शनिबारीय साहित्य ? समीक्षा
*** ***
यतिबेला पाँच सय चौराशी पृष्ठ भएको एउटा मोटो आकारको पुस्तक ताराकान्त मेरो हातमा छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा प्रकाशित यस पुस्तकमा प्राध्यापक डा. ताराकान्त पाण्डेयका बारेमा विभिन्न व्यक्ति, लेखक तथा साहित्यकार, आफन्त एवम् परिवारजन आदिले लेखेका संस्मरणात्मक आलेखहरूका साथसाथै उहाँका प्रकाशित पुस्तकहरूका समीक्षा टिप्पणी आदि समावेश गरिएको छ । प्रा.डा.ताराकान्त पाण्डेयको वि.सं.२०८० पुस २७ गते सडक दुर्घटनामा परी दुःखद निधन हुन पुगेको हो । उहाँ त्यतिबेला इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष हुनुहुन्थ्यो । उहाँको परिचय यति मात्र होइन, उहाँ त्रिभुवन विश्वविद्यालयको लोकप्रिय प्राध्यापक, समालोचक, सौन्दर्यशास्त्री तथा माक्र्सवादी चिन्तक हुनुहुन्थ्यो । समग्रमा उहाँ असल वैचारिक मान्छे हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली माक्र्सवादी समालोचना, सौन्दर्यशास्त्र तथा प्रगतिवादी साहित्यिक एवम् वैचारिक आन्दोलनका क्षेत्रमा अपूरणीय क्षति भयो । यसै कुरालाई हृदयङ्गम गरि इच्छुक सांस्कृतिक प्रतिष्ठानले प्रतिष्ठानका तत्कालीन अध्यक्ष पाण्डेयको जीवनवृत्त, लेखनवृत्त र जीवनका विविध आयामहरूलाई जनसमक्ष प्रकाश पार्ने तथा अभिलेखीकरण गरि आउँदो पुस्तालाई उहाँको योगदानका बारेमा सूचना हस्तान्तरण गर्ने उद्धेश्य राखेर उहाँसँग सम्बन्धित साठी ओटा भन्दा बढी आलेखहरू समावेश गरि ताराकान्त नामक पुस्तक प्रकाशित गरेको हो ।
प्रकाशन संस्थाले आग्रह गर्दागर्दै पनि र तारा सरका बारेमा थुप्रै अनुभूति, सरसङ्गत, स्मरणीय घटना र क्षणहरू यस पङ्क्तिकारसँग हुँदाहुँदै पनि विशेष कारणले प्रस्तुत पुस्तकमा सामग्री उपलब्ध गराउन नसक्नुको पीडा एकातिर छ भने अर्कोतर्फ मेरा अत्यन्तै सहयोगी आदरणीय गुरु, शोधनिर्देशक तथा अध्ययन अनुसन्धानका क्षेत्रमा मार्गदर्शकका रुपमा रहनुभएका तारा सरको स्मृतिमा प्रकाशित यस ग्रन्थ हातमा आउँदा सन्तोषको लामो सास फेर्न पुगेको छु । जे होस् इच्छुक सांस्कृतिक प्रतिष्ठानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । मोदनाथ मरहट्टा, गौरी देवकोटा, रोशन जनकपुरी, अनिल श्रेष्ठ, डा.छायादत्त न्यौपाने र डा. गीता त्रिपाठी रहेको सम्पादन समितिले निकै मेहनतका साथ यो ग्रन्थ सम्पादन गरेको देखिन्छ । ताराकान्त नामक प्रस्तुत ग्रन्थको सम्पादकीयमा यस ग्रन्थको सान्दर्भिकता र औचित्यका बारेमा यसरी उल्लेख गरिएको छ ः
हरेक मान्छे परिवारका लागि विशेष हुनसक्छ तर समाजका लागि विशेष हुनका लागि विशेष दक्षता र खास विशेषता हुनु आवश्यक हुन्छ । ताराकान्त पाण्डेय पनि एक अनुकरणीय विशेषता सहितका मृदुभाषी, प्राज्ञिक र बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो । सादा जीवन र उच्च विचारका पर्याय हुनुहुन्थ्यो । जब मानिसको मृत्युु हुन्छ तब लिपिबद्ध हुन बाँकी उसको विज्ञता ऊसँगै सकिन्छ । जुन समुन्नत समाजका लागि र प्राणी जगत्का लागि अझै आवश्यक हुन्थ्यो । यो खड्किँदो विषयमा विज्ञानले खोज गर्दै जाला, हामी भने उहाँको योगदानलाई एकत्रित गर्ने कोसिसमा यो ग्रन्थ लिएर आएका छौँ ।
हो, माथिको सम्पादकीयको अंशमा भनिए जस्तै माक्र्सवादी समालोचनाका क्षेत्रमा, सौन्दर्यचिन्तनका क्षेत्रमा र अन्य साहित्यिक तथा प्राज्ञिक क्षेत्रमा तारा सरले पुर्याउनु भएको योगदानको तथ्यपूर्ण रुपमा अभिलेखीकरण गरि आगामी पुस्तालाई हस्तान्तरण गर्नु हामी बाँचेकाहरूको काम हो । इच्छुक सांस्कृतिक प्रतिष्ठानले गरेको यो काम सह्रानीय छ । प्रस्तुत ग्रन्थमा चार ओटा खण्ड रहेका छन् — परिचय खण्ड, समालोचना खण्ड, संस्मरण खण्ड र परिशिष्ट खण्ड । समालोचना खण्डमा १३ जना सर्जकहरूका सामग्रीहरू रहेका छन् भने संस्मरण खण्डमा ४७ जना स्रष्टाहरूका संस्मरण सामग्रीहरू राखिएका छन् । परिशिष्टमा भने तारा सरको अन्तर्वार्ता राखिएको छ जुन अन्तर्वार्ता वि.सं.२०७१ मा शुक्रबार साप्ताहिकका लागि सङ्गीत श्रोताले गरेका थिए । तारा सरको व्यक्तित्व मूलतः लेखन तथा प्राध्यापन व्यक्तित्व, राजनीतिक तथा साङ्ठनिक व्यक्तित्व र पारिवारिक तथा सम्बन्धगत व्यक्तित्व गरि तीन भागमा विभक्त देखिन्छ । यिनै व्यक्तित्वका पाटाहरूलाई यस पुस्तकमा चर्चा गरिएको छ । अन्त्यमा, यो सङ्ग्रहणीय ग्रन्थ तयार पार्ने इच्छुक सांस्कृतिक प्रतिष्ठान र यसमा समावेश तारा सरको जीवनका विविध आयामहरूलाई प्रकाश पार्न सहयोग पुर्याउने सम्पूर्ण स्रष्टाहरूप्रति पुनः कृतज्ञता व्यक्त गर्दछु ।