आजको बिश्वमा कुनै घातक र भयंकरठूलो खतराको पहिचान गर्ने हो भने त्यो निश्चय नै बिद्यमान परमाणु हात हतियारको उपयोगको खतरा नै सबैभन्दा बिनाशकारी र घातक हुनेछ ।यतिबेला बिश्वमा लगभग १३ हजार परमाणु हतियार रहेको यथार्थ बिश्लेषकहरुले उल्लेख गरेका छन् । तीमध्येमा तिनको ५ देखि १० प्रतिशत मात्र उपयोग पनि बास्तवमा हुन गयो भने यो बिश्वका ८ अर्बभन्दा बढी मानिसमा शायदै कोही पनि बच्ला ! यदि त्यस भयावह बिस्फोटको परिणामबाट निस्कने आगोको ज्वाला र बिकिरणबाट कोही बचिहाल्यो भने पनि त्यस प्रलयकारी बिस्फोटको दीर्घकालीन असरले बाँकी बचेका सबै नै केही समय पछि कालकलबित हुनेछन् । त्यसैले आज परमाणु हात हतियारको यो सम्भावित घोर बिनाशकारी प्रयोगको आशंकाबाट यो धरतीका मानब लगायत सबै प्राणी र बनस्पतिलाई बचाउन सबैभन्दा उच्चतम र गम्भीर प्राथमिकता दिइनुपर्ने कुरा बिश्वकै सर्बोपरी र केन्द्रिय बिषय बन्नु पर्ने टडकारो आवश्यकता बन्न गएको छ ।
अहिलेसम्म बिश्वका परमाणु हतियारहरुको उपयोग केवल दुइ पटक मात्र भएको छ । सर्बप्रथमा १९४५ अगस्ट ६ र ९ मा जापानको हिरोशिमा र नागाशाकीमा । त्यसमा पनि आजका अधिकांश परमाणु हतियारहरुभन्दा ती जापानमाथि खसालिएका परमाणु बमहरु धेरै नै कम बिध्वंशक थिए । तर तिनैबाट मात्रै पनि अत्यन्तै भयंकर प्रलयकारी बिध्वंश मच्चिएको थियो । हुन पनि ६ अगष्टका १९४५ को त्यो दिन जापानको हिरोशिमा शहरमा सूर्यका जीवनदायिनी किरणहरुले एउटा अर्को नयाँ दिनको आह्वान गरिसकेको थियो र त्यसबाट आलोकित जापानीहरु आ–आफ्नो काममा लाग्न थालिसकेका थिए । तर त्यो दिन सदा झै अरु दिन जस्तो थिएन । किनभने बिहानको ३ बजेतिरै अमेरिकी वायुसेनाका कर्नेल पान ताईबत र रबर्ट लुई एउटा बी–२९ बिमानमा त्यतिबेलासम्म बिश्वमा निर्मित सबैभन्दा बिनाशकारी शस्त्र लिएर हिरोशिमाका लागि हिडिसकेका थिए’ । एउटा क्रूर ठट्टा अन्तरगत त्य‘स शस्त्रको नामा ‘सानो केटा’ अर्थात ‘लिटिल ब्वाय’राखिएको थियो । तर त्यो थियो बिश्वको पहिलो ‘परमाणु बम’ । ३१,००० फिटको उच्चाईमा उडिरहेको राक्षसको अग्रदूत बनेको त्यो बिमान हिरोशिमाको ठिकमाथि आकाशमा पुग्यो र त्यहाँबाट त्यो बमलाई यसरी खसालियो कि जसबाट हिरोशिमा शहरको २००० फिट माथिबाटै त्यसको बिस्फोट होस् र त्यसबाट अधिक बिनाश सम्भव हुन सकोेस् ।
त्यस दिन हिरोशिमाका ती निर्दोष जापानीहरुले पहिला त एउटा अत्यन्तै तेज चमक जस्तो देखे जसको अगाडि सूर्यको चमक पनि उनीहरुका लागि फिका जस्तै लाग्यो । त्यसपछि उनीहरुलाई लाग्यो सूर्यका किरणहरु उनीहरुबाट खेस्नका लागि एउटा गहिरो अँध्यारो छायो । शायद त्यतिबेलासम्म पनि उनीहरुलाई कुनै अत्तोपत्तो थिएन कि त्यस अध्यारो धूलोको पत्रमा हजरौं हजार मानिसहरु र अन्य असंख्य जीव जन्तुहरुका कणहरु पनि सामेल थिए । त्यो अपूर्ब महाबिस्फोट तिनका शरीरका टुक्रा टुक्रा तुल्याएको थियो । एक।एक ७० हजार मानिसको एकै चिहान भएको थियो । तर भयंकर पीडाले चिच्याउँदै कराउँदै मर्दै गरेका मानिसहरुको संख्या त त्यो भन्दा पनि दुइ तीन दोब्बर बढी थियो भनिन्छ । त्यतिबेला अढाई लाख जनसंख्या भएको त्यो सुन्दर जापनी शहर हिरोशिमाका १,६०,००० मानिस तत्कालै मारिए र एकदमै नराम्रोसँग घाइते भएका मानिस पछि कालकलबित भए । अनि अधिकांश अन्य मानिसहरुले र आउदो पिढीले पनि दीर्घकालीनरुपमा त्यो परमाणु बमको असैह्य पीडा झेल्नु परेको थियो । यसरी बाचेका हजारौ जापानीहरुले जुन यातना भोग्नु परेको थियो त्यो असैह्य र अबर्णनीय थियो ।
त्यतिबेला बिस्फोटको केन्द्रमा तापमान ३००० हजारदेखि ४००० डिग्री सेण्टीग्रेडसम्प पुगेको थियो भनिन्छ । जबकि फलाम नै १,५५० डिग्री सेल्सियसमा पग्लिन्छ । त्यतिबेला एकजना १५ बर्षकी मिशियो यामोका नामकी बालिका त्यो बिस्फोट भएको केन्द्रबाट झण्डै एक किलोमिटर टाढा थिइन् तर पनि तिनको अनुहार नराम्ररी जलेको थिया । त्यसबेला हिरोशिमा बस्ने एकजना जर्मन पादरी क्लिनसार्जले तिर्खा लागेर चिच्याइरहेका मानिसहरुको कोकोहोलो सुने । तिनले पानी पानी भनिरहेका थिए । ती पादरी पानी लिएर दौडिए । उनले त्यहाँ पानी लिएर जाँदा २० जना ब्यक्तिको अनुहार पुरै जलेको देखे जसको आखाबाट आशु सुकेर आँखा सुख्खा भइसकेका जस्ता देखिन्थे । कतिपय मानिसहरुले बिस्फोटबाट फैलिदो आगाको ज्वाला आफ्नो बस्तीतिर पुगेको देखे । टाढाटाढासम्म चारैतिर आगो लागेको देखिन्थ्यो । एउटा अस्पतालमा दर्दले चिच्याइरहेका बिमारी मानिसहरुका निम्ति पोषक तत्वको अत्यन्तै आवश्यकता थियो तर चारैतिर जलिरहेका लाशको दुर्गन्धका कारण ती बिमारीको घाँटीबाट केही छिरिरहेको थिएन । अनि बिस्फोटका कारण बढ्दो जलस्तरले गर्दा कयौं मानिसहरु डुबिरहेका थिए भने कतै जलिरहेका थिए । हजारौ हजार घर र भवनहरु ध्वस्त बनेका थिए । त्यति बेलै अणु बमको प्रतीक जस्तो बनेर फुस्रो छाते च्याउ जस्तो आकार बनेका बादलको थुप्रोको घण्टौंसम्मको त्यो कोलाहलले आक्रान्त शहरमा थप आतंक मच्चाइरहेको थियो । त्यस्तो अत्यन्तै दुर्दान्त र भयवह दुष्परिणाम चलिरहकै बेलामा अमेरिकी बिमानले तुरुन्तै पहिलो बम खसालेको तीनदिन पछि अर्को ‘फ्याट म्यान’ नाम राखिएको अणुबम जापानको नागाशाकी शहरमा पनि खसाल्यो । ती दुबै शहरमा एक क्षणमै एक लाख मानिसहरुको एकाएक मृत्यु भयो भने त्यो बिस्फोटको दीर्घकालीन परिणामस्वरुप झण्डै तीन लाख मानिस कालकलवित हुन पुगे । के अनुमान लगाइन्छ भने हिरोशिमामा एउटै अणु बमले त्यत्ति मानबीय क्षति हुनपुग्यो जति सामान्य बम भरिएका २७९ वटा बिमानले भन्दा १० दोब्बर बढी जनसंख्या भएको शहरमा क्षति गर्न सक्तथे ।
कयौं दशकसम्म हिरोशिमा र नागाशाकीका मानिसहरुले बिभिन्न किसिमका डरलाग्दा भिषण बिमारी पनि त्यो अणु बिस्फोटबाट झेल्नु परेको थियो । शरीरका बिभिन्न भागबाट रगत बग्नु, चोट लागेका भागहरु निको नहुनु, तीब्र ज्वरोबाट पटक पटक आक्रान्त हुनु र सबैभन्दा बढी त बिभिन्न किसिमका क्यान्सर रोगहरुमा तीब्र बृद्धि जस्ता समस्या देखा परे । कति बेला रगत क्यान्सर तीब्र गतिमा बढ्ने गर्दथ्यो भने कतिबेला छालाको क्यान्सर त कतिबेला शरीरका अन्य भागमा क्यान्सर उत्पन्न हुन्थ्यो । अनि त्यो बम खसालिदा जो महिलाहरु गर्भबती थिए ती मध्ये धेरैका बाल बच्चाहरु बिभिन्न किसिमका रोगका समस्यालेग्रस्त बनेका थिए । बिशेषगरी मन्द बुद्धि बच्चाहरुको जन्म धेरै नै भयो । यसरी अनेक प्रकारका दीर्घकालीन असर मूख्यरुपमा बिकिरण या रेडिएशनको असरका कारणले त्यस्तो भएको बताइन्छ ।
त्यतिबेला हिरोशिमामा त केवल एउटा परमाणु बम खसालको थियो त्यसले कति भयावह सन्त्रास र त्रासद बर्बादी उत्पन्न गरेको कुरा थाहा पाए पछि के तथ्य आज अझ भयंकर डरलाग्दो लाग्दछ भने आजको बिश्वमा बिभिन्न किसिमका निशस्त्रीकरणका बार्ताहरु र यस सम्बन्धि सम्मेलनहरु हुँदाहुँदै पनि नागाशाकी र हिरोशिमामा खसालेका भन्दा हजारौं गुणा शक्तिशाली परमाणु बमहरु १३ हजार त घोषितरुपमा रहेका छन् । त्यसले सारा महादेशमा कति डरलाग्दो बितण्डा मच्चाउन र सर्बनाश तुल्याउन सक्छ त्यसको कल्पनासम्म पनि अत्यन्तै भयकारी छ । यस्तो युद्ध भयो भने त्यसमा कसैले जित्दैन सम्पूर्ण मानब समाजको बिनाश हुन्छ भन्ने तथ्य त अमेरिकाले हिरोशिमा र नागाशाकीमा खसालेको पहिलो अणुबम प्रहारले नै प्रष्ट पारिसकेको छ ।
यो महाभयकारी सत्य तथ्य थाहा पाए पछि आजको बिश्वमा जुन १३००० परमाणु युद्ध आयुधहरु तैनाथ छन् तिनलाई प्रभावकारी किसिमले नष्ट गर्न आज बैज्ञानिक क्षमतालाई प्रयुक्त गर्नु पर्ने ज्वलन्त र अपरिहार्य आवश्यकता बनेको छ । यसो नगरीकन पमाणु शस्त्रास्त्रको अभिशापबाट यो जीवनदायिनी धरतीलाई मुक्त गर्न सकिने छैन । भन्ने गरिन्छ कुनै कुरा बनाउन कठिन छ तर त्यसलाई नष्ट गर्न त्योभन्दा कठिन छ भन्ने बिज्ञ बैज्ञानिहरु नै भनिरहेका छन् र यो दुष्कर कार्य गर्न धेरै महँगो पर्ने उनीहरु बताउँदछन् । १९८७, १९९१ र १९९३ मा अमेरिका र सोभियत संघका बीचमा तीनवटा महत्वपू
र्ण सन्धि सम्झौताहरु आणबिक र अन्य शस्त्रास्त्र कम गर्नका लागि भएका थिए त्यसको बिश्वमा ब्यापक स्तरमा स्वागत गरिएको थियो । त्यसबाट धेरै मानिसमा के बिश्वास पैदा भएको देखिन्थ्यो भने धेरै ठूलो परिमाणमा त्यस्ता आणबिक शस्त्रास्तहरु नष्ट गरिन लागेका छन् ।तर वास्तविक स्थितिलाई उजागर गर्दै मानब बिकास प्रतिबेदन १९९४ मा के जानकारी गराइयो भने ती सन्धि सम्झौताहरुबाट बिश्वमा तनाव त केही कम अबश्य भयो तर यसका महत्वपूर्ण सीमाहरु रहेका छन् । त्यसमा के बताइयो भने कतिपय हतियार अथवा युद्ध आयुधहरुलाई शत्रुसम्म पु¥याउने बाहकहरु या प्रक्षेपास्त्रबाट अलग गरिनु पर्दछ तर त्यस्तो कुनै निर्देशन भने दिइएन कि युद्ध आयुद्धहरु नै नष्ट गरिनु पर्दछ ।
अझ अगाडि त्यो प्रतिबेदनले बढी स्पष्ट शब्दमा के बताएको थियो भने न त अमेरिकासँग न त रुससँग नै एउटा उच्च प्राबिधिक तथा राजनीतिक दृष्टिले स्वीकार्य यस सम्वन्धि योजना नै छ, जस अन्तरगत युद्ध आयुधहरुका बिभिन्न भागहरुलाई अलग गर्न सकियोस् र नाभिकीय हिस्सालाई नष्ट गर्न सकियोस् । अतः ती युद्ध आयुधहरु आउदा पिढीका लागि शीरमाथि झुण्डिएको तरबार जस्तै खतरा बनिरहने आशंका छ । हुन पनि ती परमाणु शस्त्रहरुलाई नष्ट पार्ने कर्यसँग सम्बन्धि बिभिन्न प्रबिधि सम्बन्धि कठिनाई र महँगो आर्थिक बजेटका कारणले अन्तर्राष्ट्रिय स्तरमै सबल र दृढ राजनीतिक इच्छा शक्तिको आवश्यकता छ । त्यस्तो दृढ इच्छाशक्तिले मात्र यस्तो कार्यलाई उच्चतम प्राथमिकतामा राखेर बिश्वका सबै परमाणु शक्तिले सुसज्जित देशहरु र तिनका बैज्ञानिकहरुलाई सबै किसिमका संंकीर्ण स्वार्थलाई छोडेर यस निशस्त्रीकरणको अभियानमा परस्पर सहयोग गर्ने आधार तयार हुन्छ र बन्छ । अन्यथा परमाणु शस्त्रास्त्रले ल्याउने अत्यन्तै कहालिलाग्दो र सत्यानाशी बर्बादी मानब समाजले भोग्नु पर्ने नियतिबाट कोही पनि जोगिन सक्ने छैन । यो अत्यन्तै गम्भीरतम तर ध्रुबसत्य कुरा हो ।