काठमाडौं । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका केन्द्रीय सचिव प्राध्यापक विष्णुहरि शर्माको असामयिक निधन भएको छ । यही कार्तिक १४ गते ५८ वर्षको उमेरमा निधन भएको संगठनका अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारीले जानकारी दिनुभएको छ ।
अध्यक्ष प्रा.डा.भण्डारीले एक शोक वक्तव्य जारी गर्दै सचिव विष्णुहरि शर्माको निधनबाट अकल्पनीय र असामयिक दुःखद निधनबाट स्तब्ध र शोकमग्न भएको उल्लेख गर्नुभएको छ । शोक वक्तव्यमा भनिएको छ, “प्राध्यापक विष्णुहरि शर्मा एकजना गम्भीर अध्येता, कुशल प्राध्यापक मात्र हुनुहुन्थेन, उहाँ नेपालको क्रान्तिकारी आन्दोलनका एक सदस्य र क्रान्तिकारी विचार ,आदर्श र मूल्यप्रति दृढ मालेमावादी प्राज्ञिक बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो ।
विद्यार्थी अवस्थादेखि नै उहाँ क्रान्तिकारी मार्क्सवादी सङ्गठनमा आबद्ध हुँदै पछिल्लो कालखण्डमा क्रान्तिकारी कम्युनिस्ट पार्टी सम्बद्घ प्राध्यापक सङ्गठनमा रही जनतन्त्र ,राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिको पक्षमा बौद्धिक,आत्मिक र भौतिक रूपमा गाँसिदै आउनु भएको थियो । उहाँको निधनबाट बौद्धिक ,प्राज्ञिक र वैचारिक क्षेत्रमा अपूरणीय क्षति हुन गएको छ।”
शोक वक्तव्यमा मृतक विष्णुहरिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ र शोकाकुल परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।




























