शनिबारीय साहित्य ः कविता
***  ***

१ समयलाई बचाउनु पर्ने समय

समय मर्दैछ
समय बचाउनु पर्ने समय
इतिहासमै पहिलोपटक
अप्ठ्यारोमा परेको छ समय

कता हराएका छौ
धूर्त मानिस
कुन लोभमा फसेका छौ
आफ्ना पाइतला बेचेर
कस्तो महल बनाएका छौ

हेर्न चाहन्छु
तिम्रो अनुहार
तिम्रो नाक
तिम्रा दुई आँखा
जहाँ तिमी छैनौ

तिमीले बोल्ने भाषा
मैले सिकाएको हुँ
कसरी वर्णविन्यास बिगा¥यौ
कसरी वर्णहरूलाई
दलाल र क्रूर संसदीय बनायौ

अचम्ममा परेको छु
सत्ताको विचारमा
कसरी सङ्क्रमण गरायौ
र आफू बिरामी प¥यौ

 

२ जिउँदो हुुँदासम्म

लाख प्रहार गर
कथित तिम्रा न्यायालयका
न्यायाधीशका फैसलाहरूबाट
बर्बर नाकाम सत्तामा
उभिएर
महान् मानिसका
उत्सर्ग र त्यागलाई
शब्दकोषबाट हटाई
आफ्ना दलाल नोकरशाहलाई
खुसी पार

फेरि पनि
म दोहो¥याइ रहन्छु
जनयुद्ध जनयुद्ध जनयुद्ध
वेगवान शब्दमा
विस्फोटक बोलीमा
तिमीहरूलाई
सधैंका निम्ति
दुनियाँबाट बेदखल गर्ने गरी
अर्को आख्यानमय कवितामय
युद्ध बोल्छु
र भन्छु
इस तेरो सत्ता ।

 

३‍ विचार रहँदासम्म

म सबै किसिमका
फोहोरी हावाहुरीसँग
लड्छु र उभिन्छु

विगतका सबै
दूर्गुणलाई
पखाल्छु सफा हुन्छु
विचार रहँदासम्म
म लड्छु
पछारिएर हारेर पनि
फेरि उठ्छु

आँखामा
अँध्यारो पोतिए पनि
हातले छामछुम गर्दै
तिनका विरुद्ध हुङ्कार्छु

स्पाटार्कस जस्तै
फेरि फेरि
जुध्ने आँट उमार्छु
प्रेमको द्रव झैं
मभित्र तुफानी विचार
बगिरहँदासम्म
दुुुनियाँ र मानिस
बर्बर पुँजीको साङ्लोमा
बाँधिएर
उही पुरानै अँध्यारोमा
हराउँदासम्म
भीषण विचारको
सुनौलो प्रिय खेती
गरिरहन्छु

बैरीहरू
जतिसुकै रिस गरून्
म जङ्गली आगो
हुर्हुरी बालिरहन्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर