इच्छुक प्रतिष्ठानको आयोजनामा हुँदै आएको मासिक कार्यक्रम ‘सिर्जना र संवाद’को आठौँ श्रृङखला सम्पन्न भएको छ । कृति, कविता वा कुनै विषयमाथि विमर्श गर्ने गरिएको सिर्जना र संवादको यस शृङ्खलामा बालसाहित्यकार डा.छायादत्त न्यौपानेद्वारा बालसाहित्यका सन्दर्भमा विशेष धारणा व्यक्त गरिएको थियो भने उपस्थित स्रष्टाहरूबाट पनि बालसाहित्यका सन्दर्भमा मन्तव्यसहित आआफ्ना रचना वाचन गरिएको थियो ।
बालसाहित्यको अवस्था र आवश्यकतामाथि न्यौपानेले सरल र अर्ती उपदेश दिने खालका रचनालाई बालसाहित्यको कोटीमा राखिने परम्पराबाट माथि उठेर अहिले बालबालिकाले के चाहन्छन् भनेर सोचिबुझि उनीहरूको अनुकूलका सामग्री तयार गर्न थालिएकोले बालसाहित्यले पनि स्तरीएता कायम गरेको बताउनुका साथै बालसाहित्यमा अझै पनि वैज्ञानिकतामा ध्यान दिन नपुगेको धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रगतिवादी कवि मित्रलाल पंज्ञानीको समीक्षात्मक मन्तव्यसहित डा.नन्दिश अधिकारी, शीला योगी, खेलाडी तथा कवि समीक्षा ढुङ्गाना, विष्णु न्यौपाने, गौरी देवकोटा,चम्पा कार्की, विभूती देवकोटा र मधु श्रेष्ठद्वारा आआफ्ना रचना वाचन गरिएको थियो ।
इच्छुक सांस्कृतिक प्रतिष्ठान कार्यसमिति सदस्य कवि गौरी देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम कवि विष्णु न्यौपानेद्वारा सञ्चालन गरिएको थियो ।
कार्यक्रम हरेक महिनाको तेस्रो शनिबार ठीक दुई बजे इच्छुक प्रतिष्ठानमा हुँदै आएको छ ।