शनिबारीय साहित्य ः सांस्कृतिक निबन्ध
*** ***
मानव समुदायको विकाससित भौतिक उन्नतिबाट शरीरको भोक मेट्न सकिने पद्दतिको स्थापना भयो, किन्तु यिनलाई सन्तुष्ट गर्नको लागि मानव समुदायले आफ्नो जुन विकास र उन्नति गर्दै आयो यसैलाई संस्कृति भनिन्छ । मानव समुदाय जिज्ञासु समुदाय हो । जिज्ञासाको परिणाम धर्म र दर्शन बाहेक आराम र मनोरञ्जन पनि खोजिको बिषय हो । सौन्दर्यको खोज गर्दै त्यो सङ्गीत, साहित्य, मूर्ति, चित्र र वास्तु आदि अनेक कलाहरूलाई उन्नत गर्दछ । सुखपूर्वक निवासको लागि सामाजिक र राजनीतिक सङ्घटनहरूको निर्माण गर्दछ । यस प्रकार मानसिक क्षेत्रमा उन्नतिको सूचक उनको प्रत्येक पर्व वा ऋृतु संस्कृतिको अङ्ग बन्यो । यिनीहरूमा प्रधान रूपबाट धर्म, दर्शन, सबै ज्ञान-विज्ञानहरू र कलाहरू, सामाजिक तथा राजनीतिक घटनाहरू पनि जोडिएका हुन्छन् ।
नेपाली हिन्दूहरूको सांस्कृतिक पर्वको रूपमा मानिदै आएका कयौं उत्सवमाथि अहिले बजारले कब्जा गरेको छ । तीज, दशैँ, तिहार, छठ, ल्होसार जस्ता परम्परित पर्व र जन्मोत्सव बेबि सावार जस्ता आयतित पर्वहरूमा बजारले अधिक प्रभाव पारेको छ । इतिहास र हाम्रो आर्थिक सामाजिक अवस्था हेर्दा साँच्चै हामी नाङ्गो पूँजिवादमा फँसिसकेको पुष्टि हुन्छ । हामीले बाध्यातावस स्वीकार्नु परेको यथार्थ हो । इतिहासलाई गहिरोगरी अध्ययन गर्ने हो भने चाडपर्व भनेको बन्धुत्व र आफन्तहरूको मिलन हुने समय हो । आफ्नो आर्थिक र सामाजिक हैसियत अनुसार पर्वहरूमा खुशी साटिन्थ्यो तर जब पूँजिवादी युगको विकास भयो अनि यसलाई कमाउपर्व मान्न थालियो ।
बजार र बिज्ञापनले उपभोक्ताको दिमाग भुटिरहेको छ । परम्परित खाद्य परिकार भान्सामा तयार हुन छोडेको छ भने अखाद्य रसायन मिसिएका खाद्य र पेय बस्तुले भान्सामा अड्डा जमाएका छन् । हाम्रा रैथाने उत्पादनको जगेर्ना हुनुको सट्टा आयतित बस्तुको प्रयोगमा हामी अभ्यस्त भैसकेका छौँ ।
मानव समाजको सुरुवाती दिनहरूमा कुनै धार्मिक आर्थिक वा सामाजिक नियम विनियमहरू बनेका थिएनन् । न त कुनै देवदेवीहरू नै थिए । शिकार, श्रम र झुण्डझुण्डमा उनीहरूको जीवन चल्ने गर्दथ्यो । त्यहाँ धर्म सम्प्रदायको पनि उपस्थिति थिएन । त्यहाँ जात, थर र गोत्रको पनि अस्तित्व थिएन । झुण्ड झुण्डका मानवहरूमा आमाकै अह्रन खटन चल्दथ्यो । जब जब मानव चेतनाले ठूलो आकार लिँदै गयो त्यसपछि केही मान्यताहरूले समाजमा स्थान पायो । जङ्गली अवस्थाबाट कृषि युगतिर फड्को मारेपछि मानव समाजले नयाँ नयाँ विषयको खोजी गर्न थाल्यो । नदीनाला, जमिन र जङ्गलको सहारा लिएर कृषि उत्पादन र पशु पालनले जिविका चलाउन सिकेपछि विभिन्न स्तुतिहरूको स्मृती कथन भयो र विस्तारै देवदेवीको परिकल्पना भयो । जब राज्यको अवधारणा विकास भएर आयो अनि शासकहरूले राज्यलाई आवस्यक पर्ने वस्तुहरूको उत्पादनमा मानिसहरूलाई वर्गिकरण गर्दै लगे । राज्य बलियो र बिस्तार गर्न युद्ध र हातहतियार निर्माण, अन्न, तरकारी, फलफूल उत्पादन, कृषि तथा पशुपालन कर्म, शासकहरूका लागि ज्ञान विद्या प्रवचन र कल्पना गरिएका देवदेवीको स्तुति पूजा अर्चना आदिको लागि जनशक्तिको व्यवस्थापन गरिँदै आयो । आठौँ शताब्दिसम्म आइपुग्दा आर्य सम्प्रदायका शासकहरूले मानवलाई चार जातमा विभाजन गर्न सफल भए । हिन्दू वर्ण व्यवस्थामा सबैभन्दा पुरानो प्रचलनमा रहेको जात प्रथाले समाजलाई विभाजन मात्र गरेको छैन शोषण उत्पीडन र सामाजिक समस्या खडा गरेको छ ।
धार्मिक वा सांस्कृतिक मान्यतानुसार हरेक पर्वको अघि हामी ब्राह्मण क्षेत्रीको आँगनमा पुरोहित आएर उभिन्छ र उसित कर्मकाण्ड भास्कर हुन्छ । हामी विचारमा भौतिकवादी भएर पनि पुरोहितवादको दास छौँ । हाम्रा केही सांस्कारिक पर्वहरू छन् तर चेतनाले भौतिकवादी बनेकाहरू परम्परित तरिकाले कर्म गरेका हुन्छौँ । अझ विशेषगरि महापुराण, सप्ताह, एकाहको आयोजना गरेर पुण्य प्राप्त वा मरेका आफन्तहरूको नरक मोचनको भ्रम पालिरहेका हुन्छौँ । यस्तो कर्मको मुख्य प्रेरक भने पुरोहितवाद हो । यस्तो कर्महरूमा कम्युनिस्ट भनिएका नेतृत्वले पितवस्त्र धारण गरेर फूल अक्षता समाएको दृश्य कति घिनलाग्दो देखिन्छ भन्ने भेउ नपाउने पात्रहरू देख्दा घृणा जागेर आउनु स्वाभाविक हो । बालक जन्मदा होस् वा मृत्यु हुँदा होस् सबैभन्दा अगाडि आएर कर्मकाण्डीय संस्कार उभिन्छ । धर्म वा संस्कृतिको निहुँमा जातीय विभेद जहिँको त्यहिँ छ । धर्म निरेपक्ष भनिएको राज्यमा मठमन्दिर वा गुम्बाका लागि अनुदान दिनु सर्बथा गलत हुन्छ तर हाम्रो राज्य गम्भीर भने देखिँदैन ।
“सीप चल्छ श्रम चल्छ पानी नचल्ने भो” । यो दुषित मान्यता अहिले पनि बाँचिरहेको छ । खासगरी तागाधारीहरूले इतर तागाधारी र अझ दलित बनाइएका वर्गमाथि गरिने दूव्र्यवहारको पराकाष्टा नै छ । अहिले पनि गाउँ घरतिर गरिने कर्मकाण्डीय संस्कारमा दलित बनाइएकाहरूको समतामूलक सहभागिता हुँदैन । नेपालको सम्बिधान २०७२ वा देवानी संहितामा जे जे कुरा लेखिए पनि व्यवहारमा भेदभाव कायमै छ । हाम्रो समाज र सभ्यता एक्काइसौँ शताब्दिमा उपस्थिति जनाइरहँदा पनि सामाजिक मान्यताहरू भने सोह्रौँ शताब्दितिरकै बाँचिरहेको छ । कालो धन आर्जन गरेका पुँजिले सम्पन्न धनाढ्यहरू पण्डित पुरोहितलाई लाखौँ दान गरेर नाम लेखाउन उद्दत हुन्छन् तर उनीहरू दलित या असहायका लागि दान सहयोग गर्न तयार हुँदैनन् ।
चाडपर्वभित्रका विरूप पक्षलाई जब भत्काउने कुरा आउँछ हामी कतिपय कम्युनिस्ट भनिनेहरू विकल्पको कुरा उठाएर यथास्थितिमै उभिन्छौँ र बाहिर भने सांस्कृतिक क्रान्तिको कुरा गर्छौं । पूर्खाले गरिआएको काम त्यत्तिकै कसरी छोड्न सकिन्छ भन्ने बासी मान्यता जोगाइ राख्र्छौं । एकातिर जडता कायम नै छ भने अर्कोतिर बजारको आक्रमणले अति उदारता भित्रिएको छ ।
केही व्यापारीहरू चाडपर्वलाई अति कमाउको साधन बनाइरहेछन् । सस्ता र नक्कली वस्तुलाई महङ्गो मोलमा बिक्री गरेर मुनाफा लिन उनीहरू खप्पिस बनिसकेका छन् । यस्तो कुकृत्यप्रति राज्यको ध्यान जाँदैन बरू आफ्ना एजेण्टहरू मार्फत कमिशनको व्यवस्था मिलाउन खटाउँछन् । यो स्थिति मौलाउँदै जानाले न्यून आय भएका श्रमिक र किसानहरू ठूलो शोषणमा पर्न पुग्छन् ।
हाम्रा सांस्कृतिक पर्वभित्र केही भौतिक मान्यताहरू पनि छन् । शारदीय ऋृतुसित आउने पर्वहरूले जीवन निर्बाहका लागि घरमा पालिएका पशुहरूको स्याहार स्वरूप सम्मान गर्नु दाजुबहिनी, दिदीभाइ बिच सौहाद्र सम्बन्ध जोगाइ राख्नु आफ्ना नातेदारसित भेटिनु आफ्नै उत्पादनले सन्तोषका साथ पर्वहरूको समापन गर्नु जस्ता जनमुखी तरिकाहरू पनि छन् । दशैँ होस् या तिहार जन्मोत्सव होस् कि पास्नी हुने खानेले विपन्नको सामु खिसी गर्दै ढर्रा पुर्वक मनाउनु उचित होइन । बत्तिको चाड मानिएको तिहार पर्वमा सम्पन्नशालीले आफ्नो निवाश झिलिमिलि बनाउनु र भुइँघरको अँध्यारोलाई खिसी गर्नु सामाजिक सद्भाव बिरुद्ध हुन्छ भन्ने हेक्का राख्नु उचित हुन्छ । यहाँनेर के हेक्का राख्न जरुरी छ भने माओकालीन चिनियाँ सांस्कृतिक क्रान्तिको अबलम्बनले सबैखाले बिभेदको अन्त्य हुन्छ ।