको विसर्जन गर्ने दक्षिणपन्थी नव संशोधनवादका विरुद्ध पनि सशक्त विचारधारात्मक सङ्घर्ष चलाउनु भएको छ । यो निकै महत्वपूर्ण पक्ष हो ।
पार्टीमा ताराजीले विभिन्न रूपमा काम गर्दै आउनु भएको थियो । पछिल्लो कालखण्डमा उहाँ केन्द्रीय सांस्कृतिक विभाग र केन्द्रीय स्कुल विभागमा सम्मिलित हुनुहुन्थ्यो । उहाँ आफ्नो जिम्मेवारी निर्वाह गर्ने कार्यमा सचेत तथा क्रियाशील रहिआउनु भएको थियो । उहाँ सांस्कृतिक मोर्चाको केन्द्रमा समेत हुनुहुन्थ्यो ।
ताराजीले मेरो समालोचना तथा सौन्दर्य चिन्तन सम्बन्धी लेखन र सांस्कृतिक फाँट सम्बन्धी कार्यमा विविध ढङ्गले सहयोग पु¥याउँदै आउनु भएको थियो । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित मेरो एउटा कृति” माक्र्सवादी समालोचना” को सम्पादन ताराजीले नै गर्नुभएको थियो । ताराजीमा प्रचुर मात्रामा प्राज्ञिक तथा बौद्धिक प्रतिभा सन्निहित थियो । यो कुरा उहाँका विभिन्न कृतिहरूमा समेत प्रतिबिम्बित तथा अभिव्यक्त भएको पाइन्छ ।
कमरेड ताराकान्त पाण्डेय एक स्थापित ऊर्जाशील माक्र्सवादी समालोचक हुनुहुन्थ्यो । समालोचनाका क्षेत्रमा उहाँका दश ओटा पुस्तकाकार कृतिहरू प्रकाशित भइसकेका छन् र कतिपय कृतिहरू प्रकाशित हुँदै पनि छन् । उहाँका आठ ओटा समालोचनाहरूका बरोमा मैले” ताराकान्त पाण्डेयको समालोचना यात्राः सङ्क्षिप्त सिंहावलोकन” शीर्षकमा एउटा लामो आलेख लेखेको थिएँ र त्यो प्रकाशित पनि भइसकेको छ । त्यसमा मैले उहाँको साहित्यिक मात्र होइन सौन्दर्यशास्त्रीय र दार्शनिक दृष्टिले पनि समृद्ध आठ ओटा समालोचनाहरूको लेखन पृष्ठभूमि र तिनको महत्वबारे सङ्क्षिप्तमै भएपनि उल्लेख गरिसकेको छु ।
एक वरिष्ठ माक्र्सवादी समालोचक ताराकान्तका व्यक्तित्वका अनेकौं पक्ष वा आयाम रहेका छन् । तिनलाई एकै ठाँउमा राखेर हेर्दा (१) सांस्कृतिक व्यक्तित्व (२) समालोचकीय तथा सौन्दर्य शास्त्रीय व्यक्तित्व (३) प्राध्यापकीय तथा शैक्षिक व्यक्तित्व (४) बौद्धिक तथा प्राज्ञिक व्यक्तित्व र (५) क्रान्तिकारी राजनीतिक व्यक्तित्वका रूपमा सूत्रबद्ध तथा अभिव्यक्त गर्न सकिन्छ । उहाँको व्यक्तित्वका सबे आयाम विविध क्षेत्रका सङ्घर्षमूलक गतिविधिमा आधारित व्यावहारिक तथा विचारधारात्मक योगदान र माक्र्सवादको सैद्धान्तिक आलोचकद्वारा उद्घाठित तथा विकसित भएका छन् ।
ताराजी अब हामीहरूका सामु हुनुहुन्न । तर, उहाँका नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलन तथा कम्युनिस्ट आन्दोलनमा प्रस्तुत तथा अभिव्यक्त हुँदै आएका योगदानहरू र सांस्कृतिक, बौद्धिक तथा साहित्यिक चिन्तन एवम् समालोचनामा आधारित लेख रचनाहरू हाम्रा सामु विद्यमान छन् र तिनको सांस्कृतिक तथा साहित्यिक आन्दोलनबाट अगाडि बढाउन र सामाजिक रूपमा रूपान्तरण प्रक्रियामा निरन्तर संलग्न बन्न निर्देशित तथा उत्प्रेरित गरिरहने छन् । अन्त्मा, एक अटल तथा अविचल सांस्कृतिक योद्धा कमरेड ताराकान्त पाण्डेयप्रति भावपूर्ण श्रद्धाञ्जली, लाल सलाम– लाल सलाम ।